विश्व कम्युनिस्ट आन्दोलनमा झैँ नेपाली कम्युनिस्ट आन्दोलनभित्र पनि विभाजन र एकताको प्रक्रिया तीव्रतर रूपमा चलिरहेको छ । त्यसो त गैरमाक्र्सवादी पार्टीमा पनि विभाजन र एकता चलिरहेको हुन्छ, तर कम्युनिस्ट पार्टीभित्रको विभाजन गैरमाक्र्सवादी पार्टीको भन्दा फरक हुन्छ । र, त्यसलाई सैद्धान्तिक आवरण दिने प्रयास पनि हुने गर्छ । यस्तै विभाजनको चपेटामा क्रान्तिकारी कम्युनिस्ट पार्टी परेको छ ।
दश वर्ष जनयुद्ध हाँकेको पार्टी नेकपा (माओवादी) शान्तिप्रक्रियामा आएपछि एकीकृत ने.क.पा. (माओवादी) बन्यो र संविधानसभाको पहिलो निर्वाचनमा मुलुककै सर्वाधिक ठूलो पार्टी बन्न सफल भयो । तर, संविधानसभाको पहिलो निर्वाचनको करिब तीन वर्षपछि सो पार्टी पहिलोपटक फुट्यो र क. किरणको नेतृत्वमा नेकपा–माओवादी अर्थात् ‘ड्यास माओवादी’ गठन भएको करिब तीन वर्षपछि फेरि एकपटक विभाजित भएको छ । पछिल्लोपटकको यो विभाजन नेपाली कम्युनिस्ट आन्दोलनमा आस्था राख्ने धेरै मानिसको अपेक्षाविपरीत रहेको भए पनि असम्भवप्रायः भने थिएन । नेपाली कम्युनिस्ट आन्दोलनको बारेमा सामान्य जानकारी राख्ने जोकोहीलाई यो विभाजनले आश्चर्यचकित बनाएको छ, तर नेपाली क्रान्तिकारी आन्दोलनको पृष्ठभू्मि नबुझी नेकपा–माओवादीभित्रको यो विभाजनलाई पक्कै बुझ्न सकिन्न ।
सर्वहारा वर्गको मुक्तिका लागि भनेर सुरु गरिएको जनयुद्धलाई रहस्यमयी तरिकाले हठात स्थगन गरेर तत्कालीन ने.क.पा. (माओवादी) पार्टी र यसको मूल नेतृत्व शान्तिप्रक्रियामा आए पनि सो पार्टीभित्र सो प्रक्रियाविरुद्धको असन्तुष्टि व्यापक थियो । माओवादीको मूल नेतृत्व पार्टीभित्रका कार्यक्रममा घोर क्रान्तिकारी बनेर प्रस्तुत हुने अनि काङ्ग्रेस र एमालेसँगको बैठकमा पार्टीका सम्पूर्ण एजेण्डा त्यागेर उनीहरूको प्रिय बन्ने खेलमा लागेको थियो । एमाले र काङ्ग्रेसलाई आवश्यकताभन्दा बढी विश्वास मात्र गरेको थिएन, देशी प्रतिक्रियावादी र विदेशी साम्राज्यवादीको इसारामा पूरै लम्पसार परिसकेको थियो । तर, माओवादी पार्टीको सो मूल नेतृत्वको यस्तो क्रान्तिविरोधी हर्कतका विरुद्ध तत्काल प्रतिरोध गर्न, सङ्घर्ष गर्न र विद्रोहको झण्डा उठाउन सकेन । जनयुद्धकालमा संश्लेषण भएको ‘प्रचण्डपथ’ सैद्धान्तिक रूपले संसद्वादमा यति चाँडै पतन होला भनेर कसैले पनि कल्पना गरेको थिएन । शान्तिवार्ता, सङ्घर्ष र सदनलाई युद्धकै मोर्चाको रूपमा प्रयोग गर्ने र सशस्त्र विद्रोहको तयारीका लागि शक्ति सञ्चय गर्ने भनेर पार्टी प्रशिक्षणमा लगातार घोक्ने, तर व्यवहारमा त्यसको ठीक उल्टो छलछाम गर्ने र क्रान्तिकारी जनतालाई थकाउने षड्यन्त्रमा लिप्त भइरह्यो । माओवादी पार्टीको मूल नेतृत्वले यसरी क्रान्तिलाई पूरापूर धोका दिइसकेको थियो भनेर पत्याइहाल्ने स्थिति थिएन, तर समयक्रममा जे नहुनुपथ्र्यो त्यही भयो । प्रचण्ड–मण्डली विस्तारवादी र साम्राज्यवादीको पञ्जामा बिकिसकेको थियो । दशौँ हजार सहिदको रगतमा खेलवाड भइसकेको थियो र त्यसका विरुद्ध विद्रोहको झण्डा अरू कसैले उठाएको नभई स्वयम् प्रचण्डका गुरु तथा माक्र्सवादका ज्ञाता क. किरणले उठाउनुभएको थियो, अनि क्रान्तिकारी युवा वर्गले क. किरणको नेतृत्वलाई सहर्ष स्वीकार गरेको पनि हो ।
मुलुकमा राजनीतिक गतिरोध मेटिएको छैन । जनताका जनजीविकाका सवाल हिजोभन्दा आज अझ बढी चुनौतीपूर्ण बनेका छन् । मुलुकमा वैदेशिक हस्तक्षेप झन् बढ्दै गएकाले स्वाभिमानी नेपालीको शिर लज्जाले नुहेको छ । दशवर्षे जनयुद्ध र उन्नाइसदिने आन्दोलनले जुन विधि र प्रवृत्तिका विरुद्ध सहादतको कीर्तिमान राखेको थियो, घुमाइफिराइ उही भ्रष्ट अराजक संसदीय व्यवस्था लाद्ने षड्यन्त्रस्वरूप सत्ताको साँचो काङ्ग्रेस–एमालेको हातमा पु-याइएको छ । पुरानो व्यवस्थालाई जामा मात्र फेरेर लाद्ने षड्यन्त्रमा पुराना संसदीय पार्टी लागिरहेका छन् भने भएको सीमित परिवर्तन पनि खोस्ने षड्यन्त्रमा प्रतिगामीहरू एकजुट भएका छन् । सारमा भन्दा नेपाल मात्र यस्तो देश हो जहाँ क्रान्ति हुनुभन्दा पहिले नै प्रतिक्रान्ति भएको छ । यस्तो समयमा क्रान्तिकारीहरूको प्रमुख जिम्मेवारी के हुनुपर्छ अनि क्रान्तिकारी पार्टीको भूमिका र कार्यक्रम के हुनुपर्छ ? क्रान्तिकारी नेतृत्वले यी तमाम चुनौतीलाई चिरेर नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्नुपर्दैन ? आममानिस, समर्थक र कार्यकर्ताहरू क्रान्तिकारी पार्टीतिर फर्केर आशातीत नजरले हेरिरहेका छन्, तर पार्टी स्वयम् भने अकर्मण्यताको सिकार बनेको छ, कार्यक्रमविहीन र शिथिल जस्तो, अनि भूमिकाविहीन । बुद्धनगरमा बसेर वक्तव्यबाजी गरेको भरमा पार्टीको दायित्व र जिम्मेवारी पूरा हुँदैन । त्यसैले यस्तो बेलामा पार्टीभित्रका तमाम मुक्तिकामी, परिवर्तन र अधिकार चाहने सबैले एउटा सशक्त, जुधारु र सङ्घर्षशील पार्टीको आवश्यकता महसुस गरेका थिए ।
क. किरणले नै नेतृत्व गरेको हुनाले पार्टी विभाजन हुने छैन भनेर सदासयता राख्ने एकथरी मानिसको विचार छ । क. किरण नेपाली कम्युनिस्ट आन्दोलनका एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । सांस्कृतिक हिसाबले स्वच्छ, अध्ययनमा पोख्त, उहाँ शिखर व्यक्तित्व हुनुहुन्छ । उहाँँबाटै माक्र्सवादको प्रारम्भिक ज्ञान हासिल गरेका व्यक्तिहरू नेपाली कम्युनिस्ट आन्दोलनमा धेरै छन् । अनि उहाँ तत्कालीन माओवादी नेतृत्वजस्तो संशोधनवादी भासमा फसिसकेको पनि होइन त्यसैले क. किरणको नेतृत्वमा सङ्गठित भएको पार्टी नेकपा–माओवादी यति चाँडै र यति सजिलै फुटिहाल्दैन होला भनेर सबैले अनुमान गरेका हुन सक्छन् । तर, पार्टी विभाजन भएको छ । क. किरणको चाहनाविपरीत यो विभाजन हुन सक्छ, तर यसले एउटा स्पष्ट सन्देश भने दिएको छ । नेपालमा राजनीतिक आन्दोलन सकिएको छैन, विद्रोहको आवश्यकता सकिएको पनि छैन । आवश्यकता छ केवल क्रान्तिलाई बुझ्ने, त्यसलाई सही शिराबाट सुरु गर्ने र नेपाली जनतालाई सही मार्ग निर्देश गर्ने । पार्टी विभाजनलाई क. किरणले माक्र्सवादी चिन्तककै शैलीमा आरोप लगाउनुभएको छ– ‘नेत्रविक्रम चन्द– क्रान्तिकारी खोल ओढेको संशोधनवादी चरित्र ।’
नेपालको राजनीतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनले पनि पटक–पटक धोका र धक्का खाँदै आएको इतिहास छ । डा. केशरजंग रायमाझीले सुरु गरेको गद्दारीको इतिहासमा एमाले हुँदै अहिले आएर प्रचण्डमण्डली समावेश भएको छ । अनि पार्टी विभाजनको समयमा एक पक्षले अर्को पक्षलाई नानाथरीका आक्षेप लगाउने अभ्यास पनि नेपालमा नेपाली कम्युनिस्ट आन्दोलनजत्तिकै पुरानो छ । तर, कतिपय त्यस्ता आक्षेपहरू समयले प्रमाणित पनि गरिदिएको छ भने कतिपय केवल कोरा आरोपमा मात्र सीमित भएका छन् । केवल आरोपको भरमा दुनियाँका आँखामा पट्टी कस्न सकिन्न ।
यतिबेलाको आवश्यकता भनेको एउटा बलियो क्रान्तिकारी पार्टी हो भन्ने कुरामा कुनै दुईमत छैन । विभिन्न समयमा भएका विभिन्न नाम र नाराका आन्दोलनमा मुलुकले केही न केही गुमाएकै छ । यतिबेला मुलुकको राष्ट्रियता सबैभन्दा बढी खतरामा परेको अनुभव सारा नेपालीले गरेका छन् । मुलुक प्रतिक्रियावादीहरूको हातमा छ । उनीहरू आफ्नो लुटको सत्ता टिकाइराख्न जुनसुकै राष्ट्रघाती कदम चाल्न र सम्झौता गर्न पछि हट्दैनन् । यतिबेला त्यो सम्भावना झन् टड्कारो देखिँदै छ । आपसी आरोप–प्रत्यारोप यतिबेलाको आवश्यकता होइन ।
विभाजन र एकताबारे कम्युनिस्टहरूको बुझाइ शास्त्रीय हुनुहुँदैन । एकतालाई यान्त्रिक रूपमा बुझ्यो भने पार्टी त ठूलो होला, तर त्यो काम नलाग्ने भीड मात्र बन्छ । एकताको आधार के हुने ? यो सबैभन्दा जटिल प्रश्न हो । एकता केका लागि ? यदि पार्टी ठूलो बनाएर यथास्थितिवादमा रमाउने हो भने त्यस्तो ठूलो पार्टीको के काम ? त्यसका लागि त एमाले र एमाओवादी पहिलेदेखि नै नेपाली राजनीतिको बजारमा छन् । तसर्थ, क्रान्तिलाई केन्द्रमा राखेर बहस गर्दा को कता लाग्ने भन्ने उसको नितान्त व्यक्तिगत विषय भए पनि क्रान्तिको बाटोमा लाग्नेहरू अन्ततः क्रान्तिकारी नै हुन्छन् । त्यसैले राष्ट्रिय स्वाधीनताको पक्षमा, आमनेपाली श्रमजीवी जनताको जीविकाको पक्षमा, विधिको पक्षमा लाग्नेहरू विभाजनकारी हुँदैनन् ती त एकतावादी पो हुन्छन् । हिजो जनयुद्धकालमा पार्टीले सही नीति लिएकै कारण एकताको प्रक्रिया तीव्रतर भएको थियो । हिजो माओवादीसँग एकता गर्नेहरू प्रचण्ड वा बाबुरामको व्यक्तिगत कारणले माओवादीमा समाहित भएका थिएनन् । तसर्थ, मुख्य कुरा त राजनीतिक कायदिशा नै हो, त्यो समयले प्रमाणित गरिदिने नै छ ।
प्रतिक्रिया