महिला हिंसाका १६ कारणहरू

महिला हिंसाका १६ कारणहरू


Binod Tripathi– विनोद त्रिपाठी
महिला हिंसाविरुद्धको १६ दिने अभियान भर्खर सकिएको छ । तर, दैनिकजसो महिलामाथि अपराध, हिंसा, अत्याचार, अभद्र व्यवहार भएका खबरमा कमी आएको छैन । महिला हिंसाका घटनामा अधिकांश पुरुष जोडिएका हुन्छन् । यसको मूल कारण थाहा नभएसम्म र यस कारणको निराकरण नरोकेसम्म महिला हिंसा अन्त्य हुनेवाला छैन । किन मनाङ, मुस्ताङमा महिला हिंसा हुँदैनन्, किन नेपालगन्ज, जनकपुरमा हिंसा बढेको बढेकै छन् ? यो प्रश्नको उत्तर खोज्न आवश्यक छ ।
कारण नं. १ महिला स्वतन्त्रतामा रोक । मानिसका लागि स्वतन्त्रता ठूलो अधिकार हो । प्रत्येक व्यक्तिका लागि खान, बस्न, लाउन, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायतमा स्वतन्त्र अधिकार छ । यसमा कुनैको हस्तक्षेप वा आदेश चल्छ भने हस्तक्षेपकारी व्यक्ति हिंस्रक हो । पितृसत्तात्मक सोचबाट माथि उठेर समान स्वतन्त्रता दुवैलाई हुनुपर्छ । घरबाट निस्कन, घुम्न, साथीभाई भेट्न, रेस्टुरेन्ट गएर खान, मनोरञ्जन गर्न जसरी पुरुषलाई आवश्यक छ, त्यसरी नै प्रत्येक महिलालाई पनि उत्ति नै आवश्यक छ भन्ने घरका पुरुषले जान्नुपर्छ, बुझ्नुपर्छ ।
कारण नं. २ कानुनमा अस्पष्टता । अपराध गर्नेलाई कुनै न कुनै रूपमा छुट दिने प्रवृत्तिले महिला हिंसामा बढोत्तरी ल्याएको छ । युरोप, अमेरिकालगायत विकसित मुलुकमा महिला जति स्वतन्त्र छन् उति उनीहरूमाथि हुने हिंसाका घटनामा कानुन कडा बनाइएको छ । उनीहरू मध्यरातमा निर्धक्क घुम्छन्, डुल्छन्, मस्ती गर्छन् । मन लागे पार्कमै सुत्छन्, तर असुरक्षा महसुस गर्दैनन् । कसैले कसैलाई दुव्र्यवहार त के जिस्क्याउनसम्म पाउँदैनन् । पार्कमै सुते पनि प्रत्येक महिला सुरक्षित छन् विकसित मुलुकमा । तर, हामीकहाँ घरभित्रै असुरक्षा छ । यदि कोही कसैले हिंसा गरे कानुनले कडा दण्ड दिने हो भने महिलाले आफूलाई स्वतन्त्र महसुस गर्ने थिए ।
कारण नं. ३ हिंसाका घटनामा मेलमिलाप । हिंसाका घटनामा मेलमिलापजस्तो अर्को अपराध केही हुँदैन । कसैले महिला हिंसा ग-यो भने माफी दिने, पैसामा लेनदेन गर्ने र नाता वा शक्तिको आडमा मेलमिलाप गर्ने प्रवृत्तिले हिंसाप्रेमीलाई प्रोत्साहन गरिरहेको छ । त्यसैले कुनै पनि सानो वा ठूलो हिंसा होस् सोहीअनुसारको सजाय पीडकलाई दिनैपर्छ । हिंसामा मेलमिलापले दोब्बर हिंसा जन्माउँछ ।
कारण नं. ४ आर्थिक असमानता । अधिकांश नेपाली पुरुष घरको आर्थिक कारोबार आफैँ गर्छन् । कमाउने जसले भए पनि आर्थिक हकदारदेखि सबै प्रकारका खरिद–बिक्रीमा महिला सहभागिता अनिवार्य हुनुपर्छ । यसले महिलाको मनोबललाई उच्च राख्दै पुरुषको ज्यादतीमा स्वतः निराकरण गर्न मद्दत पु-याउँछ ।
कारण नं. ५ संस्कृति बन्देज । पुरुषलाई जति हाम्रा चाडपर्व, रीतिरिवाज र संस्कृतिले स्वतन्त्र हुन दिएको छ, त्यति महिलालाई बाँधेको छ । यस्ता कुसंस्कारजस्ता संस्कृति खारेज गरेर महिलालाई पनि पुरुषबराबरको सामाजिक पहुँच बनाउन मद्दत गर्नुपर्छ ।
कारण नं. ६ सामाजिक जालझेल । सभा–समारोहदेखि निर्णायक तहमा महिलालाई पन्छाएर गरिने निर्णय सामाजिक जालझेल हो । जनसङ्ख्यामा महिला र पुरुष बराबर भएको यो समाजमा हरेक काम अधिकार र कर्तव्यमा महिलामाथि विभेद गर्नु भनेकै महिला हिंसाको कारण बन्ने गरेको छ ।
कारण नं. ७ यौन स्वतन्त्रतामा पुरुषको पकड । यौन चाहना महिला र पुरुषलाई बराबर हुन्छ । अझ वैज्ञानिक आधारमा भन्दा यौन सन्तुष्टि पुरुषलाई भन्दा महिलालाई ८ गुना बढी आवश्यक रहेकोतर्फ नेपाली समाजले विचार पु-याएको पाइँदैन । जसरी पुरुष यौनको मामलामा स्वतन्त्र छ, त्यसरी नै महिलालाई पनि यौनमा स्वतन्त्र हुन नदिएसम्म हिंसाजन्य कार्यमा कमी हुनेवाला छैन । कुष्ठाले नै हिंसा जन्माउँछ ।
कारण नं. ८ धर्मका नाममा पुरुषको राज । संसारमा यस्तो एउटा धर्म छ, जहाँ महिलाले भलिबल खेल हेरेकै भरमा जेल जानुपर्छ । हालै इराकमा भएको त्यो घटनाले मुस्लिम महिला कति प्रताडित छन् र उनीहरू पुरुषकै मातहतमा बस्नुपर्छ भन्ने स्पष्ट उजागर गर्छ । पुरुष निर्धक्क सामाजिक साइट फेसबुकलगायतमा पहुँच राख्छ, तर त्यही घरमा छोरी, बुहारी, आमा, श्रीमती कुवाको भ्यागुताको जीवन व्यतीत गरिरहेछन् । धर्मका नाममा यसरी महिलालाई स्वतन्त्र विचरण हुन नदिनु सबैभन्दा ठूलो हिंसा हो ।
कारण नं. ९ सामाजिक असुरक्षा । साँझबिहान होस् वा रातबिरात महिला स्वतन्त्रपूर्वक एकान्तमा बस्न सक्ने वातावरण छैन । उनीहरूलाई पनि शान्त स्थानमा रहन मन लाग्छ । तर, एउटा साथीको सहारामा हिँडडुल गर्नुपर्ने असुरक्षाले हाम्रो सामाजिक परिवेश कति हिंसाग्रस्त छ भन्ने देखाउँछ ।
कारण नं. १० व्यक्तिगत चाहनामा तुषारापात । सही विषय र राम्रो काम गर्न स्वनिर्णय अधिकारबाट धेरै नेपाली महिला वञ्चित छन् । अविवाहित हुँदा आमाबुबाको र विवाहितपछि श्रीमान्को निर्णयमा भरपर्दा उनीहरूको सिर्जना त्यसै मरिरहेको छ । महिलालाई व्यक्तिगत हुने चाहनामा प्रश्न गरेर हामी पुरुषले सबैभन्दा ठूलो हिंसा गरिरहेछौँ ।
कारण नं. ११ पुरानो पुस्ताको बोलवाला । हाम्रापालामा यस्तो थियो, हेर त यो केटी यसरी हिँडेकी छे भन्ने पुरानाहरूको कथनबाट आममहिला त्रसित छन् । हाम्रापालामा महिलाले धेरै दुःख पाए, बरु अब नयाँले देखाएको बाटोमा जाँदा उन्नति, प्रगति र महिलाको अधिकार प्राप्ति हुन्छ भन्ने पुरानो पुस्ताले कहिल्यै बुझेन । हिजोका जडता पुराना चलनलाई जबर्जस्ती थुपार्न खोज्ने पुरानो पुस्ता महिला हिंसाको कारण बन्दै आएको छ ।
कारण नं. १२ अस्थिर राजनीति । दलीय स्वार्थका नाममा नेपाल सधैँ राजनीतिक रूपमा अस्थिर बन्यो । फलस्वरूप कानुन, दण्ड, अधिकारका विषय बाझिए । राजनीतिक परिवर्तनका नाममा अपराधी छुट्ने मौका पाए । हिंसा गर्नेले सङ्क्रमणकालको फाइदा लिँदै कानुनबाट उम्केर अपराध गरिरह्यो ।
कारण नं. १३ द्वन्द्वको प्रभाव । नेपालमा विभिन्न कालखण्डमा भएका सशस्त्र द्वन्द्वले सबैभन्दा बढी महिलालाई सताएको छ । महिलालाई हतियार बनाएर निशाना लगाउने परम्परा चलिरह्यो । पछिल्लो माओवादी युद्धमा धेरै केटी युद्धमा होमिए, कति मारिए, तर जे–जति बाँचेका छन् उनीहरू कुनै न कुनै हिंसाबाट पीडित बने ।
कारण नं. १४ भूबनावटको असर । भारतको उत्तर प्रदेश, झारखण्ड र बिहार विश्वमै सबैभन्दा महिला हिंसाग्रस्त क्षेत्रमा पर्छ । यसैको सिमानामा हामी छौँ । त्यसैको प्रभावले तराईमा महिला सधैँ पीडित बनेर बाँच्नुपरेको छ ।
कारण नं. १५ अशिक्षा र गरिबी । कानुन थाहा नपाएर एकथरीले हिंसा गरिरहेछन् भने अर्काथरीले गरिबीकै कारण महिला बेचबिखनदेखि अनेक गलत काममा महिलालाई प्रयोग गरेका छन् । पछिल्लोपटक देखिएका घटनामा नपढेका व्यक्तिले नै धेरै महिला हिंसा जन्माएका उदाहरण छन् ।
कारण नं. १६ पुरुषप्रधान देश । खासगरी महिला हिंसा जन्मनुको मुख्य कारकतत्व पुरुषप्रधान मुलुक भएर हो । प्राकृतिक रूपमा शारीरिक हिसाबले महिला कमजोर हुन सक्छन्, तर अधिकारमा पनि पुरुषको मात्र राज चल्ने भएकोले महिलाले चाहेर पनि हिंसाबाट बच्न सकेका छैनन् । प्रत्येक शिक्षित पुरुषले घर, परिवार, समाजमा आफू उदाहरण बनेर म महिला हिंसा गर्दिनँ भनेर प्रण नगरेसम्म हाम्रो १६ दिने अभियान मिथ्या सावित हुनेछ ।