हिंसात्मक घटना नियन्त्रण गर्न हतियार सङ्कलन

हिंसात्मक घटना नियन्त्रण गर्न हतियार सङ्कलन


निजी तवरले राखिएका हतियारका कारण हिंस्तात्मक घटना बढेर वर्षेनी सयौँ नागरिकको ज्यान जान थालेपछि संयुक्तराज्य अमेरिकाको बाल्टिमोर प्रहरीले नयाँ कदम उठाएको छ । त्यहाँको प्रहरीले झण्डै दुई हजार थान हातहतियार जनतासँग खरिद गरेको छ, जसमा रकेट लन्चरसमेत रहेका छन् ।

अमेरिकाको पूर्वीक्षेत्रमा रहेको बाल्टिमोर नगरमा हिंसात्मक घटना बढ्दै गएपछि प्रहरीले आम जनतासँग रहेका त्यस्ता हातहतियार किनेर फिर्ता लिएको हो । गत साता सञ्चालित तीनदिने अभियानका क्रममा गैरकानुनी समेतका हातहतियार खरिद गरिएको बाल्टिमोर प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

उक्त सहरमा लगातार चार वर्षदेखि बर्सेनि ३०० जनाभन्दा बढी व्यक्तिको एकअर्का विरुद्ध आक्रमणबाट मृत्यु भएको छ ।

एकजना प्रहरी प्रवक्ताले प्रहरी अधिकृतले एक हजार ८६० वटा हातहतियार सङ्कलन गरेको जानकारी दिए भने नगरका मेयरले ट्वीट गरी एउटा रकेट लन्चरसमेत बरामद भएको बताएका छन् ।

प्रहरीले ठूलो म्यागजिन लाग्ने हतियारको २५ डलर, ह्यान्डगन र राइफलको १०० डलर, अर्ध स्वचालित राइफलको २०० डलर र स्वचालित राइफलको ५०० डलर दिने घोषणा गरेको थियो ।

यो अभियानका लागि दुई लाख ५० हजार डलर बजेट व्यवस्था गरिएको थियो भने ‘बाल्टिमोर सन’ नामक स्थानीय खबारले उक्त कार्यक्रम समय, रकम र स्रोतको बर्बादी भनी टिप्पणी गरेको छ ।

तर, प्रहरी प्रमुख गेरी गटलले नगर निवासीसँग बन्दुक नै नभएको अवस्थामा बन्दुकको प्रयोगबाट हुने हत्या र हिंसात्मक घटनामा स्वतःकमी आउने दाबी गरेका छन् ।

अमेरिकी संविधानको दोस्रो संशोधनले मानिसलाई हतियार राख्न पाउने अधिकार दिएको छ र अमेरिकी एक तिहाई घरपरिवारमा हातहतियार रहेको छ ।

ज्ञातव्य छ, संयुक्तराज्य अमेरिकामा सन् २०१७ मा हातहतियारको प्रयोगबाट झण्डै ४० हजार मानिसको मृत्यु भएको थियो ।