नेप्से घटे पनि अर्बमाथिको कारोबार

नेप्से घटे पनि अर्बमाथिको कारोबार


बुधबार उच्च अंकले वृद्धि भएको सेयर बजार आज सामान्य रूपमा घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव शून्य आठ बिन्दुले घटेर एक हजार २ सय १५ दशमलव १६ बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १५ बिन्दुले घटेर २ सय ५८ दशमलव ६६ बिन्दुमा झरेको छ । बजार घटे पनि कारोबार रकममा भने आज सुधार आएको छ । धेरैपछि कारोबार रकम अर्बमाथि पुगेको छ । कुल १७४ कम्पनीको २८ लाख ७२ हजार ५ सय ५१ कित्ता सेयर रु. एक अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ मूल्यमा खरिद–बिक्री भएका छन् ।

आज कारोबार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको सेयर उकालो लागेको छ भने आठ उपसमूहको सेयर भने घटेका छन् । उत्पादन १९ दशमलव १८, अन्य ११ दशमलव ४६ र जीवन बिमा १७० दशमलव ४२ बिन्दुले बढेका छन् ।

यस्तै बंैकिङ ६ दशमलव ६६, व्यापार दुई दशमलव ९६, होटेल ६३ दशमलव ६३, विकास बैंक पाँच दशमलव २९, जलविद्युत चार दशमलव २९, वित्त दुई दशमलव २१, जीवन बिमा ४८ दशमलव ६७ र माइक्रोफाइनान्स दुई दशमलव ६५ बिन्दुले घटेका छन् ।

घटेको बजारमा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन डिस्टिलरी लिमिटेड, समता माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल लाइफ इन्सुरेन्स, वरुण हाइड्रोपावर कम्पनीका सेयरधनीले कमाएका छन् ।

यस्तै सिद्धार्थ इक्विटी ओरेन्टेड स्किम, सनराइज बैंक लिमिटेड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, गरिमा विकास लघुवित्त वित्तीय संस्था, सोल्टी होटेल लिमिटेडका सेयरधनीले गुमाएका छन् ।