- विकाश रौनियार, धादिङ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६१ करोड २५ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै पर्यटन, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ।
१९औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष देवराज धरेलले नीति तथा कार्यक्रमसहित अनुमानित आय व्यय प्रस्तुत गरेका हुन् । गाउँपालिकाले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवाप्रवाह प्रभावकारी बनाउने र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ।
प्रस्तावित बजेटअनुसार पूर्वाधार विकासका लागि सबैभन्दा बढी १३ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षातर्फ ३ करोड, स्वास्थ्य क्षेत्रमा १ करोड ५० लाख, सामाजिक विकासतर्फ ४ करोड ९० लाख तथा सुशासन, संस्थागत विकास र सेवा प्रवाहका लागि ९ करोड ८८ लाख रुपैयाँ छुट्याइएको छ।
गाउँपालिकाले कृषि, पशुपालन, पर्यटन तथा रोजगारी सिर्जनालाई समेत प्राथमिकतामा राखेको छ। कृषि विकासका लागि १५ लाख, पशु विकासका लागि १० लाख, पर्यटन प्रवर्द्धनका लागि १५ लाख तथा श्रम तथा रोजगारी सिर्जनाका कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ। महिला, बालबालिका तथा लक्षित वर्गका कार्यक्रमका लागि २० लाख र युवा, खेलकुद तथा नवप्रवर्द्धनका लागि १० लाख रुपैयाँ छुट्याइएको छ।
प्रत्येक वडाका लागि ३५ लाख रुपैयाँका दरले बजेट व्यवस्था गरिएको छ भने समपूरक अनुदान साझेदारी कार्यक्रमका लागि ३ करोड ३० लाख, दायित्व स्थानान्तरणका लागि ३ करोड र पालिकास्तरीय योजनाका लागि १ करोड ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
विपद् व्यवस्थापनलाई समेत प्राथमिकतामा राख्दै ३५ लाख रुपैयाँ छुट्याइएको गाउँपालिकाले जनाएको छ । फोहोरमैला व्यवस्थापनका लागि १० लाख र जैविक विविधता संरक्षणका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिका अध्यक्ष राजु उप्रेतीका अनुसार नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा धार्मिक पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ । त्रिपुरासुन्दरी माई, फटिकखम्बा र नृसिंहधामलाई पर्यटकीय पदमार्गमार्फत जोड्ने योजना आगामी वर्षको प्रमुख कार्यक्रममध्ये एक रहेको उनले बताए। विगतमा सञ्चालनमा रहेका प्रभावकारी योजनालाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमसमेत समेटिएको उनको भनाइ छ।
यसैबीच, चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित ६८ करोड ४९ हजार रुपैयाँमध्ये जेठ मसान्तसम्म ३७ करोड ६३ लाख ९० हजार रुपैयाँ खर्च भएको विवरण गाउँसभामा प्रस्तुत गरिएको छ। चालुतर्फ ४३ करोड २१ लाख ६२ हजार रुपैयाँमध्ये २९ करोड ५६ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ २४ करोड ७८ लाख ८७ हजार रुपैयाँमध्ये ८ करोड ७ लाख ८ हजार रुपैयाँ मात्रै खर्च भएको छ।
गाउँसभामा आर्थिक विधेयक २०८३ (संशोधनसहित) र विनियोजन विधेयक २०८३ समेत प्रस्तुत गरिएको थियो। प्रस्तुत नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया