मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीलाई सेयर लाभांशसहित सात दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले आर्थिक वर्ष ०७४–७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकममध्येबाट हाल कायम चुक्ता पुँजीको छ दशमलव ८५ प्रतिशतले हुन आउने रु. ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश दिन लागेको जनाएको छ ।
त्यस्तै चुक्ता पुँजीको एक दशमलव ००२३३ प्रतिशतले हुन आउने रु. १० करोड ३० लाख ९४ हजार ८७५ सेयर लाभांश दिन लागेको बैंकले जनाएको छ । तत्कालीन नेपाल लेखामानबमोजिम तयार पारिएको वित्तीय विवरणको आधारमा वितरणयोग्य मुनाफाको प्रतिशत दोहोरो अंकमा देखिए पनि नेपाल वित्तीय प्रतिवेदन मागबमोजिम वित्तीय विवरण तयार गर्दा मुनाफाको हिस्सा जगेडा तथा कोष सार्नुपरेकाले सात दशमलव ८५ प्रतिशत मात्र लाभांश हुन आएको बैंकले जनाएको छ ।
नगद लाभांश र सेयर लाभांश गरी रु. ८० करोड ७६ लाख ५३ हजार ४४६ लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ । बैंक सञ्चालक समितिको २३७औँ बैठकले निर्णय गरेको लाभांश बाँड्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको छ । लाभांश वितरणलगायतका अन्य निर्णयका लागि बैंकले पुस ३० गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।
बैंकको हालको चुक्ता पुँजी रु. १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५७८ रहेको छ । प्रस्तावित लाभांशपछि मेगाको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ करोड २१ हजार ४५३ पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैंकले अघिल्लो आवको पहिलो त्रैमासिक अवधिको तुलनामा चालू आवको सोही अवधिमा निक्षेप ६८ प्रतिशतले र कर्जा ७७ प्रतिशतले वृद्धि गरेको छ भने बैंकको मुनाफा ३९५ प्रतिशतले वृद्धि भई रु. ४० करोड २५ लाख तीन हजार कायम भएको छ ।
प्रतिक्रिया