अधोगतितिर नेपालको कूटनीति– राजेन्द्रप्रसाद पाठक

अधोगतितिर नेपालको कूटनीति– राजेन्द्रप्रसाद पाठक


bicharमहान् कार्य गर्नेहरू चाहे जुनसुकै पृष्ठभूमिका किन नहुन्, तिनका नाम र कृति इतिहासले भुल्न सक्दैन । ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो, सबैलाई चेतना भया !’ छरिएका भुरे–टाकुरे राज्यहरूलाई एकाकार गर्ने नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको यो भनाइ पनि इतिहासले भुल्न नमिल्ने र नसक्ने एक महान् वाणी हो । आज देशले गणतन्त्र भोग गर्दै छ, तर राजतन्त्रात्मक व्यवस्थाका हस्तीहरूले गरेका योगदानले देश बचाइरहेको छ भन्नुपर्ने यथार्थ कसैसामु छिपेको छैन । राज्यव्यवस्था चाहे जस्तोसुकै होस्, तर महान् अभियन्ताहरूको योगदानको कदर राज्य तथा राज्यवासीले सदा गरिरहनुपर्दछ । अन्यथा इतिहास नै मृत्युशøयामा पुग्दछ ।
सुरुको उद्वरणले भन्न खोजेको कुरालाई मध्यनजर गर्दा राजनीतिरूपी गाडीलाई सहज यात्रा सञ्चालन गराउन कूटनीतिरूपी इन्धन भर्नु अपरिहार्य हुन्छ । आजको परिस्थितिलाई मध्यनजर गर्दा देशको भौगोलिक परिस्थिति र चलिरहेको राजनीतिक अवस्था धेरै नै मिल्दोजुल्दो देखिन्छ । उत्तरतिर फर्केर हेर्दा विश्व अर्थतन्त्रको पहिलो देश, दक्षिणतिर हेर्दा विश्वको उदीयमान शक्तिपुञ्ज यस्तो विशालताको बीचमा अडेको भूगोल जहाँ तेल निख्रन लागेको धिपधिपे टुकी बलिरहेको छ । ‘भिल्लको देशमा मोतीको महत्व हुँदैन’ भन्ने उखान सुनेको थियो यस पङ्क्तिकारले, तर यसको मर्मबारे त्यति ख्याल राख्न सकेको थिएन । आज आफ्नै आँखाअगाडि उखान सावित भइरहेको देख्दा झल्याँस्स निद्राबाट ब्युझिएकोजस्तो भयो । देश र जनतामा फैलिएको राजनीतिक चेतनास्तर र राजनेता भनौँदाहरूबाट भइरहेको राजनीतिक क्रियाकलापलाई हेर्दा यस देशमा तत्काल व्यवस्था नै परिवर्तन हुन बेर लाग्लाजस्तो लाग्दैन । तर, इतिहासलाई फर्केर हेर्दा यस्तो परिवर्तनका लागि परिवर्तन पनि दिक्कलाग्दो महसुस गर्न सकिन्छ ।
वि.सं. २००७ देखि आजसम्मको अदलबदलले जनस्तरमा खासै महत्व राख्न सकेको छैन । त्यसैले पनि होला जनतामा एकतमासको गहिरो वितृष्णा छ शासकमाथि, जसले गर्दा शासक र शासन व्यवस्थाले जनतालाई आशा होइन गहिरो निराशा मात्रै दिन सकेकोजस्तो महसुस हुन्छ । यहाँ हरेक घर–घरमा व्यक्ति–व्यक्तिमा बसाइँसराइको मनोकाङ्क्षा फैलिएको छ । मानवीय जीवनको महत्व बुझेकाहरूले एकबारको जुनीमा देशभित्र बसेर यति धेरै निराश बन्नुभन्दा पराईको देशमै भए पनि जीवन सहज बनाउन चाहेको विषयलाई हेर्न टाढा जानुपर्दैन, डीभी, चिठ्ठा, पीआर भर्ने, वैदेशिक रोजगार एजेन्सी, भाषा र शिक्षा कन्सल्टेन्सी हे-यो भने काफी हुन्छ । यी त भए युवा बेरोजगारी र आर्थिक अवसान गन्थनका विषयहरू । यसलगायत देशरूपी गाडी हाँक्ने राजनीतिज्ञहरूले गाडी हाँक्दै गर्दा इन्धनरूपी कूटनीति ‘रिजर्भ’ पनि अन्तिम भइरहेको ख्याल नगर्नाले एक दिन इन्धन सकिएर गाडी चल्नै छाडेपछि मात्र झल्याँस्स होलान् भन्ने लागिरहेको छ । किनकि, अन्तरदेशीय कूटनीति सबल तुल्याउन नियुक्त गरिने देशको प्रतिनिधि अथवा एक राज्यले अर्को राज्यमा आफ्नो उपस्थिति निरन्तर राख्न उपयोग गरिने राजदूतहरू आज नेपालले झन्डै दर्जन देशमा नियुक्त गर्न सकेको छैन । भारतजस्तो विश्वको उदीयमान शक्तिसम्पन्न बन्दै गरेको सबभन्दा नजिकको छिमेकी देशमा समेत झन्डै पाँच वर्षदेखि राजदूतविहीनको अवस्था छ । जब कि, भारतसँग हाम्रो देश पूर्ण रूपमा निर्भर बन्नुपर्ने अवस्था कायमै छ ।
आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, भौगोलिक आदि कारणहरूले समेत हाम्रा लागि भारत सर्वथा निकट मानिन्छ । हरेक दृष्टिकोणबाट निकट रहनुपर्ने राज्यबीचको कूटनीतिक भूमिका कमजोर हुँदै गर्दा आइपर्ने परिणाम साँच्चिकै भयावह सावित हुन बेर लाग्दैन । चीनसँगको हाम्रो सम्बन्ध भनेको आर्थिक र भौगोलिकसिवाय अरू खासै महत्वपूर्ण देखिँदैन । त्यसैले होला अन्य परिदृश्यमा चीनको खासै भूमिका रहेको प्रत्यक्ष रूपमा पाइँदैन । तर, भारतसँगको सम्बन्ध भने अलि विशिष्ट प्रकारको देखिन्छ । हुन त आजको सञ्चारको विकासले गर्दा संसार एउटै गाउँजस्तो महसुस हुन्छ, तथापि विभिन्न सम्बन्धका कारण निकट छिमेकी नै हरप्रकारले विशिष्ट हुन पुग्दछ । सोही छिमेकमा पनि ठूलो पर्खाल लगाएर आवतजावत मुस्किल तुल्याएर रहने छिमेकी र पर्खालै नलगाएर खुल्लमखुला आवतजावतको सुविधा रहेको छिमेकीमा अझै बढी निकटतम् सम्बन्ध रहन सक्दछ । त्यसले राम्रा, नराम्रा, चाहेर, नचाहेर आदि सबै किसिमबाट हुने स्वतन्त्र अवस्थालाई समेत आत्मसात् गरेको हुन्छ । त्यसैले स्वतन्त्रताभित्रै सर्वथा राम्रा कुराहरू धेरै रहन्छन्, तर त्यसलाई उपयोग गर्ने राज्य तथा व्यक्तिविशेषमा त्यसको प्रत्यक्ष सम्बन्ध रहन्छ ।
देशमा रोजगारीको अभावमा विश्वका धेरै देशमा काम गर्नकै लागि नेपाली युवाहरू विदेशिएका छन् । त्यसमध्येमा पनि भारतलगायत एसियाका विकसित देश र युरोप, अमेरिका आदि सम्पूर्ण महादेशका विकसित र विकासोन्मुख देशहरूमा यस देशका बेरोजगार युवाहरू विदेसिएका छन् । त्यस्ता देशहरूमा पनि कूटनीतिक भूमिकाको ठूलो महत्व रहने गर्दछ । श्रम बिक्री गर्न गएकाहरूलाई आइपर्ने समस्यादेखि विदेशमा स्वदेशको उपस्थिति दर्शाउने एक मात्र संस्था भनेको राजदूतावास नै हो । त्यस्तो संस्थामा प्रत्यक्ष सरोकार राख्ने प्रमुख प्रतिनिधिको अभावमा त्यहाँ रहनेहरूले भोग्नुपरेको पीडालाई मल्हम लगाउने कार्यमा समेत राजदूतावासले सघाउ पु-याउन सक्दछ । वैदेशिक सहयोग जुटाउने, सुमधुर सम्बन्ध कायम गर्ने–गराउने, एक–अर्को देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अन्तर्सम्बन्ध कायम गराउने कार्यमा दूतावासको प्रत्यक्ष भूमिका रहने गर्दछ । ‘आएगए मेरो नुहाएधुवाए गोरो’ भन्ने उखानले समेत निरन्तर उपस्थितिको महत्वलाई अझ उजागर गरेको छ । निरन्तरको अनुपस्थितिले बिर्साउनसमेत बेर लाग्दैन । त्यसैले निरन्तरको उपस्थितिले अपनत्व बढाउँछ । जसरी शरीरको सरसफाइले सुगन्ध फैलाउँछ, त्यसरी नै आगमनले अपनत्वलाई कायम राख्दछ । संसारका सबैजसो देशमा आफ्नो देशको उपस्थिति कायम राख्न सकियो भने सुनमा सुगन्ध नै हुन्छ । त्यसमाथि पनि छिमेकी र विश्वका शक्तिशाली भनिएका देशहरूमा भइरहेको कूटनीतिक अनुपस्थितिले राज्यलाई भोलि एक्लो महसुस गराउन बेर लाग्दैन । समय नगुज्रँदै ख्याल गर्न सके हाम्रो देशको भविष्य त्यति निराशाजनक भने पक्कै पनि छैन । तर, समय छँदै त्यसको उपयोग गर्न सक्नु आजको आवश्यकता हो ।
(लेखक त्रिविका पीएचडी स्कलर्स हुन् ।)