राजनीति रङ्गबिनाका तस्बिरहरू

राजनीति रङ्गबिनाका तस्बिरहरू


Binod Tripathi– विनोद त्रिपाठी
शक्तिखोरबाट अवकास पाएको लडाकुले धेरै पहिला देखेको सपना बिर्सन थालिसकेको छ । घरको पीरले बन्दुक बोकेको हेटौँडाका बम्जन अहिले आफ्नै खातामा जनयुद्धको हिसाब राख्न चाहँदैन । रोल्पाकी बुढामगर तीनतिर फर्केका माओवादीलाई को आफ्नो भनेर ठम्याउन सक्दिनन् । कीर्तिपुरको बलामीलाई नेवाःराज्यको खाका मनपर्न छोडेको छ । पूर्वको लिम्बुले भोटबाट जिम्बु बेच्न आउनेसँग सङ्घीयताको कुरा गर्न मन मारिसकेको छ । लाहानको चौधरीले कुन मधेशी पार्टी बेठिक हुन् जान्न मन गर्दैन ।
नेपाली नागरिकको राजनीति चाहमा शुन्यता छाइरहेको यो घडीमा आन्दोलनका दर्जन घोषणा भइसकेका छन् । एमाओवादी हुन् या विप्लव माओवादी, कमल थापा राप्रपा नेपाल हुन् या झुण्ड–झुण्डका जनजाति । आफ्ना तर्क र वर्कतमा उभिन उनिहरू आन्दोलन चाहन्छन् । तर, अहिले शक्तिक्षीण अवस्थामा छन् यिनीहरू । बलवान देखाउन यिनीहरू पुर्वको राई र लिम्बुको नाम तेस्र्याउँछन् । मध्यको तमु र मगरको नाम भजाउँछन्, सुदुरपश्चिमसम्मका नेपालीको पहिचानलाई हतियार बनाउँछन् । यो शैली सबैको एकै प्रकारको छ । तर, सुपारीको पोको बोकेर झापा ओर्लेको भरियासँग आन्दोलनको पर्वाह छैन । मुस्ताङबाट झरेको शेरचन हड्ताल सुन्न चाहँदैन । शक्तिखोरबाट अवकास पाएको लडाकु पिँढीमा बसेर मनमन गुनगुनाउँछ, हड्ताल गरेर फेरि अर्को सङ्कट ल्याउँदैछौँ । उ क्रुद्ध छ, ‘मरी गए पनि मेरो छोरोलाई हड्तालमा पठाउन्न ।’ पश्चिमको डोटेली र पुर्वको इलामेली भन्दो हो, आन्दोलनमा त मरीगए जँन्न । चार बर्षअघिको आन्दोलनमा सहभागी हुँदा अहिलेसम्म लागेको ऋणले उठ्न सकेको छैन । रुकुमको शाही चुक्चुकाउँछ, ‘माओवादीको जनयुद्धमा लाग्दा बैँसजति सकिएछ ।’
रोपाईं शुरु ग-यो मल बीउ पाईंदैन । उत्पादन भएका फलफुलको राम्रो बजार मिल्दैन । भारतले मल नदिई धान फल्दैन । भारतबाटै फलफुल नआई हाम्रो ढुवानी बजार चल्दैन । अनि, तराईमा राजनीति गर्ने दलले भन्छ, ‘मल देउ, बीउ देउ ।’ सत्तामा भइन्जेल मस्तराम हुन्छन् मधेशी दल । सत्ता छोडेपछि एजेण्डा तेस्र्याउँदै मधेशमा सुकाएको खुर्सानीमा राजनीति शुरु गरिहाल्छन् । हिजोको युद्धमा रित्तिएको पुर्वीजिल्लाका पहाडमा पहिचान खोज्न भन्दै लिम्बुवान र खुम्बुवानले जातीय पाण्डुलिपी अघि सार्छन् । लाहुरबाट घरमा आउन पाउँदैन लिम्बु लाहुरे । झापाबाट माथि उक्लन सक्दैन । सधैं बन्दले सडक सुनसान छ । हिजो यही अधिकार भन्दै माओवादीले लडायो, बन्द गरायो, आज साना खालका समुह त्यही भन्दै बन्द गराउँछन् । पुर्वेलीहरू राजनीतिको रङ्गीन सपनामा कहिल्यै भुल्न सकेनन् । उनीहरूको सपना सधैं श्यामस्वेत भो । पहिचान भन्नेले सिङ्गो गाउँ आफ्नै मात्र जातिको भेट्दैन । तर, पनि उ जातीय अडानमा अडिग छ ।
जनकपुरको फोहोर उठाउन कुनै सरकारले आँखा देखेन । फोहोरले बर्षभरि जनकपुरलाई रोगले ग्रस्त पार्छ । तर, यहीँका भुरे दलहरूले सङ्घीयताको नारा उठाएर जनकपुरवासीसँग आन्दोलन भन्न छोडेनन् । भन्दैछन्, सङ्घीयतामा पहाडबाट मधेश छुट्याउने रे । मुलुकको इतिहास भुगोलबाटै मेटाउने कुचेष्टा सबैले बुझेका छन् । अहिले नेपालमा हरेक नेतृत्वमा कोही छ भने त्यो मधेशीहरू नै छन् । यसका फेहरिस्त दुनियाँलाई थाहा छ । तर, अझै कथित अधिकारका नाममा मधेशलाई अवसर दिइएन भन्नु लिम्बुवानलाई अन्याय होइन र ? सधैंभरी मधेशी राष्ट्रपति हुने भए मध्यको तमुले कहिले पाउने अवसर ? फेरि पनि प्रधानन्यायाधीशमा अर्को मधेशी ल्याउने भए खुम्बुवानको कानुन पढेकोलाई अवसर खोइ ?
हिसाब गर्ने हो भने गणितीय रूपमा यो देशमा २०१७ सालपछि सबै जातजाति, धर्म, सम्प्रदाय, लिङ्ग, बर्ण, वर्ग सबै–सबैले अवसर पाइसकेका छन् । सांसद नबनेको जाति सायद नहोला । कर्मचारी त राउटेबाट पनि भए । नेपाल प्रहरीमा एक राउटे केटीले देशको सेवा गरिरहेकी छिन् । वन, विद्यूत, टेलिकमदेखि धेरै अड्डाका मुख्य अधिकृत मधेशका छन् । सेना, पुलिसमा तमु, लिम्बु सबै–सबै छन् । पार्टीमा पनि सबैको अधिकार गच्छेअनुसार र क्षमताबमोजिम दिन खोजेकै छन् । तर, भुरे पार्टी जन्माएर पहाडको बबुरोलाई तमुवानमा छिराइन्छ । पुर्वको टुहुरो खुम्बुवानमा पारिन्छ । सप्तरीको मुसहर फोरममा कोरम पु-याउन हालिन्छ । यी सबै निर्दोष नागरिकमाथि पुराना तर, देशमा कुराजनीति गरेर ब्यक्ति स्वार्थ पूरा गर्न पल्केकाले शासन जमाउन खोजिरहेछन् । अहिले सम्मुखमा आएका विभिन्न आन्दोलनको नालीबेली करिब करिब यही नै हो ।
प्रधानमन्त्री हुँदाताका आन्दोलन होइन आर्थिक उन्नतिको रटान गरे बाबुराम भट्टराईले । तर, अहिले हड्ताल गरेर संविधान बनाउन दबाब दिने हो भनेर झुक्याउँदैछन् उनी । उनको बौद्धिकतामा टेकेर हजारौँ युवाले हिजोको युद्धमा ज्यान गुमाए । १५ हजार घरमा परिवारको सदस्य गुम्यो । लाख नेपाली कुनै न कुनै रुपमा अङ्गभङ्ग भए । २० औँ लाख नेपाली विदेशिए । ५० लाख जति विस्थापित भए । खरबौं रुपयाँको सम्पत्ति चट् भो । देशलाई अग्रगमनका ‘जार्गन’ शब्द प्रयोग गर्छन् यिनै । तर, पनि देश अधोगतितिर गइरहेछ । त्यतिबेला एकै ठाउंमा भएका माओबादी अहिले चारतिर छन् । त्यो शैली सिकेकाहरूले उस्तै धम्की दिन थालेका छन् । सम्हाल्न नसक्ने गरी युद्ध गरेर जनतालाई सताउने बाबुराम र प्रचण्डले कुन नैतिकताले अधिकारको कुरा गरे होलान् ?
नेपालमा राजनीति एउटा गतिलो ब्यापार बनेको छ । कपडामा सफल भएन भने सुनचाँदीको ब्यापार शुरु गर्छ । यसमा पनि घाटा ब्यहो-यो भने मेनपावर अफिस खोल्छ । जबसम्म उ नाफामा जाँदैन उसले रङ्ग–ढङ्ग, शैली बदलिरहन्छ । तर, ब्यापार भने निरन्तर गर्छ । अहिले एमाओवादी, क्ष्ँेत्रीय दलहरू यो ब्यापारको शैलीमा परिवर्तनशील तर नाफामुखी बनाउन जनतालाई भरिया बनाइरहेछन् । यो नियत आमनेपालीले बुझिदिने हो भने नेता सबै एक्लिने थिए, साँच्ची नै नेपाली राजनीतिले सकारात्मक बाटो लिने थियो र हाम्रा राजनीतिक सपना कति रङ्गीन हुने थिए ! सपना रङ्गीन हुनुपर्छ, श्यामस्वेत होइन ।