भारतमा नेहरू, इन्दिरा गान्धीको भन्दा पनि राम्रो सरकार पीभी नरसिंह रावको सरकारलाई मानिन्छ । किनकि, त्यसबेलाको प्रतिपक्षी दल भाजपा तथा सो पार्टीका नेता अटलविहारी वाजपायीले निभाएको प्रतिपक्षीय भूमिकाले भारतको त्यसबेलाको सरकारलाई विशिष्ट बन्न ठूलो बल मिलेको थियो । तर, तिनै नरसिंह राव सरकारबाट बाहिरिनासाथ भ्रष्टाचारको विवादमा परेर तीन बर्ष जेल परे र काङ्ग्रेस पार्टीको अध्यक्षबाट समेत निकालिए । भएको के थियो भने इन्दिरा गान्धी पार्टीअध्यक्ष र प्रधानमन्त्री हुँदा पार्टीमा आउने पैसा स्वयम् बुझेर उनी चन्दादातालाई चन्दाको निस्सा दिन्थिन्, ताकि चन्दादाताले चन्दावापत दिइएको अर्बौं रुपैयाँको करकट्टी गर्न सक्थे । तर, नरसिंह रावले आफै त भ्रष्टाचार गरेनन् नै, पार्टीको लागि पनि कहिल्यै चन्दा मागेनन् । तथापि, पार्टीको निम्ति चन्दा उठाउने नाममा उनका मन्त्रीहरूले भ्रष्टाचारको आतङ्कै फैलाएका थिए । पछि हिसाब माग्दा सम्बन्धित कसैले पनि आफूले चन्दाको नाममा भ्रष्टाचार गरेको स्वीकार गरेनन्, बरु जम्मै दोष पार्टीअध्यक्ष एवम् प्रधानमन्त्री रावमाथि थोपरियो । उनले कुनै प्रस्ट जवाफ दिनै सकेनन् र देशकै इतिहासमा सबैभन्दा राम्रो सरकार चलाउने उनी तीन बर्ष जेल परे र अन्तत: राजनीतिबाटै धपाइए ।
यो प्रसङ्ग यहाँ किन उठाइयो भने आज नेपालमा सुशील कोइरालाको हविगत करिब–करिब नरसिंह रावकै जस्तो भएको छ । प्रधानमन्त्री कोइरालाको चाकडी गरेर, पार्टीभित्रै गुट–उपगुट बनाएर वा धम्क्याउने–तर्साउने गरेर सत्तामा सिक्का जमाउन खोज्नेहरू, देशका ठूला पार्टीका नेता, ठूला व्यवसायी (जो राजस्व छल्ने लगायतका आर्थिक अपराध गरेर अर्बपति बनेका छन् र आÏनो अपराध दवाउन पार्टीलाई ठूलो धनराशी चन्दा दिन्छन्), जिल्ला–जिल्लाका फटाहा, बदमासलगायत यस्ता कसैलाई कानुनसम्मत कारवाही गर्नै नसक्ने वा नचाहने उनी स्वयम् शक्तिका पुजारी हुन् । संविधानसभाबाट दुई तिहाई बहुमत प्राप्त गरी संविधान जारी गर्ने हैसियत राख्ने उनी पहूँचवालालाई कारवाही गरे सत्ता–शक्ति सन्तुलनमा खलल पुग्ला भनी पछि हट्ने शासक सावित हुँदै यतिबेला गुण्डा, अपराधी, फटाहा र भ्रष्टको मात्र नेता बन्न पुगेका छन् । आज देश अराजक अवस्थामा छ । पुसको दोश्रो सातामा देशभरका अपराधी उनकै छत्रछायामा राजधानीमा लुक्न आएका छन् भन्ने गुप्त रिपोर्ट छ । यसरी, अपराध झन् बढेको छ, महँगी र सरकारी आतङ्कले जनता निसास्सिएका छन् । कोइरालाको ‘संविधान आतङ्क’ र राष्ट्रिय जीवनको हरेक क्षेत्रमा सरकारको उपस्थिति नदेखिनुले जनताको सहनशीलताको सीमा नाघ्नै आँटेको छ । प्रम कोइरालाबारे त्यागी, भ्रष्टाचार नगर्ने, निष्ठाको राजनीति गर्नेलगायत अनेकौँ विशेषण लगाएर जुन प्रचार गरिएको छ– वास्तवमा उनी त्यस्ता रहेनछन् भनेर व्यवहारमा प्रमाणित भएको छ । यस हिसावले अब कुनै दिन सुशील कोइराला पनि नरसिंह राव र बंगलादेशकी जियाजस्तै जेल पुगे भने अचम्म मान्नु पर्दैन ।
बंगलादेशमा पनि भ्रष्टाचार नगरेकी खालिदा जिया भ्रष्टाचारकै विवादमा जेल पुगिन् । नेता भएपछि भ्रष्टाचार रोक्नु पो पर्छ, ‘मैले ग¥या छैन, मलाई छोराछोरी अमेरिका पठाउनु छैन’ भन्दै कुतर्क गरेर हुन्छ ? त्यस्ता साधु व्यक्तिले आफ्ना सल्लाहकार, सहयोगी र स्वकीयसचिवमा भाञ्जा–भाञ्जी, भाइ–भतिजा र बुहारी आदि किन भर्ती गर्नुपथ्र्यो त ? मन्त्री–प्रधानमन्त्रीका स्वकीयसचिव र सल्लाहकारहरू त पार्टीले नै तोक्नुपर्ने होइन र ? ‘मैले अपराध गरेको छैन, नराम्रा कुरा सुनिन्छन् त म के गरुँ ?’ भन्नेजस्ता केटाकेटी कुरा गर्दै गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुनु प्रम सुशीलका लागि साधारण कुरा होला, तर यही बानी–ब्यहोराले नै उनलाई भड्खालोमा पार्नेछ ।
गत मङ्सिरको दोस्रो साता भएको काङ्ग्रेस पार्टीको केन्द्रीय समिति बैठकमा ‘प्रधानमन्त्रीले अँध्यारो कोठामा आफैं निर्णय गरी त्यसलाई पार्टीको निर्णय भन्न्दै लाद्न खोज्नुभयो’ भन्ने गुनासाको ओइरो लागेको समाचार आएको थियो । यी स्वेच्छाचारी व्यक्तिलाई प्रधानमन्त्रीको ड्युटी के हो भन्ने पनि थाहा रहेनछ । ‘म अरु केही जान्दिनँ, माघ ८ गते संविधान बनाउन लागेको छु’ भन्नका लागि मात्र उनी तिगडम लगाएर प्रधानमन्त्री बनेका रहेछन् । तर, सुशील कोइरालाको पालामा वा जीवनकालमै संविधान लागू हुन्छजस्तो पङ्क्तिकारलाई लाग्दैन । हुन त यो देशलाई संविधान चाहिएकै छैन । अहिलेकै अन्तरिम संविधानले देश धानेको आठ बर्ष भइसक्यो, देश र जनताको के बिग्रेको छ र ? प्रधानमन्त्रीले त संविधानसभाले मागेको क्षेत्रमा सहजकर्ताको भूमिका निभाउने मात्र हो । प्रधानमन्त्री भनेको संविधान बनाउने व्यक्ति नभई जनताको मुख्य सेवक हो । ६०१ जनालाई वाइपास गर्ने हो भने संविधानसभा नै भङ्ग गरे भइगयो नि !
सबैलाई थाहा छ कि देशमा लाउडा आतङ्क मच्चाउने कोइराला परिवारको बुई चढेर सुशील प्रधानमन्त्री बनेका हुन् । भ्रष्टाचार नगर्ने ‘त्यागी’ सुशीलको शासनमा नेपाल भ्रष्टाचारको सूचीमा १३२औँ स्थानबाट उक्लिएर १३६ नम्बरमा पुगेको छ । यिनैको पालामा दण्डहीनता बढेर नेपाल झन् बदनाम भएको छ । यिनैको पालामा महिला र बालिकाहरू बलात्कृत भएका छन्, तर उनी बलात्कारजस्तो फाँसी दिनुपर्ने अपराधलाई बचाउ गर्र्दै उल्टै दण्डसजाय घटाउने कानुन पारित गर्छन् । सुशील कोइरालाको राजमा दण्डहीनता नै ‘प्रजातन्त्रको मर्म’ बनिदिएकोले पार्टी र सरकारसँग आबद्ध व्यक्तिहरूमा अपराध गर्ने प्रवृत्ति बढेको छ । नन्दप्रसादलाई सुशीलको दण्डहीनताले मा¥यो भने सभासद् हरि खड्काको ज्यान सुशीलकै बेवास्ताले अकालमै गयो । त्यागी, भ्रष्टाचार नगर्ने नेता भनेर पब्लिसिटी स्टन्ट गर्ने र लोकतन्त्र, विकास तथा ‘वाह्य लगानीको वातावरण बनेको’ जस्ता केही मनगढन्ते शव्दआतङ्क फैलाएर यिनले आफूलाई चोख्याउन जनतालाई झुठको सपनामा अलमलाएर थामथुम पार्न खोजेका मात्र हुन् । जो कानुनसम्मत कामै गर्दैनन्, त्यस्ता प्रधानमन्त्रीले प्रजातन्त्रको रक्षा कसरी गर्लान् र देशको मूल कानुन बनाउने कार्यमा कसरी सघाउलान् ? यही तालले जाने हो भने अब भन्न कर लाग्छ कि सुशील कोइराला केवल भ्रष्ट, फटाहा, गुण्डा र अपराधीका मात्र नेता हुन् । कोही नेताले भ्रष्टाचार गरोस्–नगरोस्, राजनीतिक वृत्तमा कुनै प्रधानमन्त्रीले भ्रष्टाचार र अपराध रोक्न सक्दैन भने उ पनि भ्रष्टाचारमा सहभागी भएको या भ्रष्टाचारको अंशियार/मतियार ठहर भई कारवाहीको दायरामा आउनेपर्ने व्यवस्था गरिनु पछ, होइन र कसैले भ्रष्टाचार गरेकै छैन भनेर छुट पाउने व्यवस्था रहे देश भ्रष्टाचारको पीडाबाट कहिल्यै मुक्त हुन सक्दैन ।
प्रतिक्रिया