बीपीको अनुयायी बन्ने ढोँग !– इन्द्रबहादुर बराल

बीपीको अनुयायी बन्ने ढोँग !– इन्द्रबहादुर बराल


bicharकुनै पनि देशमा युगपुरुषहरूले जन्म विरलै हुन्छ । नेपालीको सौभाग्य नै भन्नुपर्छ, बीपी कोइरालाजस्ता महान् राजनीतिक चिन्तकको जन्म आजभन्दा सय वर्ष पहिले भएको थियो । बीपी कोइरालाकै राजनीतिक सुझबुझ र साङ्गठनिक कुशलताले धेरै लामो समय जरा गाडेर बसेको जहानियाँ राणाशाहीको अन्त्य सम्भव भएको थियो । राणाशासनको पतन र प्रजातन्त्रको उदयमा युगपुरुष बीपी कोइरालाको सहासिक र कुशल राजनीतिक व्यवस्थापनको उपजले मुलुक गणतन्त्रसम्म आइपुग्न सक्यो । तथापि, सङ्क्रमणकालको अन्त्य यथासमयमा हुन नसक्दा अन्योल कायमै छ । यही अन्योलबीच बीपी पछिल्लोपटक स्वदेश फर्किएको सम्झनास्वरूप राष्ट्रिय मेलमिलाप दिवस मनाउने कर्मकाण्ड चलेको छ । मेलमिलाप दिवसअघि बीपीकै जन्मशताब्दीको अवसर पारेर गत भदौ २४ मा नेपाली काङ्गे्रसले विराटनगरबाट बीपीका विचारलाई प्रचारँत्मक अभियानका रूपमा विभिन्न जिल्ला हुँदै सुन्दरीजलमा लगी पदयात्रा कर्याक्रम समापन गरेको थियो । तर, जुन रूपमा बीपी जन्मशताब्दीको पदयात्रा कार्यक्रमको अपेक्षा गरिएको थियो, त्यो हुन सकेन । उक्त कार्यक्रमप्रति स्वयम् पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाबाटै असन्तुष्टि व्यक्त हुनु त्यसैको प्रमाण थियो । त्यसैले, नेपाली काङ्गे्रस पार्टीको आन्तरिक जीवनलाई चुस्त, दुरुस्त र एकढिक्का बनाइराख्न कुनै पनि कार्यक्रम सञ्चालनपूर्व यथेष्ट बहस, छलफल र त्यसपछि एकताबद्ध निष्कर्ष पु¥याउनुपर्नेमा नेतृत्व वर्गको ध्यान जान आवश्यक छ । बीपी कोइरालाजस्ता महान् युगपुरुषले सिञ्चित गरेको पार्टी सुक्खा र जर्जर बन्न दिनुहुँदैन ।
नीति, सिद्धान्त र कार्यक्रमलाई नै केन्द्रमा राखेर राजनीतिमा लागेको भन्न रुचाउनेहरूले त्यागको भावना र व्यवहारलाई परिणामुखी बनाउन चुकिराखेका छन् । त्यसमा पनि बीपीको असल अनुयायी हुँ भन्दै प्रतिस्पर्धा गर्नेहरूले सरकारमा रहँदा के गरे त भन्ने प्रश्नको जवाफ सरकारी कार्यक्रममार्फत दिन सक्नुपर्छ । अनि मात्र वास्तविक बीपीको स्मरणले सार्थकता पाउन सक्छ । बीपीको जन्मशताब्दीको यस घडीमा इमानदारीका साथ छातीमा हात राखेर पार्टीभित्रको आन्तरिक जीवनलाई सबल बनाउनु नै उहाँप्रतिको सच्चा श्रद्धासुमन हुनेछ । यसै सन्दर्भमा एउटा श्लोक समय–सान्दर्भिक छ– ‘अठदशौं पुराणेशु व्यासस्य वचन द्वय, परोपकार पुण्याय पापाय परपिडनम् ।’ अर्थात्, अठार पुराणको निष्कर्ष वा निचोड मात्र के हो भने परोपकार गर्नु पुण्य हो, अरूलाई दु:ख दिनु पाप हो । बस्, यति मात्रै जान्यो र सोहीअनुसार व्यवहार ग¥यो भने अठार पुराणको ठेली आवश्यक छैन भनी पुराणका रचयिता स्वयम् व्यासले भनेझैं नेपाली काङ्गे्रसले पनि बीपीको महान् वाणी र उहाँले छोडेका पदचिह्नलाई पछ्यायो भने अवश्य पनि राजनीतिक दर्शनका ठूलाठूला ठेलीको खाँचो पर्दैन ।
स्वतन्त्रता र समानता एक रथका दुई पाङ्ग्रा हुन् जसलाई एकसाथ हिँडाउनुपर्छ भन्ने अब्राह्म लिङ्कनको एउटा वाक्यांशले प्रजातन्त्रको अर्थ र परिभाषालाई सरल भाषामा लेखिदिँदा बुझ्न कुनै कठिन नभएझैं बीपीले राजनीतिक स्वतन्त्रताको साथसाथै आर्थिक, सामाजिक न्यायलाई थप जोड दिनुभएको छ । प्रजातान्त्रिक समाजवादको आदर्शलाई बीपीले अगाडि सार्नुभयो । उहाँले आफ्नै समयमा समेत त्यसको अभ्यास बिर्ता उन्मूलन, वेठ बेगारीको अन्त्य र वनको राष्ट्रियकरणबाट सुरु गर्नुभएको थियो । त्यसताका मुलुकका उत्पादनका साधनहरू सामन्ती अर्थव्यवस्थाका नाइकेहरूको पकडमा थिए । एउटै प्रयास र पहलबाट एकैपटक गल्र्यामगुर्लुम ढलिहाल्ने अवस्था नभए पनि सामन्ती अर्थव्यवस्थाका स्तम्भहरू हल्लन थालेका थिए । विस्तारै राजनीतिक चेतनाको पनि विकासै हुँदै थियो, प्रतिक्रियावादी शक्ति, बीपीको व्यक्तित्वबाट तर्सिएका तत्कालीन राजा महेन्द्रको साँठगाँठमा नेपालीको भाग्यविधाता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालालाई हठात् अपदस्त गरी कलिलो प्रजातन्त्रको गला रेटियो र देश फेरि अन्धकार युगमा धकेलियो ०१७ पुस १ गते । तथापि, चेतनाको जागरण आइसकेकाले केही युवाले प्रजातन्त्रको धिपधिपे बत्ती निभ्न दिएनन्, जोगाइराखे बडा कस्टले । अन्तत: ०४६ को जनआन्दोलनबाट तिल्मिलाए पञ्चायती तानाशाह र प्रजातन्त्र पुनस्र्थापना भइछाड्यो । उक्त जनआन्दोलनमा नेपालका वामपन्थीहरू पनि आन्दोलित भए । जुन अत्यन्तै सकारात्मक राजनीतिक सुझबुझ थियो वामपन्थी पार्टीहरूको । तर, ०७ देखि ०४६ सम्मका क्रान्तिहरूको जे–जस्तो गफ गरे पनि नेपाली जनताले के पाए त भन्ने गुनासा सर्वत्र सुन्नमा आउँछन् । त्यसैले राजनीतिक क्रान्ति मात्रै आफैँमा पूर्ण रहेनछ, त्यसलाई पूर्णता दिन आर्थिक क्रान्ति अनिवार्य सर्त हो भन्नेमा सन्देह नै रहँदैन । यही पाटोमा नेपाली काङ्गे्रसले बीपी कोइरालालाई बिर्सेको भन्नु अत्युक्ति नहोला ।
बीपीका विचारमा समाजवाद भनेको कुनै त्यस्तो भीमकाय वस्तु होइन जसलाई व्यवहारमा उतार्न कठिन होस् । त्यो त अति सामान्य र सरल कुरा हो जहाँ भोको मानिसले पेट भर्ने गरी खान पाओस्, घरवारविहीन मानिस खुला आकाशमुखी बस्न नपरोस्, कुनै पनि नेपालीका बालबच्चाहरू शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस्, उपचार नपाएर कोही पनि तड्पिराख्न वा मर्न नपरोस् । त्यसका लागि गरिने सबै प्रबन्ध नै समाजवादका न्यूनतम सर्त हुन् । यति सरल अर्थलाई समाजवादको कठिन यात्रामा धकेल्न खोज्दा मुलुक अहिले पनि अन्योलग्रस्त नै छ । अपितु, नेपाली काङ्गे्रसको नेतृत्वमा सरकार सञ्चालन हुँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले समाजवादलाई स्मरण गर्दै केही आर्थिक क्रान्तिका प्रतीकात्मक कार्यक्रमहरूको थालनी गर्न खोजेको पाइन्छ, बाँकी कुनै त्यस्तो आर्थिक–सामाजिक न्यायसङ्गत कदमहरू चालिएको अनुभूति हुन सकेको छैन ।
मुलुकको वर्तमान अन्योलग्रस्त परिस्थितिको कारण नै वर्तमान नेतृत्वप्रतिको अविश्वास हो । त्यसैले जिम्मेवार पक्ष अझै आफ्ना कमी–कमजोरीलाई सच्याउँदै बीपीको सच्चा अनुयायी बन्ने इमानदार प्रयास भएमा विद्यमान अन्योल र सङ्क्रमणकाल स्वत: हटेर जान्छ । त्यसपछि देशले सहजै निकास पाउनेमा ढुक्क भए हुन्छ । तसर्थ, बीपीका समग्र पक्षमध्ये अनुकूल कुरा गरेर महान् बन्ने चलाखी छाड्नुपर्छ । उदाहरणका लागि राजनीतिक रूपमा बीपीले व्यक्त गरेका वाणीहरू जस्तो कि ‘प्रधानमन्त्री पद खुट्टाको जुत्ता वा मेरो स्वास्थ्यको चिन्ता होइन देशको चिन्ता गरौँ’ भनी ढोँग प्रदर्शन गर्नुको कुनै तुक छैन । साँच्चै बीपीलाई भित्री मनबाटै सम्झन खोजेको हो भने कम्तीमा पनि एकाध समाजवादी कार्यक्रम चालू बजेटमा ल्याउन निर्देश गर्न किन सकिएन ? प्रधानमन्त्री र काङ्ग्रेसका चल्तापूर्जा नेतागणलाई यसो गर्न कसले छेकेको थियो ? देखावटी र औपचारिकताले भोको पेट, नाङ्गो आङ, अशिक्षा, रोगबाट मुलुक मुक्त हुन सक्दैन । इमानदारी साथ पदप्राप्ति होइन, न्यायप्राप्तिको बाटोमा त्यागका साथ लागौँ । बीपीले त्यही भन्नुभएको हो जुन पूरा गर्नैपर्छ । अनि मात्र यावत् समस्याको समाधान सम्भव गर्न सकिन्छ र बीपीको मेलमिलाप नीतिको सही अनुशरण ठहरिने छ ।