क्रमभङ्ग हुन नसकेको पुस्तान्तर– विनोद त्रिपाठी

क्रमभङ्ग हुन नसकेको पुस्तान्तर– विनोद त्रिपाठी


Binod Tripathiमानिस समाजमा बस्छ र सम्ँँजमै विचरण गर्छ । समाजका हरेक ब्यक्तिका उमेर र दक्षता सबैसँग मेल खँाँदैन । विचार पनि समाजका सबै ब्यक्तिको एकै हुँदैन । तर, सम्बन्धमा समभाव जोडिने भएकोले मानिसको समाज उच्चस्तरको हुन्छ । समाज सञ्चालनका प्रक्रियामा जिम्मेवारी बाँडफाँड पनि स्वत: निर्देशित हुँदै जान्छ । जब एकले अर्कोको जिम्मेवारीमा दाबी सुरु गर्छ, अनि यहीँबाट सुरु हुन्छ राजनीति । समाजभित्र एउटै विचार भएकाहरू बीचको समुह खडा हुने क्रममा विवाद सुरु हुन्छ । यो विवाद दर्शन, सिद्धान्त र लक्ष्यमा आधारित भएर समाजमा देखापर्छ । यसले समाजलाई कुन बाटोमा लैजाने भन्ने अधिकार पाएको हुँदा यही राजनीतिको घेराभित्र समाजका प्रत्येक ब्यक्ति हिस्सेदार बन्दै जान्छन् ।
नेपाली समाज आफ्नै खालको छ । यो समाज न कहिल्यै जातीय मोडमा चल्यो न कहिल्यै धार्मिक घुम्तीमा । नेपाल एकीकरण गर्ने बेलामा पृथ्वीनारायण शाहले नेपालको यो सामाजिक परिवेशलाई एकै मालामा उनेका थिए । त्यतिबेला हाल ब्यहोरेको कान्तिपुर नगरीका प्रत्येक शासकलाई उनिहरूकै हैसियतअनुसारका जिम्मेवारी पृथ्वीनारायण शाहले दिए । गोर्खाको राजा हालको काठमाडौंबाट शासन गर्दा नेपालरूपी फुलबारीभित्रको समाजलाई उनले काखा वा पाखा गरेनन् । त्यसपछि व्यवस्था परिवर्तन भए पनि ०४६ सम्म हामी उनैले सृजना गरेको समाजबाट निर्देशित भयौँ । यसबीचमा नेपालको आर्थिक उन्नति सन्तोषजनक थियो । विकासका ठूला संरचनाले गति लिएको थियो । तत्कालीन राजा वीरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोषणा गरेर संसारका सबैजसो राष्ट्रको समर्थन हासिल गरे । उनको नेपाललाई एसियाली मापदण्डमा पु¥याउने सपना करिब–करिब पूरा भएकै थियो । मानव विकासक्रम, आर्थिक विकास, प्रतिब्यक्ति आय, उत्पादित वस्तुको निर्यात, आन्तरिक शान्ति व्यवस्थामा नेपालले विश्वमा एकखालको चित्र कोर्दै थियो ।
तर, ०४६ देखि ०६३ सालसम्मको घटनाक्रमले त्यो हाम्रो स्वर्णिम कालखण्ड यसरी चकनाचुर भयो, मानौँ सिसा फुटेपछि जोडिँदैन, मात्र टाँस्न सकिन्छ । त्यही हालतमा पुगेको छ मुलुकको हालत । हामी नेपाली राजनीति गर्न निकै सिपालु बन्यौँ, तर विकास गर्न केही सिकेनौँ । हामी नेपाली नेता जन्माउन सक्ने भयौँ तर देश बनाउने नेता हुर्काउन सकेनौँ । पार्टी खोल्न सक्ने भयौँ तर जनताको राजनीति गर्न कहिल्यै सिकेनौँ । काठमाडांैको सडकमा टायर बाल्न सिक्यौँ, तर सडक बनाउन कहिल्यै जानेनौँ । सडकको मुआब्जा लिन ज्यान फालेर कस्सिन्छौँ हामी, तर सडक बनाउन कहिल्यै तम्सेनौँ । जेनतेन त्यही पञ्चायतकै पालामा बनेका सडकबाट अहिलेसम्म राजनीति गरिरहेछौँ ।
विश्वविद्यालय थप्ने क्रम जारी छ यो गणतन्त्रकालमा । तर, न भौतिक निर्माणमा कायापलट भएको छ न गुणस्तरीय शिक्षामा । अस्पताल थपिएका छन् यो सङ्घीयउन्मुख कालमा । तर, न धादिङको चेपाङले उपचार पाएको छ न सुस्ताका मधेशी दलितले । बरु इमान्दार काम गर्ने डा. चित्रप्रसाद वाग्लेजस्ता असल चिकित्सक अकालमा मर्न पुगेका छन् । रेडियो खुलेकाखुल्यै छन्, मधेशका महिलाको आवाज कहिल्यै लहान कटेर राजधानी आएन । महिला स्वतन्त्रताको आवाज गुन्जने रेडियोले मधेशका घर–घरमा चुलोचौकोमा मात्र सीमित महिलाको आवाज कहिल्यै उठाएन ।
०४६ सालमा बहुदल ल्याउनका लागि हामीले जनतासँग भन्यौँ, देशमा बहुदल आयो भने देश विकास हुन्छ, हाम्रा सारा दु:ख दूर हुनेछन् । भएभरका जम्मै जनता एकैचोटी सडकमा ओर्लिए । अनि हो के रे जनताको इच्छाअनुसार जानुपर्छ भनेर तत्कालीन राजा वीरेन्द्रले बहुदल दिएर आफू संवैधानिक राजाको रूपमा बसे । यसबीचमा धेरै नेता जन्मिए । पुरानो नेताले गरेन भनेर नयाँ युवानेतालाई पनि जिताए जनताले । तर, विश्वले समुन्द्रमाथि राजमार्ग निर्माण गरिसक्यो, हाम्रो बहुदलीयकालका नेताहरूलाई र त्यतिबेलाका सरकारहरूलाई पञ्चायतकै पालामा बनेको मुग्लिन कज–वे पुल टालटुल गर्न पनि धौ–धौ प¥यो । त्यो टालटुल गणतन्त्रको यो घडीसम्म जारी छ ।
हाम्रो देशको राजधानी यति सुन्दर, सफा र स्वच्छ थियो कि गीतै बने त्यसताका, ‘कान्छीलाई घुमाउने काठमाडौं शहर ।’ तर, अहिले गणतन्त्रको यो चरणसम्म राजधानीको मात्र कुरा गर्ने हो भने कोही–कसैले श्रीमती लिएर काठमाडौं आयो भने जिन्दगीको मिलन विछोडमा परिणत हुन सक्छ । सारा धुलोले बसेको मायाप्रेम पनि धमिलिने छ । सायद विश्वका जोडीहरूले यो राजधानी घुमे भने मनमनै सोच्नेछन्, यो भन्दा कुरुप शहर विश्वमा होला ??
संसारको रीतै छ, बिग्रन समय लाग्दैन, बनाउन पो धेरै समय चाहिन्छ । चीनले एउटै रेल बनाउन २० बर्ष खर्च गर्छ । अमेरिकाले आणविक भट्टीहरू बनाउन कयौँ बर्ष लगायो । राजधानी दिल्लीमा भारतले बल्ल मेट्रो गुडाउन थाल्यो । ब्रिटिसका पालामा बनेका रेल सम्हाल्न भारतलाई धौ–धौ मात्र छैन, दैनिक लाखौँ यात्रु अहिले भारतभर रेलमा झुण्डिएर यात्रा गर्छन् । विकास भन्ने कुरा योजना सुरु हुनेवित्तिकै सम्पन्न हुने होइनन् । त्यो पूरा हुन बर्षौंबर्ष लाग्छ । राजनीतिले स्थायित्व लिएपछि, अनि संविधान बनेपछि, अर्को सरकार बनेपछि, नयाँ आयोजना बनेपछि विकासले गति लिन्छ भनेर अहिलेका नेताले जो भन्दैआएका छन् यो पूरा हुनै ५० बर्ष लाग्नेछ । त्यो बेलासम्म तीन पुस्ताले आफ्नो जीवन ब्यतीत गरिसकेको हुनेछ । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा सुरु भएको (२०५६) मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन अझै दुई बर्ष बाँकी छ ।
हामीले के परिवर्तन गरेनौँ– सोचौँ त । जातैपिच्छेका चाडपर्व घोषणा गरिदियौँ । धर्मपिच्छेका बिदा तोकिदियौँ । मान्छेपिच्छेका सडकको नामाकरण गरिदियौँ । मृत्युपिच्छेका शहिद घोषणा गरिदियौँ । अझै थरैपिच्छेका राज्य दिन पनि खोजिरहेका छौँ । तर, सबै अधिकार दिएर पनि हाम्रो राजनीतिले भोकै बस्ने शक्तिखोरका चेपाङलाई एक छाक खान दिएन । यति धेरै अधिकार पाएर पनि तराईको मुसहरले न्यानो स्वीटर पाएन । भएको सबै अधिकार पाउँदा पनि दैलेखको शाहीले आमालाई धोती किन्न नसकेर मुग्लान पसेको छ । यत्रोविधि अधिकार भएर पनि बागलुङको मगरले छोरीको स्कुलपोशाक किन्न नसकेर मलेशिया भासिएको छ । तर, पनि नयाँपुस्ताका राजनीतिक नेताले पुराना पुस्ताका नेतालाई पछ्याउन छोडेका छैनन् । उही शैली, त्यही स्वभाव, उही आचरणबाट निर्देशित नयाँपुस्ताले पनि यो देशमा सय बर्षसम्म केही नगर्ने निश्चित छ । किनकि, हजुरबुबाले जुन कुवाको पानी खाए, अहिले नातीले पनि त्यही कुवाको पानी खाइरहेको छ ।