बीपीको कर्मकाण्डी सम्झना !

बीपीको कर्मकाण्डी सम्झना !


sampadakeeyaनेपालको राजनीतिक इतिहासका एक चर्चित पात्र बीपी कोइरालालाई वर्षमा दुई–तीन पटक विशेष स्मरण गर्ने गरिन्छ । खासगरी बीपीले स्थापना गरेको दल नेपाली काङ्ग्रेसले बीपीको जन्मजयन्ति, स्मृति दिवस र मेलमिलाप दिवसलाई औपचारिक तवरमा मनाउँदै आएको छ । हुन त बीपीकै नाम, सिद्धान्त, कर्म र आकर्षणले अनुप्राणित रहँदै आएको काङ्ग्रेसले पछिल्ला वर्षमा फगत् कर्मकाण्ड निर्वाहको शैलीमा बीपीसम्बन्धी विभिन्न दिवस मनाउन थालेको यथार्थ कसैसामु छिपेको छैन । तथापि, पछिल्ला दशकमा क्रमश: आफ्नो मौलिकता गुमाउँदै आएको काङ्ग्रेसजस्तो अस्तव्यस्त पार्टीले पनि आजका मितिसम्म बीपीको सम्झना जो राख्दै आएको छ, यो आफैंमा महत्वाश्चर्यपूर्ण छ । यसै पेरिफेरिमा आज पुस १६ का दिन नेपाली काङ्ग्रेस, यसका भातृ एवम् शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूले ३९ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छन् ।
भनिन्छ, बीपीले सबै देशवासीबीच आपसी एकता र मेलमिलाप हुनुपर्दछ भन्ने विषयलाई अत्यन्तै महत्व दिएका थिए । देशभित्रका समस्याहरूको समाधान सार्वभौम जनताबाटै गरिनुपर्छ र त्यसका लागि जनतालाई सचेत वा जागरुक तुल्याएर जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता थियो उनको । नेपाली काङ्ग्रेस, यसका नेताहरू बीचको आपसी एकता–सौहाद्र्धतालाई सुदृढ बनाउनुका साथै समस्त नेपाली जनबीच मेलमिलाप र भातृत्वको अभिवृद्धि गराउनमा विशेष भूमिका खेलोस् भन्ने उद्देश्यका साथ भारत प्रवासबाट बीपी स्वदेश फर्केको दिन (१६ पुस, ०३३)लाई राष्ट्रिय मेलमिलाप दिवसको रूपमा मनाउने गरिएको हो । बीपी काङ्ग्रेसको मात्र नभई देशकै सबैभन्दा लोकप्रिय नेताको रूपमा राजनीतिको केन्द्रमा रहेकाले नितान्त पृथक विचार बोक्नेहरूले समेत बीपीलाई एक ‘आदर्श पुरुष’को रूपमा स्वीकार गरेका छन् । यस सन्दर्भमा उनको सम्झना गर्दै मेलमिलाप दिवस मनाउनु अतिशय स्वागतयोग्य विषय पनि हो ।
तर, कसैको राम्रा कुरालाई सम्झेर एक दिन सभा–समारोह वा उत्सव मनाउँदैमा व्यक्ति, समाज र देशमा जमेर रहेका विकार–विसङ्गति पखालिएर जाँदैनन् । आज देश राजनीतिक रूपमा निकै जर्जर बनेको छ । स्वार्थ–परायणता, भ्रष्टपन, साम्प्रदायिक भाव, परोन्मुख प्रवृत्ति, असहमति, दूराग्रह र व्यक्तिवादी मनोवृत्ति जस्ता यावत दुष्प्रवृत्तिको बोलवाला छ । ‘लोकतन्त्र’को नाममा लोकतन्त्रकै खिल्ली उडाउने शासकीय प्रवृत्ति चरमोत्कर्षमा छ । लोकतन्त्रको जगेर्नाबाट मात्र राष्ट्रिय एकताको माहोल निर्माण हुन्छ र देशको उत्तरोत्तर आर्थिक विकास तथा न्यायपूर्ण व्यवस्थामा मात्र लोकतन्त्रको जग बलियो हुन सक्छ भन्ने बीपीका अभिव्यक्तिको मर्म बुझेर व्यवहार गर्न इतरका राजनीतिक नेतृत्वहरूको त कुरै नगरौँ, बीपीलाई आदर्श मान्ने स्वयम् काङ्ग्रेसका हर्ताकर्ताहरू समेत तत्पर देखिन्नन् । यस्तोमा बीपीको नाममा राष्ट्रिय मेलमिलाप दिवसको ‘कर्मकाण्ड’ आयोजना गर्नुको के तुक ? हो, देशलाई त आज बीपीजस्तै देशको माटोको कसम बोक्ने नेता चाहिएको छ, किसानको फाटेको टोपी र उसको गाइगोठ हेरेर निर्णय गर्ने राजनेता चाहिएको छ, अखण्ड नेपाल हाँक्नसक्ने महामानव चाहिएको छ । तर, सामाजिक सहिष्णुता कायम गर्ने नेतृत्व खोजिरहेका बेला उल्टै रहे–भएको सद्भाव खल्बल्याउनेहरूको बोलवाला चलेको छ । बीपीजस्ताका नाम त भजाएर खाने बहाना मात्र बन्न लागेको प्रतीत हुन्छ यतिबेला । यस्तो विषमावस्थामा राष्ट्रिय मेलमिलापको कुरा त भैंसीलाई विन बजाएर सुनाउनुजस्तो मात्र हुन सक्छ ।
०६३ को आन्दोलनले गणतन्त्रात्मक नेपाल र नेपाली जनतालाई सार्वभौम नागरिकका रूपमा परिणत गरेको कुरा गरेर नेताहरू थाक्दैनन्, तर दशक अवधि गुज्रँदा पनि जनता कुहिरोको कागझैँ अलमलिन विवश छन् । कहाँको मौलिक अधिकार, कहाँ स्वतन्त्रताको सुनिश्चितता, मुलुकको समृद्धि कता र आमनागरिकको जीवनस्तर उकासिने कहिले ? संविधान निर्माणको नाममा देश रुमलिएकै सात–आठ वर्ष भइसक्यो । यसबीच सहकार्य र सहमतिका रट कति लगाइए अनि द्वन्द्व, मनोमालिन्य र संवादहीनताको पराकाष्टा कति देखियो– वर्णन गरिसाध्यै छैन । यस्तोमा राष्ट्रिय एकता र मेलमिलापको औचित्य वा सान्दर्भिकता त बढेकै हो, तर कर्मकाण्डी बनेर बीपीको नाम जप्ने र उनको व्यक्तित्वको विशिष्टतालाई साँघुरो घेरामा खुम्च्याउँदै स्वार्थसिद्ध गर्न मात्र खोज्नेहरूको बोलवाला चलेको अवस्थामा मेलमिलाप दिवस मनाएर कति लाभ पुग्ने हो– सोच्नैपर्छ । अझै अचेत वा अद्र्धचेतनको स्थितिबाट गुज्रिरहेको नेपाली जनमानसमा भीडको पछिल्तिर दौडने मानसिककता कायम नै छ । भविष्य मनन गर्दै वास्तविकता पछ्याउनेभन्दा पनि तत्कालीन प्रचारवादी कुराको पछाडि दौडिने सामाजिक अवस्था विद्यमान रहँदासम्म बीपीजस्ता व्यक्तित्वको महत्व बोध हुने कसरी ?