तेस्रो नजर

तेस्रो नजर


pathakmanchपुर्खाको योगदान कुल्चनेहरूलाई हेक्का छ ?
‘साना दुःखले आज्र्याको मुलुक होइन यो त चार वर्ण छत्तीस वर्णको साझा फूलबारी हो, सबैलाई चेतना भया ।’ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको यो उद्गार एकपटक फेरि ज्वलन्त बन्न पुगेको छ । एक–आपसमा काटमार गर्दै रहेका स–साना राज्यहरूलाई एक बनाएर नेपाल राष्ट्रको निर्माण गर्ने कार्य कति कठिन थियो भन्ने कुरा काठमाडौंको पाँचतारे होटल र गगनचुम्बी महलमा बसेर सोच्नेहरूले ठम्याउन किमार्थ सक्दैनन् । आजभन्दा २५ वर्षअगाडिसम्म नेपाली र वीर गोर्खाली भन्ने नाम सुन्नेबित्तिकै संसारका मै हुँ भन्ने देशहरूले पनि नतमस्तक भाव जताउँथे । नेपालीले कहिल्यै पनि हात पसारेर भागेनन् । अहिले यो मातृभूमिमा बस्ने हामी नेपाली नै होइनौँ कि भन्ने हीन भाव पैदा हुने अवस्था कसरी आयो ? वीर गोर्खाली, वीर नेपाली, स्वाभिमानी नेपाली नेपालका पुर्खाले बडो दुःखले आर्जेको विश्वसमक्षको पहिचान हो । तर, दिल खोलेर कटुसत्य बोल्नुपर्दा यो मुलुक ठग, हत्यारा, चोर, डाँका, फटाहा, दलाल, माफिया, भ्रष्टाचारी, दूराचारी, अत्याचारी, कङ्गाली, दरिद्री, बलात्कारीले रासलीला गर्ने अखडामा परिणत भएको छ ।
‘लुटको धन फुपूको श्राद्ध †’ जति सक्छौ मोज, भोज, सोख गर, ब्रह्मलुट मच्चाऊ । यतिले नपुगे विदेशी आएको बेला उदाङ्गो हुँदै सुटबुट टाईमा दुवै हात पसारेर भिखारीले जस्तै माग्न तँछाडमछाड गर, जति सक्छौ कुम्ल्याऊ, धर्मनिरपेक्षताको डङ्का पिटेर डलर बटुल, अनि चिप्ला कारमा गुड्ने तारेहोटलको रसस्वादन गर † किन चाहियो नेपाल, किन चाहियो नेपाली ? केको स्वाभिमान, केको राष्ट्रियता ? राष्ट्र निर्माण गर्ने राष्ट्रनिर्माता हाम्रा शत्रु हुन्, किनकि हामी वास्तविक नेपाली नै रहेनौँ । यसरी आज यो भूमि बेवारिस भएको छ । यसको पालनकर्ताको सालिकसम्म भत्काइसक्यौँ । यस्तै हो भने अब स्टालिन, इदिअमिन, बिनलादेन, सद्दाम हुसेनका साथमा केही भ्रष्टाचारी, हत्याराको सालिक राखेर पूजा गर्नेछौँ, तत्पश्चात् श्री पशुपतिनाथमा लुटमार मच्चाउनेछौँ ।
एकजना ब्रिटिस पर्यटकले एक ब्रिटिस लेखकको पुस्तक पढेका रहेछन् । पुस्तकमा वीर गोर्खाली, शत्रुसँग नझुक्ने, स्वाभिमानी, इमानदार, निडर, परिश्रमी, सहयोगी, मिलनसार हुनुका साथै साहसी, देशभक्त लोभलालचमा नफस्ने, नालापानी, देउथल, काँगडा, खलङ्गाको युद्धमा अङ्ग्रेजविरुद्ध डटेर युद्ध गर्ने नेपालीको पहिचानबारे वर्णन गरिएको रहेछ । उक्त किताब पढेर नेपाल आएपछि उनको भोगाइ बेग्लै भएछ । जहाँ गयो त्यहीँ ठगिने, बेइमान मात्र भेटिने, एक दिन त उनको पकेटसमेत लुटियो । जे नेपालीको बारेमा पढेका थिए, त्यसविपरीत भेटेपछि उनलाई द्विविधा भएछ । कतै गलत ठाउँमा पो आएँ छु कि भन्ने लागेर ‘के नेपाल यही हो ? भनी सोधेछन् । ‘यही नै त हो नेपाल’ भन्ने जवाफ पाएपछि नेपालबारेका लेखकलाई ‘झुटा लेखक’ भन्दै गाली गरेर ती पर्यटक फिर्ता गएछन् । भगवान् शिवको पावनभूमि, ऋषिमुनिहरूको तपोभूमि, देवदेवीको पवित्रस्थल, वीर पुर्खाको भूमिले आज यो दुर्दशा भोग्न बाध्य छ । ठीक के हो र बेठीक के हो भन्ने छुट्याउन सकिरहेका छैनौँ । बद्मास मानिसको बहकावमा लागेर एक–आपसमा लडिरहेका छौँ, एक–आपसलाई नै शत्रु देखिरहेका छौँ । हिजो जुटेका थियौँ, आज फुट्दै छौँ । अब त अफगानिस्तान र सुडानको झझल्को आउन थालेको छ नेपालमा पनि । भनिन्छ, धर्मले कर्तव्यको बोध गराउँछ, सत्मार्गमा लाग्न प्रेरित गर्दछ । धर्मले दया र करुणा पैदा गर्दछ । धर्म गयो त सबथोक गयो । आमा, बुबा, छोराछोरी, दिदीबहिनी, इष्टमित्र सबथोक गयो । विडम्बनाको कुरा † आज यहाँ यस्तै दुर्दिन उदाएको छ ।
संरचना बनाउन हजारौँ वर्ष लाग्छ, तर भत्काउन हजार सेकेन्ड पनि लाग्दैन । धन आर्जन गर्न सकिन्छ, तर गुमेको इज्जत र प्रतिष्ठा आर्जन गर्न सम्भव हुँदैन । त्यसैगरी राष्ट्र खण्डित गर्न सहज छ, तर निर्माण गर्न असम्भव छ । सन्तानलाई जन्म दिएपछि लालनपालन गर्न कठिन छ । यस्ता कुरा जो–कोहीले मनन गर्ने सामथ्र्य राख्दैन, यसका लागि आवेग होइन संवेग आवश्यक छ ।
अब प्रसङ्ग संविधानसभाको † संविधान निर्माणको नाममा नाटक मञ्चन भइरहेको छ यो मुलुकमा । चालीस पन्नाको संविधान बनाउन नौ वर्ष लगाएर पनि नसक्ने नालायकबाट राष्ट्रको समृद्धि हुन्छ भनी अब कल्पना गर्न सकिँदैन । बोकाले दाइँ हाल्ने भए गोरु किन चाहिन्थ्यो †’ एकपटक दिव्य उपदेश पढ्न यिनलाई सुझाव दिनैपर्ने भएको छ । वास्तवमा त्यसैलाई नेपालको संविधान माने पनि हुन्छ । बेलायतमा संविधान छैन, चलेकै छ । ६०१ को बथान अन्तर्राष्ट्रिय सम्मेलन हलमा हुलेर गरिब जनताले तिरेको कर खाएर ढाडिन र तलब–भत्ताको दुरुपयोग गर्न पठाइएको त होइन । तीन दल–चार दल भन्नेहरू कोठेबैठक गर्न पाँचतारे होटल रोज्ने र भोजभतेरमै रम्ने गरेका जनताले नियालिरहेका छन् । सिंहदरबारभित्रका कर्मचारीसँग मिलेर सफेद भ्रष्टाचार गर्न गएका सभासद् भनाउँदा नालायकहरू नितान्त व्यक्तिगत स्वार्थमा लिप्त रहेका प्रमाण अब धेरै खोजिरहनै पर्दैन । संविधान बनाउने निहुँमा राज्यको ढुकुटी रित्याउनेहरूको हिसाबकिताब जनताले चुस्तदुरुस्त रूपमा राखेका छन् । अझै नसुध्रिने हो भने कर्णेल गद्दाफीको नियति भोग्न तयार रहे हुन्छ, किनकि जनताको धैर्यको सीमा नाघिसक्यो ।
दलीय भागबन्डामा संविधान बन्दैन र बने पनि त्यो स्वीकार्य हुन सक्दैन । तसर्थ, एकपटक फेरि यो देश कसले निर्माण ग-यो भनी घोत्लिन आवश्यक भएको छ । एकताको प्रतीक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक तोडी अपमान गर्ने तत्वहरू नवसामन्तीका रूपमा उदाएका छन् । यी देशघाती गद्दार हुन् । देश र जनतालाई तहसनहस पार्न खोज्ने, मुलुक विखण्डन गर्न खोज्ने, डलर खाएर देशको पहिचान र अस्तित्व मेटाउन खोज्नेहरूको भ्रमजाल अब धेरै टिक्दैन । आफ्नो रीतिथिति, धर्म–संस्कृति र पुर्खाको योगदानलाई कुल्चेर राष्ट्रमा लुट मच्चाउनेहरूले लुटेको धन राज्यकोषमा फर्काउन ढिला नगरून् । अन्यथा समयले कसैलाई बाँकी राख्ने छैन ।
– बद्रीराज भट्ट, अधिवक्ता