महिला मन्दिर पस्न खोजेपछि….

महिला मन्दिर पस्न खोजेपछि….


भारतको एउटा मन्दिरमा महिला प्रवेश गर्न लाग्दा बुधबार झडप भएको छ । परम्परागत रूपमा महिलालाई निषेध गरिएको सो मन्दिरमा परम्पराविपरीत प्रवेश गर्न लागेको भन्दै अवरोध भएपछि झडप भएको हो ।

अदालतले मन्दिरमा प्रवेश गर्न दिनुपर्ने आदेश केही समय पहिले दिएपछि अहिले महिला मन्दिर प्रवेश गर्न खोजे पनि स्थानीयले प्रवेश गर्न नदिएको समाचारमा जनाइएको छ । झडप रोक्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो भने झडपका क्रममा दुवैतर्फका केही घाइते भएका छन् ।

भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा रहेको सबरीमाला मन्दिरमा महिलालाई पनि प्रवेश गर्न दिन सर्वोच्च अदालतले गत सेप्टेम्बरमा फैसला गरेको थियो । सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न नदिइने परम्परा गलत भएको अदालतको ठम्याई थियो ।

रजस्वला हुँदा अपवित्र हुने मान्यताका कारण महिलाले धार्मिक कार्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न हुँदैन भन्ने प्रचलन रहेको छ । सो प्रचलनबाट लैंगिक भेदभाव भएको भन्दै मुद्दा परेपछि अदालतबाट मन्दिर प्रवेशमा निषेध गर्न नपाइने फैसला गरेको हो ।

फैसला सुनाउँदै भारतका प्रधानन्यायाधीश दीपक मिश्रले ‘प्रतिष्ठा र परिचयका लागि धर्म’ भएको भन्दै ‘धर्मको अनुशरण गर्ने अधिकार महिला–पुरुष दुवैलाई बराबर भएको’ उल्लेख गरेका थिए ।

तर, मिश्रको नेतृत्वमा बसेको पाँचसदस्यीय संवैधानिक इजलासमा रहेकी एक मात्र महिला न्यायाधीश इन्दु मलहोत्राले भने यस फैसलामा असहमति जनाएकी थिइन् । उनको असहमतिका बाबजुद बहुमतका आधारमा यो फैसला भएको थियो ।

गहिरो धार्मिक भावना भएका विषयमा अदातलले हस्तक्षेप गर्न नहुने र अदालतको हस्तक्षेपले अन्य धार्मिक विषयमा पनि असर पर्न सक्ने मलहोत्राकोे भनाइ छ ।

सबरीमाला भगवान् अयप्पाको मन्दिर हो र उहाँ ब्रह्मचारी हुनुहुन्थ्यो, त्यसैले रजस्वला भएका महिलालाई त्यहाँ प्रवेश गर्न दिनुहुँदैन भन्ने मान्यता रहेको बताइन्छ ।