सैन्य कारबाहीमा हप्तादिनमै २८० बोकोहराम मारिए

सैन्य कारबाहीमा हप्तादिनमै २८० बोकोहराम मारिए


नाइजेरियामा बोकोहराम विद्रोहीका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यस हप्ता मात्र २८० जना बोकोहरामका लडाकु मारिएका छन् ।

बोकोहरामका विरुद्धमा यहाँको सेनाले गत डिसेम्बर २८ यता गरेको कारबाहीमा परी ती लडाकु मारिएका समाचारमा जनाइएको छ । यसरी मारिएकामध्ये अधिकांश हवाई कारबाहीमा परेका हुन् ।

नाइजेरियाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार ती लडाकु सैनिकले गरेको हवाई कारबाहीका क्रममा परेका हुन् । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार २०० जनाभन्दा केही बढी लडाकु हवाई कारबाहीका क्रममा र अरू स्थलसेनाले गरेको कारबाहीमा परी मारिएका हुन् ।

पश्चिमी अफ्रिकी नेताहरूले गएको नोभेम्बर महिनामा नाइजेरियाली इस्लामिस्ट समूहले लेक चाड क्षेत्रमा गरेको हिंसात्मक हमला र हत्याका विषयमा छलफल गरेका थिए । सो क्षेत्र नाइजेरिया, चाड, क्यामरुन र नाइजरको सीमा क्षेत्रमा पर्दछ ।

त्यसको केही समयपछि नाइजेरियामा यति धेरै संख्यामा बोको हरामका लडाकु मारिएको समाचार आएको छ । यसपटकको यो कारबाही उक्त लेक चाड क्षेत्रमा नै बढी मात्रामा केन्द्रित भएको बताइएको छ । यो कारबाही रक्षात्मक रूपमा भएको नाइजेरियाली सेनाले जनाएको छ । नाइजेरियाली सेनाका अनुुसार उक्त क्षेत्रमा भएको यस कारबाहीमा यहाँको कुनै पनि सैन्य सदस्यले ज्यान गुमाएका छैनन् ।

नाइजेरियामा यहाँका बोकोहरामले सन् २००९ देखि नै हिंसात्मक हमला शुरु गरेका थिए । त्यसयता यहाँका करिब २७ हजार नागरिकले ज्यान गुमाइसकेका छन् । यस हिंसामा परेकाहरूलाई उद्धार गर्दै शान्तिवार्ता गर्नुपर्ने बताएको भए पनि बारम्बारका यस्ता प्रयासहरू सफल हुन सकेका छैनन् ।