प्रसन्नताका पर्याय राजनसिंह

प्रसन्नताका पर्याय राजनसिंह


उहाँका बुबा उहाँलाई डाक्टर बनेको हेर्न चाहन्थे । सम्मानित र पवित्र पेसा भएकोले बुबाले त्यो चाहना राखेका रहेछन् । तर, उहाँभित्रचाहिँ सानैदेखि पढेर पैसा कमाउनुपर्छ भन्ने सोचले जरो गाडेको थियो । उहाँलाई लाग्थ्यो, ‘नेपालमा गरिब धेरै छन् र रोगको चपेटामा पर्ने पनि यही वर्गमा धेरै हुन्छन्, डाक्टर बनेर गरिब मान्छेसँग कसरी पैसा लिने – बरु सीए पढेर पैसाको हिसाबकिताब राख्ने चार्र्टर्ड एकाउन्टेन्ट बन्ने । त्यस अवस्थामा पैसावालहरूसँग मात्र कारोबार हुन्छ र उनीहरूसँग शुल्क असुल्न अप्ठ्यारो मान्नैपर्दैन ।’ किशोरावस्थामा यस्तो सोच राख्ने उहाँ सीए पढ्ने धोको पूरा गर्नकै लागि राष्ट्र बंैक सेवामा प्रवेश गर्नुभयो र आफ्नो उक्त लक्ष्य भेट्टाएरै छोड्नुभयो । नेपाल राष्ट्र बैंकको उपल्लो तहसम्मको जिम्मेवारी निर्वाह गरेर स्वेच्छाले सेवानिवृत्त भई हाल  निजी क्षेत्रबाट सञ्चालित बाणिज्य बैंक ‘सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड’को मुख्य सारथिका रूपमा आफ्नो पौरख प्रदर्शन गरिरहनुभएका  उहाँ हुनुहुन्छ- राजनसिंह भण्डारी ।
महोत्तरीको औरहीमा बुबा शिवमानसिंह र आमा चन्द्र भण्डारीका आठ सन्तानमध्ये जेष्ठ सुपुत्रका रूपमा पचास वर्षअघि जन्मनुभएका राजनसिंह भण्डारीको बाल्यकाल दुःखको अनुभूति गर्नै नपाई गुज्रियो । तराईमा पन्ध्र-बीस बिघा जमिन भएको परिवारका सन्तानले सामान्यतया दुःख र सङ्घर्ष झेल्नु पर्दैनथ्यो त्यसबेला, उहाँ त्यही कोटिमा पर्नुभयो । आफ्नै हजुरबुबा प्रसादसिंहबाट स्थापना भएको प्रसादसिंह माध्यामिक विद्यालयमा स्कुलेशिक्षा आर्जन गर्नुभयो उहाँले । शिक्षालाई अत्यन्त महत्त्व दिने र उदारवादी सोच राख्ने भएकाले भण्डारी परिवार एक शिक्षित र समाजसेवी परिवारका रूपमा परिचित थियो । यसो भएर पनि पारिवारिक पेसाचाहिँ कृषि नै रहेको र एक सचेत जमिनदार-किसान परिवारको छोरो भन्न रुचाउनुहुन्छ राजनसिंह आफूलाई ।
२०३१ सालमा एसएलसी गर्नुभएका राजनलाई बाल्यकालका त्यस्ता कुनै घटना सम्झना छैनन् जसलाई विशेष ठानेर सदा स्मरण गर्नु परोस् । उहाँले सधैं सम्झने त्यतिबेलाको एउटा कुरा यति मात्र हो कि उहाँका बुबा उहाँलाई हरदम भन्नुहुन्थ्यो, ‘हेर् छोरा, मैले के गर्नुपर्छ त्यो भन् म पूरा गरिदिउँला, तर तैँले सधंै प्रथम भएर देखाउनुपर्छ, परीक्षामा दोस्रो भएर घर आउने होइन । तेरो काम भनेको पढ्ने मात्र हो ।’ बुबाबाट यस्तो आशा राखिएका र एक प्रकारले कडा आदेश पाएकैले हुनुपर्छ, स्कुल-जीवनमा राजनसिंहले यताउता मन डुलाउनुभएन, खुरुखुरु पढ्ने काम मात्रै गर्नुभयो । त्यसबेला प्रायः जमिनदार परिवारले आफ्ना सन्तानको शिक्षादीक्षाका निम्ति घरमै शिक्षक राख्दथे । यसअनुसार राजनको कखरा पनि घरैबाट सुरु भयो र स्कुलमा उहाँलाई एकैपटक चार कक्षामा भर्ना गरियो । यसो भएर पनि उहाँ स्कुलेजीवनमा पढाइमा सधंै अब्बल रहनुभयो । तर, बुबाको चाहना साकार पार्दै कक्षामा लगातार प्रथम हुने व्यक्तिले एसएलसीमा भने सेकेन्ड डिभिजनमा चित्त बुझाउनुपर्‍यो । यसरी एसएलसीमा दोस्रो श्रेणी आउनुको कारण भने अलग्गै रहेछ । राजन भन्नुहुन्छ, ‘जनकपुरको परीक्षा सेन्टरमा त्यसबेला मास्टरहरू नै आफ्ना विद्यार्थीलाई चिट चोराउँथे, आफ्नो स्कुलको शान राख्नका लागि । शिक्षकले नै त्यो गर्ने भएपछि विद्यार्थीमा पढ्ने जाँगर रहने कुरै भएन । यस्तो प्रवृत्तिको सिकार मलाई हुन नदिन बुबाले बेग्लै उपाय रच्नुभयो । शिक्षा भनेको चोरेर होइन आफ्नो परिश्रम र बुद्धि-विवेक लगाएर आर्जन गर्नुपर्ने तत्त्व हो भन्ने धारणा थियो बुबाको । फलस्वरूप औरहीमा टेस्ट परीक्षा दिएपछि परीक्षा केन्द्र परिवर्तन गराएर उहाँले मलाई काठमाडौंबाट एसएलसी दिलाउनुभयो । यसले गर्दा म अलिक घबराएँजस्तो लाग्छ एसएलसीको परीक्षा दिँदा र त दोस्रो श्रेणीमा परियो । तर, त्यसले मलाई कुनै फरक परेन, मैले चित्त दुःखाइनँ ।’
काठमाडौं कमलपोखरीस्थित मामाघरमा बसेर एसएलसी दिएका राजनसिंह भण्डारी उच्चशिक्षा अध्ययनका निम्ति मीनभवन क्याम्पस -नेपाल कमर्श क्याम्पस) भर्ना हुनुभयो । पहिलोपटक आठ वर्षको उमेरमा ०२४ सालमा काठमाडौं प्रवेश गरे पनि क्याम्पस पढ्ने बेला या ०३३ सालसम्ममा उहाँलाई आफ्नै घर पनि हासिल भइसकेको थियो । आफ्ना छोराछोरीहरूलाई राजधानीमा बसेर अध्ययन गर्न सजिलो होस् भन्ने ध्येयले शिवमानसिंहले नौ आना जमिनमा घर बनाइदिएका थिए । कलेजमा पनि उहाँको पढाइ राम्रो रह्यो । खेलकुदमा सरिक हुने र गीत गाउनेजस्ता सोख उहाँमा सानैदेखि थियो- कलेजजीवनमा पनि त्यो कायम रह्यो ।
छोरोमान्छे भएपछि सबै काम गर्न तयार हुनुपर्छ भन्ने आफ्ना बुबाको धारणाबाट राजनसिंह प्रभावित हुनुहुन्छ । आफूमाथि होस् या अरू कसैमाथि, अन्याय वा ज्यादति भएको देख्नै नसक्ने स्वभाव राजनसिंहको छ । क्याम्पस पढ्दाको समयमा अन्याय गर्नेहरूमाथि धेरैपटक आफू जाइलागेको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, ‘यसको मतलब म त्यतिबेला दादागिरी गर्थें भन्ने नबुझियोस् नि । वास्तवमा म त अत्यन्त लज्जालु र स्वाभिमानी प्रकृतिको व्यक्ति थिएँ त्यसबेला ।’ खाइलाग्दो शरीर र आकर्षक व्यक्तित्वका धनी भएर पनि कलेज पढ्दा प्रेम र रोमान्सको मामलामा आफ्नो लज्जालु स्वभावकै कारण आफू पूर्णरूपमा अलग रहेको बताउनुहुन्छ राजनसिंह भण्डारी । उहाँ भन्नुहुन्छ, ‘त्यो जमाना नै त्यस्तै थियो, केटा र केटी एक-अर्काबीच खुलेर बोल्ने-हाँस्ने गर्न सक्दैनथे, त्यसमाथि केटीको मामलामा म एकदमै लज्जालु थिएँ त्यसबेला । पढाइ गरिन्थ्यो, खेलकुदमा सरिक भइन्थ्यो तर प्रेम र रोमान्स त पूरै निषेध । राम्री केटी देख्दा आहा˜˜˜ भन्नेबाहेक बोलचाल गर्ने हिम्मत भएन । त्यतिबेलाका केटीसाथीहरूसँग अहिले भेट हुँदा बरु मज्जाले गफगाफ हुन्छ ।’
यसरी हरदम ‘खुसमिजाज’ रहनुपर्ने फरासिला राजनसिंहको विवाह ०४५ सालमा मागीबिहे भयो नेपाली सेनाका जर्नेल हिक्मत विष्टकी सुन्दर र सुशील सुपुत्री संगीतासँग । आफूले विवाह गर्ने युवतीले बीए पास गरेको हुनैपर्ने, घरको चारदिबारबाहिर निस्केर काम गर्न इच्छुक र रूपवती हुनुपर्ने ‘क्राइटेरिया’ मनमनै बनाउनुभएको थियो राजनले, सोहीअनुरूपकी जीवनसंगिनी प्राप्त भएको र एक छोरी एक छोरासहितको आफ्नो दाम्पत्य जीवन सुखद रहेको उहाँको कथन छ ।
मद्रासबाट सीए गर्नुभएका राजनसिंहले त्यहाँबाट फर्केर आएपछि त्रिविबाट अर्थशास्त्रमा मार्स्र्टस गर्नुभएको हो । उहाँले जागिर र पढाइ सँगै लैजानुभयो । ०३७ सालमा सहायक स्तरबाट नेपाल राष्ट्र बैंकको सेवा सुरु गर्नुभएका राजनसिंह वास्तवमा सीए पढ्नकै निम्ति त्यहाँ प्रवेश गर्नुभएको थियो । त्यसबेला सो पढाइ गर्छर्ुुन्ने आफ्ना जुनसुकै कर्मचारीलाई राष्ट्र बैंकले टीएडीएसहित मौका दिइहाल्थ्यो । सक्षम जनशक्ति उत्पादन गर्ने नेपाल राष्ट्र बैंकको उक्त सकारात्मक कदमको लाभ उहाँले पनि लिन पाउनुभयो । राष्ट्र बैंक प्रवेश गरेको डेढ-दुई वर्षभित्रै उहाँ अध्ययनका निम्ति भारत जानुभयो । अध्ययनका लागि मद्रास गएपछि नै हो उहाँलाई हाम्रो देशको शिक्षाको स्तर निकै कमजोर रहेछ भन्ने यथार्थबोध भएको पनि । निकै दुःखका साथ पढाइ पूरा गरेर फर्केपछि प्रमोशन पनि मिल्यो उहाँलाई । सेकेन्ड, फर्स्ट हुँदै विशिष्ट श्रेणीको कर्मचारीका रूपमा देशको सेवा गर्ने अवसर प्राप्त भयो राजनलाई । आफूसँग खुवी छ, उत्साह छ र इमानदारी छ भने राष्ट्र बैंकमा त्यस्ता कर्मचारीको कदर हुन्छ भन्ने अनुभव संगाल्नुभएका राजनसिंहलाई अहिले पनि राष्ट्र बैंक पुग्दा माइतीघर पुगेको अनुभव हुन्छ । अढाइ दशकभन्दा बढी समय त्यहाँ गुजारेर अर्थजगत्सँग सम्बन्धित अनेक ज्ञान र अनुभव संगाल्ने व्यक्तिलाई यस्तो अनुभूति नहोस् पनि कसरी –
जीवनमा विशेष रमाइलो या नरमाइलो, खास खुसी या दुःखका क्षण यिनै हुन् भनी हेक्का नराखेका राजनसिंह भण्डारी प्रत्येक पल सकभर खुसीमै गुजार्ने कोसिस गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । उहाँलाई हत्तपत्त रिस उठ्दैन र उठिहालेछ भने पनि त्यसलाई प्रदर्शन गर्नुहुन्न । कार्यालयमा त झन् उहाँको मुड खराब भएको देख्नु दर्ुलभ कुरा हुने सहकर्मी तथा मातहतका कर्मचारीको कथन छ । अँध्यारो मुख लगाएर बस्दा आफूलाई पनि राम्रो नहुने र अरूलाई पनि निको नलाग्ने उहाँको बुझाइ छ । मुड खराब भयो भने बरु कार्यालय नै नजाने, आफ्नो टेन्सन स्टाफहरूलाई नदेखाउने र अफिसको टेन्सन पनि घरभित्र प्रवेश नगराउने अठोट नै गर्नुभएको छ राजनसिंहले । यस सर्न्दर्भमा एउटा स्मरण यसरी व्यक्त गर्नुहुन्छ उहाँ, ‘त्यतिबेला राष्ट्र बैंकका गभर्नर हुनुहुन्थ्यो डा. तिलक रावल । उहाँ अलिक र्सट टेम्पर टाइपको हुनुहुन्थ्यो त्यसबेला, कर्मचारीहरूलाई हकारिरहने गर्नुहुन्थ्यो । कुन कुरामा हो एक दिन मलाई पनि ह्वाङ्ग हपार्नुभयो । अनि मैले उहाँलाई ‘ए डाक्टरसाब, यही कुरालाई पनि अलिक नरम गरी राम्रोसँग भन्न सकिन्न र -‘ भनी निर्धक्कसँग हाँसी-हाँसी जवाफ फर्काएँ । अनि उहाँले भन्नुभो, ‘होइन राजनजी, तपाईंलाई रिस पनि उठ्दैन कि कसो हो -‘ मैले भनेँ,  ‘अँ हँ, मलाई त यसरी रिस उठ्दैन ।’ त्यसपछि उहाँ गम खाएर बस्नुभो, केही बोल्नुभएन ।’
पब्लिकसँग सम्बन्धित जिम्मेवारी हुनाले कामको प्रेसरबाट पैदा हुने दबाब र झर्कोफर्को कार्यालयमा प्रदर्शन नगर्ने भए पनि कतिपयले राजनसिंहलाई यदाकदा ‘जिद्दीवाल’को विशेषण प्रदान गर्दछन् । आफूलाई उचित लागेको कुरा गर्नैपर्ने या तर्कबाट अरूलाई कन्भिन्स गरेरै भए पनि चाहेको काम फत्ते गर्ने स्वभावका कारण आफूले त्यस्तो विशेषण पाएको हुन सक्ने र यसमा पनि आफूसँग कुनै गुनासो नरहेको उहाँ प्रस्ट्याउनुहुन्छ । आफ्नो हातबाट सकेसम्म कसैको कुभलो नहोस् भन्नेमा सचेत उहाँ बेइमानी गर्ने व्यक्तिलाई पटक्कै सहन सक्नुहुन्न । एकपटक आफूमातहतको एक कर्मचारीको व्यवहार ठीक नलागेर उसलाई अवकाश दिने निर्णयमा उहाँ पुग्नुभयो, तर अर्को कामको व्यवस्था गरेर मात्रै उसलाई हटाउनुभयो उहाँले । यसबाट उहाँभित्रको दयालुपन उजागर हुन्छ । कर्म गर्न हुरुक्कै हुने स्वभाव भए पनि राजनसिंह भाग्यवादी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘राष्ट्र बैंकमा रहेर भएको भन्दा माथि उक्लने अवसर समाप्त भइसकेको अवस्थामा स्वेच्छिक अवकाश लिएको मैले एमफिलको पढाइ गर्ने सोच राखेर भर्ना हुने कामसमेत सम्पन्न गरिसकेको थिएँ, तर त्यसैबेला केही शुभचिन्तक तथा मित्रहरूले ‘तपाईंले जिम्मा लिएर बैंक सञ्चालन गरिदिने भए हामी लगानी गरिदिन्छौँ’ भनी प्रेरित गरिदिए । यसरी सिटिजन्स बैंकमा इन्भल्भ भइयो । मैले कल्पना गरेको थिइनँ कि सरकारी जागिर छाडेपछि कुनै कमर्सियल बैंकको र्सर्ीइओ बन्छु भनेर । मानिसको भाग्यले कतिखेर कहाँ पुर्‍याउँछ- कहाँ पत्तो पाइन्छ र -‘
राजनसिंह एक सचेत नागरिकको हैसियतले मुलुकको राजनीतिमाथि चासो राख्नुहुन्छ तर राजनीति उहाँको रुचिको क्षेत्र भने होइन । देशको अवस्थाबारे सबैले चिन्ता गरिरहँदा पनि उहाँ निराशावादी कुरा गर्नै चाहनुहुन्न । मुलुकमा लगानी गर्ने वातावरण नै नभएकाले पुँजी पलायनको अवस्था छ, भएका केही उद्योगधन्दाहरू पनि डुब्ने अवस्थामा छन्, चरम ऊर्जा सङ्कट छ, रेमिटेन्स घट्दै गएको छ, बैंकहरूमा डिपोजित बढिरहेको छैन, तथापि राजनसिंह भण्डारी निराश नहुन सुझाव दिनुहुन्छ । उहाँका अनुसार यो देशलाई माया गर्ने स्वदेशी तथा विदेशी धेरै छन्, रुल एन्ड ल लागू भएको या अनुशासन कायम गराउन सकिएमा नेपालजस्तो सानो देश उँभो लाग्न समय लाग्दैन । गैरराजनीतिक र अर्थ क्षेत्रका विज्ञ-व्यक्तिलाई प्रधानमन्त्री बनाइएकोले छिमेकी भारतले छोटो समयमा प्रगति गरेको उदाहरण पेस गर्दै राजनसिंह नेपालले यसबाट पाठ सिक्नुपर्ने तर्क गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘नीति-रणनीति राजनीतिक दलहरूले बनाउने हो तर त्यसको कार्यान्वयनका लागिचाहिँ सक्षम विज्ञ-प्राविधिकहरू नै आवश्यक पर्छ, यस्तोमा दलका कार्यकर्ता या आफ्ना मान्छे खोजेर भर्ती गर्ने काम देशहितविपरीत हुन्छ ।’
मुलुकका ७० प्रतिशत जनता अझै पनि बैंकिङ सेवाबाट वञ्चित रहेको र ३० प्रतिशतले मात्र त्यो सेवा पाएकोले मुलुकको उन्नतिका लागि बाँकी सत्तरी प्रतिशतमा बैंकिङ सेवा पुग्नु अत्यावश्यक भइसकेको राजनसिंहको ठहर छ । राज्यले यातायात, सञ्चार र बिजुलीजस्ता भौतिक पूर्वाधार र सुरक्षाको उचित प्रबन्ध गरिदिए बैंकिङ सेवा विस्तार हुन सक्ने उहाँ बताउनुहुन्छ । आर्थिक विकास भए मात्र राजनीति पनि सुध्रन्छ भन्ने मान्यता उहाँभित्र गहिरोसँग रहेको छ ।
हाल नेपाल बैर्ंकर्स एसोसिएसनका उपाध्यक्षसमेत रहनुभएका राजनसिंह अर्थक्षेत्रसँग सम्बन्धित र अन्य कतिपय सामाजिक सङ्घ-संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ । अमेरिका, भारत, फिलिपिन्स, भियतनाम, श्रीलङ्का, दक्षिण कोरिया, सिङ्गापुर, क्यानडा, न्युजिल्यान्ड, मलेसिया, जापान आदि मुलुकको भ्रमण गरेर बाह्य परिवेशबारे सिक्ने, बुझ्ने र अनुभव हासिल गर्ने अवसर पाउनुभएका राजनसिंह भण्डारी मुलुकको बैंकिङ क्षेत्रका निम्ति त महत्त्वशाली व्यक्तित्व हुनुहन्छ नै, समाजका अन्य कुनै पनि क्षेत्रका लागि पनि उहाँको सेवा हरदम अपेक्षित छ भन्दा अन्यथा ठहरिन्न ।- जयप्रकाश त्रिपाठी