चक्रब्यूहमा इतिहासका अभिमन्युहरू– राजेन्द्रप्रसाद पाठक

चक्रब्यूहमा इतिहासका अभिमन्युहरू– राजेन्द्रप्रसाद पाठक


bicharमहाभारतको अठारदिने युद्धभूमिमा एक दिन कौरवहरूले यस्तो ब्यूह निर्माण गरे, त्यो ब्यूह प्रवेश गरेर आफ्नो युद्धकला प्रस्तुत गर्दै निस्कनसमेत सक्ने साधकका रूपमा पाण्डवमध्येका धनुर्धारी अर्जुन मात्र थिए । अर्जुनपुत्र अभिमन्यु गर्भमै भएका बेला आफ्नी जीवनसङ्गिनी सुभद्रालाई सुत्ने बेलामा यस युद्धको कथा सुनाउँदासुनाउँदै सुभद्रा निदाएकी कारण गर्भमा रहेको बच्चा अभिमन्युले युद्धको चक्रब्यूहमा प्रवेश गर्नेसम्मको ज्ञान प्राप्त गरे तापनि निस्कने कथा सुनाउँदासुनाउँदै आफ्नी आमा निदाएकी हुनाले सो ज्ञान अधुरै रह्यो । सोही अधुरो या अल्पज्ञानलाई पनि प्रदर्शन नगरी नहुने अवस्था कुरुक्षेत्रमा पैदा भयो र उनी चक्रब्यूहमा बहादुरीका साथ प्रवेश गर्दैगर्दा उनको मृत्यु त्यसै ब्यूहका कारण भएको थियो । यस प्रसङ्गलाई नेपाल राज्यको एकीकरणकाललगायत राणाकालीन राजनीतिक उथलपुथलदेखि आजसम्म जोडेर विश्लेषण गर्दा विभिन्न शासन व्यवस्था र कालखण्डमा उदाएका र आफूलाई बहादुर सावित गर्न सफल तर पूर्णताको अभावमा ओझेलमा परेका पात्रहरूको उदाहरणसहितको विश्लेषण प्रस्तुत गर्ने अनुमति जमर्को यहाँ गरिँदै छ ।
सुरुवात तत्कालीन बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाह जसको गोर्खा राज्य वर्तमान नेपालको गोरखा जिल्ला मात्रै थियो । एउटा नौजवान युवा जसले राज्यको सिंहासन सम्हाल्नुपर्ने कठिन र उच्चतम् स्थान त पायो, तर यसका लागि सहयोग र सल्लाह लिनका लागि विशिष्ठ स्थान प्राप्त गरेकाहरूको अभाव यथावत् भएका कारण मनले खाएका जोसुकैलाई सल्लाहकार बनाउन सकिने अवस्था थियो । अब पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने अभियान चलाउनका लागि सरसल्लाह लिने क्रममा विश्वासपात्र, आफ्ना आफन्तलगायत शुभचिन्तकमध्ये उनैको दरबारमा कपडा सिलाउने दर्जी बिसे नगर्चीसँग समेत केही उपयुक्त सल्लाह लिएर सफल कार्यान्वयन गरेको कथा हाम्रो इतिहासले बताएको छ । त्यसैको निरन्तरता स्वरूप उनैका कान्छाछोरा बहादुर शाह उभिएका छन् । त्यसैगरी अन्य वीर–वीराङ्गना, भाइभारदारका इमानदार जीवन उत्सर्गका कारण आजको विशाल नेपाल खडा भएको हो । जसरी निर्माण र एकीकरणका लागि माथापच्ची गरियो उसैगरी हाल राज्य खण्डीकरण गर्नका लागि भएको माथापच्चीले अब नेपाललाई कुन दिशातिर मोड्ने हो त्यो हेर्न बाँकी नै छ । यसो भन्दै गर्दा पङ्क्तिकार नयाँ नेपाल हुने क्रममा रहेको सङ्घीय संरचनाको विरोधी रहेछ भन्ने अर्थ नलगाइयोस् । किनकि उचित सङ्घीय संरचना अथवा वैज्ञानिक ढङ्गको विकेन्द्रीकरणलगायत परिवर्तित अग्रगामी नेपालको विरोधी भने पक्कै पनि होइन । आज अरूको देखासिकी गर्ने, तथाकथित परिवर्तनकारी र लोकतन्त्रको नाममा जहानियाँतन्त्र खडा गर्न उद्यत् वर्गको बाहुल्यका कारण सङ्गठित नेपाल र नेपालीलाई विखण्डनको चपेटामा पार्न खोज्नेहरूको चक्रब्यूहमा इतिहासका अभिमन्युहरू पर्ने गरेको दृष्टान्त थप उदाहरणसमेत पेस गर्दै गर्दा राणाशासनका संस्थापक तत्कालीन श्री ३ अथवा प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नो शासनकालमा गरेका केही सकारात्मक योगदानलाई समेत मध्यनजर गर्दा युद्धमा गुमेको भूमि बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलाई फिर्ता लिने कूटनीतिक योगदान र जङ्गेपिल्लरले राष्ट्रिय साँध–सिमाना लगाई राष्ट्रको संरक्षण गरेको विषय पनि राजनीतिक चक्रब्यूहको सिकार बनेको अर्को उदाहरण हो ।
यसैगरी देशमा प्रजातन्त्र, लोकतन्त्र स्थापित गरी देश विकास र जनताको आकाङ्क्षाअनुरूपको शासन व्यवस्थाका पक्षधर महामानव स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको अभियानमा पञ्चायती निरङ्कुश शासन व्यवस्थाले तुषारापात गरेको र बीपीजस्तो अग्रगामी वैचारिक, व्यावहारिक योगदान दिन सक्ने राजनेतालाई जेलको छिँडी कुर्न बाध्य बनाइनु अर्को राजनीतिक चक्रब्यूहको संवेदनशील उदाहरण हो । पञ्चायत आफैँमा निरङ्कुश व्यवस्था भए तापनि त्यस व्यवस्थाभित्रका शासकहरूले गरेको सकारात्मक योगदानका रूपमा हालसम्म रहेको पाँच विकास क्षेत्रको सफल र वैज्ञानिक विभाजनसहितको क्षेत्रीय विकासको अवधारणा साथै चौध अञ्चलको विभाजनका लागि गरिएको उपयुक्त र वैज्ञानिक संरचनालाई आजको नयाँ नेपाल निर्माणका खातिर किन आत्मसात् गर्न सकिएन ? के नयाँ राज्य संरचनाका नाममा काम गर्नेहरूले पुराना तर स्तरीय र उपयोगी प्रविधिलाई आत्मसात् गरेर अगाडि बढ्न सकिँदैन ? के पहिले भए–गरेका गतिविधिहरू पूर्णतया खराब मात्रै छन् ? त्यसो हो भने पुर्खाले आर्जेको बहादुरी गाथा गर्वका साथ आजसम्म किन गाइन्छ ? वेद, पुराण, उपनिषद् किन अध्ययन गरिन्छ ? हाम्रा संस्कार र संस्कृति पनि त पुरानै हुन्, के ती सबै काम नलाग्ने भएकै हुन् त ? राम्रा र असल कार्यहरूलाई हाम्रा हुन् भन्दै स्वीकार गर्न सक्ने विशाल परिवर्तनकारी सोचको कमी हाम्रो नेतृत्वमा प्रस्ट देखिन्छ । देश एकीकरण तथा निर्माण गर्नेको सालिक ढलेको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता के कारणले हामीमा पैदा भयो ? विखण्डनकारी भावना किन पैदा गरियो ? राष्ट्र, राष्ट्रियता र जनताका लागि नै हो भने हितकारी सोचको विकास अगुवाहरूमा किन आएन ? सामन्त र सर्वहारा नामाकरण गरेर भ्रातृत्वलाई वर्गीय विभाजन गरियो । त्यसपछि उपल्लो र दलित भनेर जातीय विभाजन गरियो । कर्मका आधारमा गरिएको जातीय विभाजनभित्र पनि भावनात्मकता थियो, तर त्यो भावनात्मक विषयवस्तुलाई समेत टुक्रा–टुक्रा पार्ने काम कोबाट भयो, सोको पूर्ण पहिचान आज जनताका पक्षबाट निश्चित भइसकेको छ । शिक्षा र पूर्ण रोजगारीको अभावमा पिल्सिएका जनतालाई राजनीतिक र अधिकारको चेतना भर्ने निहुँमा विखण्डन र विकृत विचार भर्दै फुटाउ र राज गर भन्ने पश्चिमाशैली लिएर राजनीति गर्नेहरू कसरी कम्युनिस्ट हुन सक्दछन् ? यस्ता वर्गलाई कम्युनिस्ट नभएर नवसामन्तको उपमा दिन सकिन्छ । एकीकरणको नाममा फुटको राजनीति उनीहरूले नै गरेका छन् । यदि आफूनिकट स्वार्थ नभए यति धेरै फुट केका लागि गरियो त ? आजको मूल प्रश्न यही हो । यही बाँदरे शैलीले आजसम्म इतिहासका धेरै अभिमन्युहरू चक्रब्यूहमा पर्न बाध्य भएका हुन् । जो–जसद्वारा भएको भए तापनि इतिहासका सबै राम्रा र योग्य कामका उदाहरणलाई नयाँँ नेपाल निर्माणका क्रममा आत्मसात् गर्न सक्ने वातावरण निर्माण गर्ने हो भने यत्तिका असामान्जस्यता आफँै अन्त हुन्छन् र सहमतिका बिन्दुतिर सबै उन्मुख हुन बाध्य हुने दिन अब धेरै कुर्नुपर्दैन । तर, यो देशका लोकतन्त्र र प्रजातन्त्रवादीले एउटा कुरामा सधैँ सचेत हुनुपर्छ कि जात मनुष्यको एउटै हुन्छ, धर्म पनि मानव धर्म मात्रै हो । जातीयता र क्षेत्रीयतालाई भन्दा अक्षुण्ण नेपालको परिकल्पना गर्नुपर्छ । त्यसो हुन नसकेमा मध्य प्रदेश, पूर्वी प्रदेश र पश्चिम प्रदेश गरी तीन प्रदेशको रूपमा क्षेत्र विभाजन गरी राज्य पुनर्संरचना गर्दै देश विखण्डन हुनबाट जोगाउन सकिन्छ । अन्यथा न रहे बाँस न बजे बाँसुरी हुन केही बेर लाग्ने छैन ।
आज प्रजातान्त्रिक विचारधारालाई आत्मसात् गर्ने बहादुर अभिमन्युहरू पुनः चक्रब्यूहमा पर्ने अवस्थामा छन् । संविधान निर्माणका नाममा खडा गरिएको चक्रब्यूह यति भयावह छ जसमा प्रवेश गरेर निस्कन वा पार लगाउन त्यति सहज भने छैन । तर, सुझबुझका साथ अगाडि बढ्ने हो भने आगामी नेपालको इतिहासले सुनियोजित चक्रब्यूह तोड्दै युद्धविजेता अभिमन्युलाई चक्रवर्ती घोषणा गर्नेछ ।