निर्धारित समयमा संविधान नआए के होला ?– इन्द्रबहादुर बराल

निर्धारित समयमा संविधान नआए के होला ?– इन्द्रबहादुर बराल


bicharनेपालको राजनीतिमा सामान्य चासो राख्ने जो–कोहीमा पनि यतिबेला निर्धारित समय (माघ ८)मा संविधान जारी हुन्छ कि हुँदैन भन्ने खुल्दुली जागेको पाइन्छ । यस्तो खुल्दुलीलाई चित्तबुझ्दो जवाफ दिनु भनेको माघ ८ मै संविधान जारी गरेर देखाइदिनु नै हो । तर, जिम्मेवार पक्षहरूको रवैया हेर्दा आमनेपालीको चिन्ता र चासोमाथि उनीहरूले कुठाराघात नै गर्लान् जस्तो देखिन्छ । त्यसकारण सर्वाधिक चासोको यस विषयलाई लिएर अनेक अड्कलबाजी लगाइँदै छ । सहमतिका आधारमा संविधान बनाउन नसक्ने अनि प्रक्रियामा जान पनि खुट्टा कमाउने प्रमुख भनिएका दलहरूको अकर्मण्यताले मुलुकलाई अनिर्णयको बन्दी बनाइराखे जनताको आक्रोश थामिने छैन र उदाउन लागेको उज्यालो जमिनमा नओर्लिंदै देश फेरि पनि अन्धकारतिर डोहोरिने पक्कापक्की छ ।
दशवर्षे जनयुद्धको आलो घाउमा खाटो नबस्दै प्रमुख भनिएका दलहरूबाटै नुनचुक लगाउने काम हुन गए राष्ट्रले पीडामाथि पीडा व्यहोर्नुपर्ने हुन्छ । तसर्थ, समय–सीमाभित्र राष्ट्रले सुम्पेको जिम्मेवारी कुनै पनि मूल्यमा पूरा गर्नैपर्छ । अब यो वा त्यो बहानामा जनतालाई गुमराहमा राखेर सत्ताको रसस्वादनमा लुटपुटिएर बसे घोर बेइमानी र गैरजिम्मेवारीपनको पराकाष्ठा ठहरिनेछ । यसै पनि शान्तिप्रक्रियाको एक प्रमुख स्टेकहोल्डर एनेकपा माओवादी टुक्रा–टुक्रा हुँदा एउटा संशय जन्मिएकै थियो । एमाओवादीबाट ड्यास माओवादी हुँदै विप्लव (नेत्रविक्रम चन्द)ले हालै गठन गरेको पार्टीको हाउभाउ पनि कम आँक्न मिल्ने प्रकारको नदेखिएको यस परिवेशमा आगोको बिउ र झगडाको बिउ धेरै चाहिँदैन भन्ने पुरानो भनाइ स्मरण गर्नुपर्ने हुन्छ । कुनै पनि शक्तिलाई नजरअन्दाज गर्न हुँदैन भन्ने तथ्यलाई लोकतान्त्रिक शक्तिहरूले यतिबेला विशेष गम्भीरतापूर्वक ग्रहण गर्नु आवश्यक देखिन्छ । तथापि, यहाँका राजनीतिक दलहरूको रवैया ‘आफू मरे… राजा’ भन्ने उखानजस्तै देखिएबाट आम सचेत नेपालीमा घनीभूत चिन्ता उत्पन्न हुन पुगेको हो ।
भनिन्छ, दुनियाँमा दुई–दुईपटक संविधानसभाको चुनाव भएको हम्मेसी पाइँदैन । यस परिपे्रक्ष्यमा दोस्रो संविधानसभाले पनि तोकिएको समय–सीमाभित्र संविधान जारी गर्न नसके अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि अवश्य राम्रो रहनेछैन । तसर्थ, अब सत्तापक्ष र विपक्षको खेल वा सरकार परिवर्तनका भित्री गोटी चाल्न छोडेर एकसूत्रीय रूपमा माघ ८ गतेको समय–सीमालाई केन्द्रबिन्दु बनाएर अघि बढ्नु अपरिहार्य छ । यसै पनि पहिलो संविधानसभाले संविधान दिन नसक्दा जनताका मसिहा ठान्नेहरूको सिङ जनताले नै फुकालिदिएका छन्, फेरि अर्को साँढे निस्किए तिनका दाह्रा–नङ्ग्रा पनि नेपाली जनताले गोप्य मतदानबाट फुकालिदिने नै छन् ।
अग्रगामी परिवर्तनका नाममा अहिले जुन जातीय पहिचानका नारा उरालिएको छ, क्षेत्रीयताको कुरा जोडतोड उठाइएको छ, आज तिनै मुद्दाहरू संविधान निर्माणको तगारो बनेको अनुभव गरिँदै छ । नेपाली जनताले पहिचानका नाममा जातीय सङ्घीयता अस्वीकार गरिसकेका छन् भने नेपाललाई सनातन हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष बनाएको पनि रुचाएका छैनन् । यसको ज्वलन्त प्रमाण हो संविधानसभाको दोस्रो निर्वाचनको परिणाम । त्यसैले अब बन्ने संविधानले सबैभन्दा ठूलो जनसङ्ख्या भएको क्षत्रीदेखि कम जनसङ्ख्या (जम्मा दुई हजार सात सय तीस) भएको कुसुण्डासम्मको अधिकार र सम्मान स्थापित गर्न सक्नुपर्छ । अनि मात्र त्यो संविधान सम्पूर्ण नेपालीको साझा संविधान हुनेछ । अन्यथा केही जाति÷समूहलाई मात्र काखी च्याप्ने प्रवृत्तिलाई बढवा दिँदै हिँड्ने क्रम नरोकिए निश्चित रूपमा नेपालीका आँखाबाट ओभाउन थालेका आँसुका थोपा खोलै बनेर बग्ने सम्भावना त्यत्तिकै टड्कारो देखिन्छ । यसो भन्दैमा त्यति निराश भइहाल्ने अवस्था नभए पनि सम्भावनाप्रति चनाखो हुनु आवश्यक छ । मुलुकमा धेरै आमाका काख रित्तिएका छन्, असङ्ख्य सौभाग्यवतीका चुरा फुटेका, सिउँदो पुछिएका छन् भने धेरै बालबालिका टुहुरा बनेका छन्, अङ्गभङ्ग वा बेपत्ता हुनेको पनि उस्तै हाल छ । आखिर यो सबै केका लागि ? सरोकारवाला सबैले त्यता फर्केर हेरौँ र एकछिन पार्टीदेखि टाढा भएर सोचौँ, अनि भित्रीमनले के भन्छ त्यही गरौँ । २४सै घन्टा दलीय घेरामा लट्पटिँदा कहिलेकाहीँ त मानिसले मानवीय संवेदनशीलता नै बिर्संदोरहेछ कि कुन्नि † मानवीय संवेदनलाई बिर्सेर दलीय राजनीतिको साँघुरो घेराबाट माथि नउठेसम्म चक्रब्यूहबाट उम्केर संविधान जारी हुने स्थिति देखिँदैन । प्रतिबद्धतालाई बिर्सेर वा बुझपचाएर जुँगाको लडाइँ लड्दा समस्याको समाधान निस्कनेभन्दा बल्झिने खतरा बढ्छ । संविधानसभाका जन्मदाता सम्झने शक्तिले सहमतिको मार्गमा गए मात्र जनआन्दोलनका उपलब्धिलाई जोगाउन सकिन्छ भन्ने विश्वासका साथ वर्तमानको अविश्वासको गाँठो फुकाउनु श्रेयस्कर हुन्छ । अन्यथा यतिबेला प्रतिगमनकारी भनिएको शक्ति नै बलवान भएर आउने सम्भावनालाई नकार्न सकिँदैन ।
अग्रगामी राजनीतिको उपलब्धिका रूपमा व्याख्या गरिने गरेका धर्मनिरपेक्षता, सङ्घीयता र गणतन्त्र कसका एजेन्डा थिए भन्ने प्रश्न पनि पेचिला हुँदै आएका छन् । ती एजेन्डा कहाँबाट कसरी आए र एकाएक यत्रो उथलपुथल कसरी हुन गयो भन्ने चर्चा गहन रूपमै चल्न थालेको के प्रमुख राजनीतिक शक्तिहरूले नसुनेकै हुन् त ? यहीँनेर संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल र नेपाली काङ्गे्रसका प्रभावशाली नेता खुमबहादुर खड्कालगायतले हिन्दूराष्ट्र नेपालको पहिचान कायम गराउने एजेन्डालाई अभियानकै रूपमा जो सञ्चालन गरेका छन्, यसलाई कमजोर ठान्नु पनि दुर्भाग्यपूर्ण नै हुनेछ । त्यसैले निर्धारित समयमै संविधान बन्नु र संविधानमा सनातन हिन्दूराष्ट्रको मुद्दालाई कहीँ न कहीँ सम्मानजनक स्थान दिएर मुलुकलाई इसाईकरण हुनबाट जोगाउनु अपरिहार्य छ । यदि जनताको विश्वासलाई जोगाउँदै आफू र आफ्नो भविष्य सुरक्षित गर्ने हो भने दलीय नेतृत्वले उल्लिखित कुरालाई अक्षरशः पालन गर्नैपर्छ । अन्यथा ‘काला गए गोरा आउँछन्’ भन्ने कहावत सिद्ध हुँदै ‘नाम्लेका छोरा काम्ले र काम्लेका छोरा नाम्ले’ बन्न पुग्नेछन् । सम्बन्धित सबैलाई हेक्का रहोस् ।