आँखा र सपना-कृष्ण बजगाईं

आँखा र सपना-कृष्ण बजगाईं


खुल्लै आँखाले पनि
कसरी देख्न नसकेको हो ?

आँखा चिम्लेर महरि्षले
संसार देख्थे
ध्यान मग्न बुद्धले
ज्ञानको गहिराइ देखे
आँखै खोलेर पनि
नदेखेजस्तो किन गृनू ?

आँखा चिम्लेर पनि ब्युँझिराख्नू- बुद्ध
आँखा खोलेर पनि नदेख्नू- राजनीति

कसरी असरल्ल छाड्न सकेका
आँखाहरू सडकमा ?

जिन्स पाइन्टको पछिल्लो खल्तीमा
आँखा राखेर किन हिँड्छन् तरुनीहरू ?
वक्षस्थलमा आँखा टाँसेर
कसरी हिँड्न सकेका लोग्ने मानिसहरू ?
कसले भन्यो
राजनेताहरूको आँखा घिच्चुकमा हुन्छ ?

हाम्रै आँखाअगाडि छट्टु राजनेताहरूले
कसरी झुक्याएर लगेका छन्
जनताको आँखाको नानी,
र टाँसिदिएका छन् उनीहरूको आँखामा सपना ।

सपनाको आकार हुँदैन
सपना साकार हुँदैन-
भन्ने जब थाहा पाउँछन् एक दिन
माग्नेछन् उनीहरूले आ-आफ्ना आँखाका नानी ।
त्यसपछि हेर्नुपर्छ
कसरी चलाउँछन् अन्धाहरूले शासन ?
– ब्रसेल्स, बेल्जियम