यौन, नियम र पर्यटन– विनोद त्रिपाठी

यौन, नियम र पर्यटन– विनोद त्रिपाठी


Binod Tripathiकेही वर्ष पहिले बाग्लुङमा हुँदा एक दिन बिहानै त्यहाँका डीएसपीले फोन गरे, ‘राम्रो समाचार छ, जिल्ला प्रहरी कार्यालय आउनुस् न ।’ फोनमै भन्नुस् न के हो समाचार डीएसपी साप, मैले उत्तर दिएँ । खड्का थरका ती डीएसपीले भने, ‘होटलमा बसेका चार जोडीलाई रङ्गेहात पक्रेका छौँ, गतिलो समाचार हो नि विनोदजी ।’ मैले तत्काल प्रत्युत्तरमा भने, ‘डीएसपी साप, म यसप्रकारको समाचार लेख्दिनँ, चाहे म जागिरबाट निस्कन परोस्, म पर्यटन प्रवद्र्धक पनि हुँ, न कि पर्यटक तर्साउने पत्रकार ।’
केही दिनपछि ती डीएसपीसँग भेट भो । लामै कुराकानीमा मैले उनलाई भने, ‘समाजमा असर पु-याएका हुन् भने, होहल्ला गरेर अरूलाई हैरान बनाएका हुन् भने, कानुनले तोकेकोभन्दा कम उमेरका हुन् भने अथवा कानुनविपरीतका काम गरेर लुकेका हुन् भने मात्र प्रहरीले मानिसलाई पक्राउ गर्न मिल्छ, नत्र यो उल्टै प्रहरीकै अपराध होइन र ?’ यो कुरालाई उनले सहस्र स्वीकार मात्र गरेनन्, उनको कार्यकालमा कुनै होटलमा धरपकड गरिएको सुनिएन । पछि बाग्लुङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक निर्धक्क त्यहाँ पुग्थे ।
नेपालले विकासमा सम्भावना बोकेको क्ष्ँेत्र भनेको पर्यटक पनि एक हो । कृषिपछि सायद पर्यटन क्षेत्रबाहेक अरू क्ष्ँेत्र हाम्रा लागि कम अवसर छ । पर्यटन क्षेत्रको विकास यस्तो हो यसले कृषिदेखि उद्योगको समुचित विकासलाई समायोजन गर्छ । पर्यटन विकासका लागि चाहिने केही वस्तुगत आधार र गर्नुपर्ने दायित्व निम्नबमोजिम हुनेछन् । विकास, सुरक्षा, मनोरञ्जन, सहजता आदि विषयलाई लिएर सरकारले पर्यटन क्षेत्रलाई अगाडि बढाउन सक्छ ।
कुनै पनि मुलुकमा पहिला आन्तरिक पर्यटकको आधार तय गरिनुपर्छ । त्यसपछि मात्र बाह्य पर्यटक त्यसमा आकर्षित हुने गर्छन् । हाम्रा आन्तरिक पर्यटक भनेको युवा वर्ग नै हो, जो कलेज–अफिस बिदा हुँदाको समयमा घुमफिर गर्छन् । उनीहरूका लागि हरेक पर्यटकीय स्थल सुरक्षित हुनुपर्छ । केही समयअघि पोखराको लेकसाइडमा कुनै बेला प्रहरीले चेकजाँच गरेपछि त्यहाँका व्यवसायीले पर्यटकीय होटलमा जथाभावी जाँच गर्न नपाइने आवाज उठाए । यस्तै प्रकारको आवाज चितवनको सौराहाका व्यवसायीले पनि गर्नुपरेको थियो ।
हाम्रो कानुनले वेश्यावृत्ति गर्न अनुमति त दिएको छैन, तर १८ वर्ष उमेरमाथिका जोसुकै व्यक्ति सँगै बस्न, घुम्न, डुल्न बन्देज गरेको छैन । यो कानुनलाई मध्यनजर राख्ने हो भने कुनै पनि होटलमा को कसका जोडी हुन् भन्दै छड्के जाँच गर्ने अधिकार प्रहरीलाई छैन । यदि कोही प्रहरी यो कानुनलाई उल्लङ्घन गरेर होटल–होटलमा जाँच गर्न पुग्छ भने उसलाई मानहानि वा त्यस्तै प्रकारको मुद्दा लाग्छ । हाम्रो कानुनले स्पष्ट रूपमा भनेको विषयलाई प्रहरीले स्वयम् कार्यान्वयन गर्नुपर्छ । हरेक व्यक्तिका मानवअधिकार, नैसर्गिक अधिकार र व्यक्तिगत अधिकार पर्छन् । यही कानुनका धारामा टेकेर नेपालका पर्यटक होटल खुलेका छन् । नेपालको कानुन र स्वतन्त्रतालाई मध्यनजर राखेर त्यहीबमोजिमका बाह्य पर्यटक यहाँ भित्रने गर्छन् । यदि यो इजिप्ट वा इराकको जस्तो कानुन हुन्थ्यो भने कुनै पर्यटक आउने थिएनन् ।
सरकारले पछिल्ला वर्षमा पर्यटन क्षेत्रको विकासका लागि होमस्टेदेखि रिसोर्टका अवधारणा ल्याएको छ । रिसोर्ट भनेको जङ्गलछेउमा हुन्छ । मोटेल भनेको नदीनजिक । होमस्टेले त पछिल्ला वर्षमा गाउँगाउँमा पर्यटन व्यवसायमा ठूलो फड्को मारिसकेको छ । तर, रिसोर्ट र मोटेल फस्टाउन सकेनन् । मोटेलहरू त हराइसके । भएका रिसोर्टमा पनि प्रहरीको दिनहुँ चेकजाँचका नाममा पारिएको आतङ्कले पर्यटक जान छोडिसकेका छन् । मुख्यगरी, राजमार्ग छेउछाउ, जङ्गल र निकुन्जनजिक भएका रिसोर्टमा व्यवसायीले ठूलो लगानी गरेका छन् । बजारका होटल त त्यसै पनि चल्छन् । तर, सहरभन्दा बाहिरका रिसोर्ट–मोटेलमा हुने प्रहरी धरपकडले व्यवसायी आतङ्कित छन् । पछिल्ला वर्षमा व्यवसायीले पर्यटन क्ष्ँेत्रमा अर्बौं लगानी गरेका छन् । होटल, रेस्टुरेन्ट, टे«किङ व्यवसाय आदिमा भएका लगानी आश्चर्यजनक बढ्दो छ । पहिलापहिला बसपार्कछेउछाउमा हुने प्रहरी चेकजाँच ठूला पर्यटकीय होटलमा पनि सर्न थालेपछि ठूलो लगानी जोखिममा परेको व्यवसायीले आभास गरेका छन् ।
विश्वमा अहिले पनि कतिपय मुलुकले यौन पर्यटकमा विस्तार गरेका छन् । तर, हाम्रा संस्कृति, रीतिरिवाज, मूल्यमान्यता आदिले यौन बजार विस्तार गर्न नसकिएला, तर सामाजिक रूपमा हरेक पर्यटकले सुरक्षित र स्वतन्त्रता महसुस गर्न सक्नुपर्छ । नेपालमा अहिले तेस्रो मुलुकबाट दुई प्रकारका पर्यटक भित्रन्छन् । पहिलो स्वयम्सेवकको रूपमा र दोस्रो व्यक्तिगत रूपमा । स्वयम्सेवकको रूपमा आउनेभन्दा व्यक्तिगत घुमफिरमा आउने पर्यटकले धेरै रकम खर्च गर्ने गरेका उदाहरण छन् । यसरी व्यक्तिगत रूपमा आउने अधिकांश पर्यटक एसियाका अन्य मुुलुकको भ्रमणका क्रममा नेपाल आएका हुन्छन् । भारत आउने पर्यटक नेपाल छिरेका हुन्छन् । यसरी आउने पर्यटकले सुरक्षा, मनोरञ्जन महसुस ग-यो भने भोलि ऊ र उसले प्रचार गरेका उनीहरूका देशका नागरिक सोझै नेपाल आउनेछन् । हरेक पर्यटक आफँैमा प्रचारक हुन् । यसरी आउने पर्यटक हाम्रा लागि भगवान्जस्तै पाहुना हुन् । उनीहरूको सुरक्षा मात्र होइन, उनीहरूलाई मनोरञ्जन प्रदान गर्ने दायित्व पनि हाम्रै हो । यसरी बाह्य मुलुकका पर्यटक आकर्षित गर्नुभन्दा पहिला आन्तरिक पर्यटकको चहलपहल आवश्यक हुन्छ । हाम्रा नेपाली दिदीबहिनी, दाजुभाइको घुमफिरले विदेशीलाई लोभ्याउनेछ । स्वदेशी पर्यटकलाई पनि सम्मान र सुरक्षा प्रदान गर्ने दायित्व उति नै महत्वपूर्ण छ । त्यसैले कानुनमै टेकेर प्रहरीले नियम पालना गर्नुपर्ने दायित्व अहिले टड्कारो रूपमा देखिएको छ । अरूलाई नियम पालना गर्न सिकाउने प्रहरीले आफँै नियम पालना गर्ने हो भने नागरिकले प्रहरीलाई सधैँ विश्वास गर्नेछन् । यसले हाम्रो पर्यटन विकास मात्र होइन, सभ्य र स्वतन्त्र समाजको निर्माण गर्नेछ । नेपाली नागरिकले प्रहरीबाटै आतङ्कित हुनुपर्ने दिन तुरुन्त अन्त्य हुन आवश्यक छ ।