नयाँ वर्षकै दिनमा विस्फोटबाट दर्जनौँ मानिस घरवारविहीन

नयाँ वर्षकै दिनमा विस्फोटबाट दर्जनौँ मानिस घरवारविहीन


रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तीहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको संख्या ३७ पुगेको हो ।

नयाँ वर्षको अवसरमा आयोजित रमाइलो कार्यक्रम गरिरहेका बेला अपार्टमेन्टको एक भागमा ग्यास विस्फोटन भएपनि सँगसँगै अरु धेरै परिवार रहेकाले उनीहरुलाई पनि असर परेको अधिकारीहरुलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

मृत्यु हुनेमा ६ जना बालबालिका रहेको त्यहाँको आपतकालिन मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ । घटनास्थलबाट दुई जना बालबालिका सहित छ जनालाई उद्धार गरिएको छ ।

अत्यन्त न्युन तापक्रमका कारण उद्धार तथा खोजी कार्यमा कठिनाई भइरहेको उद्धारकर्ताहरुले बताएका छन् । घटनास्थलको तापक्रम माइनस २७ डिग्री सेल्सीयस रहेको बताइएको छ ।

पूर्वी मस्कोबाट करिब एक हजार ७०० किलोममिटर टाढा रहेको घटनास्थलमा ८६ आवासीय भवन रहेका थिए ।

ती घरहरुमा करिब एक हजार एक सय व्यक्तिको बसोवास रहेको थियो । यस विस्फोटबाट करिब ३५ वटा अपार्टमेन्ट ध्वस्त र १० वटा क्षतिग्रस्त भएको बताइएको छ । विस्फोटबाट नयाँ वर्षकै दिनमा दर्जनौँ मानिस घरवारविहीन भएका छन् ।