अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ठ नेतृ न्यान्सी पेलोसी चुनिएकी छिन् । अमेरिकी संसदको सभामुख हुने उनी पहिलो अमेरिकी महिला नेतृ भएकी छन् ।
संसदमा आठ वर्षपछि बहुमत हासिल गरेको डेमोक्र्याटिक पार्टीका तर्फबाट सभामुख पदमा अरु केहीले रुचि देखाएका भए पनि अन्ततः पेलोसीले उक्त पद प्राप्त गर्न सफल भएको एपीले जनाएको छ ।
पाँच छोराछोरीको आमा तथा नौ नातिनातीनाकी हजूरआमा न्यान्सी पेलोसी अमेरिकामा एक्काइसौं शताब्दीकै सर्वाधिक शक्तिशाली राजनीतिज्ञका रुपमा उभिएकी छिन् ।
चुनावी प्रचारका क्रममा पेलोसीले भनेकी थिइन्, ‘सबै कङ्ग्रेस सदस्यहरु उक्तिकै योग्य हुनुहुन्छ, तर मैले गरिरहेका कामप्रति मलाई गर्व छ ।’
सभामुखको आसनमा पदस्थापन गर्दै पेलोसीले अमेरिकी विभाजित राजनीतिक वातावरणमा सबैसँग मिलेर कार्य गर्न उत्सुक रहेको बताएकी छिन्। उनले भनेकी छन्, ‘कङ्ग्रेसको यो सभाकक्ष अमेरिकी टाउन हल हुनुपर्दछ । यहाँ मानिसले हामीबीच हुने बहसलाई हेर्न पाउनुहुनेछ र जनताका आवाजहरु सुन्न पाउनुहुनेछ । जनआवाजले हाम्रा निर्णयमा प्रभाव पार्नेछ ।’
डेमोक्र्याटिक पार्टीका प्राथमिकताबारे चर्चा गर्दै उनले स्वास्थ्यसेवाको लागत न्यून गर्ने, हरित पूर्वाधारमा लगानी बढाउने तथा सरकारको इमान्दारितालाई पुनर्स्थापित गर्ने बारेमा प्रकाश पारेकी थिइन् ।

ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीको बहुमत रहेको वर्तमान अवस्थामा तल्लो सदनको प्रभावशाली नेतृत्व प्रदान गरी डेमोक्र्याटिक पार्टीलाई अमेरिकी राजनीतिको केन्द्रमा ल्याउनुपर्ने चुनौती पेलोसीमाथि छ ।
पेलोसीमाथि डेमोक्र्याट पार्टीकै सदस्यबाट अर्को दबाब पनि छ, त्यो हो ट्रम्पविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल गर्ने । पेलोसीले राष्ट्रपति माथिको महाभियोग प्रस्ताव ‘विभाजनकारी कृयाकलाप’ रहेको बताएकी छिन् ।
अमेरिकी संविधान र न्यायिक प्रणालीमा वहालवाला राष्ट्रपतिलाई पर्याप्त आधार बेगर महाभियोग लगाउन सकिँदैन । राष्ट्रपति ट्रम्पले आफूले कुनै गलत कार्य गरेको निरन्तर अस्वीकार गरिरहेका छन् ।
यसैबीच, डेमोक्र्याटिक पार्टीको बहुमत हासिल गरेको अमेरिकी संसदको पहिलो सत्रले अमेरिकी सङ्घीय कार्यालयहरुको बजेट पारित गरेको छ । सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिज्ञा गरेका सीमा पर्खालको बजेटलाई भने अनुमोदन गरेको छैन ।
बजेट पारित नभएका कारण दुई सातादेखि कैयौं सङ्घीय कार्यालयहरु आंशिक बन्द छन् । राष्ट्रपति ट्रम्पले पर्खालका लागि बजेट पारित नभए विनियोजन विधेयकमा हस्ताक्षर नगर्ने अडान राखेका छन् । ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपति ट्रम्पले पर्खालको बजेटका बारेमा विशेषाधिकार (भिटो) लगाउन सक्ने बताएका छन् ।
प्रतिक्रिया