अग्लिए ओली

अग्लिए ओली


oliनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताका पक्षमा दृढतापूर्वक उभिएपछि राष्ट्रिय राजनीतिमा बेग्लै तरङ्ग पैदा गरेको छ । सुशील कोइरालापछिको प्रधानमन्त्रीका रूपमा चर्चामा रहनुभएका ओलीले ‘देशका लागि प्रधानमन्त्री पदको माया मारिदिएको’ आभास हुन थालेको छ । उहाँले भन्ने गर्नुभएको छ, ‘नेपाल भनेको हिमाल, पहाड र तराई हो, हिमाल, पहाड र तराईलाई अलग गरेर कुनै प्रदेश बन्न सक्दैन, म बाँचिन्जेल त्यस्तो हुन पनि दिन्नँ ।’ ओलीले पार्टीका खास–खास नेताहरूलाई आफ्ना अगाडि राखेर भन्नुभयो, ‘म मरे पनि हिमालसँग पहाड र पहाडसँग तराईलाई अलग गर्ने काम कहिल्यै नगर्नुहोला ।’ यसरी केपी ओली सङ्घीय संरचनाको सुस्पष्ट मोडल लिएर उभिनुभएपछि नेकपा एमालेभित्रको एकता अप्रत्यासित रूपमा सुदृढ बन्न पुगेको छ । ओलीले प्रस्तुत गर्नुभएको प्रदेश संरचनासम्बधी अवधारणामा पार्टीका कुनै पनि नेताले विमति जनाएका छैनन् । कुनै पनि हालतमा प्रदेशहरूको जातीय नामाकरण नगर्न र हिमाल, पहाड र तराईबिनाको कुनै पनि प्रदेश नबनाउन एमाले एकढिक्का भएको छ । ओलीको अडानले जातिवादी, क्षेत्रीयतावादी, माओवादीलगायत कतिपय समूहलाई धक्का पु¥याएको र ओलीको यही अडानका कारण सर्वसहमतिबाट संविधान जारी हुन नसक्ने परिस्थिति निर्माण भएको भए पनि यसले देशको दीर्घकालीन भविष्यलाई सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । जाति र क्षेत्रविशेषका नाममा मुलुकको सार्वभौमिकता खण्डित गर्न क्रियाशील समूहहरू नेपाली राष्ट्रिय एकताका निम्ति गम्भीर चुनौती हुन् भन्ने जान्दाजान्दै पनि प्रमुख राजनीतिक दलका नेताहरू तिनै विखण्डनकारीका अघिल्तिर शरणागत भइरहेको टिठलाग्दो परिस्थितिमा केपी ओली सतिसाल बनेर उभिनुभएपछि देशको एकताका पक्षधरहरूमा त्राणको सूक्ष्म अनुभव हुन थालेको पाइएको छ ।
०६३ को परिवर्तनपश्चात् माओवादीको जगजगीमा माओवादीलाई जवाफ फर्काउन सक्ने हैसियत कसैमा देखिँदैनथ्यो । प्रजातन्त्रवादको मुख्य सारथि ठान्ने नेपाली काङ्गे्रसका कतिपय नेताहरू माओवादीको हितैषीझैँ प्रस्तुत हुन्थे । माओवादीका हरेक गतिविधिलाई टुलुटुलु हेरेर बस्थे अधिकांश काङ्गे्रस नेताहरू । आफ्ना नेताको माओवादीमोह देखेर काङ्गे्रसको तल्लो तहका नेता तथा कार्यकर्ताहरू दुःखी र चिन्ताग्रस्त बनेका थिए र प्रजातन्त्रको पक्षमा बोलिदिने नेताको खोजी गर्थे । त्यस्तो समयमा केपी ओलीका अभिव्यक्ति आउँदा काङ्गे्रस पार्टी र प्रजातन्त्रका समर्थकहरू ‘स्वर्णवर्षा’को महसुस गर्दथे । माओवादीले नेपाली सेनाबारे जथाभावी बोल्दा त्यसको प्रतिवाद तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मन्त्रीहरूबाट भइदिए हुन्थ्यो भन्ने चाहना नेपाली सेनाको हुन्थ्यो । तर, कोइराला र उहाँका समर्थकहरू सेनाका विरुद्ध भइरहेका प्रस्तुति चुपचाप सुन्थे र पचाउँथे । सरकारले नेपाली सेनाको प्रमुखमा रुक्मांगद कटवालको चयन गर्दा एमाओवादीले उक्त निर्णयका विरुद्ध देशमै आगो लगाउँलाझैँ गरी विमति जनाएको थियो । परराष्ट्रमन्त्रीको भूमिकामा रहनुभएका ओली स्वदेश नफर्किन्जेल देशमा माओवादीको एकोहोरो शङ्ख बजिरह्यो । स्वदेश फर्कनेबित्तिकै ओलीले माओवादीलाई जवाफ फर्काउँदै भन्नुभएको थियो, ‘माओवादीका पनि सेना छन् भन्ने मैले सुनेको छु, तिनका सेनामा कसलाई जर्नेल–कर्णेल बनायो या बनाउँछ भन्ने कुरामा हामीले कुनै सरोकार राखेका छैनौँ, राज्यले देशको सेनाको प्रमुख विधिसम्मत ढङ्गले चयन गर्दा उनीहरूले किन टाउको दुःखाउनुपर्ने ?’ ओलीको यस्तो अभिव्यक्तिपछि नेपाली सेनाले ठूूलो राहत महसुस गरेको थियो भने देश र प्रजातन्त्रका पक्षधरहरूले पनि सन्तुष्टि प्राप्त गरेका थिए । राष्ट्र, राज्य, प्रजातन्त्र, विधि र जनताका पक्षमा दर्बिलो ढङ्गले प्रस्तुत भएर त्यसताक ओलीले राष्ट्र र प्रजातन्त्रपे्रमीहरूको मन जित्नुभएको आज पनि जनताले बिर्सेका छैनन् ।
हिजो प्रजातन्त्र र विधिको शासन सङ्कटमा पर्दा जसरी केपी ओली उभिनुभएको थियो अहिले राष्ट्र र राष्ट्रिय एकतामाथि सङ्कट उत्पन्न हुन नदिन पनि ओली त्यसैगरी कस्सिनुभएको छ । यसरी ओलीले इतिहास–स्मरणीय अडान प्रस्तुत गरिरहँदा देशको एकता जोगिने सम्भावना त बढेकै छ, स्वयम् एमालेको पुरानो पहिचान पनि बदलिँदै छ । एउटा असली प्रजातन्त्रवादी र राष्ट्रपे्रमीले लिनुपर्ने अडान काङ्गे्रसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले लिइदिएको भए उहाँको पनि उच्च मूल्याङ्कन हुन सम्भव थियो । तर, कोइरालाको अकर्मण्य व्यवहारको सिकार आज सिङ्गै काङ्गे्रस पार्टी बन्ने खतरा बढेको छ । हिजोको एमालेको परिचयमा अब काङ्गे्रस रहने हो कि भन्ने चिन्ता काङ्गे्रसका कैयन नेता–कार्यकर्तामा देखिएको छ । ओलीको अडानले भने राष्ट्रपे्रमी नेपालीमा ओलीप्रतिको सम्मान र भरोसा बढाएको छ । जस्तो भए पनि संविधान जारी गरेर आफ्नो नाकको रक्षा गर्ने सोचमा रहेका सुशील कोइरालासहितका नेताहरूको कद ह्वात्तै घट्ने गरी ओलीले साहस गरेपछि तत्काल उहाँ प्रधानमन्त्री बन्नुहुने सम्भावना भने घटाएको छ । आफूले देशको पक्षमा अडान राख्दा प्रधानमन्त्री बन्ने सम्भावना घट्न सक्छ भन्ने जानकारी ओलीजत्तिका चतुर नेतालाई नहुने ठान्न सकिँदैन । नाफाको जिन्दगी बाँचिरहनुभएका ओली प्रधानमन्त्री नबने पनि उहाँले कुनै पनि प्रधानमन्त्री बनेका व्यक्तिले भन्दा बढी योगदान देशलाई पु¥याउनुभएकोमा शङ्का छैन । संविधान जारी गर्नेभन्दा देश जोगाउने र देश बनाउने कुरालाई प्राथमिकतामा राखेर ओलीले निर्वाह गर्नुभएको भूमिकालाई नेपालको इतिहासले सदा स्मरण गरिरहने विश्वास गरिएको छ ।