कोटेश्वर–कलंकी रिङरोडको ‘सर्भिस ट्रयाक’ आधा सम्पन्न

कोटेश्वर–कलंकी रिङरोडको ‘सर्भिस ट्रयाक’ आधा सम्पन्न


कोटेश्वर–कलंकी सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्रयाक’ को निर्माण आधा सकिएको छ ।

चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकाएसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम भइरहेको काठमाडौं चक्रपथ सुधार योजनाले बताएको छ ।

अहिलेसम्म झन्डै पाँच किलोमिटर काम सकिएको योजनामा कार्यरत इन्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । आगामी वर्ष बाँकी पाँच किलोमिटर सक्ने योजना छ । चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरेर दुवैतर्फको काम भइरहेको छ । यो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्रयाक’ गरेर तीन प्रकारका लेन छन् । मुख्य र सहायक लेन चार–चार र ‘सर्भिस ट्रयाक’ दुवैतर्फ एक–एक गरेर जम्मा दुई लेनको रहेको छ ।

आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी संघाई निर्माण सेवा समूहले लिएको थियो । बाहिरपट्टिका दुई लेन सडक विभागले निर्माण गरिरहेको छ । सर्भिस ट्रयाकबाट नै चालक चक्रपथमा प्रवेश गर्न पाउँछन् । इन्जिनियर अर्यालका अनुसार सर्भिस ट्रयाकबाट निश्चित चोकमा पुगेपछि मात्रै चालक सहायक र मुख्य लेनमा छिर्न पाउँछन् ।

अहिले आठ लेनको सडक भए पनि यी दुई लेनसहित सडक १० लेनको हुनेछ । सडकको निर्माण सकेसम्म चाँडो सक्ने योजना रहेको इन्जिनियर अर्यालले बताए । उनले भने, ‘वार्षिक जति बजेट छुट्टिन्छ, त्यसैका आधारमा काम हुनेछ ।’

गत मंसिर मसान्तमा चिनियाँ निर्माण कम्पनीले आठ लेन सडक निर्माण सम्पन्न गरिसकेको छ ।