क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । आँधीपछि आएको वर्षा र वर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरूको संख्या १ सय २६ पुगेको अधिकारीहरूले जनाएका छन् ।
फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । आँधी र पहिरोले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । राजधानी मनिलादेखि दक्षिण पूर्वमा पर्ने बिकोलमा मात्रै झन्डै सयजनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
क्रिसमसको बिदामै रहेका बेला प्रभावित भएका धेरैलाई अन्यत्र स्थानान्तरण गरिएको छ । स्थानीयवासीको शब्दमा ‘उस्मान’ भनिने यस आँधी निकै खराब खालको भएको बताइएको छ । घटनास्थलमा बेपत्ता भएका तथा प्रभावित भएकाहरूको खोजी कार्य अझै पनि जारी रहेको छ । उद्धार तथा खोजीका लागि पहिरो र त्यसले ल्याएको माटो ठूलो समस्याका रूपमा रहेको छ ।
यस आँधी र पहिरोका कारण झन्डै एक लाख ५२ हजारलाई अन्यत्र सारिएको हो । घटनामा परी अहिलेसम्म ७५ जना घाइते भएका विवरण प्राप्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापनसम्बन्धी निकायले जनाएको छ ।
राष्ट्रपति रोड्रिगो डुटेर्टेले शुक्रबार घटनास्थलको निरीक्षण गरे । उनले प्रभावितहरूलाई तत्काल उपयुक्त ठाउँमा बसोवासको व्यवस्थापन गर्दै आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रभावितहरूलाई विभिन्न विद्यालयहरूमा अस्थायी शिविर बनाएर राखिएको छ ।
आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक, पुललगायतका भौतिक संरचनाहरू पनि भत्किएका छन् । फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा सामुद्रिक आँधी आउने गर्दछन् । यी आँधीका कारण हरेक वर्ष सयौँ व्यक्तिको मृत्यु हुनुका साथै लाखौँ मानिसलाई घरवारविहीन हुने गरेका छन् ।
सन् २०१३ मा आएको शक्तिशाली ‘हाइयान’ आँधी अहिलेसम्म सबैभन्दा ठूलो भएको अनुमान गरिएको छ । यो आँधीबाट सात हजार तीन सय ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
प्रतिक्रिया