१९ वस्तुलाई गुणस्तर चिह्न प्रदान

१९ वस्तुलाई गुणस्तर चिह्न प्रदान


नेपाल गुणस्तर तथा नापतौल विभागले चालू आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पूरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिह्न प्रदान गरेको हो ।

विभागले अन्नपूर्ण भेजिटेबल प्रालि बाराबाट उत्पादित सोय तेल, सूर्यमुखी तेल र भेजिटेबल घीलाई गुणस्तर चिह्न प्रदान गरेको छ । वर्षा रिसाइक्लिङ प्रालि बाँकेबाट उत्पादित प्रेसरकुकर, जीटीएच उद्योग प्रालि भक्तपुरबाट उत्पादित प्रेसरकुकर, हरि उद्योग प्रालि भारतबाट उत्पादित एलपीजी रेगुलेटर, होङसी सिमेन्ट उद्योग नवलपरासीबाट उत्पादित पीपीसी सिमेन्ट, इन्टरनेसनल सिमेन्ट पर्साबाट उत्पादित पीएससी सिमेन्ट, इन्टरटेक पाइप एन्ड फिटिङ रूपन्देहीबाट उत्पादित पीभीसी पाइपलाई पनि विभागले गुणस्तर चिह्न प्रदान गरेको हो ।

यस्तै, जानकी माटा उद्योग सर्लाहीबाट उत्पादित एलपीजी रेगुलेटर, जया बागेश्वरी रोटामोडलिङ रूपन्देहीबाट उत्पादित पीभीसी पाइप, जेएसएस उद्योग प्रालि काठमाडौंबाट उत्पादित एलपीजी रेगुलेटर, कोहीनूर प्लाइउड प्रालि मोरङबाट उत्पादित प्लाइउड, नारायणी उद्योग बाराबाट उत्पादित आइरनलाई समेत गुणस्तर चिह्न प्रदान गरेको छ ।

विभागले नेपाल सेन्टेक्स उद्योग चितवनबाट उत्पादित वाटर स्टोरेज ट्यांकी, राजस्थान सिलिन्डर उद्योग भारतबाट उत्पादित एलपीजी सिलिन्डर र एलपीजी भल्व फिटिङ, साउथ एसिया पोलिपाइप उद्योग लिमिटेड मकवानपुरबाट उत्पादित एचडीपीई पाइप र सनराइज सिमेन्ट प्रालि झापाबाट उत्पादित पीपीसी सिमेन्टलाई समेत गुणस्तर चिह्न प्रदान गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर मापदण्ड पूरा गरी सामान उत्पादन गर्ने सबै उद्योगलाई आवेदनका आधारमा गुणस्तर चिह्न प्रदान गरिएको जानकारी दिऐ । ‘गुणस्तर जाँचका क्रममा गुणस्तरविपरीत सञ्चालन भएको भेटिए इजाजतपत्रसमेत रद्द गर्दछौँ,’ उनले भने । गुणस्तर ठीक हुनु भनेको प्रयोग गर्न योग्य हुनु हो ।

विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित ३६९ प्रकारका सामग्रीलाई गुणस्तर चिह्नको इजाजतपत्र प्रदान गरिसकेको छ ।