– वियोगी बुढाथोकी
‘स्वस्थ भई बाँच्न पाउनु मानवको नैसर्गिक अधिकार हो’ भन्ने बीपी कोइरालाको उद्गारलाई शिरोधार्य गरेर ०४८ मा स्थापना भएको बीपी स्मृति स्वास्थ्य प्रतिष्ठानले वर्षेनी देशका विभिन्न जिल्लामा गएर अस्पतालको अनुहार र चिकित्सकहरूको व्यवहारबाट टाढा रहेकाहरूसँग नजिक पुगेर उनीहरूको ढुकढुकी छाम्ने, आफूसँग भएको औषधि तथा स्वास्थ्यसम्बन्धी परामर्श निःशुल्क रूपमा प्रदान गर्दै आएको छ । उद्देश्यअनुरूप प्रतिष्ठानसँग आबद्धहरूको प्रतिबद्धताले स्थापनाको यति लामो कालखण्डमा लाखौँ बिरामीको परीक्षण गर्ने कार्यमा सफलता हासिल गरिसकेको छ प्रतिष्ठानले । स्वच्छ मन, पवित्र चाहना, परोपकारी भावना बोकेका मनहरूको समूह भएपछि सेवाका ढोकाहरू आफसेआफ सधैँ खुला रहने रहेछन्, प्रतिष्ठानसँगको लामो यात्रा नाप्ने सिलसिलामा बटुलिएका अनुभव हुन् यी । समन्वय, सहकार्य र संयोजकको भूमिका निभाउन स्वास्थ्यकर्मी नै हुनुपर्छ भन्ने कुनै मान्यता र योग्यताको प्रमाणपत्र नचाहिने रहेछ । मन र इच्छा भएमा गल्ली, गल्छेँडाहरूसँग बितेको क्षणलाई सबैसँग बाँडेर मन हलुङ्गो पार्न मनले मनलाई आदेश दिँदो रहेछ । र त भेटिँदा रहेछन् वर्षांैदेखि गुम्सिएका रोगीका रोगका दुखाइका पीडाहरू ।
पुसको जाडो । ठाउँअनुसारको तुसारो । स्थानविशेषको भुइँकुहिरो । कतै पाहारिलो न्यानो त कतै कठ्याङ्ग्रिँदो चिसोसँग आत्मीयता साट्दै हिँड्नुपर्ने भौगोलिक बनोटको प्राकृतिक उपहारहरू हुन्, हाम्रा लागि । सबैसबै प्राकृतिक उपहारसँग सम्झौता गर्न नसकेको खण्डमा बनाइएका योजनाहरू, सोचाइका पाइलाहरू अलपत्र पर्ने गर्छन्, थाहा छ । त्यसैले सामनाको पहाड चढ्ने मनहरू, सहयोगी हातहरू र साथहरूसँग हातेमालो गर्दा सफलताले अङ्कमाल गर्दोरहेछ । यात्रामा भेटिएका, देखिएका र अनुभव गरिएका रहरलाग्दा क्षणहरू हुन् यी ।
साँझ आठ बजेको घन्टी बज्दानबज्दै गोरखाबजारस्थित होटर मिराकलले पुसको चिसोलाई ठ्याम्मै बिर्साउनेगरी स्वागत ग-यो । यस पङ्क्तिकारलाई स्वास्थ्य सेवाको पवित्र भावना बोकेर जम्बो टोलीको लर्कोको नेतृत्व गर्ने अभिभारा दिएको थियो प्रतिष्ठानले । झन्डै पाँच घन्टाको यात्राले दिएको थकानलाई सजिलै परास्त गर्न व्यवस्थापनले सहज वातावरण बनाएको रहेछ । हाँस आउने ठट्टा, दोहोरी र मुक्तकमय बन्यो साँझ । अँध्यारो रातका कारण बजारबाहेक अरू प्राकृतिक दृश्यहरूले आँखामा बास बस्ने कुरै भएन, त्यसैले केही देखिएन । दृश्य तथा दरबारको अवलोकन गर्ने प्रबल इच्छालाई आ–आफ्नै साथमा सजाएर भोलिको पर्खाइमा निद्रादेवीको काखमा आत्मसमर्पण ग-यौँ हामीले ।
सूर्योदयको आगमनसँगै न्यानो घामले साथ दियो हामीलाई । हामी अर्थात् काठमाडौंबाट गएकाहरूमध्येका प्रा.डा. गुणकुमार श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, डा. हरेराम मरहट्ठा, डा. अनिल भट्टराई, डा. प्रलय खड्का, डा. सुमन शर्मा, नत्थुप्रसाद बास्कोटा, परशुराम पन्त, लक्ष्मण रेग्मी, चन्दन मिश्र, पार्वती सापकोटा, सिर्जना बिसी, गणेश सापकोटा, निरञ्जन थापा, उमेश थापामगर, सुशील भट्टलगायत पाँच दर्जनको हाराहारीमा थियौँ । गोरखाबजारबाट दक्षिण–पश्चिमतर्फ भिरकोट, धुवाँकोट र छिम्केश्वरी । दक्षिणतर्फ मनकामना र बक्केश्वरी । उत्तरपश्चिमतर्फ लिगलिग कोट, हर्मिकोट र सिरानचोकले सुरक्षा दिएको रहेछ । गोरखा जिल्लाको छेवेटारले उत्तरपूर्वतर्फ सदरमुकाम पोखरीथोक, पश्चिमतर्फ मिरकोट, पालुङटार, आँपपीपल र खोप्लाङ उत्तरतर्फ छोप्राक, गाँखु, जौवारी, बरपाक (ऐतिहासिक स्थल जसलाई भिक्टिोरिया क्रसले विभूषित गजे घलेको निवास र म्युजियम पनि भएकाले पर्यटक क्षत्र मानिँदो रहेछ) । दक्षिणतर्फ आबुखैरेनी, देउराली र मनकामनालाई राखेर छेवेटार लम्पसार सुतेको रहेछ । कुमाल जातिको बाहुल्य रहेको छेवेटार पुग्न आँबुखैरेनीबाट उत्तर लागेपछि भेटिने १० किलो पार गरेपछि आउने १२ किलोबाट १३ किलोतर्फ नलागी पश्चिमतर्फ मोडिनुपर्ने रहेछ ।
उत्तरतर्फ देखिने मनास्लु र लमजुङ हिमाललाई शिर पारेर निर्वस्त्र सुतेको दरौँदीको काखमा अवस्थित छेवेटारलाई दिनले आधाआधीको समय काटुन्जेलसम्म पनि कुहिरोको समुद्रमा पौडी खेल्न लगाउँदो रहेछ । डाँडाहरू जति नै झुके पनि छेवेटारलाई देख्न असफल हुँदा रहेछन् । बाक्लो हुस्सुका कारण आवतजावत गर्ने सवारीसाधनहरूले ज्यान जोखिममा राखेर यात्रा नाप्न बाध्य हुनुपर्दोरहेछ । गोरखा नगरपालिका वडा नं. ९ मा अवस्थित सूर्योदय युवा परिवारका सक्रिय युवा भागवत रेग्मीले संयोजकको भूमिका निभाएका कारण शिविर सञ्चालनमा सहज र सरल तरिकाले सम्पन्न भएको मान्न सकिन्छ । जुनसुकै काम वा आयोजनामा नै किन नहोस् व्यवस्थापनको महत्वपूर्ण भूमिका हुने हुँदा शिविरमा पनि त्यसको महत्वले सबैले मनलाई जित्न सफल भएको थियो ।
शिविरमा वर्षांैदेखिको अदृश्य पीडा पालेकाहरू भेटिन्छन् । कसरी वर्षांैवर्षसम्म सहेर बसेका होलान् ? सहनुमा कतिपयलाई बाध्यता पनि होलान् । केहीका लागि पारिवारिक र सामाजिक अवस्थाका उपज पनि होलान् । कसैलाई सुनाएको खण्डमा अनर्थ अर्थ लाग्ने डर उनीहरूसँग लुकेका हुन्छन् । त्यसैैले सधैँ सुविधासम्पन्न स्थानमा कार्यरत चिकित्साकर्मीहरूले दुर्गम क्षेत्रहरूमा स्वयम् उपस्थित भएर रोगको खोजतलास गर्ने, निदानका उपायहरू बताउने र परामर्शबाट त्यस्ता रोगीको रोग निको पार्ने उपायको खोजी गर्नु नै हो । भनिन्छ– कतिपय चिकित्सकले बोलेकै भरमा, रोगीलाई छोएकै भरमा आधाआधी रोग सन्चो हुन्छ भन्ने मान्यता हाम्रो समाजमा विद्यमान रहेको अवस्थामा अझै हामी छौँ । देशमा ०४६ को सफल जनआन्दोलनपछि अन्य क्षेत्रमा जस्तै चिकित्सा शिक्षामा पनि फराकिलो सोचाइका कारण विभिन्न निकायका साथै विभिन्न तह र तप्काका गुणस्तरीय पाठ्यक्रमको ओइरो लागेको हो । दक्षता प्रदान गर्ने क्षेत्रको वृत्ति विकास भएको हो । चिकित्साशास्त्र शिक्षामा चार दशकको लामो अनुभवले पुष्टि गरेको कुरा हो यो, कुनै वनावटी शब्दको जाल होइन ।
छेवेटारमा पनि त्यस्तै देखियो, यद्यपि अन्यत्रका शिविरमा भन्दा फरक केही भेटिए । अज्ञात रोगभन्दा पनि जानकारीमूलक तर अभाव र गरिबीका कारण लुकेको र लुकाइएका रोग र रोगीहरू भेटिए । एक हजारको हाराहारीमा स्वास्थ्य परीक्षण गरिएकोमा झन्डै एक प्रतिशत अर्थात् आठजनामध्ये केही बालक, केही युवा र केही वृद्धवृद्धाहरूको मुटुमा प्वाल परेको भेटियो । त्यस्तालाई चाँडोभन्दा चाँडो मुटु अस्पतालमा जान सल्लाहका साथै दुईजना आर्थिक अवस्था कमजोर भएकाहरूको निःशुल्क शल्यक्रियाका लागि त्रिवि शिक्षण अस्पतालमा आउन मुटु विशेषज्ञ डा. अनिल भट्टराईले अनुरोधका हार्दिकताका शब्द उपहार दिँदै त्यस्ता रोगीको रोग निदान एवम् उपचारमा सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दा बिरामी वा बिरामीका आफन्तहरूले शिविरको महत्व बुझेका थिए । आफ्नो स्वास्थ्यप्रति चासो नराख्ने, ध्यान नदिने र रोग लुकाउनेहरूको लामै लर्को अझै देशका विभिन्न भागहरूमा भेटिन्छन् । सोध, खोज र अनुसन्धानका पाटालाई विषय विशेषज्ञहरूले समय दिनु आजको आवश्यकता हो । सरकारले मात्रै सबथोक गर्न सक्दैन । तसर्थ विभिन्न नाम तथा उपनाममा खुलेका सङ्घ–संस्थाहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर चासो र चिन्ता गर्नु, वर्षमा केही दिन मात्र शिविरमा सहभागिता जनाउन आफ्नो विषयमा दक्षता हासिल गरेकाहरूको कर्तव्य पनि हो । देशले त्यस्तै व्यक्तिको निरन्तर खोजी गरिरहन्छ, आवश्यकता देखिरहन्छ ।
प्राणघातक रोग अज्ञानता र अभावका कारण शरीरमा प्रवेश गरेर तहसनहस पार्न सफल भएका हुन्छन्, प्रायःलाई ज्ञान भएकै कुरा हो । तथापि, हामीले गर्ने आफ्नै हेलचेक्र्याइँकै उपज हुन् ती रोगहरूभन्दा फरक नपर्ला । साधन, स्रोत र विशेषज्ञताको कमी–कमजोरी अर्को पाटो हो । यद्यपि सबैले ‘स्वस्थ भई बाँच्न पाउनु मानवको नैसर्गिक अधिकार हो’ भन्ने उद्गारतर्फ उन्मुख हुनु सरकार र सम्बन्धित निकायको पनि दायित्व हो । दायित्वलाई आत्मसात् गर्नु र गर्न लगाउनु सचेत नागरिकको कर्तव्य पनि हो । शिक्षित र साक्षर हुनुको परिणाम पनि हो ।
रोगसँग परिचय माग्ने हुटहुटी चलेको समयमा साहित्यको विद्यार्थी हुनुका नाताले प्राकृतिक दृश्य र मानवीय स्वभावले दिएको आतिथ्यका कारण यसरी मुक्तक पो जन्मिएछ । रोग बोकेर शिविरमा आएकाहरूलाई सुनाइयो । सुनेर थपडी मार्दाको स्वादले दिने आनन्द पनि आफ्नै प्रकारको मूल्य र मान्यताको वजनदार हुँदोरहेछ । जसरी छेवेटारमा एउटा बस र अर्को माइक्रोबाट ओर्लेर धर्ती टेक्नासाथ सडकको दायाँबायाँ उभिएकाहरूले थपडी बजाएर गरेको स्वागत । स्वागतमा पाइएको खादा र पन्चेबाजाले प्रत्येकको मनमा हौसलाको न्यानो अनुभूत गराउन सफल भएथ्यो । समापनमा भाषण होइन मुक्तकले आफ्नै स्थान सुरक्षित गरेकोमा उपस्थित मन गद्गद् भएर दुई हातको तालीमा समावेश भएका थिए । मनास्लु हिमाल मुसुक्क हाँसेको प्रतीत भएको थियो त्यस क्षण । दरौँदीको चिसो पानी हत्केलासम्म आएर प्यास मेटेको अनुभूत गराएको थियो । छेवेटारसँग बिदा माग्न मन त थिएन, तर बिदा माग्नैप-यो ।
आउँदा चार घन्टाको यात्राले दिएको असीम प्यास मेट्यो चरौँदीले
मन अत्यधिक लोभियो शिविरनजिकै रहेको निर्वस्त्र सुतेको दरौँदीले
यतै बास बस्न मन लाग्यो, अलिकति जग्गा देउन मायालु छेवेटार
दिएनौ भैगो फर्कन्छु कोसेलीमा मन चिरियो त्यो हेराइको करौँतीले ।
प्रतिक्रिया