बिचौलियाको बिगबिगी नियन्त्रण गर्न व्यवसायी एकजुट

बिचौलियाको बिगबिगी नियन्त्रण गर्न व्यवसायी एकजुट


– रमेश विश्वकर्मा, गुल्मी

जिल्लामा पुस्तक तथा स्टेशनरी व्यवसायीहरूको छातासंगठन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गुल्मीले चौंथो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । जिल्ला अधिवेशन रुरु गाउँपालिका वडा नं. १ मा रहेको गुल्मी उद्योग बाणिज्य संघ गुल्मीको रिडी शाखा कार्यालयमा अधिवेशन सम्पन्न भएको छ ।

प्रत्येक ३÷३ वर्षको अन्तरमा हुने अधिवेशन अहिलेको चौंथो जिल्ला अधिवेशन ५ वर्षमा अहिले भएको महासंघले बताएको छ । विविध कारणले जिल्ला अधिवेशन अलि ढिलो भएको महासंघ गुल्मीका तत्कालिन उपाध्यक्ष सुवर्णलाल कक्षपतिले बताए ।

अधिवेशनमा व्यवसायिक समस्या र उपभोक्तालाई असर नपर्ने गरि समस्या समाधान गर्ने, थोक बिक्रेताबाट व्यक्तिले खरिद गरेर नाफा कमाई विद्यार्थीलाई सोझै बिक्री गर्दा व्यवसायी र उपभोक्ता दुवैले सुविधा नपाएको महासंघ गुल्मीले बताएको छ । त्यस्तै, बिचौलियाहरूले अत्याधिक मात्रामा सुविधा लिएकोले यसलाई हटाउन सबै व्यवसायीहरू एकजुट हुने समेत बताइएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा व्यवसायीले दुःख पाउनु परेको, त्यसको अपजस व्यवसायी स्वयमले भोग्नुपरेको र विद्यार्थीले समयमा पाठ्यपुस्तक प्राप्त गर्न नसकेको बताइएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश नं. ५ का प्रदेश सदस्य विष्णुमाया सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व १३ सदस्यीय कार्यसमिति पूर्ण सहमतिमा निर्विरोध चयन गरेको छ । जसको अध्यक्षमा सुवर्णलाल कक्षपति, उपाध्यक्ष रामबहादुर थापा, सचिव गोपाल बस्नेत, सह–सचिव यादव पुन, कोषाध्यक्ष पदमबहादुर थापा रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा आशा थापा, हरिप्रसाद भण्डारी, पिताम्बर पौडेल, तेजबहादुर कंडेल, महेश्वर घिमिरे, शंकर महोत्रा, कुलचन्द्र ज्ञवाली र भक्तबहादुर टण्डन चयन भएका छन । अधिवेशनले ५ सदस्यीय सल्लाहकार समितिको पनि गठन गरेको छ । सल्लाहकार समितिमा खड्गबहादुर थापा, हरिबहादुर जिसी, अम्मरबहादुर अर्याल, मणिराम पाण्डेय र झविन्द्र पाण्डेय रहेका छन ।

अधिवेशनले पुरानो कार्य समितिलाई विघटन गरि नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय अधिवेशनका लागि जिल्ला कार्यसमितिका अध्यक्ष, सचिव, अन्य २ जना यादव पुन र विष्णुमाया सापकोटालाई काठमाडौ पठाउने निर्णय समेत गरेको छ ।