महिला, पहिला र पुरुष– विनोद त्रिपाठी

महिला, पहिला र पुरुष– विनोद त्रिपाठी


Binod Tripathiसमावेशी रूपमा देश सञ्चालनको अधिकार महिलाले पाएको मुलुक बंगलादेश हो । अहिले र पहिले पनि त्यहाँ महिलाकै शासन छ । तर, दक्षिण एसियामा सबैभन्दा बढी महिला पीडित देश पाकिस्तानपछि बंगलादेश हो । स्नातकोत्तर पढेका लाखौँ महिला बंगलादेशमा वेश्यावृत्ति गरेर जीविकोपार्जन गर्छन् । शक्तिबद्र्धक विषाक्त औषधि खाएर लाखौँ कन्याकुमारी बंगलादेशमा वेश्यावृत्तिमा लागेको समाचार केही वर्ष पहिले विश्वका मिडियामा छाएको थियो ।
गुरुकुलका नाममा भारतको दिल्लीमा सयौँ पुरुषका लागि पढाइने स्कुल छन् । ब्रह्मचर्यको ज्ञान, नास्तिक जीवनशैली र महिलाको सङ्गतबाट टाढै राख्न यस्ता स्कुल दिल्लीमा खोलिएका छन् । छात्रा र छात्रका अलगअलग कलेजको व्यापक बढोत्तरी छ भारतमा । तर, दिल्ली अहिले विश्वमै बलात्कारको सहरमा कहलिएको छ ।
अधिकांश मुस्लिम मुलुकमा महिला–पुरुषका लागि छुट्टाछुट्टै संरचना तयार गरिएको छ । महिलासँगको भौतिक सम्बन्ध नजोडियोस् भनेर मुस्लिमहरू पुरुषसँगको कुनै पनि संसर्गबाट टाढा राख्न चाहन्छन् । यतिसम्म हुन्छ कि इस्लाम देशमा महिलाको शौचालय भएको स्थानमा पुरुषको शौचालय भेटिँदैन । हामीकहाँ महिला–पुरुषको शौचालय सँगै जोडिएका हुन्छन् । तर, यतिबिघ्न महिलाबाट पुरुषलाई अलग्याएका इस्लामिक देशहरूमा महिला हिंसा कहालीलाग्दो छ । त्यहाँका मुस्लिम महिलाले राम्रोसँग खुला आकाश पनि देख्न पाउँदैनन् । महिलाको जीवन नारकीय छ । स्कुल, कलेज, बस, कार्यालयमा महिलाका लागि अलगअलग व्यवस्था हुन्छ इस्लामिक मुलुकमा । किनकि कुनै पनि महिलाले नैसर्गिक अधिकार प्रयोग गर्न नपाउन् भन्ने मान्यता राख्छ यो धर्मले । त्यसैले मुस्लिम धर्ममा अधिकांश चाडपर्वमा पुरुषको मात्र पकड छ । तर पनि महिलालाई यो धर्मले मानिसको रूपमा हेर्दैन । भलिबल खेल हेरेकै कारण देखाएर केही समयअघि इराकमा एक महिलालाई आजीवन काराबासको सजाय तोकेको समाचार ताजै छ ।
समाजमा महिला–पुरुषको सम्बन्धलाई यसको दरार जति फराकिलो बनाइन्छ त्यहाँ हिंसा उति नै बढ्छ । स्वच्छन्दता र स्वतन्त्रता भएका अधिकांश मुलुकमा महिला हिंसा निकै न्यून भएको पाइन्छ ।
काठमाडौंमा भर्खर महिलाका लागि मात्र बससेवा सञ्चालन गरिएको छ । धेरै पहिलेदेखि छात्रा मात्र पढ्ने स्कुल–कलेज सञ्चालनमा छन् । जब महिला र पुरुषलाई एक–अर्काबाट अलग गरिन्छ अनि सुरु हुन्छ लैङ्गिक भेदभाव । यसका ज्वलन्त उदाहरण माथि उल्लेख गरिएका देश र स्थान केही नमुना मात्र हुन् । युरोपियन, अमेरिकन मुलुकहरू लैङ्गिक भेदभावबाट मुक्त भएको धेरै वर्ष भयो । न त्यहाँ कुनै भेदभाव छ, न हिंसा । समाजलाई जति खुला गरिन्छ, उति हिंसा कम हुन्छ । बन्धन वा महिला–पुरुष भनेर वर्गीकरण गर्दा नै हिंसाको रूप लिने हो । यसरी महिलालाई अलग्याएर राख्दा वा आरक्षणका नाममा वर्गीकरण गर्दा मौका मिल्नेबित्तिकै हिंस्रक पुरुषले हिंसा गर्छ । खुला र एकै ठाउँको बसाइले पुरुषलाई त्यो महत्व दिँदैन, जति ऊ महिलाबाट टाढिँदा महत्व ठान्छ । एउटा पुरुषको मनमा महिलाको शरीर पनि हाम्रैजस्तो हो, उही छाला, हाड, रगत र रौँ हो भन्ने महसुस हुन्छ, अनि उसको महिलातर्फ क्रोध आसक्त हराउँछ । तर, जब महिलालाई कुनै पनि पुरुषको सामीप्यबाट टाढा राखिन्छ त्यो परिवेश पुरुषका लागि महत्व मात्र बन्दैन, हरेक पुरुष महिलाप्रति सधैँभर कामुक नजर मात्र दौडाउँछ । त्यसैले यो तीतो तर यथार्थलाई गम्भीर रूपमा नलिने हो भने महिला हिंसा कमी हुने होइन, भोलि इस्लाम मुलुकको जस्तै महिला–पुरुषबीचको दरारको खाडल बढ्दै जानेछ ।
कुनै पनि महिलामाथि हिंसालाई कम गर्न कानुनमा कडाइ गर्नुपर्छ । कानुनमा हरेक नागरिक बाँधिएको हुन्छ । महिलालाई अलग्गै संरचना बनाएर हिंसा कम भएको उदाहरण विश्वमा कहीँ कतै छैन । हिंसा गर्ने पुरुषले त्यो ढोका कुरेर बसेका हुन्छन्, जहाँ राज्यका आँखा पुग्दैन । अनि एकैचोटि समाजमा वर्षौंदेखि जमेर बसेको पुरुष कुण्ठा अपराधमा परिणत हुन्छ । मुस्लिम देश यसका मुख्य उदाहरण हुन् । एउटा पुरुषले एउटी महिलालाई हरेक कोणबाट सन्तुष्टि दिन कठिनाइ हुने यथार्थलाई कुल्चेर मुस्लिम पुरुषले दुई वा त्यसभन्दा बढी महिलासँग विवाह गर्छन् । त्यहाँ महिलाको सन्तुष्टिका लागि होइन, पुरुषको भोगविलासको रूपमा मात्र विवाह गरिन्छ । किनकि त्यहाँ महिला पुरुषप्रति आसक्त नहोस् भन्नका खातिर हरेक संरचना महिलाका लागि छुट्टै बनाइएका हुन्छन् ।
हिंसा भनेको मनोविकार हो । यो विकार कहीँ न कहीँ गएर पोखिन्छ । यसलाई पर्खाल वा फलामे ढोकाले रोक्न सक्दैन । यसलाई रोक्नका लागि त्यो विकारको निर्मूलीकरण हो । यस्ता विकारयुक्त पुरुषको मनोविकारलाई क्षयीकरण गर्न कानुनी बाटोबाहेक अरू उपाय हुँदैन । यहाँ अपराध बढ्नुमा फेसन, बढ्दो आधुनिकता, प्रविधिलाई दोष लगाइन्छ । यो पूरै सरासर गलत हो । साना–साना नानीहरू बलात्कार हुनु के छोटा पहिरन लगाएर हो त ? असी वर्षकी वृद्धा बलात्कारबाट पीडित हुनु फेसनको प्रभाव हो त ? योजस्तो पाखण्डी विचार केही होइन । युरोप, अमेरिकी देशहरूमा पार्कदेखि सडकसम्म नाङ्गैजस्तै केटीहरू घुमिरहेका हुन्छन् । रातमा पुरुषको भन्दा महिलाकै चहलपहल बढी हुन्छ । त्यहाँ हाम्रोजस्तो निकृष्ट प्रकारका हिंसा हुँदैनन् ।
हाम्रो देशमा हिंसा बढ्नुमा मुख्य कारण पुराना पुस्तालाई बढी दोष जान्छ । बलात्कारका घटनाका वर्ग, उमेर, पेसा हे-यो भने शिक्षक, पुजारीहरू र भलाद्मी देखिने व्यक्तिबाट ज्यादा भएका छन् । तर, युवा वर्ग बलात्कारजस्तो घृणित अपराधमा संलग्न निकै कम हुन्छन् । एउटा छोरी मान्छे कमिज, पाइन्ट लगाउने भलाद्मी पुरुषबाट भन्दा ट्यापे–मुन्द्रे युवाबाट बढी सुरक्षित छ । यो कुरा प्रहरीमा देखिएका पछिल्लँ वर्षहरूका बलात्कारका घटनाले पुष्टि गरेको छ । यहाँ आदर्श छाँट्ने महामहिम पुरुषकै घरमा, छिमेकमा, इष्टमित्रमा महिला हिंसा बढी भएका छन् । दिनभरि नैतिक शिक्षाको कक्षा दिएको शिक्षक साँझ परेपछि बालिका हिंसामा समाहित हुन्छ । यस्ता पाजी कथित भलाद्मी वर्ग अहिलेका हिंसाका मुख्य कारक हुन् । बसमा महिलालाई जिस्क्याउने, सिठी बजाउने, महिलालाई होच्याउने आवारा युवालाई त सरकारले सजिलै नियन्त्रण गर्न सक्छ । तर, समाजमा देखिएको विकारयुक्त मनोभावना बोकेका कथित भलाद्मीको कुकृत्य रोक्न दीर्घकालीन कानुन आवश्यक छ । विकसित मुलुकमा सार्वजनिक स्थानमा चुम्बन गर्न, केही स्थानमा नाङ्गै बस्न वा त्यस्तै तोकिएको स्थानमा यौनसम्पर्क गर्न सबैलाई अधिकार हुन्छ । यति खुला समाज भएर पनि हिंसा गर्ने पुरुष वा महिलालाई सजाय दिन उति नै कडा कानुन विकसित मुलुकमा प्रयोगमा ल्याइन्छ । त्यही कडा कानुनकै कारण सभ्य समाज मात्र निर्माण भएको छैन, महिलालाई भयमुक्त जीवन निर्माण गरिदिएको छ ।
स्वतन्त्रता महिला र पुरुषका लागि बराबर चाहिने अधिकार हो । तनाव पुरुषलाई जति हुन्छ, महिलालाई पनि उति नै हुन्छ । त्यसैले, मनोरञ्जनको अधिकार र साधनमा पहुँच पुरुषकै बराबर महिलालाई नदिएसम्म समाजमा महिलामाथि सम्मान हुनै सक्दैन । त्यसैले, महिला–पुरुषबीचको भौतिक बार होइन, महिलालाई सधैँ अगाडि हिँड्न दिऊँ, उनीहरूलाई स्वतन्त्र छोडिदिउँ र उनीहरूका लागि राज्यबाट ग्यारेन्टीको सुरक्षा व्यवस्था होस्, तब मात्र लैङ्गिक विभेद स्वतः अन्त्य हुनेछ ।