प्रचण्डले पढे-पढाएको विद्यालयलाई पाकिस्तानी सहयोग

प्रचण्डले पढे-पढाएको विद्यालयलाई पाकिस्तानी सहयोग


नेपालस्थित पाकिस्तानी राजदूतावासले चितवनको एक विद्यालयलाई १६ थान कम्युटर र प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ । भरतपुर महानगरपालिका–१४ मा रहेको नारायणी विद्यामन्दिर माध्यामिक विद्यालय शिवनगरलाई सोमबार ती सामग्री हस्तान्तरण गरिएको हो ।

नेपालका लागि पाकिस्तानी राजदूत डा मजार जाबेदले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकलाई कम्प्युटर हस्तान्तरण गरेका थिए । सो अवसरमा राजदूत जाबेद र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले राजदूतावासले व्यवस्थित गरिदिएको प्रयोगशालाको संयुक्त उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत जाबेदले नेपाल र पाकिस्तानबीच भावनात्मक र भातृत्वको सम्बन्ध रहेको दाबी गरे भने नेपालस्थित पाकिस्तानी राजदूतावासले हरेक वर्ष नेपाली विद्यार्थीलाई रु १० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराउँदै आएको खुलासाा पनि गरे ।

सो अवसरमा महानगरपालिका प्रमुख रेणु दाहालले दुई देशबीच ‘घनिष्ट सम्बन्ध’ कायम रहेको भन्दै भौतिक, प्राविधिक र शिक्षाको क्षेत्रमा पाकिस्तानले गरेको सहयोगप्रति आभार प्रकट गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकको सभापतित्वमा भएको कार्यक्रममा पाकिस्तानी राजदूतावासका राजनीति र शिक्षा हेर्ने काउन्सिलर अबरर अफ्जलले पनि मन्तव्य दिएका थिए । उनले कम्प्युटर र प्रयोगशाला व्यवस्थापनमा १० लाख नेपाली रुपैयाँ खर्च भएको बताए ।

यसरी पाकिस्तानी सहयोग उपलब्ध भएको सो विद्यालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन र अध्यापन गराएको विद्यालय हो ।