आत्मसमर्पण गरे जोगिन्छ यिनको इज्जत

आत्मसमर्पण गरे जोगिन्छ यिनको इज्जत


-बसन्त कुँवर
कोइराला परिवारको सेवक भएकै कारण नेपालको राजनीतिमा विशेष स्थान पाएर गृहमन्त्री र काङ्ग्रेसजस्तो ऐतिहासिक पार्टीको महामन्त्रीसमेत बन्ने सौभाग्य पाएका कृष्णप्रसाद सिटौला बहुचर्चित सुडान घोटाला काण्डका प्रमुख नायकमध्ये एक हुन् भन्ने सबैलाई थाहा छ । यिनले प्रहरी फौजलाई तहसनहस गरी माओवादी आन्दोलनलाई सफल पार्न इतिहासमा ज्यादै ठूलो योगदान दिएका छन् भन्ने पनि सबैलाई थाहा छ । प्रहरीको सरुवा, बढुवा र नियुक्तिमा यिनले पैसा उठाउँथे र सीमावर्ती क्षेत्रबाट हुने तस्करीको हिस्सा खान्थे भन्ने पनि सबैलाई थाहा छ । यी व्यक्ति आफैं गृहमन्त्री हुँदा आफ्नै पार्टीका नेताहरूलाई जिल्लाजिल्लामा चुनाव हराउन सक्रिय थिए भनेर सबले बुझेकै छन् । यिनका हरेक भ्रष्टाचारको आन्द्रा कोइराला परिवारसँग जोडिएको छ भनेर पनि सबैलाई थाहा छ । यी व्यक्तिले कमाएको पैसामध्ये धेरै नेपाल तथा भारतका माडवारी समुदायलाई लगानी गर्न दिएका छन् भनेर पनि सबैलाई ज्ञान छ । बिहान उठेर एक मुठी औषधि खाँदै बाँच्न सफल यी व्यक्ति स्वास्थ्यका दृष्टिकोणबाट कमजोर देखिए पनि मुलुकको पद्धतिलाई भताभुङ्ग पार्न भने ज्यादै सशक्त छन् भनेर पनि सबैलाई थाहा छ । सन् १९८० ताका हिन्दी चलचित्रमा देखिने निलुफुले नामका सिनेमाका खतरनाक भिलेनजस्ता यी व्यक्ति बोल्दा नरम, सुन्दा केही नगरेझैं देखिए पनि भित्रभित्र सबै बद्मासी गर्न भ्याउने एक खतरनाक प्रकारका राजनीतिको खोल ओडेका पात्र हुन् भनेर पनि सबले बुझेकै छन् । नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूले नै देशभर हल्ला भएको सुडान भ्रष्टाचारको प्रसङ्गमा जवाफ माग्दा नदिएर अझ हरियो दुबोको माला लगाई तिनै सभापतिहरूलाई नैतिकताको अर्ती-उपदेश दिने र नेपालको ठाउँठाउँमा गएर निर्दोष प्रहरीलाई कारबाही हुनुहुँदैन भन्दै जनता हँसाउने यी महान् हास्यकलाकार हुन् भन्ने पनि अब मानिसले क्रमशः बुझ्न थालेका छन् । अहिले यिनले वर्तमानमा हास्य कलाकारको भूमिका निभाउन थालेका छन् ।
यस्ता उदीयमान हास्यकलाकार सिटौला आजकल टीभीमा खुव देखिन्छन् । सुडान काण्ड चर्चामा आएपछि उनले टीभीमा बोल्ने कार्यमा अझै तीव्रता ल्याएका छन् । यद्यपि उनलाई लाग्ला टीभीमा बोलेर उनी सुडानको आरोपबाट मुक्त हुन सक्छन्, तर हत्केलाले र्सर्ूय छोप्न सकिँदैन । उनी जति बचाउ गर्छन् त्यति नाङ्गिँदै गइरहेका छन् । आफ्नो अपराध केही समयलाई काइते तरिकाले ढाकछोप गरी जनताको आँखामा छारो हाल्न उनले खोजिरहेका छन् तर सकिरहेका छैनन् । त्यसैले उनलाई मानिसले जोकर देखिरहेका छन् । केही दिनअघि सुडान घोटला सम्बन्धमा टीभीमा सोधपुछ हुँदा सिटौलाले ‘मैले उक्त घोटाला गरेको होइन, मेराविरुद्ध मैले बर्खास्त गरेका र जागिरमा म्याद थप नगरेकाहरूले पत्रपत्रिकामा लेखी मलाई बद्नाम गरेका मात्र हुन्’ भनेर रुन्चे अनुहार लगाई अन्तर्वार्ता दिँदै थिए ।
पङ्क्तिकार सिटौलाजीलाई एउटा सल्लाह दिन चाहन्छ, त्यो के भने, तपाईं आफ्नो अन्तर्वार्तामा मलाई पनि आमन्त्रण गर्नुहोस्, त्यहाँ तपाईंका धेरै भ्रमहरू हटाउन म तपाईंलाई मद्दत गर्न सक्छु । हुन त तपाईं आजभोलि स्वास्थानी ब्रतकथामा चन्द्रावती भन्ने महिला कुनै बेला मूर्च्छा र कुनै बेलामा होसमा भएझैं गरी सुडान काण्डको छानबिनदेखि नै अर्धबेहोसीकोे हालतमा हुनुहुन्छ, त्यसैले के बोल्नुहुन्छ, त्यो ठेगान हुँदैन, तर पनि म तपाईंलाई थोरै होसमा ल्याउन सक्छु ।
त्यस दिन अन्तर्वार्तामा पनि सिटौलाजी अर्धबेहोसीकै हालतमा बोलेझैं लाग्यो । सिटौलाजीले त्यस दिन टेलिभिजनमा जनतालाई के बुझाउन खाजेझैं देखियो भने उनी गृहमन्त्री भएको समयमा प्रहरी कर्मचारीमाथि उनले गरेका अन्याय र षड्यन्त्रका कारण उनलाई सुडानमा भ्रष्टाचारको आरोप लगाइएको हो तर यो कुरा उनले सरासर झुट बोलिरहेका थिए । हो, यिनले त्यतिबेला गृहमन्त्री पदको दुरुपयोग गरेर धेरै प्रहरी अधिकृतलाई कसैलाई खोस्ने, कसैलाई हटाउने गरेर क्यारियर बिगारेका पक्कै हुन्, त्यो कुरा उनले अन्तर्वार्तामा स्वीकार गरेको साँचो हो, तर सुडान काण्डमा उनको नाम आएकोचाहिँ कल्याणकारी कोषबाट एपीसी आदि खरिदमा खाएको अकुत कमिशनका कारणले हो । त्यसैले सिटौलाजी तपाईंले ती प्रहरीलाई दोष लगाउनतिर लाग्नुहुँदैन र तपाईंलाई पनि यो कुरा राम्ररी थाहा छ कि तपाईं आफ्नो अपराध लुकाउन फेरि निरपराध प्रहरी कर्मचारीहरूलाई दोष लगाई आफू उम्कने प्रयासमा हुनुहुन्छ । यो कस्तो हो भने ड्रग्स खानेहरू हाक्काहाक्की चोरेको कुरा पनि मैले चोरेको होइन भनेर अडान लिन्छन्, हो यो यस्तै प्रकारको अडान मात्र हो । त्यस्तो अडान हेर्ने-सुन्नेलाई पच्दैन र उनीहरू मजस्तै गरी मरीमरी हाँस्न थाल्दछन् । सिटौलाजीलाई मेरो के अनुरोध छ भने, यो संसारमा मान्छे जन्मेपछि मर्नुपर्छ । मर्नुभन्दा अगाडि केही समाज र राष्ट्रलाई भलाइ हुने काम गर्नुपर्छ । कहिलेकाहीँ गलत सङ्गत, सल्लाह, महत्त्वाकाङ्क्षा र स्वार्थले प्रेरित भएर मानिसबाट गल्ती हुन्छ । त्यस्ता गल्ती मनभित्र लुकाउँदा त्यो मानिसले अरू गल्ती गर्नुपर्छ । यसरी गल्तीमाथि गल्ती गर्दै जाँदा त्यो व्यक्ति झन्झन् आफ्नै आँखामा गिर्दै जान्छ । त्यसलाई सबैसँग डर लाग्न थाल्छ । सबै दुश्मन भएझैं लाग्छ । त्यस्ता दुश्मनलाई बदला लिने सोचमा त्यस व्यक्तिले अरू थप गल्ती गर्छ । सिटौलाजी तपाईं पनि यसैगरी गल्तीमाथि गल्ती गर्दै हुनुहुन्छ । तपाईंले कुनै समय गृहमन्त्री हुँदा कर्मचारीहरूलाई बिगारेको कारण तपाईंले गृहमन्त्रीको अर्थ र दायित्व नबुझेर हो । तपाईंलाई गृहमन्त्री भन्ने पदको काम के हो भन्ने नै थाहा भएन । शत्रु मार्न खरिद भएको हतियारले बाबुआमालाई मारेझैं, तपाईंले त्यो पदको दुरुपयोग गरेर कर्मचारी बिगार्नुभयो । कृष्णप्रसाद सिटौला भन्ने नामको कुनै खास मतलब छैन तर यो नाम गरेको व्यक्ति देशको गृहमन्त्री भन्ने पदमा पुगेकोले मात्र तपाईंसँग धेरैको सरोकार हुन पुगेको हो । प्रहरी कर्मचारीसँग तपाईंको भेट र सरोकार यही गृहमन्त्री पदको कारणले भएको हो नत्र तपाईं त्यो पदमा नहुँदा प्रहरीले तपाईंलाई कति पुछ्छन् त्यो अहिले देखिरहनुभएकै छ । प्रहरीहरूको गुनासो गृहमन्त्री पदसँग हुन्छ तपार्इंसँग होइन । तपाईंभन्दा त वास्तविक जीवनमा ती प्रहरी धेरै बुद्धिमान् छन् तपाईं तिनको भाग्यविधाता आफूलाई सम्झेर भ्रममा परिरहनुभएको मात्र हो । गृहमन्त्रीको खोलबाट बाहिर निस्केपछि तिनले तपाईंकहाँ सलाम गर्न आउने छैनन् । तपाईंलाई त्यस समय भ्रम थियो कि कृष्णप्रसाद सिटौला नै गृहमन्त्री हो तर वास्तविकता के हो भने गृहमन्त्रीको पदमा केही दिन कृष्णप्रसाद सिटौला भन्ने व्यक्ति बस्न पाएको मात्र हो । तपाईंले त्यो पदमा बस्न पाउनुभयो तर त्यो पदको अर्थ बुझ्नुभएन त्यसैले बिगार्ने, भत्काउने, खोस्ने काममै आफ्नो अधिकार प्रयोग गरी समय नष्ट गर्नुभयो । यो काम तपाईंले किन गर्नुभयो भने तपाईं गृहमन्त्रीको पदमा सुहाउने र योग्य व्यक्ति नै हुनुहुन्थेन । इतिहासमा अक्षम पनि माथि पुग्छन् भन्ने एक प्रमाण तपाईं हुनुहुन्छ ।
सिटौलाजी तपाईंले गृहमन्त्री हुँदा बिगारेका थुप्रै कुरा छन्, अब त्यसलाई ढाकछोप गर्नुभन्दा स्वीकार गर्नतिर लाग्नुहोस् । यसले तपाईंको स्वास्थ्यमा पनि सुधार आउँछ । तपाईंले बिगारेका कर्मचारीले तपाईंलाई मूर्ख, विवेकहीन बालक सम्झेर माफ दिन सक्छन् तर तपाईंले गरेको कल्याण कोषको रकम हिनामिना भने माफ दिन सकिने कुरा होइन । सिपाहीलाई सिटामोल बाँड्न नसकिएको अवस्थामा तपाईं र तपाईंमार्फत कोइराला परिवारले त्यो कोषबाट करोडौँ खाएको पच्न सक्दैन र पचाउन दिन पनि हुँदैन । राजनीतिक दबाब दिएर तपाईं केही दिनका लागि अख्तियारबाट बच्न सफल भए पनि तपाईंको जीवनमा अब त्यो कमिशनले शान्ति दिने छैन । न तपाईं घर बनाउन सक्नुहुनेछ न जग्गा किन्न नै । लाखौँ आँखा त्यो कमिशनको धन हेर्न र देख्न तपाईंको परिवारतर्फ फर्किएका छन् । तराईतिर गम्छाले मुख छोपेर व्यस्त गाउँमा तल नाङ्गै भई दिसा गर्दै गरेको एक गाउँलेेले मलाई अरू कसैले देखेका छैनन् भन्ने भ्रम पालेझैं तपाईं पनि सुडान काण्ड, रक्तचन्दन काण्ड, प्रहरीको खरिद-बिक्री काण्ड, तस्कर काण्ड, कर्मचारीको सरुवा-बढुवामा रकम हसुरेको काण्डबाट तपाईंले आरि्जत गरेको अवैध धन कसैले थाहा पाएका छैनन् भन्ने भ्रममा हुनुहुन्छ तर त्यो भ्रम सुतुरमुर्गले चुच्चो मात्र बालुवामा गाढी आँखा चिम्लेर मलाई कसैले देखेको छैन भन्ने भ्रमसमान मात्र हो । तपाईं तल नाङ्गै हुनुहुन्छ र तपाईंलाई सबैले देखिरहेका छन् ।
मेरो विचारमा अब सिटौलाजी तपार्इं अपराधहरू लुकाउनतिर नलाग्नुहोस् बरु विशेष अदालतमा गएर आफ्नो अपराध स्वीकार गर्नुहोस् । आफूलाई जोगाउन जोकरझैं टीभी र पत्रिकामा अर्धबेहोसी हालतमा अन्तर्वार्ता नदिनुहोस् । यसले तपाईंलाई शान्ति र सुस्वास्थ्य दुवै दिँदैन । सिटौलाजी सुडानमा खाएको रकमबारे अदालतमा पुगेर आफैं सबै कुरा स्वीकार गर्नुभयो भने बिचरा तपाईंको आश्वासनमा विशेष अदालत जानु नपर्ला भनी तपाईंलाई नपोल्ने ओमविक्रम राणालाई पनि केही राहत हुनेछ । नत्र ती व्यक्ति नखाएको विषको पनि असरमा पर्ने भए । तपाईंले ओमविक्रमलाई गर्नुभएको विश्वासघात पनि तपार्इंको खातामा थपिने अर्को पाप कार्य हुनेछ । सिटौलाजी जानुहोस् विशेष अदालत र गर्नुहोस् आत्मसमर्पण । तपाईंले यो मुलुक, मुलुकका र चुनाव क्षेत्रका जनता, गृह प्रशासनका कर्मचारी र आफ्नै पार्टीका कार्यकर्ताविरुद्ध अनगिन्ती पाप गर्नुभएको छ । त्यसको प्रतयश्चितस्वरूप पनि तपाईंले विशेष अदालतमा आत्मसमर्पण गर्दा राम्रो हुन्छ । तपाईंले अदालतमा गएर भनिदिनुहोस् कि यी प्रहरीहरू दोषी होइनन्, दोषी म हुँ किनकि म त्यसबखतको सम्पूर्ण प्रहरीको भाग्यनिर्माता भएर बसेको मन्त्री थिएँ । जे भयो त्यो मैले गरेँ र गराएको हुँ, त्यसैले सम्मानित अदालतमा आएको छु । त्यसक्षण देशभरि तपाईंमाथि सहानुभूति हुनेछ । अहिले आफैं भ्रष्टाचार गर्दै त्यसलाई लुकाउन हरियो माला लगाई टेलिभिजनमा अरूलाई गाली गरेको र दोष लगाएको पटक्कै सुहाएको छैन । आफ्नो र देशकै पनि कल्याण हुन्छ- जानुस्, सिटौलाजी आत्मसमर्पण गर्न ।