प्रस्टवक्ता, स्पष्ट अडान र त्यागका त्रिवेणी– वियोगी बुढाथोकी

प्रस्टवक्ता, स्पष्ट अडान र त्यागका त्रिवेणी– वियोगी बुढाथोकी


bicharसन्दर्भ गणेशमान वर्ष–शताब्दी
वर्तमानले विगत सम्झेर पछुताउको गोही आँसु किन झार्छ थाहा छैन । यद्यपि वर्तमानमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र मदन भण्डारीजस्ता नेता भइदिएको भए देश र जनताले चाहेकोजस्तो संविधान समयमै बन्न सक्थ्यो, राजनीतिक निकास निस्किन्थ्यो भन्नेहरू छन् । शान्ति, समृद्धि र विकासको उज्यालो देशको भूगोललाई एकमुष्ट समेटेर छाउन सक्थ्यो भन्नेहरू पनि कम छैनन् । अतः विगत सम्झिनेहरू धेरै छन् । तथापि, वर्तमानलाई बुझ्ने कोही नभएको आभास देशको आकाशमा देखिन थालेको छ । स्वयम् नेताहरू पनि बेलाबेलामा विगत सम्झेर गुणगान गाउन पछि पर्दैनन्, तर उनीहरूको योगदान, साहस, इमानदारिता र स्वाभिमानको कदर र सम्मान गर्ने हिम्मत भने खुलेर गर्न सक्तैनन् वा चाहँदैनन् किन ? चाहना राख्नेहरूको चाहनालाई समेट्न वर्तमान क्रमशः असफल हुँदै गएको आभासको आगो दन्किँदो छ । जनताले विश्वास गरेर आफ्नो अमूल्य मतले संविधान बनाउने जिम्मेवारी पहिलोपल्ट असफललाई दोस्रोपल्ट पनि मत पाएका नेताहरू आपसी खिचातानीमा भत्ता पचाउनेबाहेक सहमतिका खुड्किला बनाएर सजाउने पक्षमा देखिएका छैनन् । नदेखिनुलाई देश र जनताको दुर्भाग्य मान्न थालिएको छ ।
कुनै पनि देशका लागि राष्ट्रियता, प्रजातन्त्र र समष्टिगत थिचोमिचो र हेपाहा प्रवृत्तिबाट देश र जनतालाई मुक्ति दिलाउने अभियानमा समर्पित भएर लाग्ने, व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर राष्ट्रिय स्वार्थका लागि आफ्नो ज्यानै अर्पण अर्थात् दाउमा राख्न हिम्मत गर्ने व्यक्ति कमै मात्रामा जन्मिन्छन् । त्यस्ता व्यक्तिलाई देशले लामै कालखण्ड व्यतीत गरेपछि मात्र जन्माएको हुन्छ । त्यस्ता व्यक्तिहरू यथार्थमा देशका लागि अमूल्य गहना हुन् । स्वार्थरहित प्रेरणाका अजस्र स्रोत हुन् । मृत्युपश्चात् सालिक राख्न योग्य सपुत हुन् । त्यस्ता व्यक्तिको जन्मशताब्दी मनाउन पाउँदा देश र जनताले गर्व गर्न सक्नुपर्छ । कारण त्यस्ता सपुतहरूकै कारण स्वतन्त्रताको उपभोग र उपयोग गर्न सबैले समान रूपले पाएका हुन्छन् । तर, त्यस्ता व्यक्तिको जन्मशताब्दी भने कुनै व्यक्तिविशेष, कुनै एउटा विचारधाराविशेष र कुनै एउटा पार्टीभित्र मात्र सीमित रहेर गरिनुलाई न्यायसङ्गत भन्न मिल्दैन । त्यस्ता व्यक्ति सबैका साझा हुन् । जसको त्याग र बलिदानबाट प्राप्त स्वतन्त्रताको भोगचलनमा एक भएर रम्न र रमाउन मन पराउने तर जन्मशताब्दी मनाउने क्रममा भने मुन्टो बटार्ने प्रवृत्तिलाई त्याग्नुपर्छ । सबै पार्टी र विद्यमान सरकारले समेत अग्रसरता देखाएर सपुतको कदर गर्ने परम्पराको थालनी भएको हेर्न देश र जनता लालायित रहेका हुन्छन् । यसतर्फ चिन्तन र मनन हुनुलाई समयको माग मान्न सकिन्छ । कदर गर्ने बानीले निरन्तरता पाउन निर्देश गर्दै तत्परता देखाउँदै जान सक्छ ।
यसै प्रसङ्गमा आदिकवि भानुभक्तको द्विजन्मशताब्दी तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रथम जन्मशताब्दी मनाउने सिलसिलामा पनि राष्ट्रव्यापी जानकारीको अभावमै बित्नुलाई सुखद सुरुवात भन्न सकिएन । तथापि केहीले जन्मशताब्दीको नाममा आफ्ना नाम बिकाउने र मागी खाने भाँडोको रूपमा भने प्रयोग गर्न सफल भएको मान्न सकिन्छ । देशका गहनाबारे देशका सतप्रतिशतले थाहा नपाए पनि अधिकांशले थाहा पाएर सहभागिता जनाएको खण्डमा मात्र मनाइएको वा गरिएको कार्यलाई सफल मान्न सकिन्छ । देवकोटाको जन्मशताब्दीको समयमा यो पङ्क्तिकार स्वास्थ्य शिविरका लागि हुम्लाको सायाँ गाविसको सार्केगाडस्थित श्री हिमज्योति उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा पुगेको थियो । देवकोटाको प्रसङ्ग उठाउँदा त्यहाँका युवाहरूले देखाएको अनभिज्ञता सुन्दा आश्चर्य लागेको थियो । कसैलाई पनि थाहै रहेनछ । त्यस्तो अनभिज्ञता लौहपुरुषको जन्मशताब्दीमा देशभित्रका कसैले पनि नदर्शाउन भन्ने हो । जसका लागि सञ्चारका सबै माध्यमको प्रयोगबाट घरघरमा र टोलटोलमा जानकारीमूलक र जन्मशताब्दीको अर्थ र व्यक्तिगत परिचय झल्किने कार्य हुन सक्नुपर्छ ।
यसै प्रसङ्गमा राजनीतिक वृत्तका अतिरिक्त गत वर्ष बीपी कोइरालाको जन्मशताब्दी मनाउँदा पनि संविधानलगायतका धेरै कुरा भए । यद्यपि संविधान बनाउने काममा भने कुनै लछारपाटो लागेन । भाषण केवल भाषणमै मात्र सीमित रह्यो । यस वर्ष अर्थात् कात्तिक २४ गतेदखि लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दी मनाउने उद्घोषको आयोजना गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गरेको कार्यक्रममा पनि यही प्रसङ्ग दोहो-याइएको सुनियो । कार्यावन्यन होला–नहोला त्यो आउँदा दिनले नै मूल्याङ्कन गर्ला । भनाइ यत्ति मात्रै हो त्यो के हो भने विश्वासमा लिने प्रयत्न र हिम्मतमा इमानदारिताको आभास हुनुपर्छ ।
त्यसो त अघिल्लो वर्ष बीपी कोइरालाको जन्मशताब्दी नेपाली लेखक सङ्घले उनको साहित्यिक पाटोको उजागर गर्दै एक वर्षसम्म देशका विभिन्न स्थानमा गोष्ठी, संगोष्ठी तथा कविगोष्ठी गरेर मनाए तापनि राजनीतिक पाटो ओझेलमा पर्न गयो । सरोकारवाला पार्टीले भने साउन ६ गतेबाट भदौ २४ गतेसम्म केही कार्यक्रम गरेर समापनको घोषणा गरेको तीतो सत्य पुरानो भइसकेको अवस्था छैन, ताजै छ । यस वर्ष लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दीलाई त्यसरी सीमित कार्यक्रम गरेर समापन गरिने छैन भन्ने विश्वास कतिपयले लिएका छन् । तथापि, योजनाकारको सोचाइको योजनाले विश्वास जितेको हेर्न चाहन्छन् । भाषणलाई भाषणमै मात्र सीमित नराखी व्यवहारमा उतारेर लौहपुरुषको कदर गरेको देख्न, सुन्न र मनन गर्न चाहन्छन् । प्रथम जन्मशताब्दी मनाएको वर्तमानले दोस्रो जन्मशताब्दी मनाउने अवसर पाउँदैन । त्यसैले पनि दोस्रो, तेस्रो गर्दै अनन्तकालसम्म जन्मशताब्दी मनाउने क्रमको सिलसिलाको जग हाल्ने काम प्रथम जन्मशताब्दी मनाउन अग्रसरहरूले नै शिलान्यास गर्ने हो । यसतर्फ हेक्का राख्नु जरुरी छ ।
लौहपुरुष गणेशमानको कुरा गर्दा खान्दानी पद डिठ्ठा, सुब्बा र बडाकाजीलाई लल्कार्दै १९९७ सालदेखि नै राणाशासनविरुद्ध लाग्ने व्यक्ति । २०४६ सालको सफल प्रथम जनआन्दोलनपछि पाएको प्रधानमन्त्रीजस्तो पदलाई अस्वीकार गर्ने नेता । जसले आफूले पाएको पद नलिएर सन्तनेता कृष्णप्रसाद भट्टराईलाई सुम्पिएका थिए । केही लिनेभन्दा पनि देशका लागि धेरै दिने नेताको रूपमा देशले गणेशमानको कदर गरी नै रहनुपर्छ । २००७ र २०४६ को दुईपल्ट मोर्चाका निर्णायक नायकको नाम लिनुपर्दा गणेशमानको नाम अग्रपङ्क्तिमा आउँछ । नेता धेरै जन्मिन्छन् तर नेताकै हैसियत बाँचुन्जेल र मृत्युपछि पनि सम्झिरहने नेता देशले कमै जन्माउँछ । ती थोरैमध्येका एक हुन् लौहपुरुष गणेशमान सिंह ।
कहिले हीराकाजी त कहिले छद्मनाम कृष्णबहादुर प्रधानले चिनिने गणेशमान सिंहको निडरपन, त्याग र प्रजातन्त्रका लागि समर्पणको फल अहिले देशले स्वादसँग चाखिरहेछ । त्यसै फलका लागि विभिन्न दलदलमा फसेका दलका नेताहरू भने राष्ट्रिय स्वार्थलाई बिर्सेर व्यक्तिगत स्वार्थमा रमाइरहेछन् । मेरो गोरुको बाह्रै टक्काको अवस्थामा उभिएर संविधान निर्माणमा असफल हुने सङ्केत आफैँ गर्दै हिँडिरहेछन् । आजका दम्भकारी नेताहरूले जसरी ०४६ माघ ५ गतेदेखि तीन दिनसम्म आफ्नै प्राङ्गण चाक्सीबारीमा देश तथा विदेशका पृथक आस्थाका नेताहरूलाई भेला गरेर र साम्यवादीहरूलाई समेत साथमा लिएर राजतन्त्रको समाप्ति र प्रजातन्त्रको पुनर्वहालीको योजनाको सफल नेतृत्व सम्हालेका थिए । के देश र जनताका लागि वर्तमानका नेताहरू उदाहरणीय बन्नलायक राजनीतिक वृत्तमा सफल नायक हुने हैसियत राख्न सक्तैनन् ? समयले उठाउने गरेको प्रश्न हो यो ।
०४६ को सफल जनआन्दोलनपछि लौहपुरुषले देशमा केवल आर्थिक क्रान्तिको आवश्यकता महसुस गरेका थिए । राजनीतिक उद्देश्य पूर्ति भएको ठानेका थिए । तथापि, देशमा शान्ति र विकासका लागि एकजुट हुनुपर्ने सपना बुनेका थिए । तर, सपना केवल सपनामै सीमित हुन पुगेको यथार्थ अहिले देशले भोगिरहेछ । आफै संस्थापक भएर स्थापना गरेको राजनीतिक सिद्धान्तको मूल्य र मान्यतामा आफ्नै अनुयायीहरूको प्रकोपका कारण पहिरो गएको महसुस लौहपुरुष र सन्तनेताले गर्नुपरेको थियो । बाँचुन्जेलका तिक्ततालाई बिर्सिएर इतिहास बनाउन सफल नेताहरूको सम्झना गर्ने सिलसिलामा कुनै कमी–कमजोरी आफूभित्र नराखेर भोलिको पुस्तालाई विगतको इतिहास, त्याग, बलिदान र समर्पणको पाठ सिकाउने खाल्को श्रव्यदृश्य तयार पारेर, उनीहरूले दिएका भाषण र अन्तर्वार्ताहरू खोजेर पुस्तिका र सिङ्गो पुस्तक तयार पारेर देशका कुनाकाप्चासम्म पु-याउन सकेको खण्डमा मात्र मनाइएको जन्मशताब्दी वा कार्यको सार्थकता मिल्न सक्छ । यसतर्फ सबैको ध्यान जाओस् ।