उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ । उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ ।
उत्तर कोरियाली नेता किम यही साता मङ्गलबार चीनको भ्रमणमा पुगेका थिए । प्योङयाङको एक प्रमुख कृटनीतिक साथीको रुपमा रहेको चीनमा गरिएको किमको यो चौथो भ्रमण हो । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता रहेको थियो भनी एएफपीले जनाएको छ ।
नेता किम बेइजिङको केद्रीय रेलवे स्टेशनमा मङ्गलबार अपराह्न पुगेका थिए । एकदिनको बसाईपछि सो रेल उत्तरपूर्वी सीमा इलाकामा फर्किएको थियो ।
किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग एक घण्टा भेटवार्ता गरेका थिए । उत्तर कोरियाली नेता किमको मङ्गलबार नै जन्मदिन पनि परेको जनाइएको छ । यी दुबै नेता प्रथम महिलासहित बेइजिङ ग्रेट हल अफ द पिपुलमा गएका दक्षिण कोरियाली समाचार समिति योन्हापले जनाएको छ ।
किमका साथमा उत्तर कोरियाली प्रथम महिला री सोल जुसहित अरु उत्तर कोरियाली उच्चस्तरीय मण्डल रहेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जनाएको छ ।
किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ता हुने समाचार सार्वजनिक भएको अवस्थामा नै किमले चीन भ्रमण गरेका हुन् ।
यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर सम्मेलनको पूर्वतयारीका लागि यो भ्रमण भएको भन्ने समाचार पनि सम्प्रेषण गरेका छन् ।
गत वर्षको जुन महिनामा किम र ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो ।
यसै साताको शुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताएका थिए ।
संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको थियो ।
प्रतिक्रिया