गत हप्ता निकटवर्ती भाउजूले फोनमा भन्नुभो– स्कुलमा नानीको नाम परिवर्तन गर्नुपर्ने भो, के गर्नुपर्छ होला ? मैले भने– ‘किन र भाउजू ? त्यति राम्रो नाम किन फेर्ने ? ठीकै त छ नि ।’ जवाफमा उहाँले भन्नुभो, ‘होइन, यो नाम त राख्दै नराख्ने, दाइले पनि फेर्नुपर्छ भन्नुभएको छ, यो नाम त राख्नैभएन नि ।’ म सम्झन्छु, भारतीय नायिका पूजा भट्टको सिनेमा ‘दिल हे कि मानता नही’ बाट असाध्यै प्रभावित भएर दाइले आफ्नी छोरीको नाम पूजा राख्नुभएको थियो । दाइले आफैँले राख्नुभएको नाम किन फेर्ने त भाउजू ? मैले सोधेँ । जवाफमा उहाँले भन्नुभो– पत्रिकामा बलात्कार भएका केटीहरूको नाम पूजा भनेर आउन थाल्यो । पत्रिकामा पढ्दापढ्दा पूजा नाम त बलात्कृत केटीको मात्रै हुन्छ भन्ने हामीलाई नै पर्न थाल्यो, अरूलाई झन् के होला ? त्यसैले यो नाम त राख्न भएन । उहाँको यो जवाफले केही कुरा सोच्न बाध्य बनायो, ओहो ती तमाम पूजा नामका युवतीहरू र तिनका बाबुआमा सबैलाई अहिले यस्तै भएको होला । मिडियामा हिजोआज हिंसामा परेका बालिका या महिलाको नाम परिवर्तन गरेर प्रकाशित/प्रसारित गर्ने गरिएको छ । पीडितलाई थप पीडा नपुगोस् भनेर वास्तवमा यो राम्रो नियतले गरिएको हो । तर, नियत राम्रो हुँदाहुँदै पनि यसको असर भने नकारात्मक पर्न थालेको छ । केही वर्षअघि रुकुममा त्यस्तै भएको थियो । रुकुमबाट वैदेशिक रोजगारका नाममा केटीहरू बिक्री गर्न भारत लाँदै गर्दा नेपालगन्जको सीमाक्षेत्रमा पक्राउ परेपछि मिडियाकर्मीले नाम परिवर्तन गरेर समाचार छापे । एफएमहरूमा पनि त्यत्तिकै महत्वका साथ उक्त समाचारले ठाउँ पायो, तर गाविसको नाम दिएर युवतीको नाम परिवर्तन गर्दा नाम र थर दुवै अर्की युवतीसँग मिल्न गयो जसका कारण उनलाई निकै अप्ठ्यारो परेको थियो । नेपालगन्जमा भेटिएका ती युवतीका बाबुले यस पङ्क्तिकारसँग सोधेका थिए– पत्रकारले त्यसरी जसको पायो उसैको नाम राख्न मिल्छ र ? विवाहको कुरा चलिरहेका बेला छोरी बेचबिखनमा पर्नबाट जोगिएको समाचार एक्कासि मिडियामा आएपछि उनको परिवार अप्ठ्यारोमा परेको थियो । ती बाबुले भने– पत्रकारले मेरै छोरीको नाम किन राखे भनेर म त छक्कै परेको छु । वास्तवमा पत्रकारले उनकी छोरीको नाम राखेका होइनन्, पत्रकारले राखेको नाम उनकी छोरीको नामसँग मिल्न गएको मात्रै हो ।
बलात्कार, बेचबिखन, घरेलु हिंसालगायतका घटनामा संवेदनशीलता अपनाउनका लागि गरिने नाम परिवर्तनले पारेका अप्ठ्याराका घटनाहरू दिनप्रतिदिन बढिरहेका छन् । एकपटक सिरहा जिल्लामा भएको बलात्कारको घटनामा रञ्जु क्षेत्री (नाम परिवर्तन) भनेर आयो, जुन ठाउँको नाम दिइएको थियो त्यहाँ क्षेत्रीहरूको बसोबासै रहेनछ । सम्बन्धित समुदायको बसोबास हुँदा नाम मिल्ला भन्ने डर नहुँदा घटनाको सत्यताबारे पत्याउने आधार के ? नाम परिवर्तन भनेर आफूखुसी नाम राखिदिँदा अरूसँग मिल्न गएको अवस्थामा त्यसको जिम्मेवार को हुने ? पीडित त पीडित भइहाले, पीडामा नपरेकाहरूलाई पनि हाम्रो पण्डित्याइँले कहिलेकाहीँ जबर्जस्ती पीडामा धकेलिदिने गरेको छ । ललितपुरको मंगलबजारमा पनि एकपल्ट महर्जन थरकी महिलाको घटनामा यस्तै प्रकारको समाचारले परिवार मात्र होइन नातेदारहरूलाई समेत तनाव भएको छ । तीन वर्षअघिको सो घटना बहुविवाहको थियो । फलानालाई उनका पतिले सौता हालेपछि उनी विचलित भएकी छन् भनेर फिचर आउँदा छिमेकी महिलासँग नाम मिल्न गई उनका माइतीहरू दलबलका साथ घरमा पुगेका थिए रे । यी केही घटना प्रतिनिधि मात्र हुन्, पत्रकारहरूले पीडितको न्वारान गरिदिँदा परेका अप्ठ्याराहरू धेरै छन् । पीडितलाई गाह्रो नहोस्, थप पीडा नपुगोस् भनेर अर्कै नाम राखिदिँदा उस्तै नाम हुनेहरूलाई के पर्ला भनेर खासमा सोचिँदैन, सोचेको पाइँदैन ।
कुनै बेला थियो मिडियामा पीडितको नाम, ठेगाना मात्र होइन फोटोसमेत छापिन्थ्यो । पीडितबारे त्यसरी सार्वजनिक रूपमा सामग्रीहरू आउनुहुन्न भन्ने आवाज उठेपछि फोटो दिन बन्द गरियो । नाम र ठेगाना भने परिवर्तित स्वरूपमा आउन थाले । पहिला नाम, ठेगाना, फोटो दिँदा पनि पत्रकारहरूको नियत नराम्रो थिएन । अनुसन्धान गर्न सजिलो होस् र पीडितले चाँडोभन्दा चाँडो न्याय पाओस् भनेर नै त्यसो गर्ने गरिएको थियो । पछि ‘इन्टेन्सन’ राम्रो हुँदाहुँदै पनि परिणाम राम्रो नहुने भएकाले पीडितको परिचय गोप्य राख्न थालियो । परिचय गोप्य राख्नकै लागि नाम परिवर्तन भनेर दिँदा राख्ने त उही नेपाली नाम नै हो, कति नै हुन्छन् र नामहरू ? सीा, रीता, अस्मिता, पूजा, झरना यस्तैयस्तै नामहरू राख्दा प्रायः कोही न कोहीसँग मिल्ने नै भयो । फलतः समय यस्तो आयो कि मिडियाका कारण सात–आठ कक्षामा पढिरहेकी पूजाको सक्कली नाम परिवर्तन गर्नुपर्ने भयो । बलात्कार या अन्य गम्भीर प्रकारका हिंसापीडितहरूको नाम कसैसँग मिल्नै नहुने या मिल्दै नमिल्ने भन्ने कुरा होइन, तर हिजोआज जुनसुकै बलात्कारमा पनि पीडितको नाम पूजा राखिदिँदा भने धेरै पूजाहरूलाई अप्ठ्यारो परेको छ । नेपालको पत्रकार आचारसंहिताले पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कार्यहरूअन्तर्गत पीडित व्यक्तिको नाम, ठेगाना खुलाउन नहुने भनेर स्पष्ट भनेको छ । जुन बुँदाअन्तर्गत यस्तो भनिएको छ– यौनजन्य अपराध र सामाजिक अपहेलना एवम् घृणाजन्य घटना वा सन्दर्भमा पीडित व्यक्तिहरूको सचेत स्वीकृतिबिना नाम, ठेगाना र पहिचान खुल्ने गरी समाचार, तस्बिर र दृश्य प्रकाशन, प्रसारण वा उत्पादन—वितरण गर्नुहुँदैन । तर, नाम परिवर्तन गरेर पत्रकार आफँै पुरोहित बन्न हुने कि नहुने भन्ने कुराबारे भने हामीकहाँ छलफल र बहस हुने गरेको छैन । नाम मात्र होइन थर पनि पत्रकारहरू आफैँले राख्दै आएको सन्दर्भमा नियत राम्रो हुँदाहुँदै पनि परिणाम नकारात्मक आउन थालेकाले यसलाई बहसको विषय बनाउनुपर्ने बेला भएको छ । कुनै पनि कुरामा समस्या आएपछि नै समाधानका उपायहरू खोजिने हुन् । परिवर्तित नामहरू क, ख, ग या ए, बी, सी पो राख्ने हो कि या के गर्ने ? नामलाई त क, ख, ग भनुँला थरलाई कसरी सार्वजनिक गर्ने ? गर्ने या नगर्ने ? सानो कुराझैं लाग्ने तर ठूलो असर छोड्ने यस्ता विषयमा मिडया बहस आवश्यक छ ।
प्रतिक्रिया