डिभिजन– २ क्रिकेट
क्रिकेट खेलाडीको असमान प्रदर्शनले नेपाल डिभिजन–२ मै सीमित भएको छ । युगान्डासँग पहिलो खेलमा दुई रनले पराजित हुनु नै नेपालका लागि दुर्भाग्य बन्यो । त्यसपछिका तीनवटा खेल लगातार जितेर नेपाल डिभिजन–१ को बलियो दाबेदार बनेको थियो । यसक्रममा नेपालले नेदरल्यान्ड, क्यानडा र आयोजक नामेबियालाई पराजित गरेको थियो । प्रतियोगितामै पहिलो स्थान हासिल गर्ने सुवर्ण अवसरलाई गुमाउँदा नेपालको डिभिजन–१ मा उक्लने सपना चकनाचुर भएको थियो । नेपालले आफ्नो अन्तिम खेल प्रतियोगिताकै सबैभन्दा कमजोर टिम केन्यासँग खेलेको थियो । विगतको प्रदर्शन हेर्दा यो खेल नेपालले सहजै जित्ने र डिभिजन–१ मा सहजै उक्लिने अनुमान र अड्कल गरिएको थियो । तर, दुर्भाग्य नेपाल केन्यासँग ठूलो अन्तरले पराजित भयो । नेपालले पाएको सुवर्ण अवसरलाई गुमाउँदा अन्तिममा चौथो स्थानमा खुम्चिनुप¥यो ।
विश्व क्रिकेट डिभिजन–२ मा खेल्न जानुअघि प्रशिक्षक पुबुदु दासानायकेले नेपाल डिभिजन–१ मा उक्लने दाबी गरेका थिए । उनले लिगमा नेपालले पहिलो वा दोस्रो स्थान हासिल गर्ने र ऐतिहासिक उपलब्धि हासिल गर्ने बताएका थिए । पहिलो खेलमा युगान्डासँग पराजित भए पनि प्रतियोगिताकै दाबेदार नेदरल्यान्डलाई सनसनीपूर्ण रूपमा पराजित गरेपछि नेपालको सम्भावना बढेर गएको थियो । यसपछि क्यानडा र आयोजक राष्ट्र नामेबियालाई पराजित गरेपछि नेपाल लिगकै उत्कृष्ट टिम बन्ने हरेक कोणबाट देखिएको थियो । तर, अनिश्चितताको खेल क्रिकेटले आफ्नो रङ्ग देखाउँदा नेपाली खेलाडीको प्रदर्शनमा निकै प्रभाव परेको थियो । अन्तिम खेल जितेर डिभिजन–१ मा उक्लिने निकै आत्मविश्वासका साथ मैदानमा उत्रिएको नेपालको सपना त्यतिबेला चकनाचुर भयो जब केन्याले नेपाललाई पराजयको स्वाद चखायो । यहीँबाट लड्खडाएको नेपाल अन्तिम केन्यासँग भएको प्लेअफ म्याचमा पनि पराजित भई चौथो स्थानमा झरेको थियो ।
विश्व क्रिकेट डिभिजन–२ मा नेपालको प्रदर्शनको विश्लेषण गर्दा निराशाजनक रह्यो भन्दा अतिसयोक्ति नहोला । नेपालले ऐतिहासिक सफलताको नजिक पुगेर पनि त्यसलाई आत्मसात् गर्न सकेन । साँचो अर्थमा भन्नुपर्दा नेपाली खेलाडी महत्वपूर्ण समयमा चुके । जसले गर्दा नेदरल्यान्ड, क्यानडा र नामेबियामाथिको नेपालको प्रभावशाली जित छायामा प¥यो । केन्यासँगको अप्रत्यासित पराजयपछि खेलाडी खुद निराश देखिए । उनीहरूले आफूलाई अपराधीजस्तै महसुस गरे । यसर्थमा कि त्यसभन्दा अघिका खेलमा नेपाल अन्य टिमभन्दा बाघ सावित भएको थियो । बाघले हात्तीसमेत मारेर वाहवाही बटुलिरहेको अवस्थामा अन्त्यमा मुसोको सामु आत्मसमर्पण गर्नु नेपालका लागि निकै कुठाराघात भएको थियो । वास्तविक रूपमा भन्नुपर्दा यो प्रतियोगिता नेपालका लागि हात्ती र मुसोको जस्तै भद्दा जोक बनेको थियो, अपत्यारिलो र असम्भव । जतिबेला केन्याले नेपाललाई पराजित गरेको थियो । हात्ती छटपटाउँदा मुसोले ‘मजा आयो’ भन्दा जोक बनेको थियो, त्यस्तै केन्यासँग नेपालको पराजय माथि उल्लिखित जोकभन्दा कम बनेको थिएन ।
यस प्रतियोगितामा नेपाली खेलाडीले प्रभावशाली प्रदर्शन गरेका हुन्, यसमा कुनै दोष छैन । तर, भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहुनु र बढी आत्मविश्वासी हुनुले यस्तो नतिजा आएको कुरालाई पनि नकार्न सकिँदैन । मुखमा परिसकेको गाँस केन्याले खोस्दाको पीडा अहिले नेपाली खेलाडीले भोगिरहेका छन् । उनीहरूलाई भविष्यमा यस्तो अवसर प्रदान प्राप्त हुन्छ या हुँदैन त्यो भन्न सकिने अवस्था छैन । यसर्थमा कि यो क्रिकेट हो, यहाँ ठोकुवा गरेर केही भन्न सकिँदैन । यहाँ अड्कल अनुमान गर्न सकिन्छ, तर परिणात त क्रिकेटले नै देखाउँछ । यसको तात्पर्य के हो भने आगामी डिभिजन–२ को प्रतिस्पर्धामा जे पनि हुनसक्छ । नेपाल पाँचवटै खेलमा विजयी बन्न पनि सक्छ भने पाँचवटैमा पराजित पनि बन्न सक्छ । यहाँ भन्न खोजिएको के हो भने नेपाललाई यसपटकजस्तो डिभिजन–१ मा उक्लिने अवसर भोलि प्राप्त नहुन सक्छ । त्यसैले यो प्रतियोगितामा नेपालले धेरै गुमाएको छ, थोरै कमाएको छ त्यो हो डिभिजन– २ मा यथावत् रहनु, चाहे त्यो चौथो स्थान रहेर किन नहोस् । नेपाल यसअघि पनि डिभिजन–२ मा पुगिसकेको टिम हो । गत वर्ष उत्कृष्ट प्रदर्शन गर्न नसक्दा नेपाल रेलिगेसनमा परेर डिभिजन–३ मा झरेको थियो । डिभिजन–३ मा नेपालले गरेको उत्कृष्ट प्रदर्शन हालै–२ मा बढुवा भएको थियो । अहिले डिभिजन–२ मा आफूलाई यथावत् राख्न नेपाल सफल भए पनि केन्यासँगको पराजय नेपालका लागि सधैँ अविष्मरणीय बन्ने प्रायः निश्चित छ । केन्या दिवार बन्दा नेपाल डिभिजन–१ र आईसीसीअन्तर्गतका अन्य महत्वपूर्ण क्रिकेट प्रतियोगिता खेल्नबाट विमुख हुनुपरेको छ । यो अहिले नेपाल र नेपाली खेलाडीका लागि साँच्चिकै पीडादायक बनेको छ । यसर्थमा कि नेपालको बढाएको पाइलामा केन्याले छिर्के हानेको छ ।
सफलतामा भाग्यको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । अहिले यो कुरा नेपाली टिममा पनि हुबहु लागू भएको छ । नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि उनीहरू भाग्यका अगाडि निरीह सावित भएका छन् । परिणाम, भाग्यले ठगिँदा अहिले नेपालको हातबाट ठूलो माछो उम्किएको छ । उनीहरूको डिभिजनमा १ मा पुग्ने सपना बीचैमा तुहिएको छ । यसका लागि खुद खेलाडी नै दोषी र जिम्मेवार छन् । लगातार तीन खेलमा विजयी हुनु र बढी आत्मविश्वासी बन्नु नै नेपालका लागि अभिषाप भयो । अन्यथा अन्य खेलमा गोर्खाली भएर भिडेका नेपालले केन्यालाई पन्छाउन नसक्नुको कुनै कारण नै थिएन । केन्यालाई कम आँक्नु, जितिहाल्छौँ, डिभिजन–१ मा पुगिहाल्छौँ भन्ने सोचका कारणले नेपालको सपना भताभुङ्ग भएको थियो । जुन अहिले नेपाली खेलाडीका लागि जीवनभरको तुष बन्ने पक्का छ । केही गरेर देखाउने र ऐतिहासिक सफलता हात पार्ने महत्वपूर्ण घडीमा नेपाली खेलाडी चुक्दा त्यसको तलतल र गिड्गिडाहटको नेपाली क्रिकेटप्रेमीले पनि सामना गर्नुपर्नेछ । जसले गर्दा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर नेपाली टिमका कप्तान पारस खड्का उत्कृष्ट खेलाडी चुनिए पनि त्यसले नेपाली टिमको कमजोरीको क्षतिपूर्ति र ढाकछोप गर्न सक्ने देखिँदैन ।
विश्व क्रिकेट डिभिजन–२ मा असमान प्रदर्शन गरेको नेपाली क्रिकेट टिममाथि अहिले ठूलो प्रश्नचिह्न लागेको छ । राम्रो तयारीका साथ दक्षिण अफ्रिका हुँदै नामेबिया पुगेको नेपाली टिममाथि यसपटक आशा होइन निकै विश्वास गरिएको थियो । सोबमोजिम खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, अन्तिम खेलमा प्रतियोगिताकै सबैभन्दा कमजोर टिम केन्यासँग भोगेको पराजय नेपाल लागि दुर्भाग्य बनेको छ । यसले नेपाली खेलाडीको स्तरीयता र विश्वसनीयतामा समेत शङ्का उत्पन्न गराएको छ । धेरै विश्वास र अपेक्षा गरिएको टिमबाट भएको गैरजिम्मेवारी प्रंदर्शनले अहिले सबैलाई सोच्न बाध्य तुल्याएको छ । अझ पाएको सुवर्ण अवसरलाई गुमाउँदा क्रिकेट टोलीको साख पनि दाउमा लागेको छ । यसबारे कप्तान पारस खड्काले आफू निकै निरस भएको प्रतिक्रिया दिए पनि प्रशिक्षक पुबुदुले अहिलेसम्म मुख खोल्न सकेका छैनन् । उनको हुँकार पानीको फोकाजस्तै बनेको छ । नेपालको सफलता स्थिर बनेको छ, जुन नेपालजस्तो क्रिकेटमा उदीयमान राष्ट्रका लागि सुखद मान्न सकिँदैन ।
संविधान बन्छ या बन्दैन
खेलाडीको चासो
देशको मूल कानुन संविधान बन्छ या बन्दैन त्यो गर्भकै विषय बनेको छ । दोस्रो संविधानसभाको निर्वाचनपछि राजनीतिक दलका नेताहरूले माघ ८ मा संविधान दिने घोषणा गरे पनि त्यो समय पनि अहिले गुज्रिसकेको छ । राजनीतिक दलका नेताहरू दलीय स्वार्थमा मात्र केन्द्रित रही संविधानसभा भवनमा नारा, जुलुस, झगडा र तोडफोडमा उत्रिएर समय खेर फालिरहेका छन् । उनीहरूको यस्तो अप्रजातान्त्रिक हर्कत देख्दा मुलुकमा संविधान आउने कुरामा विश्वास गर्न सकिँदैन । बाँदरे चरित्र देखाउँदै संविधानसभाको नै उपहास गर्दै आएका दलका नेताहरूले अहिलेसम्म भत्ता पचाउने कार्यबाहेक केही गरेका छैनन् । त्यसैले वर्तमान अवस्थामा नेपालको राजनीतिक गतिविधि आमनेपालीको चासोको विषय बनेको छ । राजनीति गर्नेहरू अनुशासित, बुद्धिजीवी र सेवाग्राही भावनाले ओतप्रोत हुन्छन् भन्ने सुनिए पनि त्यो अहिले एकादेशको कथामा परिणत भएको छ । अझ वर्तमान अवस्थामा संविधानसभाका सदस्यहरूले संविधानसभामा गरेको हर्कतले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको बदनाम र बेइज्जत भएको कसैबाट छिपेको छैन । यस्तो अवस्थामा संविधान बन्छ या बन्दैन त्यो जहिले जटिल प्रश्न बन्दै गएको बेलामा नेपालका पूर्वराष्ट्रिय खेलाडीहरू संविधानबारे के भन्छन्– प्रस्तुत छ उनीहरूको विचार ।
– लोकबहादुर शाही (पूर्व राष्ट्रिय फुटबल गोलरक्षक)
वर्तमान अवस्थामा नेपालको राजनीति सबैको चासोको विषय बनेको अवस्थामा खेलजगत् यसबाट अछुतो रहने कुरै आउँदैन । अझ मुलुकको कानुनको दस्तावेद संविधान बन्दा यसप्रति खेलाडी चनाखो हुनु अतिआवश्यक छ । हामीलाई थाहा छ– सरकारले अहिलेसम्म खेलकुदलाई प्राथमिकताको सूचीमा राखेको छैन । तसर्थ संविधानमा खेलकुद र खेलाडीको हकअधिकार सुनिश्चित गर्न सम्पूर्ण खेलाडीले चासो राख्नुपर्छ । तर, विगत सात वर्षमा संविधान बनाउने नाममा जुन हर्कत र क्रियाकलाप राजनीतिक पार्टीले देखाएका छन् त्यसले आमनेपालीलाई निराश तुल्याएको छ । साचो रूपमा भन्नुपर्दा नेपाली जनतालाई संविधानरूपी किताब होइन, विकास चाहिएको छ । संविधानसभाबाट देशलाई टुक्र्याउने होइन, नेपाली जनतालाई एकताको सूत्रमा बाँध्ने संविधान चाहेको छ । जुन नेपाल बन्द, तोडफोड र संविधानसभामा ताण्डव मच्याएर हुँदैन । नेताले जनताको सेवक बन्नुपर्छ । अब बन्ने संविधान नेपाल र नेपालीका लागि बन्नुपर्छ र उक्त संविधानमा राष्ट्रको लागि पसिना बगाउँदै राष्ट्रको झण्डा अन्तर्राष्ट्रिय रङ्गमञ्चमा फहराउने खेलाडीको हकहित, अधिकार र भविष्य सुनिश्चित हुनुपर्छ । नेपालमा भएका राजनीतिक क्रान्तिहरूको विषयमा केहीलाई पढियो, केहीलाई देखियो, तर वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली जनता ठगिएका छन् । अब यो राष्ट्रको विकासका लागि भविष्यमा खेलकुद क्रान्ति हुन जरुरी छ, जुन अब बन्ने संविधान यसको पूरक बन्न सक्छ ।
–दीपक श्रेष्ठ (पूर्व राष्ट्रिय कराते खेलाडी)
संविधान आमजनताका लागि अपरिहार्य छ, त्यसैले संविधान बन्नुपर्छ । देशको मूल कानुन संविधानमा खेलकुदलाई बँुदागत रूपमा समेट्नुपर्छ । खेलकुदलाई नियम, कानुनसम्मत चलाउन पनि संविधानको आवश्यकता छ । राजनीतिले गाँजेको खेलकुदमा राजनीतिक अस्थिरता र हस्तक्षेप हटाउन पनि संविधानमा खेलकुदको सम्बोधन हुनुपर्छ । संविधानसँगै खेलकुदको आमूल परिवर्तन हुने र खेलकुदका हरेक पक्ष नियम–कानुनसँग चल्ने हुँदा संविधानले खेलकुद क्षेत्रका लागि निकै महत्व राख्छ । साँचो रूपमा भन्नुपर्दा राजनीतिक साङ्लोमा जकडिएको खेलकुदलाई मुक्त गर्न पनि संविधान आउन जरुरी छ । खेलकुदको बृहत्तर विकासका लागि सेवा प्रदान गरिरहेका र खेलकुदमार्फत राष्ट्रको गौरव अन्तर्राष्ट्रियस्तरमा बढाएका र खेलकुदमा आफ्नो रगत–पसिना बगाएका खेलाडी, प्रशिक्षक र पदाधिकारीको हकअधिकार र भविष्य सुनिश्चित गर्न पनि संविधान बन्नुपर्छ । नेपाली खेलकुदको अग्रगामी विकासका लागि पनि संविधान आवश्यक भइसकेको छ । वर्तमान अवस्थामा खेलकुद खेलकुदभन्दा पनि राजनीतिक थलोको रूपमा विकास भइरहेको अवस्थामा संविधान मात्र यसको अचुक औषधि सावित हुनेछ । त्यसैले समग्र खेलकुदको विकासका लागि राजनीतिक दलका नेताहरूले संविधानबारे गम्भीर हुनु जरुरी भइसकेको छ ।
– मीनकृष्ण महर्जन (पूर्व राष्ट्रिय कराते खेलाडी)
संविधान मुलुकको मूल कानुन भएकाले संविधानबिना खेलकुद र खेलाडीको भविष्य छैन । आमनेपाली जनता र खेलाडीको हकअधिकार सुनिश्चित गर्न संविधान बन्नुपर्छ । राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने सशक्त माध्यम खेलकुद भए पनि नेपालमा खेलकुदलाई जहिले पनि सौताको व्यवहार गरिँदै आएको घामजस्तै छर्लङ्ग छ । साँचो रूपमा भन्नुपर्दा राज्यले अहिलेसम्म खेलकुदको महत्व बुझेको छैन । राजनीतिक दलहरूले खेलकुदलाई राजनीतिक कार्यकर्ता भर्तीकेन्द्रको रूपमा परिणत गरेका छन् । परिणाम अहिलेसम्म खेलकुद माथि उठ्न सकेको छैन । खेलकुद राजनीतिक विकास गर्ने थलोको रूपमा परिणत भएको छ । तसर्थ राष्ट्रका लागि आफ्नो अमूल्य जीवन समर्पित गर्ने खेलाडीको भविष्य दाउमा लागेको छ । खेलाडीको खेलजीवनपछिको भविष्य अन्धकारमा परेको छ । त्यसैले राष्ट्रको मान, सम्मान, प्रतिष्ठा र गौरवलाई अन्तराष्ट्रमा पु¥याउन सफल खेलकुद र खेलाडीको सर्वोपरि विकासका लागि मात्र भए पनि संविधान बन्नुपर्छ । संविधानमा खेलकुदको वास्तविकतालाई आत्मसात् गर्दै प्राथमिकताका साथ राख्नुपर्छ । खेलकुदको बृहत्तर विकासका लागि सोही किसिमको दूरगामी योजना र बजेटको तर्जुमा गर्नुपर्छ । यस्तो भयो भने कानुनी राज्यमा खेलकुदले पनि कानुनसम्मत फल्ने–फल्ने अवसर पाउनेछ । अन्यथा अहिले जुन अवस्थामा खेलकुद छ भोलि त्योभन्दा नाजुक अवस्था नहोला भन्न सकिँदैन । वास्तविक रूपमा भन्नुपर्दा खेलकुदको सम्पूर्ण विकार हटाउन संविधानको आवश्यकता छ, त्यसैले संविधान बन्नुपर्छ ।
– दीपक विष्ट (राष्ट्रिय तेक्वान्दो खेलाडी)
वर्तमान अवस्थामा आमजनताको केन्द्रबिन्दु बनेको संविधानले खेलकुदका लागि पनि यत्तिकै महत्व राख्छ । राज्यको मूल कानुन संविधानको अभावले खेलकुदमा जसरी बेथिति मच्चिएको छ, त्यसको समाधानका लागि पनि संविधान बन्नुपर्छ । संविधानले विकासको बाटो खोल्ने र मुलुकलाई नौलो मार्गमा डो¥याउने भएकाले अन्य क्षेत्रभन्दा पीडित र जर्जर खेलकुद क्षेत्रमा संविधान आउन अति आवश्यक छ । म खेलाडी भएको नाताले खेलकुदलाई निकै नजिकबाट चिन्ने अवसर पाएको छु । तुलनात्मक रूपमा विदेशी खेलाडी र नेपाली खेलाडीको दुरावस्ता राम्रोसँग आत्मसात् गरेको छु । त्यो पीडा भोग्दा मैले बारम्बार के महसुस गरेको छु भने हामी खेलाडी हौँ, कि भेडाबाख्रा । त्यसैले वर्षौंदेखि राजनीतिक दलदलमा भासिएको खेलकुदलाई माथि उकास्न संविधान बन्नुपर्छ । अब बन्ने संविधानमा खेलकुद र खेलाडीको हकअधिकार सुनिश्चित हुनुपर्छ । खेलकुदप्रति राजनीतिक दलका नेताहरूको गलत सोचको पोस्टमार्टम गर्दै संविधानबाटै उनीहरूको दिमागमा खेलकुदप्रति सकारात्मक सोच पैदा गर्नुपर्छ । यसरी समग्र खेलकुदको विकासका लागि संविधान अमूल्य उपहार हुने मैले ठानेको छु । तसर्थ संविधान बनाउन ढिला गर्नुहुँदैन, संविधान यथाशीघ्र बन्नुपर्छ, त्यो आमखेलाडीको माग हो ।
खेल समाचार
डिभाइन फिजिकल फिट्नेस सेन्टर सञ्चालनमा
कालिमाटी चोकमा डिभाइन फिजिकल फिट्नेस सेन्टर (डीपीएफसी) सञ्चालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले सेन्टरको उद्घाटन गरेका थिए । नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव एवम् पूर्व मिस्टर नेपाल दिनेश राजभण्डारी, सङ्घका सदस्य एवम् वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् फिट्नेसका जज सुनील राजकर्णिकार तथा स्थानीय (कालिमाटी) अजय महर्जनले सेन्टर खोलेका हुन् । करिब ८५ लाखको लागतमा सेन्टर सञ्चालन गरिएको राजभण्डारीले जानकारी गराएका छन् ।
सेन्टरमा व्यायामका अलावा जुम्बा फिट्नेस (डान्सको माध्यमबाट तन्दुरुस्त रहने विधि) को पनि सुविधा उपलब्ध छ । जुम्बाको पाटो जुम्बा इन्टरनेसनल सर्टिफाइड इन्स्ट्रक्टर परिशा राजभाण्डारीले हेर्नेछिन् भने व्यायामतर्फ रुजेश शाहीले जिम्मेवारी सम्हाल्नेछन् । उद्घाटनका अवसरमा सदस्यसचिव लामाले सम्बन्धित क्षेत्रकै व्यक्तिले सञ्चालन गरेको हुनाले सेन्टरले चाँडै प्रगति गर्ने धारणा राखेका थिए । सञ्चालक राजभण्डारीले अन्तर्राष्ट्रिय प्रतियोगतामा सहभागी हुने शारीरिक सुगठनका खेलाडीलाई बन्द प्रशिक्षण शिविर निःशुल्क प्रदान गरिने प्रतिबद्धता जनाए ।
राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु
राष्ट्रिय तेक्वान्दो युनियन– नेपालको आयोजनामा चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत गेरोगीमा १८ र पुम्सेमा दुई गरी कुल २० स्वर्णका लागि प्रतिस्पर्धा हुने युनियनका महासचिव राजकुमार कार्कीले जनाएका छन् । प्रतियोगितामा पाँच विकास क्षेत्र, विश्वविद्यालय र राष्ट्रिय विद्यालय तेक्वान्दो महासङ्घ गरी सात टिमका एक सय ४० खेलाडीले भाग लिइरहेका छन् । त्यसमा गेरोगीमा एक सय २६ र पुम्सेमा १४ खेलाडी सहभागी छन् । दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा हुनेछ । उक्त प्रतियोगिताको आ–आफ्नो स्पर्धामा पहिलो हुने खेलाडी सुनसरीको इटहरीमा फागुनमा हुने प्रथम त्रिलोक सुब्बा स्मृति अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट हुने महासचिव कार्कीले जानकारी गराएका छन् ।
बादोरियोमा नेपाललाई चार पदक
श्रीलङ्काको रत्नपुरामा भएको दोस्रो बादो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, दुई रजत र एक कास्यसहित चार पदक जितेको छ । जनवरी १८ देखि १९ तारिखसम्म भएको प्रतियोगिताको कुमुतेतर्फ पुरुष ५५ केजीमा तेजेन्द्रबहादुर तामाङले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका थिए । पहिलो संस्करणमा पनि स्वर्ण विजेता तेजेन्द्रले एकल कातामा थप एक कास्य पनि हात पारेका थिए । त्यस्तै अर्का खेलाडी लक्ष्मण तामाङले कुमुतेतर्फ पुरुष ६० केजी र एकल कातामा एक–एक रजत हात पारेको नेपाल बादोरियो कराते डो सङ्घका प्रमुख प्रशिक्षक एवम् नेपाल कराते महासङ्घका महासचिव हरिशरण केसीले जनाएका छन् । दक्षिण एसियाली बादोरियो कराते महासङ्घका अध्यक्षसमेत रहेका केसीले टोलीको नेतृत्व गरेका थिए । केसीले नै च्याम्पियनसिपको उद्घाटन पनि गरेका थिए ।
पुम्से तथा बेसिक सेमिनार सम्पन्न
काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा प्रथम पुम्से तथा बेसिक सेमिनार त्रिपुरेश्वरस्थित राष्ट्रिय तेक्वान्दो प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ । सेमिनारमा सात महिलासहित ५२ जनाले भाग लिएको आयोजकका सचिव एवम् सेमिनार संयोजक कुमार लामा घिसिङले जनाएका छन् । माघ २ गतेदेखि सुरु सेमिनारमा कोरियाली प्रशिक्षक क्वान योङ दल, नोर्बु लामा र गोविन्दप्रसाद शर्माले सहभागीलाई परिवर्तित नयाँ नियमलगायतका विषयमा प्रशिक्षण दिएका थिए । सहभागीलाई नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा, तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङलगायतले प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा दक्षिण कोरियाको मुजुमा सम्पन्न ग्लोबल तेक्वान्दो मास्टर्स टे«निङमा सहभागी मिनु कार्की, सन्जिता राउत, राजीवजंग बस्नेत, टीकादत्त दाहाल र अर्जुनभक्त राईलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया