गणतन्त्र भारत र नेपालको नियति

गणतन्त्र भारत र नेपालको नियति


sampadakeeyaसबभन्दा नजिकको छिमेकी मित्रदेश भारतले आफ्नो गणतन्त्र दिवसको ६६औँ वर्षोत्सव गत सोमबार अत्यन्त हर्षोल्लास र भव्यताका साथ मनाएको छ । भारत गणतन्त्रमा गएको पैँसट्ठी वर्षको इतिहासमा विश्वकै महाशक्तिशाली देश संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले समेत गणतन्त्र दिवसमा आयोजित समारोहमा निकै उत्साहका साथ प्रमुख अतिथिको रूपमा सहभागिता जनाएको यो पहिलो अवसर बन्न पुग्यो । गणतान्त्रिक संविधान जारी भएको साढे ६ दशक अवधिमा जनताका परिवर्तनशील आवश्यकताहरू परिपूर्तिको निम्ति आफ्नो संविधानमार्फत भारतले धेरै प्रगति हासिल गरिसकेको यथार्थको प्रतीक पनि हो यो सन्दर्भ । यहाँसम्म कि मङ्गल ग्रहसम्मको यान्त्रिक यात्रा तय गरेर भारतले विश्वका विकसित एवम् शक्तिशाली मुलुकको लहरमा आफूलाई पङ्क्तिबद्ध तुल्याउने सफलता हासिल गरेको छ । तर, आफूलाई लामो इतिहास भएको राष्ट्र दाबी गर्ने हामी भने अझै संविधान निर्माणको नाममै ताण्डव प्रदर्शन गर्दै जग हँसाइरहेका छौँ । मित्रराष्ट्र भारतलाई ६६औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै गर्दा आफूचाहिँ यसरी कोक्किनुपर्ने परिवेशले सम्भवतः प्रत्येक सचेत नेपालीजनको हृदय छिया–छिया तुल्याएकै हुनुपर्छ ।
भारतको गणतन्त्र दिवस र नेपालमा जारी संविधान निर्माण प्रक्रियाको सन्दर्भ चल्दा यतिबेला सर्वाधिक विवादित र राजनीतिलाई नै उथलपुथल तुल्याउने विषय बनिरहेको ‘पहिचानसहितको प्रदेश’ निर्माणको एजेण्डा यहाँनेर जोडिनु प्रासङ्गिक हुन आउँछ । भारत पनि नेपालजस्तै विभिन्न जाति, भाषा, संस्कृति, धर्म र समुदायका मानिसको बसोबास एवम् अनेकखाले द्वन्द्व व्यहोर्दै आएको मुलुक हो । तर, त्यहाँको संविधानले सबैलाई एकसूत्रमा बाँधिराखेको मात्र नभई देशलाई दिनानुदिन विकास र प्रगतिको दिशामा दौडाइरहेको छ । जुन समय भारतमा गणतन्त्र स्थापना भयो, त्यसबेला विश्वको नक्सामै अनेकौँ परिवर्तन भइरहेका थिए । तथापि, औपनिवेशिक दासताबाट मुक्त भई भारतीय गणतन्त्र आज अनेकौँ आन्तरिक चुनौतीको सामना गर्दै सफल भइरहेको छ र यसको पछिल्तिर भारतीय स्वतन्त्रता सङ्ग्रामलाई नेतृत्व प्रदान गर्ने नेताका राष्ट्रिय चरित्रले सर्वाधिक भूमिका निर्वाह गरेको जगजाहेर छ । साहसी भारतीय नेतृत्वकर्ताले त्यसबेलाका गरिब, निरक्षर र विभिन्न भाषा बोल्ने भारतीय नागरिकलाई संविधानमार्फत सुसंस्कृत लोकतान्त्रिक व्यवस्था सुम्पिदिएकैले आज भारत विश्वको एक शक्तिशाली राष्ट्रको रूपमा अगाडि बढ्दै छ । राष्ट्रिय स्वाभिमानका लागि मरिमेट्ने भारतीय जनताको संस्कारले त्यहाँको गणतन्त्रलाई ओजश्वी शक्ति प्रदान गरिरहेको छ । तर, हाम्रो देशमा जो गणतन्त्र आएको छ, यो बिनासुझबुझ लादिएको भीडतन्त्रमा रूपान्तरित हुने खतरा दिनानुदिन बढिरहेको छ । गणतन्त्र आए पनि हालसम्म संविधान बन्ला कि नबन्ला भन्ने अन्योलमै रुमलिन विवश बन्नुपरेको आमनेपालीको हविगतले यस्तै अनुभूति दिलाउँदै छ ।
आज भारतीयहरू सङ्कीर्ण विषयवस्तुको पछाडि नलागी आपसमा मिलेर आर्थिक–सामाजिक उन्नतिलाई अत्यन्त महत्व दिई अघि बढिरहँदा हामी भने स–साना विवादलाई पनि जबर्जस्ती ठूलो आकारमा प्रस्तुत गर्ने सोच, शैली वा चरित्र अपनाएर दिनानुदिन आफैँलाई कमजोर बनाइरहेका छौँ । नेतृत्व तहमा उत्पन्न यो रोग विस्तारै सरेर आमनागरिक तप्कासम्मै पुगिसकेको छ । भनिन्छ, लोकतन्त्रको सम्बन्ध सुशासनसँग हुन्छ । जहाँ राज्यले नागरिकको चाहनाअनुसार काम गर्न इमानदारीसाथ यथाशक्य प्रयत्न गर्छ र जनताले पनि बिनाकुनै डरत्रास वा निर्देशन कानुनको पालना एवम् सम्मान गर्छन्, त्यहाँ विकास र समृद्धिको गति पनि द्रुततर हुँदै जान्छ । यतिबेला नेपालका जिम्मेवार नेतृत्व नै आफ्नो स्वार्थमा लिप्त देखिँदै छन् भने जनताको नियति पनि निरीह र क्रमशः अराजकतातर्फ उन्मुख प्रतीत हुँदै छ । यसले हामीलाई कता पु¥याउला– कहालीलाग्दो प्रश्न खडा भएको छ ।
तथापि, इतिहासद्वारा लादिएको आजको दीनहीन अवस्थामाथि कोक्किँदै झोक्राएर दिन बिताउनुको कुनै तुक रहँदैन । छिमेकी देशले हासिल गरेको उन्नति–प्रगतिबाट पाठ–प्रेरणा लिँदै अगाडिको यात्रा तय गर्ने हाम्रो उद्देश्य हुनुपर्छ । भारत र नेपालबीच ‘रोटी–बेटी’को सम्बन्ध रहेको स्थापित मान्यता छ । नेपाल–भारतबीचको प्रगाढ जनस्तरको सम्बन्ध र बेलाबेला प्रकट हुँदै आएको छिमेकी देशको प्रगतिलाई आफ्नै प्रगति ठान्दै नेपालको राजनीतिक स्थायित्व एवम् समृद्धिमा साथ दिने ‘भारतीय चाहना’लाई ‘विश्वकै ठूलो लोकतन्त्र’ भारतबाट व्यवहारसिद्ध हेर्ने आमनेपालीको अभिलाषा पनि छ । सबभन्दा नजिकको छिमेकी मित्रराष्ट्र भारतले ६६औँ गणतन्त्र दिवसलाई राष्ट्रिय पर्वको रूपमा मनाएको सन्दर्भमा बधाईका साथै सदियौँदेखिको घनिष्ट सम्बन्धमा थप प्रगाढता आओस्, एक–अर्काको टेवा बन्दै पारस्परिक हित सम्वद्र्धनको दिशामा दुवै मुलुक अघि बढ्न सकून्, यही शुभकामना ।