सनसनीपूर्ण खेलमा आर्मीले मा-यो बाजी

सनसनीपूर्ण खेलमा आर्मीले मा-यो बाजी


vetran-football2नेपाल कप भेट्रान फुटबल
दशरथ रंगशालामा पहिलोपटक आयोजना भएको एनबीए नेपाल कप भेट्रान फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । नेपालका चर्चित १२ भेट्रान टोलीको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र मनाङमस्र्याङ्दी क्लबबीच भिडन्त भएको थियो । उपाधिका लागि दुवै टिमलाई दाबेदार मानिए पनि भाग्यले साथ दिँदा आर्मीले बाजी मारेको थियो । आर्मीले टाइब्रेकरमा ३–२ को अन्तरले पराजित गर्दै एनबीए नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन बनेको थियो ।
स्पोर्टस् फर अल क्लब नेपालको आयोजना र नेपाल बैंकर्स एसोसिएसनको मुख्य प्रायोजनमा सञ्चालित सनसनीपूर्ण र रोमाञ्चक फाइनल खेलमा आर्मीले मनाङमस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको गरेको थियो । फाइनलको शुभारम्भमै गोल गरेर मनाङले अग्रता लिए पनि सेनाले तुरुन्तै गोल फर्काउँदा पहिलो हाप एक–एक गोलको बराबरीमा टुङ्गिएको थियो । निकै प्रतिस्पर्धात्मक रहेको दोस्रो हापमा आर्मीले पाएको अवसर गुमाउँदा मनाङले खेलको अन्तिम मिनेटमा गोल गरेर उपाधिनजिक पुगेको थियो । तर, थपिएको दुई मिनेटको खेलमा आर्मीले सनसनीपूर्ण गोल गरेर खेललाई बराबरीमा ल्याएको थियो । आर्मीले खेल सकिनु तीस सेकेन्ड बाँकी रहँदा उक्त गोल गरेको थियो ।
फाइनल खेल निर्धारित समयसम्म २–२ को बराबरी भएपछि टाइब्रेकरबाट नतिजा निकाल्नुपरेको थियो । खेलको तेस्रो मिनेटमा हमिद दुलालले मनाङका लागि गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि आर्मीका लागि समीरप्रताप राणाले बराबरी गोल फर्काएका थिए । खेलको ५४औँ मिनेटमा डिल्लीराम श्रेष्ठले मनाङलाई पुनः अग्रता दिलाएका थिए । विजयको नजिक पुगिसकेको मनाङलाई रोक्ने काम आर्मीका समीरप्रताप राणाले गरेका थिए । राणाले अतिरिक्त समयमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउँदा आर्मीको भाग्य चम्किएको थियो । टाइब्रेकरमा आर्मीका गोलकिपर छन्नुराम चौधरीको उत्कृष्ट प्रदर्शनले मनाङले जितिसकेको बाजी हारेको थियो । चौधरीले मनाङको दुई पेनाल्टी रोकेका थिए । चौधरी यही उत्कृष्ट बचाउका कारण प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए । उनले नकआउट चरणको खेलमा पनि टाइब्रेकरमा उत्कृष्ट दर्शन गर्दै आर्मीलाई जिताएका थिए । मनाङका लागि कर्मा छिरिङ र दर्शनले गोल गरे पनि अन्य तीन खेलाडी गोल गर्न चुकेका थिए । आर्मीका लागि अशोक गुरुङ, वसन्तराज गुरुङ र बाबुकाजी डौबञ्जारले गोल गरेका थिए ।
भेट्रान कपको उपाधिसँगै आर्मीले नगद पचास हजारसहित रनिङ सिल्ड प्राप्त गरेको थियो । त्यस्तै उपविजेता मनाङले पच्चीस हजारमै चित्त बुझाउनुपरेको थियो । प्रतियोगिताविजेता तथा उपविजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति महारथी गौरवशमशेर जंगबहादुर राणाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । साथै प्रधानसेनापति राणाले खेलाडीको स्वास्थ्योपचारको पुनीत कार्यका लागि आयोजित प्रतियोगितामा आर्मीले प्रथम स्थान हासिल गरेर प्राप्त गरेको पचास हजार रकममा थप पचास हजार थपेर आयोजक स्पोर्टस् फर अल क्लबका अध्यक्ष लोकबहादुर शाहीलाई नै सहयोगस्वरूपमा प्रदान गरेका थिए । यसअधि पनि आर्मीले स्पोर्टस् फर अल क्लबलाई पचास हजार प्रदान गरेको थियो । यो प्रतियोगितामा आर्मीले कुल एक लाख पचास हजार नगद सहयोग गरेको थियो । त्यस्तै आगामी वर्ष आयोजना हुने दोस्रो नेपाल कप भेट्रान प्रतियोगितालाई सक्दो सहयोग गर्ने आर्मीले प्रतिबद्धता जनाएको छ ।

पूर्वखेलाडी सम्मानित
एनबीए नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको फाइनल तथा समापन समारोहको अवसरमा स्पोर्टस् फर अल क्लब नेपालले पूर्व राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गरेको छ । प्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणाले उनीहरूलाई सम्मान गरेका थिए । सम्मानित हुने पूर्वफुटवल खेलाडीमा पूर्वप्रहरी महानिरीक्षक तथा राष्ट्रिय टिमका पूर्वकप्तान अच्युतकृष्ण खरेल, पूर्ववरिष्ठ प्रहरी उपरीक्षक बाबुराम पुन, पूर्व राष्ट्रिय फुटबल टिमका गोलरक्षक विष्णुगोपाल श्रेष्ठ, पूर्व प्रशिक्षक भीम थापा, सेनाका पूर्वसहायक रथी यम थापा, पूर्वउपरथी गजेन्द्र लिम्बू, पूर्व प्रहरी नायव महानिरीक्षक रूपालशमशेर राणा, पूर्व प्रहरी नायव उपरीक्षक लक्ष्मण क्षेत्री, पूर्व जिल्ला शिक्षा अधिकारी हरिसुन्दर श्रेष्ठ, पूर्व राष्ट्रिय टोलीका डिफेन्डर नरेन्द्रमान सिंह रहेका थिए ।
नेपालको राष्ट्रिय टिम जसले १९७० मा मित्रराष्ट्र भारतको दिल्लीमा सञ्चालन भएको प्रतिष्ठित डीसीएम फुटबल प्रतियोगितामा उत्कृष्ट खेलको प्रदर्शन गरी भारतका साथै नेपाली फुटबलप्रेमीहरूको मन जित्न सफल भएको थियो । सो टोलीको नेतृत्व नेपाल खेल जगत्का जनक स्वर्गीय जनरल नरशमशेर जबराले गरेका थिए । उक्त टोलीमा समावेश खेलाडीले लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यका रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपालमा फुटबल विकास र विस्तारमा महत्र्वपूर्ण भूमिका खेलेका थिए । त्यही टिमका सदस्यहरू पछि विभिन्न क्षेत्र उच्च ओहोदामा समेत पुग्न सफल भएका थिए । सोही कुरालाई ध्यानमा राखी उक्त टोलीका सदस्यलाई स्पोर्टस् फर अल क्लबले सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीमा अच्युतकृष्ण खरेल राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान, डिफेन्डर रहनुको साथै नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदसम्म पुग्न सफल हुनुभएको थियो । बाबुराम पुन पूर्व राष्ट्रिय फुटबल टिमका मिडफिल्डर, प्रथम सर्वाेत्तम फुटबल खेलाडी पुरस्कारबाट पुरस्कृत, फिफा लाइन्सेन्स प्राप्त नेपालकै तेस्रो प्रशिक्षक, पर्वतारोही एवम् पूर्ववरिष्ठ प्रहरी उपरीक्षक हुनुहुन्थ्यो । विष्णुगोपाल श्रेष्ठ– पूर्व राष्ट्रिय फुटबल टिमका गोलरक्षक, राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटीका पूर्वकोषाध्यक्ष, नेपाल बक्सिङ सङ्घका पूर्वअध्यक्ष, हाल नेपाल ओलम्पिक कमिटीको स्पोर्टस् फर अल कमिसनका प्रमुखमा कार्यरत हुनुहुन्छ । भीम थापा पूर्व राष्ट्रिय फुटबल टिमका फरवार्ड, राष्ट्रिय टिमका पूर्व मुख्य प्रशिक्षक तथा कोचिङसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त गरेका थिए ।
यम थापा– पूर्व राष्ट्रिय फुटबल टिमका फरवार्ड, नेपाली सेनाको पूर्वसहायक रथी हुनुहुन्थ्यो । गजेन्द्र लिम्बू– पूर्व राष्ट्रिय फुटबल टिमका मिडफिल्डर, नेपाली सेनाका पूर्वउपरथी हुनुहुन्थ्यो । रूपालशमशेर राणा पूर्व राष्ट्रिय फुटबल टिमका फरवार्ड, नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक र राष्ट्रिय फुटबल टिमका प्रशिक्षक रहिसक्नुभएको छ । लक्ष्मण क्षेत्री पूर्व राष्ट्रिय फुटबल टिमका मिडफिल्डर, नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक, हरिसुन्दर श्रेष्ठ पूर्व राष्ट्रिय फुटबल टिमका डिफेन्डर, समाजसेवी, नरेन्द्रमान सिंह– पूर्व राष्ट्रिय फुटबल टिमका डिफेन्डर, समाजसेवी र पदमकृष्ण श्रेष्ठ राष्ट्रिय टिमका पूर्वप्रशिक्षक एवम् फिफा तथा जर्मनीबाट प्रशिक्षक लाइसेन्स प्राप्त पहिलो नेपाली हुनुहुन्थ्यो ।

खेलाडीलाई सहयोग
नेपाली राष्ट्रिय फुटबल टिमको प्रतिनिधित्व गर्दै महत्र्वपूर्ण योगदान दिएका चारजना पूर्व राष्ट्रिय फुटबल खेलाडीलाई नेपाल स्पोर्टस् फर अल क्लबले आर्थिक सहयोग गरेको छ । क्लबले उनीहरूको उपचारार्थ जनही २५ हजार नगद प्रदान गरेको थियो । सो रकम प्रतियोगिताका मुख्य अतिथि नेपाली सेनाका प्रधानसेनापति महारथी गौरवशमशेर जबराले प्रदान गरेका थिए । आर्थिक सहयोग प्राप्त गर्ने खेलाडीमा राष्ट्रिय टिमका पूर्वखेलाडी मणिविक्रम शाह, साफका स्वर्ण विजेता वाईबी घले, पूर्व फिफा रेफ्री श्रीराम रञ्जितकार र पूर्व प्रहरी निरीक्षक अशोक केसी रहेका छन् ।
अशोक केसी पूर्व राष्ट्रिय फुटबल टिमका फरवार्ड तथा नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक हुन् । श्रीराम रञ्जितकार पूर्व राष्ट्रिय फुटबल टिमका डिफेन्डर, प्रथम दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता खेलाडी तथा पूर्व फिफा रेफ्री हुन् । वाईबी घले पूर्व राष्ट्रिय फुटबल टिमका मिडफिल्डर, अखिल नेपाल फुटबल सङ्घका पूर्वसदस्य, प्रथम दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता, नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी ( १९८२ मा दिल्लीमा भएको एसियाली खेलकुदमा कुवेतविरुद्ध) हुन् । मणिविक्रम शाह पूर्व राष्ट्रिय फुटबल टिमका फरवार्ड, अखिल नेपाल फुटबल सङ्घका पूर्वउपाध्यक्ष, छैटौँ दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक विजेता तथा चारवटा दक्षिण एसियाली खेलकुदमा सहभागी हुने फुटबल खेलाडी हुन् ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै स्पोर्टस् फर अल क्लबका अध्यक्ष लोकबहादुर शाहीले २९ मेमा सगरमाथा आरोहण दिवसको अवसरमा नेपाल कप आमन्त्रण कप फुटबल प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने जानकारी गराएका थिए । एन्फाका पूर्वउपाध्यक्ष टासी घलेको संयोजकत्वमा हुने प्रतियोगितामा विदेशी टिमको सहभागिता हुने सो अवसरमा अध्यक्ष शाहीले बताएका थिए । खेलाडी सम्मान तथा सहयोग कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेल, संयोजक मदनकृष्ण श्रेष्ठको उपस्थिति थियो ।

खेल समाचार
कीर्तिमानी दीपकको पहिलो इनिङ समाप्त
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले सक्रिय खेलाडीजीवनबाट सन्न्यास लिएका छन् । एसियाली खेलकुदका दुई कास्य तथा दक्षिण एसियाली खेलकुदका चार स्वर्ण विजेता दीपकले लाजिम्पाटस्थित -याडिसन होटलमा आयोजित कार्यक्रममा औपचारिक सन्न्यासको घोषणा गरेका हुन । दीपक छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने दोस्रो नेपाली खेलाडी हुन् । दीपकले दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा लगातार चार स्वर्ण पदक जितेर कीर्तिमान कायम गरेका थिए । उनको यो कीर्तिमान अहिलेसम्म कुनै पनि दक्षिण एसियाली खेलाडीले तोड्न सकेको छैन ।
सन्न्याससँगै दीपकले ३३ लाख पचास हजारबराबरको ‘भक्स वागन कार’ पुरस्कारस्वरूप प्राप्त गरेका थिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले दीपकलाई भक्स वागन कारको साँचो हस्तान्तरण गरेका थिए । कुशकुमार जोशी, महतो फाउन्डेसन, लेखक भट्ट, सुनील भुसाल, अमरबहादुर शाही, दीपक भट्ट, राजेन्द्र भट्ट, मेघ केसीले कार उपलब्ध गराउन सहयोग गरेका थिए । त्यसमा नेपाल सरकारले कर छुटको व्यवस्था मिलाइदिएको हो । त्यस्तै उनलाई राजधानीको हिमालय डेन्टल अस्पतालले आजीवन निःशुल्क उपचार सुविधा प्रदान गर्ने भएको छ । त्यस्तै सो अवसरमा दीपकलाई सुनील कटवालले एक लाख रुपैयाँको चेक हस्तारन्तरण गरेका थिए ।
सन्न्यासको क्रममा निकै भावुक देखिएका ३८ वर्षीय दीपकले सन्न्यासलाई सामान्य प्रक्रियाको संज्ञा दिएका छन् । उनले एक दिन सबै खेलाडीले सन्न्यास लिनुपर्ने बताउँदै खेलकुदले आफूलाई निकै माया गरेकाले भाग्यमानी खेलाडी भएको बताएका थिए । दीपकले भने– यो देशकाल, परिस्थितिले चाहेको विषय हो । म यसका लागि धेरै वर्षदेखि मानसिक रूपले तयार थिएँ । मात्र आज साइत जुरेको हो । सो अवसरमा दीपकले आफूलाई यहाँसम्म पु-याउन अहम् भूमिका निभाउने आमाबुबा, गुरु, नेपाल तेक्वान्दो सङ्घ, नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, सञ्चारकर्मी र शुभचिन्तनप्रति आभार व्यक्त गरेका थिए । सन्न्याय कार्यक्रममा बोल्दै आफूले सक्रिय खेलकुदजीवनबाट सन्न्यास लिए पनि तेक्वान्दो खेलको विकास र विस्तारका लागि निरन्तर रूपमा लागिरहने दीपकले बताए । अब आफूले तेक्वान्दोको दोस्रो इनिङमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै तेक्वान्दोमा नयाँ हिरो जन्माउने प्रतिबद्धता जाहेर गरेका थिए । सन्न्यास कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, सभासद् गगन थापा, पारस खड्काले शुभकामना दिँदै भविष्यमा थुप्रै दीपक उत्पादन गर्नमा अहम् भूमिका निर्वाह गर्ने कुरामा विश्वास प्रकट गरेका थिए ।

सङ्घर्ष समितिद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
नेपाल कराते महासङ्घ एवम् नेपाल सितोरियो कराते डो सङ्घका अध्यक्ष तथा एसियाली प्यासिफिक सितोरियो कराते महासङ्घका प्रथम उपाध्यक्ष दावा गुरुङको संयोजकत्वमा गत पुस ३० गते गठित एक सय ५१ सदस्यीय खेलकुद अधिकार संरक्षण सङ्घर्ष समितिले राष्ट्रिय खेलकुद परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई आइतबार १३ बँदे सुझाव तथा मागपत्रसहितको ज्ञापनपत्र बुझाएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा संयोजक गुरुङले प्रधानमन्त्री कोइरालालाई उक्त सुझाव तथा मागपत्रसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
मागपत्रमा नयाँ बन्ने संविधानमा खेलकुदलाई मौलिक हकका रूपमा राख्नुपर्ने, केन्द्रीय संसद्देखि प्रान्तीय राज्यहरूका संसद्सम्म समावेशिता सिद्धान्तको आधारमा कम्तीमा २० प्रतिशत खेलाडीलाई आरक्षण सिटको व्यवस्था मिलाउनुपर्ने, संविधान निर्माणपश्चात् सरकारले ऐनदेखि नियमावलीसम्म तर्जुमा गर्नुपर्ने, देशको खेलकुद विकास र अन्य अन्तर्राष्ट्रिय मान्यताप्राप्त समितिहरूमा खेलाडी र खेलकर्मीहरू कम्तीमा ८५ प्रतिशत अनिवार्य नियुक्ति गर्नुपर्ने, खेलकुद विकास ऐन २०४८, नियमावली २०४९ र मातहतका आर्थिक प्रशासनसम्बन्धी नियमावली २०६४, कर्मचारी सेवा सर्तसम्बन्धी नियम २०४९, राष्ट्रिय खेलकुद नीति २०६७ आदि सम्बद्ध ऐनहरू खेलाडी, खेलकर्मी खेलसङ्घ र पत्रकार सम्मिलित कार्यदलले बृहत् रूपमा परिमार्जन गर्नुपर्ने, खेलाडीको मनोबल र सम्मानका लागि दिइने निर्धारित नगद पुरस्कार दोब्बर बनाई ओलम्पिक र एसियन पदकधारीलाई आवास उपहारको व्यवस्था मिलाउनुपर्ने, खेलकुद क्षेत्रबाट व्यक्तित्व विकास गरी मुलुकलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सफल भएका राष्ट्रियस्तरमा ख्यातिप्राप्त राष्ट्रसेवक खेलाडीहरू, पदाधिकारीहरू र कर्मचारीहरूलाई स्पोर्टस् भिलेजको अवधारणा ल्याई घडेरी उपलब्ध गराउनुपर्ने, परिषद्मा अस्थायी र करार सेवामा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रियामा लानुपर्नेलगायत छन् ।
प्रधानमन्त्री कोइरालाले समितिले पेस गरेको मागप्रति सकारात्मक लिँदै सीमित स्रोत र साधनका बाबजुद खेलाडीले अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गरेको बताउँदै खेलाडीको सेवा सुविधामा वृद्धि गर्ने बताए । सो अवसरमा प्रस्तुत गरिएको माग पूरा नभए खेलाडीले जस्तोसुकै आन्दोलन गर्न बाध्य हुनेतर्फ प्रधानमन्त्रीलाई मागपत्रमार्फत ध्यानाकर्षणसमेत गराइएको छ । प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन परिषद्का सदस्य, विभिन्न राष्ट्रिय खेलसङ्घका पदाधिकारी, परिषद्का विभागीय प्रमुख, विभिन्न खेलका मुख्य प्रशिक्षक, ओलम्पियन, कर्मचारी सङ्घका पदाधिकारी, खेलाडीलगायतको उपस्थिति थियो ।

पैंतीस खेलाडीलाई ब्ल्याकबेल्ट डन
गोजुकाई कराते– डो सङ्घ, जापानले ३५ जना कराते खेलाडीलाई ब्ल्याकबेल्ट डनको प्रमाणपत्र प्रदान गरेको छ । सङ्घको नेपाल शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र शाहले थर्ड डन तीनजनालाई, सेकेन्ड डन ६ जनालाई र फस्र्ट डन २६ जनालाई प्रदान गर्नुभयो । प्रमाणपत्र पाउनेमा ब्ल्याकबेल्ट सान थर्ड डनतर्फ गोविन्द गुरुङ, राकेशकुमार राजवंशी, श्यामकृष्ण बाटा, ब्ल्याकबेल्ट सेकेन्ड डनतर्फ प्रेम थापा, चन्द्र खत्री, फुर्वा नीमा लामा, शान्ति लामा, सूर्यबहादुर थिङ, अच्युतराज उप्रेती, ब्ल्याकबेल्ट शो फस्र्ट डनतर्फ सोनु कार्की, रमिता तामाङ, विवेक तामाङ, रितेश श्रेष्ठ, चोक्गेल्जे शेर्पा, सञ्जय तामाङ, भरतसिंह तामाङ, शारदा खनाल, सोनाम छुतेन शेर्पा, निर्मल गुरुङ, मनोज तामाङ, आशीष भुजेल, वैभवदास जोशी, पेमा तामाङ, मुस्कान केसी, छिरिङ लामा, मनिता न्यौपाने, सुनिल गुरुङ, सोनाम शेर्पा, थोप्तेन डिकी लामा, सागर प्रजापति, सीमा घर्ती, शिला देवान, राजन राई, सञ्जीव सुनुवार र जितबहादुर पुलामी हुनुहुन्छ । चिल्ड्रेन मोडेल स्कुलका अध्यक्ष देवराज रेग्मीले सभापतित्व ग्रहण गर्नुभएको कार्यक्रममा नेपाल गोजुकाई कराते–डो सङ्घका संयोजक इन्द्रबहादुर शाही खड्गे र युवराज भण्डारीले खेलकुदले शारीरिक, मानसिक विकासमा मद्दत गर्ने बताउनुभयो ।

साहना प्रधान स्मृति टेटे हुने
नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय टेबलटेनिस सङ्घले प्रथम साहना प्रधान स्मृति राष्ट्रव्यापी खुला पुरुष टेबलटेनिस प्रतियोगिता माघ २३ गतेदेखि हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा चारदिनसम्म चल्ने प्रतियोगितामा शीर्ष चार स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने आयोजक सङ्घका महासचिव सुरज केसीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । शीर्ष आठ स्थानमा रहने खेलाडीले सोझै प्रतियोगितामा सहभागी हुन पाउनेछन् भने अन्यले प्रतियोगिताअघि हुने प्रिक्वालिफाइङमा प्रतिस्पर्धा गर्नुपर्नेछ । त्यसबाट उत्कृष्ट आठ खेलाडी छनोट हुनेछन् ।

रग्वीको उपाधि मध्यमाञ्चललाई
मध्यमाञ्चलले प्रथम राष्ट्रिय रग्वी च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई २२–१३ ले पराजित गरेको थियो । नेपाल रग्वी सङ्घद्वारा आयोजित प्रतियोगितामा मध्यपश्चिमाञ्चलले तेस्रो स्थानमा चित्त बुझायो । नेपालमै पहिलोपटक भएको राष्ट्रियस्तरको रग्वीमा पाँच विकास क्षेत्रका पाँच पुरुष टिम सहभागी थिए । विजेतालाई रग्वी सङ्घका अध्यक्ष टंकलाल घिसिङलगायतले पुरस्कृत गरेका थिए ।

हरि र विश्वरूपा पहिलो
‘नेपाल टेलिकम कप’ खुला सडक दौड प्रतियोगताको पुरुषमा हरि रिमाल र महिलामा विश्वरूपा बुढा पहिलो भएका छन् । दुवै नेपाली सेनाका खेलाडी हुन् । पुरुषको १० किलोमिटर दौड हरिले ३५ मिनेट ३३.५० सेकेन्डमा पूरा गरेका थिए । त्यस्तै सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की (३५ मिनेट ४२.५१ सेकेन्ड) दोस्रो तथा सेनाका ज्ञानप्रसाद भट्टराई (३५ मिनेट ४६.५५ सेकेन्ड) तेस्रो भएका थिए । आयोजक नेपाल टेलिकमको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजित दौडको महिला पाँच किलोमिटर दूरी तय गर्न विश्वरूपाले २० मिनेट २१.८४ सेकेन्ड समय खर्चेकी थिइन् । भक्तपुरकी सन्तोषी श्रेष्ठ (२० मिनेट ५१.०९ सेकेन्ड) दोस्रो तथा सेनाकी सरस्वती भट्टराई (२१ मिनेट १२.६२ सेकेन्ड) तेस्रो स्थानमा रहेका थिए ।
sportकुल एक लाख नगद पुरस्कार रहेको दौडको दुवै समूहमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजारका दरले नगद पुरस्कार प्राप्त गरेका थिए । विजेतालाई टेलिकमका प्रधान निर्देशक बुद्धिप्रसाद आचार्य र निर्देशक भानु श्रेष्ठले पुरस्कृत गरेका थिए । उक्त अवसरमा आचार्यले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यअनुरूप प्रतियोगिता आयोजना गरिएको बताए । टेलिकमकै वार्षिकोत्सवका अवसरमा माघ २२ गतेदेखि राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता काठमाडौंको खुला मञ्चमा हुँदै छ ।