गत हप्ता राजधानीमा समाजसेवी कुमारबहादुर थापाको संयोजकत्वमा हिन्दूराष्ट्र स्थापना सङ्घर्ष समितिको गठन गर्ने बेला सहभागी हुन आएका चितवन भरतपुरकी गीता तिवारी र गीता चिलवालले एकै स्वरमा भने, ‘विदेशीको मिठाई खान गएका थियौँ त्योभन्दा हजारौँ गुना स्वादिलो र पारिलो आमाकै दूध हुँदोरहेछ भन्ने महसुस गरेर हिन्दूधर्ममै फर्कियौँ ।’ लामो समयसम्म क्रिश्चियन धर्म अमलम्बन गरेर अन्ततः आफ्नै संस्कृति र धर्म उत्कृष्ट रहेछ भन्दै पुनः हिन्दूधर्ममै आस्थावान बन्न पुगेका पात्र हुन् गीताद्वय ।
नेपाली जनताको गरिबीको फाइदा उठाएर क्रिश्चियनले धर्म परिवर्तन गराउने गरेको चर्चा चलिरहेका बेला चितवनका यी दुई चेली त प्रतिनिधि पात्र मात्र हुन् । गीता तिवारीले व्यक्त गरेको विचारलाई सापटी लिएर उल्लेख गर्नुपर्दा हाम्रो वेदको दर्शनबाट साभार गरी ल्याइएका क्रिश्चियनका धर्मसम्बन्धी पुस्तकभन्दा हाम्रै वेद, गीता लाखौँ गुणा पवित्र र शक्तिशाली छन् । उनले लोभ, लालच र भ्रम सिर्जना गरेर क्रिश्चियन बनाइएको र पछि बझ्दै जाँदा हिन्दूधर्म आमाको दूधजस्तै अमृत रहेछ भन्ने लागेको बताइन् । बिरामीलाई प्रभुले रोग निको बनाइदिने भ्रम छरेर उपचार गर्न नसक्ने हजारौँलाई क्रिश्चियन बनाएको उनको दाबी थियो । सो क्रममा गीताले थपिन्, ‘झन्डै ६ महिनाअघि नेपालका प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका पुगेका थिए । प्रभुले रोग निको पार्ने भए किन सुविधासम्पन्न अस्पताल र दक्ष चिकित्सकले उनको उपचार गर्नुप-यो त ? आफ्नो देशका रोगीलाई ज्यादै सुविधासम्पन्न अस्पतालमा उपचार गराउने र आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षामार्फत डाक्टर बनाउने क्रिश्चियनले किन प्रभुको आश्रममा लगेर झारफुक गर्दैनन् ?’
०६२/६३ को आन्दोलनमा नेपाली जनताले उठाउँदै नउठाएको कुरालाई मुलुकका केही धर्मविरोधीहरूले चोरबाटोबाट सदनमा छिराएर षड्यन्त्रपूर्वक धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेका थिए । सबै धर्म र कर्मलाई सम्मान गर्ने हिन्दूले त्यो निर्णय मजाक होला भनेर केही समय सहेर पनि बसे । तर, निरङ्कुश शैलीले उक्त मजाकिया प्रस्ताव लाद्ने दुस्प्रयास गरेपछि आमहिन्दू अब सडकमा निस्कन थालेका छन् । अहिले नेपाली काङ्ग्रेसभित्र खुमबहादुर खड्का, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलगायतका हजारौँ नेता–कार्यकर्ताले हिन्दूराष्ट्रका लागि दबाब दिँदै छन् भने एमालेभित्र वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले यो विषयलाई अभियानकै रूपमा पहलकदमी लिइरहेका छन् । दर्जनाँै सङ्ख्यामा रहेका हिन्दूवादी संस्थाले अब आन्दोलनको आँधीबेरीले मात्र हिन्दूराष्ट्र स्थापना हुने निष्कर्ष निकालेर स्वतन्त्र सङ्घर्ष समितिको आवश्यकता महसुस गरी कुमारबहादुर थापालाई आन्दोलनको अग्रमोर्चामा लाग्न कमाण्डर बनाएको छ । उहाँलाई रुक्माङ्गत कटवालदेखि थुप्रै राष्ट्रवादीले साथ दिएका छन् ।
हिन्दूराष्ट्र स्थापनाको आन्दोलनलाई अगाडि बढाउन काङ्ग्रेसकै नेता शंकर पाण्डेले धर्म जागरणमार्फत पूर्व मेची हुँदै पश्चिम महाकालीका हिन्दूवादीलाई जागरुक बनाएका थिए भने हरिबोल भट्टराईको योगदान पनि चर्चायोग्य नै छ । झिझाले मुढो पोल्छ भनेझैं यतिखेर देशभरका हिन्दूहरू मुठ्ठी उठाएर सडकमा निस्किएका छन् र यस्ता लाखाँै जागरुक निस्कनका लागि तयार अवस्थामा छन् । हिन्दूराष्ट्रका लागि दलगत स्वार्थभन्दा माथि उठेर सबै पार्टीका मान्छे सडकमा आइरहेका छन् भने मुस्लिम समुदायले समेत हरियो झन्डा बोकेर हिन्दू आन्दोलनलाई सघाइरहेका छन् । हिन्दूराष्ट्रमा जति आफ्नो जिउज्यानको र धर्मको सुरक्षा थियो अन्यमा नहुने निष्कर्ष निकालेर मुस्लिम समुदायले सहयोग गरेका हुन् । सडकमा देखिएको जनलहर, उत्साह, उर्लंदो भावनाको आधारमा भन्नुपर्दा डलर खाएर धर्मनिरपेक्ष बनाउने केही नेता भनाउँदालाई दर्बिलो झापट मिलेको छ । अब नयाँ परिवर्तनको बिहानी सुरु मात्र भएको नभई झुल्केघाम नै लागिसकेको छ ।
संविधानसभामा जनताको अभिमतको कुरा गर्ने काङ्ग्रेस, एमालेले हिन्दूवादीको यो उर्लंदो भाव र जनमतको कदर गर्ने कि नगर्ने ? यतिखेर यी ठूला दलसामु प्रश्न खडा भएको छ । संविधानसभाभित्रका प्रतिनिधिलाई डलरवादीले खरिद गर्न सक्ने भएकाले आन्दोलनको भावलाई सम्बोधन गर्न नसके सरकारले तुरुन्तै हिन्दूराष्ट्र आवश्यक छ–छैन भन्ने विषयमा जनताको अभिमत लिन जनमतसङ्ग्रहको घोषणा गर्नुपर्छ । संविधान निर्माणका लागि होहल्लाबीच प्रक्रिया अघि बढाएका सभामुख सुवास नेम्वाङमाथि लागेका विभिन्न आरोप यदि सत्य होइन भने उनले पनि जनमतका लागि प्रक्रिया सुरु गराउनुपर्छ ।
देशका विभिन्न ठाउँको सक्रियता हेर्दा जनताको पक्षबाट नेपालमा हिन्दूराष्ट्र स्थापना भइसकेको छ । अब कुनै पनि डलरवादी शक्तिले नेपाललाई हिन्दूराष्ट्र बन्न रोक्ने चेष्टा गर्न नसक्ने निश्चितप्रायः छ । नेपालमा ८१ प्रतिशत हिन्दू, नौ प्रतिशत बुद्धिस्ट, तीन प्रतिशत किरातलगायतका अन्य धर्मावलम्बी गरी ९४ प्रतिशत जनताको साझा धर्म, परम्परा, रीतिरिवाज र संस्कार रहेको छ । यही साझापनको आधारमा नेपालीको राष्ट्रिय संस्कृति बनेको छ । यही साझा संस्कृतिको अर्को नाम सनातन वैदिक धर्म हो । संसारमा जुनसुकै मुलुकमा गएको भए तापनि हामी नेपाली यही सनातन धर्म, वैदिक मान्यताको कारणले नेपाली भनेर चिनिने मौका पनि हिन्दुत्वले दिएको हो । हाम्रो देशमा सयभन्दा बढी जातजातिका मानिस बसोबास गर्छौं, त्यही हाराहारीमा भाषाभाषी पनि छौँ । जुनसुकै जात–भाषाको भए पनि हामी नेपालीको एकताको आधार सनातन धर्म नै हो । टोपी लगाउने हुन् या धोती पहिरिने, हामी सबैलाई एउटै सूत्रमा जोड्ने सनातन हिन्दूधर्म नै हो । विविधतामा एकता, अनेकतामा एकताको एउटै मालामा गाँस्ने अस्त्र पनि सनातन धर्म नै हो ।
हिन्दूराष्ट्र भनेको नेपालीको राष्ट्रिय पहिचान मात्र नभएर यतिखेर देशमा देखिएको मतभिन्नतालाई एकतामा बाँध्ने पहिलो अस्त्र पनि हो । यति मात्र नभएर नेपालको अस्तित्वलाई हिमालझँै अटल राख्ने आधारस्तम्भ पनि हो । दुर्भाग्यका साथ भन्नुपर्दा हाम्रो यो पहिचान र एकताको आधारलाई डलरका ठेकेदारहरूले भत्काउने षड्यन्त्र गरिरहेका छन् । यो षड्यन्त्रको भण्डाफोर गर्न अब ओमकार परिवारभित्रका सबै शक्तिले एकपटक सडकमा उत्रिएर मुठ्ठी उठाउनुपर्ने भएको छ । ०६३ साल जेठ ४ गते सारा जनता मस्त निद्रामा रहेको बेला मध्यरातमा विदेशीको दबाब र डलरको प्रभावमा परेर केही स्वार्थी नेताले हिन्दूराष्ट्रको पहिचानलाई समाप्त पारेर तथाकथित धर्मनिरपेक्षता लाद्ने काम गरे । धर्मनिरपेक्षताको आडमा लोभलालच देखाएर मात्र नभई डरत्रास देखाएर लाखौँ गरिब नेपालीलाई धर्म परिवर्तन गराउने काम भइरहेको छ । सदियौँदेखि हाम्रो समाजमा कायम रहेको धार्मिक, सांस्कृतिक, सामाजिक सद्भावलाई खल्बलाउने काम पनि भइरहेको छ । नेपालमा कहिल्यै नभएको धार्मिक द्वन्द्वको विजारोपण गराइदिएको छ । यस्तोमा अब जनताको चाहनाको ख्याल गरिएन भने मुलुकमा रहेका ९० प्रतिशत हिन्दू सडकमा आउनैपर्ने हुन्छ ।
त्यसैले नेतृत्वको यो कुरामा ध्यान गएर नयाँ बन्ने संविधानमा सनातन हिन्दूराष्ट्र नेपाल भनेर उल्लेख हुनुपर्छ । हाम्रा भावी पुस्तालाई सिङ्गो नेपाल भन्ने देश र हाम्रो संस्कृति अनि भेष दिनका लागि पनि केही नेताले भने भन्दैमा संविधानसभामा ल्याप्चे लगाउने काम पनि आमसभासद्ले गर्नुहुँदैन । हिन्दू समाप्त पार्ने तत्र्वको जालमा फसेर ल्याप्चे लगाउने काम यदि सभासद्ले गरे भने इतिहासमा कलङ्क त बन्ने नै छन् हिन्दुत्वको आन्दोलनले तिनलाई पनि बाध्य भएर किनारा लगाइदिनेछ । आफ्नो जन्मभूमि र संस्कार बेचिएको टुलुटुलु हेरेर बस्ने कि सङ्घर्षको मैदानमा जाने, अब रोज्ने बेला भएको छ ।
प्रतिक्रिया