त्यस्तो प्रधानमन्त्री पाउने कहिले ?– वीरेन्द्रमणि पौडेल

त्यस्तो प्रधानमन्त्री पाउने कहिले ?– वीरेन्द्रमणि पौडेल


bicharसंसारका कुनै पनि मान्छे निवेदन लेखेर जन्मिएका होइनन् न त यिनले यो जातमा वा त्यो जातमा जन्मिन पाऊँ भनेका हुन् । यो क्षेत्र वा त्यो क्षेत्र अनि यो देश वा त्यो देशमा जन्मिन पाऊँ भन्ने पनि सवाल रहेन । वैज्ञानिकहरूका अनुसार एकपटकको सम्भोग प्रक्रियामा तीन करोड शुक्रकीट बाहिर निस्किन्छन् । शुक्रकीट भनेको मान्छे बन्ने बीउ हो । त्यही तीन करोड बीउमध्ये एउटा बीउ महिलाको पाठेघरमा पुग्छ, कहिलेकाहीँ दुई वा तीन र त्योभन्दा पनि बढी कुनै तरिकाले अपवादको रूपमा पुग्छ र बच्चा बन्छ । सबैभन्दा पहिले तीन करोडमध्येबाट छानिएर चिट्ठा परेझैं कुनै बच्चा वा बच्ची महिलाको पाठेघरमा अनुकूल समय र वातावरणमा पुग्छन् । बच्चा जन्मिने बडो कठिन प्रक्रिया छ । पाठेघरभित्रै मर्ने, बच्चा समयभन्दा अघि जन्मिने र मर्ने, कठिन अवस्था पार गरेर जन्मिएपछि पनि निमोनिया, झाडापखाला र अन्यअन्य रोग लागेर मर्ने अवस्था रहन्छ । यी सबै अवस्था र प्रक्रिया पार गरेर कुनै बच्चा युवा वा युवतीको रूपमा विकसित हुन्छन् । बूढा वा बूढी हुन पाउने वा नपाउने फेरि विभिन्न अवस्थामा भर पर्छन् । कुल मिलाएर चिट्ठा परेझैँ जन्मिएको कुनै एक बालक वा बालिका अन्यथा भएन भने बूढा वा बूढीको स्वरूपमा देखापर्छन् र एक दिन मर्छन् अर्थात् शरीर छाड्छन् ।
हरेक मान्छे एक दिन मर्छ, मर्नैपर्छ यो सत्य हो, तर त्योसँगैको अर्को सत्य यो पनि हो कि संसारमा मान्छेमात्रै त्यो प्राणी हो जसले सत्यलाई अस्वीकार गर्छ । अस्वीकार स्वरूप मान्छे मर्न चाहँदैन । ऊ आफ्नो शरीर छाड्नै चाहँदैन । मान्छे आफ्नो शरीरको असाध्यै लोभ गर्छ । बेइमान मान्छे आफ्नो शरीरको मात्रै लोभ गर्दैन अर्काको शरीर देखेर पनि लोभिन्छ । लोभले -यालै चुहाउँछ । लोभिएर अर्काको शरीरलाई मुख मिठ्याइमिठ्याइ हेर्छ । मिले सीधै हेर्छ, नमिले छड्के भएर पनि हेर्छ, तर हेर्छ । लोभका कारण हेर्छ । त्यसकारण अर्काको ज्यानको समेत लोभी मान्छे आफ्नो ज्यानको अति लोभका कारण मर्न चाहँदैन, कुनै पनि हालतमा मर्न चाहँदैन । दुई घन्टा मात्रै भए पनि बढी बाँच्ने इच्छामा फसेर मान्छेले गर्न हुने काम गर्छ त्योभन्दा बढी गर्न नहुने काम गर्छ । त्यही अलिकति बढी बाँच्ने लालचमा अनेक–अनेक काम गर्छ, हजारहजार झुट बोल्छ, जे पनि गर्छ तर मर्न चाहँदैन । अपवादलाई छाडेर संसारका कुनै पनि मानिस मर्न चाहँदैनन् । तर, मान्छेको चाहना पूरा हुँदैन । चाहे मान्छे रकेटमा चढेर भागोस्, पानीमुनि अक्सिजन लिएर महिनौँमहिना बसोस्, जमिनमुनि खाडल खनेर अक्सिजनको सिलिन्डर बोकेर बसोस्, संसारको धनी मान्छे बनोस्, वा संसारको बलियो बनोस्, सुन्दर बनोस्, सुन्दरी बनोस्, डाक्टर, इन्जिनियर, पाइलट, पत्रकार, प्रशासक, सांसद, मन्त्री, प्रधानमन्त्री बनोस्, वा राष्ट्रपति बनोस्, हिरोइन बनोस् वा हिरो बनोेस् आखिर जो जे बने पनि एक दिन हरेकको मृत्यु निश्चित छ । मर्नैपर्छ । यो सत्य हो । तर, मान्छे सत्यलाई फेरि पनि स्वीकार्दै स्वीकार्दैन । मान्छे मर्नै चाहँदैन । पागल, अर्धपागल र आत्माहत्या गर्ने अवस्थाका रोगीहरूको कुरा बेग्लै हो । मर्ने कुरा वा मृत्युबारे कुरा गर्नेबित्तिकै मान्छे जातिको सातोपुत्लो उड्छ । तर, के गर्ने सत्य त आँखा चिम्लेर भए पनि स्वीकार गर्नुपर्छ वा आँखा हेरेरै भए पनि स्वीकार्नुपर्छ । मान्छे ढिलोचाँडो नमरी छाड्दैन । यति भईकन मृत्यु दुईप्रकारका हुन्छन् । एक, स्वाभाविक मृत्यु र अर्को अस्वाभाविक मृत्यु । प्रकृति वा परमात्माका हिसाब खातामा सबै खालका मृत्यु स्वाभाविक भए पनि मान्छेको हिसाब खातामा स्वाभाविक र अस्वाभाविक नै मानिएका छन् । कपाल फुलेर सेतै भएपछि, गाला चाउरिएर झोल्लो परेपछि, दाँत झरेर चपाउन नसक्ने भएपछि, एक ठाउँमा टेक्न खोज्दा खुट्टो लरबरिएर अन्तै टेक्न पुगेपछि र घरगृहस्थीका कुनै पनि काम गर्न नसक्ने भएपछि, शरीरका प्रायः सबै अङ्ग शिथिल भएपछि मर्ने प्रक्रियालाई मान्छेको बस्तीमा स्वाभाविक मृत्यु भन्ने गरिएको छ भने बाल्यकाल, युवाकाल, प्राकृतिक प्रकोप, हत्या, आत्महत्या र दुर्घटनामा हुने मृत्युलाई अस्वाभाविक मृत्यु भनिएको छ । स्वाभाविक मृत्युको चर्चा मान्छेको बस्तीमा गरिँदैन । अस्वाभाविक मृत्युको चर्चा गरिन्छ ।
त्यस्तै, यसपटकको दशैँको टीकाकै दिनमा एक सामूहिक अस्वाभाविक मृत्यु भयो । त्यो अस्वाभाविक मृत्युबारे आज यहाँ चर्चा गर्ने प्रयत्न गरिएको छ ता कि त्यस्तो अस्वाभाविक मृत्युको खबर सुनेर भोलिका दिनहरूमा ‘साँच्चैका मान्छेहरू’ले चित्त दुखाउन नपरोस् ।
गएको दशैँको टीकाकै दिन दिउँसोतिर भरतपुर, नारायणगढ हुँदै काठमाडौं जानका लागि तयार भयो एक माइक्रोबस । दुनियाँमा कसैलाई नहुने खालको हतार यही देशका नेपालीलाई हुन्छ । सुत्न हतार, सुतेर बिहान उठ्न हतार, उठेर सरसफाइ गर्न हतार, खान, कपडा लाउन हतार, स्कुल–कलेज जान हतार, गएपछि आउन हतार, अफिस जान हतार, अफिसबाट छुटेपछि जाँडभट्टीमा जान हतार, जाँडभट्टीबाट घर जान हतार, खान र सुत्न हतार अनि फेरि उठ्न हतार । सबका सबलाई हतारैहतार । छोराछोरी जन्माउन हतार, जन्माएपछि हुर्काउन हतार, हुर्काएपछि बिहे गर्न हतार, बिहेपछि गर्भवती बन्न र बनाउन हतार, फेरि उही हतार । पैसा कमाउन हतार, कमाएपछि गुमाउन हतार, गुमाएपछि फेरि कमाउन हतार । जे गर्न पनि हतार । हतारैहतारमा अत्तालिएका केही अभागी नेपाली त्यो टीकाको दिनमा पनि हतारमा थिए । काठमाडांैतिर गएर मान्यजनको हातबाट टीका थापेर आशीर्वाद लिने कामका लागि हतारमा थिए । गाडीवाला साहुलाई केही पैसा कमाउने हतार थियो । ड्राइभरलाई पनि अलिकति पैसा थपथाप पारेर भुराभुरीको मुखमा मीठोमसिनो हालिदिने हतार थियो । हतार गर्ने साहु, ड्राइभर र यात्रुहरूको संयोजनमा भएको हतार थियो त्यो र हतारहतारमै माइक्रोबसको पाङ्ग्रा पनि अघि बढ्न हतारिएको थियो । सबका सब हतारिएको अवस्थाका बीच नारायणगढबाट बत्तिएको माइक्रोबस फिस्लिङ पुगेपछि त्रिशूलीतिर हाम्फाल्यो । स्वाभाविक मृत्युलाई समेत अस्वीकार गर्ने मानव समुदायका निर्दोष करिब २० जनाको समूह अस्वाभाविक मृत्यु नजिक देखेर अत्तालिएर ‘लौ न नि, ए आमा होे, हे राम’ जस्ता शब्दहरू निकाले । शायद त्यस्ता शब्दले खोलामा खस्नै लागेको माइक्रोबस टक्क अडिपो हाल्छ कि भन्ने आशा थियो होला ती हतार गर्ने मान्छेको । तर, माइक्रोबस रोकिएन । थोरै मान्छेलाई ‘मान्छे’ले बचाए । दुईजना घटनास्थलमै मरेको अवस्थामा भेटिए । तेह्रजना मान्छे माइक्रोबससँगै पानीमा बेपत्ता भए । चितवन र देशभरिका मान्छेले दशैँको खुसी मनाइरहेकै बेला त्यो खुसीलाई नरमाइलोमा बदल्दै मनभित्र अनेकथरी कल्पनामा डुबेका नेपाली ज्यानहरू कहिल्यै नफर्किने गरी बिलाए । खबर सुन्ने स्वदेश र विदेशमा बस्ने सबै नेपाली जिउँदाले चित्त दुखाए । मर्ने र बेपत्ता हुनेहरूका परिवारले धेरै चित्त दुखाए । अरूले कम चित्त दुखाए तर सबैले चित्त दुखाए । यस्तो दुःखद् घटना घटेपछि, यतिबिघ्न चित्त दुखेपछि हामी नेपाली मान्छेलाई चेत आउनुपथ्र्यो, तर आएन, आउँदैन, न हिजो न आज न भोलि चेत आउँछ । गएको दशैँको दिन भएको भयानक माइक्रोबस दुर्घटना त एउटा मात्रै घटना हो त्यसपछि पनि देशभित्र अनगिन्ती गाडी दुर्घटना भए । होनहार नागरिक सयौँ होइन, हजारौँको सङ्ख्यामा मरे । पहिले पनि यस्ता सयौँ गाडी नेपालका कच्ची सडकबाट नदीमा खसेका थिए, निर्दोष र यो मुलुकलाई औधी खाँचो पर्ने मान्छे मारिएका थिए, गएको टीकाको दिनमा माइक्रो खस्यो, भोलिका दिनमा पनि खस्ने छन् र नेपाली ज्यानको हालत त्यही हुनेछ जुन माइक्रो बेपत्तामा भयो । नेपाली चाहिने कुरामा हतार गर्दैनन्, नचाहिने कुरामा हतार गर्छन् । परिणाम जहिले पनि नकारात्मक हुन्छ । सडक बनाउन हतार गर्नुपथ्र्यो, बिग्रेको बाटोमा गाडी गुडाउन हतार गर्छन् । नेपाली ड्राइभरले गाडीको ब्रेक, हावा, तेल र इन्जिनको अवस्था चेक गर्न हतार गर्नुपथ्र्यो, तर यिनले त्यो नगरी चाबी घुसारेर स्टार्ट गर्न र एक्सिलेटरमा दबाउन हतार गर्छन् । संसारका सबै मुलुकमा सार्वजनिक सवारीसाधन हाँक्ने ड्राइभरहरूको स्वास्थ्य परीक्षण हुन्छ समयसमयमा, तर नेपालमा कुन ड्राइभर बिरामी छ र कुनचाहिँ स्वस्थ छ कसैलाई थाहा हुँदैन । यो देशमा उच्चरक्तचापका रोगी ड्राइभर, मधुमेहले अचाक्ली गाँजेको ड्राइभर र छारेरोगबाट पीडित ड्राइभरले निष्फिक्री सार्वजनिक गाडी हाँकिरहेका छन् । चासो लिने कोही छैन, चिन्ता मान्ने फुर्सद कसैलाई छैन । यो देशमा सरकार छ पनि भन्छन्, तर जतिसुकै उच्च पावरवाला चस्मा लगाएर हेरे पनि सरकारको उपस्थिति कहीँ–कतै देखिँदैन । बाठाटाठा छु भन्छन् यस देशका नागरिक, तर कुनै राजनीतिक दलका कार्यकर्ता वा कुनै हर्ताकर्ता वा कुनै धनी मान्छेलाई सामान्य चोटपटक लाग्दा चक्काजाम र विज्ञप्ति जारी गर्छन्, तर कतै झन्डै दुई दर्जन मान्छे एकै चिहान भएको अवस्थामा एकै शब्द पनि बोल्दैनन् त कतै ड्राइभरले जानाजान दुर्घटना गराएको अवस्थामा समेत चुपचाप बस्छन् । किन गाडी दुर्घटना भयो पनि छैन, कसरी भयो पनि छैन, को–को माइक्रोबसमा सवार थिए पनि छैन । मर्ने मरे । बेपत्ता हुनेहरूको परिवारको बेहाल भयो । न घटनाको जिम्मेवारी कसैले लिन्छ न कसैले कसैलाई यो देशमा ‘कठै’ भन्छ । भन्नेहरूले गएको त्यो दशैँलाई खुसीसाथ मनाइएको पनि भन्न सक्लान्, तर यथार्थमा त्यो दशैँ असाध्यै खल्लो दशैँ भयो । अब मात्रै कामना गर्न सकिन्छ आउने दिनमा त्यसरी खोलामा गाडी नझरोस् । गाडी दुर्घटना नहोस् । फेरि कामना साकार हुन त फोकटमा हतार गर्ने नेपाली बानीको अन्त्य हुनुपर्छ, ड्राइभरलाई बिना रक्सी सेवन गाडी हाँक्न र गाडीको अवस्था चेक गर्न सिकाउनुपर्छ, बनेको बाटोको संरक्षण गर्न र नबनेको ठाउँमा गतिलो बाटो बनाउन जाँगर चलाउनुपर्छ । सयौँ मानव जीवनको जिम्मेवारी लिएका ड्राइभर शारीरिक रूपले गाडी हाँक्न सक्ने अवस्थामा छन्–छैनन् स्वास्थ्य परीक्षण अनिवार्य हुनुपर्छ । तर, भन्न त भनियो, आशा त गरियो, तर खै यो देशका जिम्मेवार भनिएका र ठानिएकाहरू नै लोभी र पापी छन्, षड्यन्त्र र धोकामा नै आफ्नो भविष्य उज्ज्वल देख्छन्, बानी सुधारेछन् भने खोलामा गाडी खस्ने प्रक्रिया कम होला । होइन भने अवस्थामा परिवर्तन नआउला ।
अहिले सुशील नेतृत्वको सरकार छ भनिएको छ । भोलि केपी ओली आउलान्, ईश्वर पोखरेल, रवीन्द्र अधिकारी, गगन थापा र अरू यतिबेलाका युवाहरू पनि प्रधानमन्त्रीको रूपमा उदाउलान् । गर्न त जनताले सडक दुर्घटनामा परी फोकटमा मर्न नपरोस्को कामना राजा वीरेन्द्रको पालादेखि निरन्तर गरेका हुन् । यही आशाले भरिएका नेपाली निर्दोष आँखाहरू प्रचण्ड र बाबुराम प्रधानमन्त्री हुँदा तिनका अनुहारतिर सोझिएका थिए, काम लागेन । अहिले सबैको आँखा सुशीलमाथि छ । सुशीलले पनि दुर्घटना न्यूनीकरणका लागि माखो मार्न सकेनन् । दुनियाँले भन्छन्– नेपाली भाग्यमानी छन् । हुन सक्छ, होला पनि । अरू कारणले भाग्यमानी नेपाली होलान्, तर राजनेता प्राप्तिका हिसाबले चाहिँ आजसम्म अभागी हुन् सोह्रैआना अभागी हुन् । अभागी जनताको काम आशावादी हुनु हो । हिजो आशा गर्ने जनता मरिसके । अहिले जन्मिएकाहरूले पनि आशै गरिरहेका छन् । फेरि जन्मिनेहरूले पनि आशै गर्ने छन् । जनताको काम आशा गर्नुहुनेछ । तर, जनताको अकालमा मर्न नपरोस्को आशा सिर्फ त्यतिबेला पूरा हुनेछ जतिबेला त्यो विशुद्ध नेपाली नागरिक प्रधानमन्त्री हुनेछ जसले आफूलाई धन चाहिँदैन भन्छ, अनावश्यक भौतिक सुविधा चाहिँदैन भन्छ, देश र जनताहितबाहेक अरू कुनै पनि हालतमा चाहिँदैन भन्छ । तीतो सत्य यही हो– यस्तो प्रधानमन्त्री पाउन कठिन पक्कै छ, तर असम्भव भने छैन ।