७ फेब्रुअरी रोज डे, ८ प्रोपोज डे, ९ चकलेट डे, १० टेड्डी डे, ११ प्रोमिस डे, १२ किस डे, १३ हग डे र १४ फेब्रुअरी भ्यालेन्टाइन डे । संसारभरका खुला मुलुकमा यही तालिकाअनुसार यो साता भ्यालेन्टाइन चलिरहेको छ । मूलतः प्रेम प्रवाहलाई सहज बनाइदिएको छ भ्यालेन्टाइनले । यो पश्चिमा मुलुकबाट प्रचलनमा आएको रसरंग दिवस भएकाले मुस्लिम अतिवादी मुलुकमा भने यसप्रकारको पर्वलाई प्रतिबन्ध लगाइन्छ ।
प्रेमलाई विभिन्न दार्शनिकले अनेक परिभाषा गरे । रजनिशले प्रेमलाई वासनाबाट टाढा राखेका छन् । प्रेममा आशक्त प्रकट हुँदैन, तर आशक्तका लागि प्रेम गरिन्छ भन्ने उनले भनेका छन् । प्रेमका विषयमा फरक–फरक प्रकारका भाव धेरैले व्यक्त गरेका छन् ।
भ्यालेन्टाइनसँग सम्बन्धित प्रेम विशुद्ध युवायुवतीबीच हुने सम्बन्धको हो । बुबाआमा, दिदीबहिनी, दाजुभाइ वा अन्य नातेदारसँग गरिने प्रेमसँग यसको कनेक्सन हुँदैन । त्यसैले, प्राचीन सभ्यतादेखि यो कालसम्म प्रेमका सारलाई केलाउन यो साता सान्दर्भिक देखिन्छ ।
यसलाई पश्चिमा पादरीले उच्च सम्मान व्यक्त गर्ने दिन अर्थात् प्रेमपूर्ण सम्मान गर्ने दिनका रूपमा मनाएका थिए । पछि यो क्रमशः युवायुवतीबीच हुने प्रेमको दिवसमा परिवर्तन हुँदै गयो । र, ‘प्रणय दिवस’का रूपमा फैलियो । तर, जे–जसरी व्याख्या गरिए पनि अहिले विश्वभर विपरीतलिङ्गीबीच हुने सम्बन्धलाई भ्यालेन्टाइन दिवस चित्रण गरिन्छ ।
विवाह एक सम्बन्ध हो । यो प्रेमको रूप होइन । हाम्रो समाजमा केही वर्षअघिसम्म सानैमा विवाह गर्ने चलन थियो । यसको आफ्नै महत्व छ । किशोरावस्था वा यो चरण पार भएपछि यौनिक रूपमा मानिस विपरीतलिङ्गीप्रति आकर्षण देखाउँछ । त्यसलाई परिपूर्ति गर्न त्यतिबेला सानैमा विवाह गरिन्थ्यो । विवाहकै माध्यममार्फत सेक्स सम्बन्ध स्थापित हुन्थ्यो । अति अपवादमा बाहेक प्रेम सम्बन्धमार्फत सेक्स गर्ने प्रचलन निकै कम थियो । तर, आज त्यो क्रमशः परिवर्तन हुँदै गएको छ । सेक्स सम्बन्धलाई जोड्न प्रेमको सुरुवात भएपछि विश्वासका आधार खोजिए । यो आधारलाई सहज बनाउन भ्यालेन्टाइन दिन युवायुवतीका लागि मौका बनेको छ । तर, प्रेम गर्नेलाई ३६५ दिन नै आफैंमा भ्यालेन्टाइन पर्व हुन् ।
प्रेमको कनेक्सन सजीव वा निर्जीव सबै वस्तुसँग हुन्छ । प्रेम हुन नजिक वा टाढामा भर पर्दैन । तर, प्रेम व्यक्त हुनुपर्छ । म तिमीलाई माया गर्छु नभनेसम्म प्रेमको सङ्केत देखिँदैन । व्यक्त प्रेमले सार्थकता दिन्छ । अव्यक्त प्रेम सक्कली रूपमा झल्कँदैन । नझल्केको प्रेम पानीको फोका जसरी विलीन हुन्छ । तर, आजभोलि व्यक्त गर्ने नाममा ढोंगी प्रवृत्ति हावी भएको छ । विवाहका वार्षिकोत्सव, हनिमुन आदिलाई प्रेमको रूपमा चर्चा गरिएको छ । यो साधन मात्र हो । तर, प्रेमको सम्बन्ध साध्यमा भर पर्छ । त्यो भनेको विवाह जो सुकैसँग भए पनि प्रेम कुनैलाई गरिन्छ । विवाह हुँदैमा प्रेम हुन्छ भन्ने हुँदैन । फेरि यो सबैमा एकैप्रकारबाट लागू नहुन सक्छ । तर, जीवनभर एकजनासँग जीवनसाथी बने पनि जीवनभर अर्कोसँग प्रेम सम्बन्ध स्थापित भएका उदाहरण छन् । यो किन भएको भने प्रेमलाई विवाहको रूपमा हाम्रो समाजले बदल्न खोज्यो, तर व्यक्तिको हृदयले त्यसलाई स्वीकार नगरेपछि कृत्रिम सम्बन्धजस्तो विवाह भन्ने कार्य देखिन थालेको हो । यो एकप्रकारको मनोविज्ञान अध्ययन हो । यो रिलेसनको चक्कर हाम्रो समाजमा तीव्रगतिमा बढेको छ । यसका कारण हुन्– उमेर पुगेका युवायुवती सहज रूपमा गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड बनाउँछन् । यसको रोकतोक कतैबाट हुँदैन । सभ्य र सुसंस्कृत समाजमा यसको प्रभाव ज्यादा छ । विपन्न र अशिक्षित समाजमा यो प्रकारको मनोविज्ञान उराठलाग्दो पनि छ ।
कसैकसैले प्रेमको निचोड सेक्स हो भन्छन् । सेक्स सम्बन्ध समदारीमा भर पर्छ । यौनकर्मी व्यक्तिसँग हुने सेक्समा रिलेसन मात्र हुन्छ, तर प्रेमको सङ्केत हुँदैन । प्रेमबिनाको सेक्स नुन नहालेको तरकारीजस्तो खल्लो हुन्छ । नुन नहालेको तरकारी खान मिल्छ, खान सक्छ, तर त्यसमा पाइने सबै प्रकारको स्वाद विलीन महसुस हुन्छ । त्यही नुनको मात्रा ठिक्क हुन पुगेको तरकारीको स्वादमा मिठास हुन्छ । मिठासमा शक्ति हुन्छ । र, यो शक्ति भिटामिनको माध्यम भएर शरीरमा शक्ति प्रदान गर्छ । हो त्यही भएर प्रेममा शक्ति हुन्छ । तर, प्रेमबिनाको सम्बन्ध नाटकीय हुन्छ । यो नाटकको अभिनय मिलेन भने सम्बन्धमा गडबड देखिन सुरु गर्छ । ‘अनि भन्छन् नि, भर्खर विवाह भएको, हेर न कति झगडा गरेका यिनका बूढाबूढी ।’ यो किन भएको भने अनेक अभाव, असन्तुष्टिका कारणले झगडा भएको होइन । प्रेमबिनाको विवाह भएको नतिजा हो । यो अहिलेको नयाँ पुस्ताले क्रमशः बुझ्न थालेको छ । तर, अहिलेका अभिभावकलाई यसको मेसोमेलो केही छैन । त्यसैले, यी अभिभावक आफ्ना छोराछोरी, बुहारीलाई अनेक लाञ्छाना लगाएर गाली गर्न तम्सन्छन् । अधिकांश अभिभावकले प्रेमको अर्थलाई अनर्थको रूपमा व्याख्या गर्छन् ।
पैसाको अभावले झगडा हुन्छ भनिन्छ । सेक्स असन्तुष्टिले पारिवारिक जीवन चौपट भो भन्ने विश्लेषण गरिन्छ । छोरो बिग्रियो विवाह गरिदिएपछि सुध्रिन्छ भन्ने पनि चलन छ । छोरी उत्ताउली भई, छिट्टै विवाह गरिदिए समाधान हुन्छ भन्ने गरिन्छ । योजस्तो अनैतिक र गैरजिम्मेवार तर्क केही होइन । माथिका समस्या भौतिकतासँग जोडिएका छन् । पैसाले भरिपूर्ण भए पनि झगडा अन्य कारणमा रूपान्तर भइहाल्छ । सेक्स सन्तुष्टि भए पनि आत्मसम्मान, सम्पत्ति र प्रतिष्ठाका कारणबाट झगडाले निरन्तता पाउँछ । विवाह गर्दैमा कसैका छोराछोरी सुध्रिएको उदाहरण दुनियाँमा छैन । यसको एक मात्र कारण हो, हाम्रो समाजले प्रेम गर्न अहिलेसम्म सिकेन, पश्चिमा मुलुकले धेरै वर्षअघि सिकेको प्रेमका तौरतरिका बल्ल हामी नक्कल गर्न खोज्दै छौँ । केही व्यक्तिले विदेशबाट भित्रिएको दिवस भनेर भ्यालेन्टाइनलाई उपेक्षा पनि गरेका छन् । तर, राम्रा पक्ष अरूबाट सिक्ने र नराम्रा पक्ष हटाउँदै जाने मानवीय गुण हो । त्यही भएर माक्र्स, लेनिन, माओ, गान्धी, बुद्ध आदिका दर्शन र विचार विश्वभर फैलिएका उदाहरण हामीमाझ छन् ।
प्रेममा असफलता हुनु मुख्य कारण लैङ्गिक भेदभाव मुख्य हो । महिला र पुरुषबीचको स्वतन्त्रतामा बिनाभेदभाव हाम्रो समाज माथि उठ्ने हो भने हाम्रा सम्बन्ध सुमधुर हुँदै जान्थे । डिभोर्स, विछोड र टाढा भएर बस्ने अधिकारलाई समाजले अझै पचाउन सकेको छैन । मानिसका जीवनमा यी सबै प्रक्रिया पनि अधिकार हुन् भन्ने समाजले बुझ्न आवश्यक छ । विछोडमा पनि प्रेम हुन्छ । तर, सँगै बसेर पनि प्रेम नहुन सक्छ भन्ने समाजले बुझ्न आवश्यक छ । त्यसैले, दुईजनाबीचको समझदारी, विश्वास र प्रेम उच्चकोटिको बनाउन समान अधिकार महत्वपूर्ण विषय हो । जसरी पुरुषको स्वतन्त्रतालाई हाम्रो समाजले सहज रूपमा लिने गरेको छ, त्यसरी नै महिलाको स्वतन्त्रतालाई समाजले सजिलै ग्रहण गर्ने हो भने हाम्रा सम्बन्धहरू प्रेममय हुनेछन् । प्रेममय समाज निर्माणका लागि सङ्कुचन विचार, कुसंस्कृति, धार्मिक विकृत, पुरातन जडता र अहंकार पुस्तौनी चलन अन्त्य हुन आवश्यक छ । यही कुरालाई सबैले मनन गर्दै हामी सबै ह्याप्पी भ्यालेन्टाइन भनौँ आजैबाट ।
प्रतिक्रिया