व्यक्ति होइन विषयको कुरा गरौँ

व्यक्ति होइन विषयको कुरा गरौँ


nisedhसानो छँदा गाउँमा वरपर छिमेकका मानिस झगडा गर्दा आमाले झगडा सुनिरहेका हामीलाई तान्दै भन्ने गर्नुहुन्थ्यो, ‘यस्ता कुरा सुन्नुहुन्न बाबु सानो भइन्छ ।’ आ… भन्दै हामी अघि सरी–सरी सुन्ने गथ्र्यौं । झगडाको निहुँ के रहेछ भनेर बुझ्दा, उसले मलाई यसो भन्यो/भनी, त्यसले त्यसो भन्ने हो… जस्ता कुरा हुन्थे । यसले मलाई यसो भनी/भन्यो अरे भनेपछि ठूलै काण्ड हुन्थ्यो, किन भनी/भन्यो या त्यसो भनेर के भयो त ? आफू राम्रो भए त भइहाल्यो नि भन्नेतर्फ खासै कसैले ध्यान दिएको देखिँदैनथ्यो । त्यसको त खुस्केछ कि क्या हो, मलाई यसो भन्ने ? मार्काका कुरा गरेर कहिलेकाहीँ लामै समयसम्म तिनीहरू एक–अर्कासँग बोल्दैनथे । उनीहरू नबोल्दा अन्य छिमेकीले ती दुवैतिर ‘त्यो त खत्तम तिमी नै ठीक’ भन्ने खालका कुरा गरेर खेल्थे । गाईवस्तु, पानी–पँधेरा, दाउरा–घाँस गरेर बस्ने उनीहरूको झगडाले गाउँमा अरू बेला त्यति ठूलो असर नगरे पनि कहिलेकाहीँ गरिने सामूहिक काममा भने निकै घाटा हुन्थ्यो । एउटा आए अर्को नआउने, सबैलाई मनाउँदा मनाउँदै समयले डाँडो काट्ने । अहिले हाम्रा नेताहरूले एक–अर्कालाई लगाएका आरोप–प्रत्यारोप सुन्दा सानो छँदाका ती घटना स्मृतिमा ताजा भएर आउन थालेका छन् । एउटाले तलमाथि केही नसोची फ्याट्ट बोल्ने, अर्कोले ए… त्यसले मलाई यसो भन्ने त्यो पनि त्यस्तो… भन्दै पहिलोले बोलेको भन्दा अलि तल झरेर बोल्ने अनि दुई–चारजना मिलेर होइन त्यसको त शारीरिक मात्र होइन मानसिक अवस्था पनि ठीक छैन जस्तो छ भन्दै वक्तव्य नै निकाल्ने । कसैको शारीरिक अवस्थाको बारेमा कुरा गर्नु भनेको जोसुकैले गरे पनि धेरै तल ओर्लनु हो । सञ्चारमाध्यममार्फत नेताज्यूहरूका प्रतिक्रिया सुन्दा, पढ्दा ‘त्यसको अनुहारै त्यस्तो छ’ भन्दै कसैले गाउँमा कुरा गरेको झल्को आउँछ जसलाई अनुहार यस्तो या त्यस्तो हुनुमा सम्बन्धित मान्छेको कुनै दोष या योगदान केही हुँदैन भन्नेसम्म पनि थाहा छैन । यी मार्काका समाचार आउँदा सबैभन्दा पहिला ला… यी कुराहरू अङ्ग्रेजी पत्रिकामार्फत विदेशीहरूले पनि पढे होला भनेर मन झसङ्ग हुन्छ । नेपाली त जसोतसो अप्ठ्यारो मान्दै यस्तै हो भनेर बसुँला, तर विदेशीहरूले हाम्रो मुलुकको नेतृत्वमा बसेकाहरूलाई कसरी हेर्लान् ? भन्ने चिन्ताले सताउँछ । पँधेरो मार्काका कुरा सुनेर उनीहरूले थप हेप्लान् भनेर मन आत्तिएझैँ हुन्छ ।
भनिन्छ, उत्कृष्ट मानिसले विचार–दर्शनका कुरा गर्छन्, ठिकैका मान्छेले घटनाका कुरा गर्छन् र निम्नस्तरका मानिस व्यक्तिको कुरा गर्छन् । फलानो यस्तो चिलानो उस्तो भनेर कसैले व्यक्तिगत टीका–टिप्पणी गर्न थाल्यो भने असल मान्छेले सुरुमै त्यस्ता मानिससँग दूरी बढाए हुन्छ, किनभने त्यसस्तरका मानिसको सङ्गतले जीवनमा गतिलो कुरा केही दिँदैन । यस्ता मान्छे जताततै हुन्छन्, काममा, पेसामा, नाता–सम्बन्धमा जताततै, पूरै बेवास्ता गर्न पनि सकिँदैन, सँगसँगै हिँड्न पनि सकिँदैन । दर्शनशास्त्रका विद्यार्थीसमेत रहनुभएका देवप्रकाश त्रिपाठीको भनाइमा सामान्य मानिस बितेका कुरा गर्छन्, मध्यम श्रेणीका मानिस वर्तमानका कुरा गर्छन् र उत्तम श्रेणीका मानिस भविष्यका कुरा गर्छन् । दूरगामी भिजन भएकाले भविष्यका योजना बनाउँछन् र त्यसलाई पूरा गर्नतर्फ लाग्छन् । मानिसको श्रेणी विभाजन गर्नु आफैंमा राम्रो कुरा हो–होइन थाहा छैन, तर विभिन्न थरीका मानिस यो पृथ्वीमा भएकाले उनीहरूको सोचसँग तुलना गरेर नै भनिएको हुनुपर्छ– ‘ग्रेट माइन्ड डिस्कस आइडियाज, एभरेज माइन्ड डिस्कस इभेन्ट एन्ड स्मल माइन्ड डिस्कस पिपुल ।’ इलेनर रोजभेल्टको यो भनाइ विश्वव्यापी रूपमा चर्चित छ । उनी अमेरिकी फस्ट लेडीमध्ये अहिलेसम्मकै चर्चित प्रथम महिला मानिन्छिन् । उनको यो भनाइलाई आधार मानेर हेर्ने हो भने अहिले नेपालको राजनीतिमा राजनीतिक व्यक्तित्वहरूले एक–अर्कालाई लगाउने गरेका आरोप कुनस्तरको माइन्डका उपज होलान् ? यी आरोप–प्रत्यारोप सुन्दा मुलुकको भविष्य कसरी अगाडि बढ्ला भनेर मन नरमाइलो हुन्छ । कहिलेकाहीँ त लाग्छ– एकथरीको माइन्डले त त्यस्तो सोच्यो र व्यक्त पनि ग-यो, पुनः अर्कोथरी माइण्ड पहिलाको भन्दा तल किन झरेको होला ?
यो समय देश र जनताको बारेमा सोच्ने र केही गर्ने समय हो, तर यसप्रकारका स्मल माइन्डहरूले सोचेको देशको भविष्य के होला ? भनेर चिन्ता लागे पनि यिनै माइन्डबाट समस्याको समाधान खोज्नुपर्ने बाध्यता भने छ । ग्रेट माइन्डको खाँचो हाम्रो देशमा पटक्कै छैन, तर त्यसप्रकारका मानिस ती शीर्षस्थ स्थानमा पुग्नै पाउँदैनन् या पाएका छैनन् । स–साना कुरामा अल्झेर अहिले जसरी समय बितिरहेको छ त्यो हेर्दा मनभित्र एकप्रकारको नरमाइलो छाउँछ, तर अझै पनि निराश नै हुनुपर्ने अवस्था भने आइसकेको छैन । व्यक्तिको होइन विषयको चर्चा गर्ने बेला हो यो । विचारहरूमा खेल्ने, विषयहरूमा बहस र छलफल गर्ने समय हो । व्यक्तिका सानातिना कुरा गरेर समय बिताउनलाई नेता भइरहनुपर्दैन, न त मुलुकको बारेमा सोच्न नै आवश्यक छ । त्यस्ता कुरा गर्नका लागि त नेपाली जताततै प्रसस्त छन् । स्वदेशमा मात्र नभएर विदेशमा समेत फलानो त यस्तो रे नि, त्यसको त यस्तो भएको रे, खत्तमै छ या कामै नलाग्ने भन्दै अनेक कुरा गरेको सुनिन्छ । विदेशी भूमिमा समेत कतिपय नेपाली महिला–पुरुषले नेपालीकै विषयमा गरेका कुरा सुनेर हरे बिचरा यिनका प्रवृत्तिहरू पनि आफूसँगसँगै प्लेन चढेर यहाँसम्म आएछन् जस्तो यो पङ्क्तिकारलाई धेरैपटक लागेको छ । स–साना गुट–उपगुट र तिनले चर्चा गर्ने कुराहरू सुन्दा कहिलेकाहीँ त अचम्मै लाग्छ । त्यसैले यसप्रकारका कुरा गर्ने जिम्मा अब नेताहरूले अरूलाई नै दिएर आफूहरू विचार र विषयतर्फ लाग्नु आवश्यक छ । मेरी आमाजस्तै अन्य धेरै आमालाई ग्रेट माइन्ड र स्मल माइन्डबारे थाहा छैन, तर उहाँहरूको भनाइ प्रायः सानातिना कुरामा नअल्झ भन्ने नै हुन्छ । आजभन्दा तीन दशकअघि आमाले सानो भइन्छ भन्दा के भनेको होला जस्तो लाग्थ्यो, तर अहिले नेतृत्वले बोल्ने गरेका शब्द र कुराकानी सुन्दा आफूलाई साँच्चिकै होचिएको महसुस हुने गर्छ । यो अहिले धेरै सचेत नेपाली नागरिकले भोगिरहेको कुरा र गरिरहेको अनुभव हो ।