पहिचान खोज्नेहरूको नेपाल कहाँ छ ?

पहिचान खोज्नेहरूको नेपाल कहाँ छ ?


special-articleविगत ६ वर्षअघि आक्रामक तवरमा प्रकट भएको पहिचानको मुद्दा अझै मत्थर भएको छैन, लय मिलाएर या नमिलाईकन गाउन सुरु गरिएको गीतको रचयिता र सङ्गीतकारको हुलिया रहस्यको गर्भमै भए पनि गायकहरू गाउँ–शहरका गल्लीगल्लीमा बगे्रल्ती भेटिन्छन् । देशको राष्ट्रिय पहिचान नै ओझेलमा पर्ने गरी सुरु गरिएको पहिचानको मुद्दाप्रति जनस्तरले चासो देखाउन छोडेको भए पनि राजनीतिक तहमा यसले अझै जबर्जस्त उपस्थिति जनाइरहेको छ । ‘हाम्रो नेपाल र हामी सबै नेपाली’ भन्ने शताब्दी लामो अभ्यासलाई चुनौती दिँदै सुरु गरिएको पहिचाने मुद्दाले देशको आन्तरिक एकता र सामाजिक सद्भावलाई रुग्ण तुल्याउँदै लगेको महसुस आमनेपाली जनताले गरिरहेका छन्, तथापि राजनीतिकर्मीहरूले सतीको मृत शरीरलाई महादेवले बोकेर यत्रतत्र दौडिएझैँ पहिचाने मुद्दा लिएर आफ्नो भविष्य सुरक्षित बनाउने खेतीपाती गरिरहेका छन् । त्यसैले यहाँ पहिचानकै विषयमा सङ्क्षिप्त विवेचना गर्ने प्रयास गरिएको छ ।
हाम्रो सबैभन्दा फराकिलो पहिचान ‘प्राणी’को हो । प्राणीबाट एक तह तल ओर्लिंदा हामी मानव हौँ, मानवको पहिचानबाट अझ सङ्कुचित हुँदा हामी एसियाली हौँ र त्यसबाट पनि अझै साँघुरो बनाउँदा हामी विभिन्न देशवासी हौँ, नेपालमा बसोबास गर्नेहरू नेपाली हौँ । विश्वले जानेको हाम्रो परिचय ‘नेपाली’ हो, तर हामी त्यसभन्दा पनि सङ्कीर्ण घेरा बनाउँदै राई, लिम्बू, गुरुङ, मगर, ब्राह्मण, क्षेत्री, नेवार, तामाङ, मधेसी आदिका रूपमा आफ्नो पहिचान बन्नुपर्ने माग तेस्र्याउँदै छौँ र आफैँभित्र आन्दोलित हुँदै छौँ । नेपालभित्र हामी सबै एक–अर्कासित परिचित छौँ, हामी सबैलाई एक–अर्काको गुण–दोषबारे जानकारी छ, एक–अर्काप्रति सद्भाव, सम्मान र प्रेम पनि छ । भारतभित्र सयौँ जातीय समूह भए पनि हरेकलाई विश्वले केवल एक भारतीयका रूपमा चिनेझैँ नेपालको सवा सय जातीय समूहका हामी सबैलाई विश्वले चिन्ने एउटै पासपोर्टबाट हो, नेपालीबाहेक अर्को कुनै विशिष्ट पहिचानमा विश्वले हामीलाई बुझ्ने छैन । यसरी हामी विश्व समुदायका कसैले पनि चिन्न नसक्ने पहिचान कायम गर्नका लागि एक–अर्काको रगत बगाउने नहर खन्दै छौँ ।
कुनै पनि व्यक्ति आफैँले रोजेर कुनै जातिविशेषमा पैदा भएको हुँदैन, यसर्थ कुनै जातिको मानिस हुनुमा हुनेहरूको आफ्नो योगदान शून्यबराबर हुन्छ । बिनाइच्छा र बिनायोगदान बनेको पहिचानप्रति गौरवान्वित हुँदै राष्ट्रिय पहिचान नै मेटिने गरी हामी जसरी आन्दोलित हुँदै छौँ समयमै संयम अपनाउन या यसको व्यवस्थापन गर्न सकेनौँ भने युगोस्लाभहरूको पहिचान लोप भएझैँ नेपालीको रूपमा हाम्रो परिचय मेटिन अब लामो प्रतीक्षा गरिरहनु नपर्ने हुनसक्छ । बुरुण्डी, रुवाण्डा र नाइजेरियाजस्ता मुलुकले व्यहोर्नुपरेको नियति नेपालीले पनि भोग्नुपर्नेछ । अफ्रिकी राष्ट्र घानाको आफ्नै मौलिक भाषा थियो, त्यहाँ जातीय विद्वेष पैदा भएपछि उत्पन्न द्वन्द्वका कारण घानाले मौलिक भाषाका आधारमा विश्वलाई आफ्नो परिचय दिने मौका गुमायो । घानाका सबै (करिब एक सय) जातीय समुदायले बुझ्ने र बोल्ने भाषा हुँदाहुँदै त्यहाँ एकले अर्कोलाई अस्वीकार गर्ने परिस्थिति उत्पन्न भयो, जसका कारण सरकारी कामकाजको आफ्नो भाषा छोडेर ऊ बाह्य (अङ्गे्रजी) भाषा अपनाउन बाध्य भएको छ । आ–आफ्ना पहिचान खोज्ने अन्ध प्रतिस्पर्धामा आफ्नै मौलिक पहिचान जसरी घानाले गुमायो हामी पनि त्यस्तै अवाञ्छित परिस्थिति निम्त्याउन उत्ताउलिएका छौँ ।
दक्षिण अफ्रिकाको संविधानले नै एक नै जातिभेद र रंगभेद गरेको थियो । गोराहरूलाई विशेष अधिकार दिने र कालाहरूलाई उपेक्षा गर्ने काम संविधानले नै गरेका कारण त्यस मुलुकमा जातीय मुक्ति या अधिकार एउटा महत्वपूर्ण मुद्दा बन्नु स्वाभाविक थियो । तर, नेपालमा वि.संं २००७ सालयता बनेका कुनै पनि संविधानले जातिभेद या क्षेत्रभेदलाई निषेध गरेको थियो । नेपालमा जातीय रूपमै उपेक्षित समुदाय कुनै थियो भने त्यो हाल दलितका रूपमा बुझिनेहरू हुन् । तर, त्यो पनि संवैधानिक कानुनी या राजनीतिक नभई सामाजिक समस्याका रूपमा मात्र थियो र शिक्षा एवम् चेतनशील जागरणका माध्यमबाट त्यसप्रकारका विभेद उन्मूलनको प्रयास हुँदै आएको छ । बितेका पचास वर्षभित्रै जातीय विभेदको सामाजिक प्रचलनलाई निरुत्साहित गर्ने अभियानले ठूलै सफलता हासिल गरेको पनि छ । दलितपछि अलिक उपेक्षित समुदायको रूपमा राउटे र चेपाङलाई लिन सकिन्छ । यी समुदायलाई पनि संविधान या कानूनले उपेक्षा गरेको नभई अन्य कारणहरू त्यस निम्ति जिम्मेवार रहेको देखिन्छ । नेपालका प्रमुख समुदायहरू नेवार, राई, लिम्बू, गुरुङ, तामाङ, क्षेत्री र ब्राह्मणका आ–आफ्नै विशेषताहरू छन् र विशेषताअनुसार तिनले आ–आफ्ना बेग्लै विशिष्टता कायम गरेका पनि छन् । व्यापारमा नेवार, सेना–प्रहरीमा क्षेत्री, मगर र गुरुङ, विदेशी सेनामा लिम्बू, राई र गुरुङ, प्राविधिक र न्याय सेवामा मेधसवासी, शिक्षा र निजामती सेवामा ब्राह्मण तथा सेवाका अन्य क्षेत्रमा तामाङहरूको सहभागिता रहनुको पृष्ठभूमि खोतल्दा त्यसका अनेक कारण फेला पर्न सक्छन् । जोसुकैले जुनसुकै क्षेत्रमा प्रवेश पाउन वैधानिक या कानुनी व्यवस्था भए पनि शिक्षाको अवसरबाट वञ्चित हुनुपरेको या शिक्षाभन्दा अन्य पक्षलाई प्राथमिकता दिने गरेको कारणले ‘ह्वाइट कलर जब’ को क्षेत्रमा निश्चित जातीय समुदायका मानिसको बाहुल्य रहनु स्वाभाविक हो । पछिल्ला केही दशकमा शिक्षा आर्जनप्रतिको चासो र जागरण जुन गतिमा वृद्धि भएको छ, यसले ‘ह्वाइट कलर जब’मा देखिएको सहभागीय अन्तरलाई न्यून गराउने विश्वास बढाएको छ । पछाडि परेको समुदायलाई अगाडि ल्याउन शिक्षा र आयआर्जनका विशिष्ट क्षेत्रमा केही कालका निम्ति विशेष अवसर उपलब्ध गराउनुपर्ने माग या अवधारणा सर्वथा जायज छ । तर, समस्यालाई राजनीतीकरण गर्दै कृत्रिम ढङ्गले पहिचानको नाममा जातीय एवम् क्षेत्रीय सद्भाव खलबल्याउने जुन काम भइरहेको छ यसलाई कुनै पनि अर्थमा जायज मान्न सकिँदैन । देशमा विद्यमान शान्ति र सद्भावलाई बिथोल्दै अन्ततः मुलुकको अस्तित्वलाई नै सङ्कटग्रस्त पार्नेबाहेक कुनै सकारात्मक उद्देश्य जातिवादका अभियन्ताहरूको देखिँदैन ।
नेपालभित्र जातीय या क्षेत्रीय पहिचानका निम्ति बुर्कुसी मार्नेहरूको स्वप्रेम कति छ भन्ने मापन तिनले आफ्ना सन्तानलाई विदेशको शिक्षा र विदेशी नागरिकताका लागि दर्शाएको मोहबाट पनि गर्न सकिन्छ । आफ्ना सन्तानले अमेरिका, हङकङ, युरोप र अस्टे«लियाको ग्रिनकार्ड या पीआर पाउँदा तारे होटलमा भोज खुवाउनेहरू निर्लज्ज ढङ्गले पहिचानको कुरा गर्दै छन् । विदेशी सेनामा जागिरे बन्न आफ्ना छोराहरूलाई उत्पे्ररित गर्नेहरू, ब्रिटेन, बु्रनाई र हङकङको ‘पीआर’ पाउन मरिहत्ते गर्नेहरू, मानिसको कुनै जाति हुँदैन भन्दै साम्यवाद नामक काल्पनिक व्यवस्थालाई गन्तव्य बनाएर राजनीतिमा क्रियाशील रहेकाहरू र दोहोरो नागरिकता लिनेहरूले नेपालभित्र पहिचानको नाममा रडाको मच्चाएको देख्दा लाग्छ– पाखण्डको नयाँ उन्माद यहाँ व्याप्त भएको छ । अमेरिकाको ‘नागरिकता लिएर अमेरिकी बन्न पाउँदा गौरव महसुस गर्ने अनेक आकार–प्रकारका सीके राउतहरूलाई नेपाल आएपछि पहिचान चाहिएको छ । अमेरिकी भनाउन पाउँदा गौरवान्वित हुने सीकेहरू नेपालीका रूपमा चिनिन लज्जाबोध गर्छन् र बेग्लै भूमिको अधिपति बन्ने सपना देख्छन् । त्यसले एउटा मार्मिक प्रश्न यहाँ उठेको छ– यी पहिचानको खेती गर्नेहरूको नेपालचाहिँ कहाँ छ ?
कुनै पनि देशको अस्तित्व देशवासीहरूको एकतामा अडिएको हुन्छ । विभाजित मानसिकता कुनै पनि मुलुकको अस्तित्व समाप्तिको पहिलो कारण हो । ख्यातिप्राप्त भूगर्भशास्त्री टोनी हेगनले करिब ६ दशकअघि तथ्याङ्क विभागको कार्य प्रणालीबारे अवलोकन गरेपछि उनले आफ्नो पुस्तकमा धर्म र जातका आधारमा नेपाली जनतालाई छुट्याएर तथ्याङ्क राख्नु नेपालको भविष्यको निम्ति चिन्ताजनक भएको उल्लेख गरेका छन् । पश्चिमा शैलीको यस्तो पद्धतिले नेपालको आन्तरिक एकतालाई कालान्तरमा चुनौती दिने चिन्ता हेगनले नेपालको परिचयसम्बन्धी पुस्तकमा जाहेर गरेका छन् । तथ्याङ्क विभागले तथ्याङ्क मात्र दर्शाउनुलाई पनि टोनीले देशको एकताका निम्ति खतरा ठानेका थिए । तर, नेपाली नागरिकताधारी राजनीतिकर्मीहरू खुलेआम जात या क्षेत्रका कुरा गर्दै छन् । वास्तवमा जात र सेक्स गुप्त रहँदा नै मर्यादित हुनसक्छ । एउटा परिवारमा बाजे–बज्यै, बाबु–आमा, काका–काकी, भाइ–बुहारी सँगसँगै बसिरहेका हुन्छन् । उनीहरूबीच कस्तो सम्बन्ध छ भन्ने विषयमा हरेकलाई जानकारी हुन्छ । तर, सबैले सबैलाई दिने सम्मान र प्रेममा कुनै कमी हुँदैन । यदि परिवारभित्र सेक्सका विषयलाई लिएर बहस या टीका–टिप्पणी हुन थाल्यो भने त्यस्तो परिवारको अवस्था के होला ? जाति या क्षेत्रका कुरा पनि यस्तै हुन् । कुनै जाति या क्षेत्रविशेषका प्रतिनिधि पात्रले राज्य संयन्त्रको कुनै पनि महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्दा आफ्नो योग्यताका कारणले नभई जात या क्षेत्रविशेषको भएकोले ‘त्यस्तो अवसर आएको’ ठान्छन् भने त्यस्ता व्यक्तिमा कुन स्तरको आत्मविश्वास हुनसक्ला ? अनि तिनले सिङ्गै देशवासीको हितमा आफूलाई कसरी केन्द्रित गर्न सक्लान् ? वि.सं. २००७ सालको परिवर्तनयताका हरेक सरकारले जातीय र क्षेत्रीय प्रतिनिधित्वको अभ्यास नगरेका होइनन् । तर, त्यसरी प्रतिनिधित्व गर्ने स्वयम्ले पनि आफूलाई जाति या क्षेत्रविशेषको व्यक्ति भएकोले महत्व दिएको महसुस गर्दैनथे । प्रकट नगरीकन जातीय र क्षेत्रीय सन्तुलन मिलाउने प्रयास गरिन्थ्यो २०६३ सालअघिको राजनीतिमा पनि । तर, अहिले त कुनै जवान छोराछोरीले आफ्नो शारीरिक आवश्यकता परिपूर्तिको माग परिवारका सदस्यहरूबीच निर्लज्ज ढङ्गले प्रस्तुत गरेकै शैलीमा जातीय र क्षेत्रीय भावना प्रकट गरिँदै छ ।
संयुक्त राज्य अमेरिका र चाइनामा अहिलेसम्म देशको कार्यकारी प्रमुखमा महिला चयन हुन सकेका छैनन् । पुरुष मात्र कार्यकारी प्रमुख रहँदै आएका भए पनि ती मुलुकमा महिलाको हितरक्षार्थ पर्याप्त काम भएका छन् । नेपालको प्रशासन, शासन र कुनै पनि निकायको निर्णायक तहमा राउटे, चेपाङ र थामीलगायत कैयन जातीय समुदायबाट प्रतिनिधित्व हुन सकेको छैन । यसको मतलब ती जातीय समुदायको हितका निम्ति राज्यले केही गर्दै गरेको छैन भन्न मिल्छ र ? संयुक्त राज्य अमेरिकामा ओबामा प्रथम काला राष्ट्रपति हुन्, तर त्यहाँ वर्णभेदको अन्त्य धेरै पहिले गोरा राष्ट्रपतिले नै गरेका होइनन् र ? योग्य, क्षमतावान, इमानदार, दूरदर्शी र देशभक्त नेतृत्व या निर्णयकर्ता भए भने देशका सबैले न्याय र समानताको अवसर प्राप्त गर्न सक्छन् । कालाहरूको आफ्नै ‘नेता’ भए पनि इदी अमिनले युगाण्डाका जनतालाई सताएको शैलीमा विश्वका धेरै शासकले आफ्नै समुदायका मानिसलाई सास्ती दिएका अनेका दृष्टान्त छन् । नेपालमा जातीय या क्षेत्रीय आधारमा राज्यहरूको निर्माण्ँ गर्नेबित्तिकै सम्बन्धित जाति या क्षेत्रविशेषका जनता समस्यामुक्त हुने ठान्न सकिँदैन । समस्या गरिबीको छ, शिक्षा र स्वास्थ्यको छ, तर यहाँ जातीय र क्षेत्रीय पहिचानको मुद्दा उठाएर ‘गलगाँडमाथि पिलो थप्ने’ प्रयत्न हुँदै छ । हरेक नेपालीले हरेकलाई आफ्नो ठान्ने र हिमालदेखि तराई तथा मेचीदेखि महाकालीसम्मको माटोप्रतिको स्वामित्व हरेक नेपालीमा जगाउनेतिर नलागी पहिचानको खोक्रो आवरणमा अलमल्याउने जुन षड्यन्त्र देशी/विदेशीहरूबाट भइरहेको छ, यसप्रति सजग नरहने हो भने आफ्नो जातीय र क्षेत्रीय पहिचानको राग अलाप्नेहरूले भोलि आफ्नै देशको पहिचानसमेत नामेट तुल्याउनेछन् । देशको पहिचान मेटिनुमा नै आफ्नो महान् हित देखिएको हो भने आउनुहोस् हामी सबै मिलेर ‘देश मेटौँ’ र जो जहाँ पुगेर पनि आ–आफ्नो पहिचान जोगिएको ठान्दै आत्मरति लिउँm । विनाशकाले विपरीत बुद्धि शायद यसैलाई भनिन्छ ।