खेलकुद लेख
लामो समयको अन्तरालपछि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को घैँटोमा घाम लागेको छ । राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद मन्त्रालयको निर्देशनमा नेपालको राष्ट्रिय खेल के हो ? त्यसबारे बहस छेडेको छ । राष्ट्रिय खेलकुद सङ्घका पदाधिकारी र खेलविज्ञको जमघट गराएर राखेपले राष्ट्रिय खेलबारे अन्तरक्रिया तथा राय सुझाव सङ्कलन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपालको राष्ट्रिय खेल, पौराणिक खेल र मौलिक खेलको निर्धारणबारे छलफल गरिएको थियो । पौराणिक खेल र मौलिक खेलको आ–आफ्नै संस्कृति र विशेषता रहेको हुँदा यिनै खेलबाट राष्ट्रिय खेलकोे छनोट गरिनुपर्नेमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले जोड दिएका थिए । लामाले राष्ट्रिय खेलको विशेषताबारे चर्चा गर्दै राष्ट्रिय खेल मुलुकको संस्कृति झल्कने, परम्परागत, लोकप्रिय खेल र व्यापक जनसहभागिता भएको खेल हुनुपर्ने विचार व्यक्त गरेका थिए । त्यस्तै लामाले पौराणिक र मौलिक खेलको इतिहासबारे प्रकाश पार्दै यी दुवै खेल अहिले पनि एक–आपसका परिपूरक भएको प्रस्ट पारेका थिए । लामाले यहीँबाट खेलकुद विकासको थालनी भएको प्रस्ट पार्दै पौराणिक खेल र मौलिक खेलको प्रभाव वर्तमान अवस्थामा समेत रहेको बताए ।
त्यसबेला मल्लयुद्ध, कुस्ती, धनुषवाँण, बाघचाल र घोडा दौडाउने खेल निकै लोकप्रिय रहेको र वर्तमान अवस्थामा पनि यी खेलहरू अस्तित्वमा रहेका छन् । माथि उल्लिखित खेलहरूले आधुनिक खेलजगत्मा समेत आफ्नो प्रभावशालीलाई पुष्टि गरिसकेको अवस्थामा ती खेलभन्दा पनि मौलिक खेललाई राष्ट्रिय खेलको रूपमा छनोट गरिनुपर्ने देखिन्छ । आफ्नो देशको राष्ट्रिय खेल अन्तर्राष्ट्रियस्तरमा अपरिचित खेल भए पनि फरक पर्दैन । यसर्थमा कि त्यो उक्त देशको राष्ट्रिय खेल हो । राष्ट्रिय खेल आफँैमा नितान्त मौलिक हुनुपर्छ । जुन खेल त्यस देशमा जन्मिएका नागरिकहरूले जानी–नजानी रूपमा खेलेको हुनुपर्छ । जुन खेलको नाम लिँदा त्यो नागरिकले मैले पनि यो खेलेको थिएँ भन्न सकोस् । म पनि यो खेल अहिले पनि खेल्न जान्न सक्छु भनोस् । अर्को कुरा त्यो खेलको नाम सुन्दा त्यो व्यक्तिलाई आफ्नो बाल्यकाल, युवा अवस्था र बुढ्यौली सबै याद आओस् । गोठालो जाँदा खेलेको डन्डिबियो होस् या कबड्डी आमनेपाली यी खेलबाट निकै परिचित छन् । आमनेपालीको मानसपटलमा यी खेलको छवि अमर भइसकेको अवस्था छ । उनीहरूले यी खेल एकपटक नभएर पटक–पटक रमाइलो र प्रतिस्पर्धाको रूपमा खेलिसकेका छन् । साँचो अर्थमा भन्नुपर्दा डन्डिबियो र कबड्डी नेपालको मौलिक खेलको रूपमा विकास भएका छन् । जसको प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध आमनेपालीसँग गाँसिएको छ ।
त्यस्तै गाउँघरदेखि सहरका पेटीमा खेलिने बाघचालकोे साइनो पनि आमनेपालीमाझ कम छैन । बच्चादेखि बुढापाकाले खेल्न सक्ने बाघचाल खेल जति सरल छ यसको पौराणिक इतिहास पनि त्यत्तिकै गर्विलो छ । बाघचाल खेलको वर्णन विभिन्न कथा–पुराणहरूमा गरिए पनि त्यसको विकासक्रमको चर्चा गर्ने हो भने त्यो सीमित ठाउँमा मात्रै सीमित भएको पाइएको छ । भारतवर्षमा बाघचालको विकास भए पनि त्यसले फड्को मार्न नसक्नुमा विभिन्न कारण हुनसक्छन् । तर, बाघचाल कालान्तरमा गएर गोठालोहरूकै बीचमा मात्र किन सीमित भयो त्यसबारे भने निकै रोचक प्रसङ्ग छ । गोठालाहरूले बाघबाट आफ्ना वस्तुभाउहरू बचाउन यो खेल खेल्ने गरेको कथाहरूमा सुन्न सकिन्छ । यसरी बाघबाट आफ्ना वस्तुभाउहरू बचाउन गोठालाहरूले माटोमा ढुङ्गाले कोरेर बाघ–बाख्रा बनाएर खेल्न थालेपछि बाघचाल खेलको जन्म भएको देखिन्छ । पहिले बाघचाल भारतवर्षमा खेलिने भनिए पनि अहिले यो खेल नेपालमा मात्रै सीमित भएको छ । वर्तमान अवस्थामा बाघचालको अस्तित्व जोगाउने काम गोठाला, बुढापाका र त्यही गाउँवाट सहरमा मजदुरी गर्न आएका बटुवाहरूले गरेका छन् । उनीहरूलाई अहिले पनि राजधानीलगायत मुलुकका विभिन्न सहरमा बढो आनन्दका साथ बाजी थापेर यो खेल खेलेको हामी देख्न सक्छाँै । यही कुरा आत्मसात् गर्दै बाघचाल खेलको संरक्षण गर्न राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव शरदचन्द्र शाहले बाघचालको राष्ट्रिय सङ्घ बनाएर यसको विकास र विस्तारमा लागेको इतिहास पल्टाउँदा प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । शाहले ०३८–४० सालदेखि नै बाघचाल खेलको राष्ट्रिय प्रतियोगिता गराएका थिए । उनको बहिर्गमनसँगै यो खेल पनि ओझेलमा परेको थियो । जसको उठान अहिलेसम्म भएको छैन ।
नेपालको राष्ट्रिय खेलबारे बहस छेडिएको अवस्थामा नेपालको मौलिक खेलको रूपमा डन्डिबियो, कबड्डी र बाघचाल प्रमुख रूपमा देखिएका छन् । सबैले खेलेको, सबैले जानेको र बुझेको खेलमा यी पर्दछन् । जसको लागि कुनै राष्ट्रिय खेलाडी हुन आवश्यक पर्दैन । यी खेल खेल्ने सबै राष्ट्रिय खेलाडीमा पर्छन् । तसर्थ सबै राष्ट्रिय खेलाडी भएको खेललाई राष्ट्रिय खेल घोषणा गर्दा उपयुक्त हुन्छ । अहिले राष्ट्रिय खेलको निक्र्योल गर्न युवा तथा खेलकुद मन्त्रालयले सहसचिव चूडामणि गौतमको संयोजकत्वमा समिति गठन गरेको छ । सोही समितिले अन्तरक्रिया र सुझाव सङ्कलनबाट आएका राय तथा सुझावलाई सङ्कलन गरी प्रतिवेदन तयार गर्नेछ । संयोजक पौडेलका अनुसार यो समितिले राष्ट्रिय खेलको टुङ्गो लगाउने नभई राय–सुझाव सङ्कलन सम्बन्धित निकायमा बुझाउनेछन् । साथै पौडेलले अब निर्धारण हुने राष्ट्रिय खेल विवादरहित र दीर्घकालीन हुनेसमेत प्रस्ट पारेका छन् । तर, समितिले कहिले प्रतिवेदन तयार पारेर सम्बन्धित निकायमा बुझाउँछ र सम्बन्धित निकायले राष्ट्रिय खेलको निर्धारण गर्छ त्योचाहिँ प्रतीक्षाकै विषय बनेको छ ।
राष्ट्रिय खेलको निर्धारणबारे चर्चा चलेपछि अहिले विभिन्न राष्ट्रिय सङ्घका पदाधिकारीले आफ्नो मातहतको खेललाई राष्ट्रिय खेल घोषणा गर्नुपर्ने माग गरेका छन् । यसमा सबैभन्दा अग्रपङ्क्तिमा नेपाल भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङ देखिएका छन् । तामाङले भलिबल खेल नेपालको सर्वाधिक लोकप्रिय र पचहत्तरै जिल्लामा खेलिने भएकाले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुपर्ने बताएका छन् । तर, नेपालको सन्दर्भमा अन्य खेलको चर्चा गर्दा फुटबल र मार्सल आर्टस् सबैभन्दा लोकप्रिय खेलमा पर्दछन् । फुटबल र मार्सल आर्टस् पनि मुलुकका कुनाकुनामा खेलिने भएकाले यी खेलहरूको लोकप्रियता भलिबलको भन्दा कम छैन । यसरी लोकप्रिय खेललाई सहभागिताको आधारमा राष्ट्रिय खेलको रूपमा निर्धारण गर्न सकिने अवस्थामा छैन । यी आयातीत खेलहरूलाई राष्ट्रिय खेल बनाउन सकिने ठोस आधार पनि छैन । आयातीत खेल अन्य देशमा पनि खेलिने भएको र ती देशहरूको राष्ट्रिय खेल पनि हुनसक्ने भएकाले आयातीत खेल कदापि नेपालको राष्ट्रिय खेल बन्न सक्दैनन् । तसर्थ लोकप्रिय खेलभन्दा मौलिक खेलको चुनाव गरेर नेपालको संस्कृति झल्किने खेललाई नै राष्ट्रिय खेल बनाउनुपर्ने देखिन्छ । भलिबल, फुटबल र मार्सल आर्टस्का सबै खेल आयातीत खेल हुन् भने डन्डिबियो, कबड्डी र बाघचाल मौलिक खेल हुन् । आयातीत खेल र मौलिक खेलको अन्तरमा त्यस देशको संस्कृति र पहिचानमा ठूलो खाडल देखिएकाले राष्ट्रिय खेलको निर्धारण गर्दा नेपालको माटोको सुगन्ध आउने मौलिक खेलको चुनाव गर्नु नै बुद्धिमानी ठहरिनेछ ।
अहिले पनि विश्वका असीदेखि नब्बे राष्ट्रमा मात्र आफ्नो राष्ट्रिय खेल रहेको छ भने अन्य राष्ट्रले राष्ट्रिय खेल घोषणा गरेको अवस्था छैन । त्यसमा कति देशमा त विभिन्न कारणले गर्दा एउटै देशमा पनि चार–पाँचवटा राष्ट्रिय खेल छन् । जुन आफ्नो संस्कृति झल्किने, परम्परागत र लोकप्रिय खेल छन् । जसले अन्तर्राष्ट्रियस्तरमा कुनै अर्थ राख्दैन र राख्नुपर्ने जरुरी पनि ठानिँदैन । तसर्थ राष्ट्रिय खेल त्यो देशको असली पहिचान भए पुग्छ । त्यस्तो खेलमा अहिले डन्डिबियो, कबड्डी र बाघचाल प्रमुख रूपमा पर्छन् । यिनै तीन खेलबाट एउटा खेलको छनोट गरेर राष्ट्रिय खेल निर्धारण गर्दा फरक पर्लाजस्तो लाग्दैन । नेपालको सन्दर्भमा राष्ट्रिय खेलबारे अहिलेसम्म यकिन गर्न सकिएको छैन । नेपालको इतिहास र सामान्य ज्ञानमा डन्डिबियो र कबड्डीलाई राष्ट्रिय खेलको संज्ञा दिएर भ्रम फैलाउने कार्य मात्र गरिएको छ । वास्तवमा नेपालको राष्ट्रिय खेल के हो ? त्यसबारे अहिलेसम्म आमजनतामा अन्योल नै कायम छ । इतिहास र सामान्य ज्ञान पल्टाउँदा कहीँ डन्डिबियो त कहीँ कबड्डीलाई राष्ट्रिय खेल भनिएको छ भने कहीँकतै बाघचाललाई घुसाउन खोजिएको छ । पछिल्लो समयमा यी दुबै खेल डन्डिबियो र कबड्डीलाई नै संयुक्त रूपमा राष्ट्रिय खेल भनिएको अवस्था छ । नेपालको राष्ट्रिय खेल के हो भन्नेबारेमा विभिन्न समयमा सञ्चारकर्मीहरूले आवाज नउठाएका पक्कै होइनन् । तर, सरकारको गैरजिम्मेवारीले गर्दा जहिले पनि यो मुद्दा ओझेलमा परेको थियो । राष्ट्रिय खेलको मुद्दा गम्भीर भए पनि सरकारले यसप्रति गरेको अनदेखी र अनसुनीका कारणले अहिलेसम्म यसको टुङ्गो लाग्न नसकेको मात्र हो । यतिबेला खेलकुद मन्त्रालयको चेत खुलेर राष्ट्रिय खेलबारे चर्चा, अन्तरक्रिया र राय–सुझाव सङ्कलन गर्ने कार्य भएको छ, यो सकारात्मक छ । हेरौँ, अब सरकारले यो सकारात्मक कार्यलाई कसरी अगाडि बढाउँछ या राय–सुझाव सङ्कलन गरेको प्रतिवेदन तयार पारेर रद्दीको टोकरीमा फाल्छ त्यो हेर्न लायक भएको छ ।
यसअघि पनि सरकारले राष्ट्रिय खेलबारे यसरी नै देशव्यापी रूपमा राय–सुझाव सङ्कलन गरेको थियो । पछि त्यो राय–सुझावको सङ्कलन गरिएको फाइललाई कता पुग्यो ? धमिराले खायो कि मुसा लाग्यो त्यसको अहिलेसम्म अत्तोपत्तो लागेको छैन । यसरी सरकारले कसैको उत्साहटमा जहिले पनि हचुवाको भरमा राष्ट्रिय खेलबारे खोजीनिती गर्ने गरेको छ । तर विडम्बना, अहिलेसम्म राष्ट्रिय खेलबारे निक्र्योल गर्न सकेको छैन । जुन आमनेपालीका लागि कुठाराघातको विषय बन्दै गएको छ । यसपटक पनि बडो गम्भीरताका साथ युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेल निर्धारण गर्ने भनेर विकुल फुकेको छ । विगतको इतिहास र अहिलेको खेलकुदमन्त्रीको ताल हेर्दा यसपटक पनि राष्ट्रिय खेलको हलाल नहोला भन्न सकिन्न । सरकारले खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको सस्तो लोकप्रियता कमाउने मनसायमाथि पानी फेरिदिए अन्यथा हुने छैन ।
खेल समाचार
भलिबल खेलाडी सम्मानित
सञ्जय स्मृित प्रतिष्ठानद्वारा भलिबल खेलाडीद्वय इम रानामगर र नीता शाहलाई सम्मान गरिएको छ । नेपाल पुलिसकी महिला टिमकी कप्तान नीता पुलिसकै पुरुष खेलाडी इमलाई प्रतिष्ठानका संरक्षक निरोज मास्केले नगद २० हजारसहित कदरपत्रले सम्मान गरेकी हुन् । नेपाली भलिबलमा दुवैले राष्ट्रिय खेलाडीको रूपमा एक दशक लामो योगदान पु-याएका थिए । सम्मानित भएपछि इमले खेलाडीहरूको हौसला बढाउन प्रतिष्ठानले अहम् भूमिका निभाएको बताए । उनले यस्ता सम्मानले अझ राम्रो खेल्न प्रेरित गर्ने पनि बताउँदै आयोजकलाई धन्यवाद दिएका थिए । नेपाल भलिबल सङ्घकी कोषाध्यक्ष निरोज मास्केले आफ्ना श्रीमान् सञ्जयका सम्झनामा प्रतिष्ठान स्थापना गरेकी हुन् । प्रतिष्ठानकी संरक्षक मास्केले लोकप्रिय खेल भए पनि भलिबल खेलाडीलाई सम्मान गर्ने कार्यक्रमको कमी भएको सो अवसरमा बताइन् । उनले भनिन्, ‘भलिबल खेलको उचाइ बढाउन खेलाडीको महत्वपूर्ण योगदान छ ।’ प्रतिष्ठानले अब हरेक वर्ष पुरुष र महिला खेलाडीलाई सम्मान
गर्ने जानकारी गराएकी थिइन् । सम्मानित महिला खेलाडी नीताले चार अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी छिन् । सो अवसरमा उनले महिला भलिबलमा निरन्तरता दिन थुप्रै समस्यासँग जुध्नुपरेको खुलासा गरिन् । सुदूरपश्चिममा जन्मेर भलिबलमा मैले धेरै सङ्घर्ष गरेकी छु । अछाममा अहिले पनि महिलालाई खेल्नका लागि सहज वातावरण छैन । यस्ता सम्मानले महिला खेलाडीलाई भलिबलमा आकर्षित गर्ने बताएकी थिइन् ।
छानिए टेबलटेनिस खेलाडी
अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा राष्ट्रिय टिम तयारीका लागि खेलाडी छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । पहिलो दिन प्रिक्वालिफाइङ खेलमा शीर्ष आठ स्थान हात पार्ने खेलाडी राउन्डरोबिन लिगका लागि छानिएका छन् । राउन्डरोबिन लिगका लागि छनोट हुनेमा काठमाडौंका अभयराज श्रेष्ठ र विलोस श्रेष्ठ, नेपाली सेनाका प्रज्ज्वल श्रेष्ठ, कास्कीका रञ्जन सुब्बा, भक्तपुरका कृष्ण थापामगर, ललितपुरका आशीष अवाले र सुनील महर्जन तथा नेपाल प्रहरी क्लबका राकेश श्रेष्ठ रहेका छन् । अब राउन्डरोबिन लिगमा यी खेलाडीले शीर्ष आठ बरियताका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । महिलामा १९ खेलाडीले राउन्डरोबिन लिगमा प्रतिस्पर्धा गरिरहेका छन् । पुरुष र महिला दुवैमा शीर्ष पाँच–पाँच स्थानमा रहने खेलाडी राष्ट्रिय टिमका लागि छनोट हुने टेबलटेनिस सङ्घले जनाएको छ । छनोट बिहीबारसम्म जारी रहनेछ ।
हिसान खेलकुद प्रतियोगिता सुरु
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको विद्यालय खेलकुद विकास बोर्ड र उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को संयुक्त आयोजनामा दोस्रो उच्च माध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा बास्केटबल, टेबलटेनिस, बुद्धिचाल र क्रिकेट गरी चार खेलमा प्रतिस्पर्धा हुनेछ । क्रिकेटमा पुरुषतर्फ मात्र प्रतिस्पर्धा हुनेछ भने बाँकी खेल पुरुष–महिलाको हुनेछ । ‘पहिले मित्रता अनि प्रतिस्पर्धा’ भन्ने नारा साथ हुन लागेको प्रतियोगिताअन्तर्गत बास्केटबल विभिन्न विद्यालय र त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बुद्धिचाल बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेसनल कलेज तथा क्रिकेट भक्तपुर, पुल्चोक र कीर्तिपुरमा खेलाइनेछ । बास्केटबलमा ३४, टेबलटेनिसमा ४०, बुद्धिचालमा ३० तथा क्रिकेटमा २४ टिमले भाग लिने बताइएको छ । मोफसलबाट २३ कलेजको सहभागिता रहनेछ । फागुन १५ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने अनुमान गरिएको छ ।
छिमी मेरिट अवार्डबाट सम्मानित
नेपाल साइक्लिङ सङ्घका अध्यक्ष छिमी उर्गेन गुरुङलाई एसियन साइक्लिङ महासङ्घले मेरिट अवार्डबाट सम्मान गरेको छ । महासङ्घको थाइल्यान्डमा ९ फेब्रुअरीमा भएको कंग्रेसको अवसरमा छिमीलाई सो अवार्ड प्रदान गरिएको हो । नेपालमा माउन्टेन बाइकिङ स्पोर्टस्को विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सो अवार्ड प्रदान गरिएको बताइएको छ । उनको सक्रिय पहलमा २००८ मा नेपालमा १४औँ एसियन माउन्टेन बाइक च्याम्पियनसिपसमेत सम्पन्न गरिएको थियो । सीमित साधन–स्रोतका बाबजुद पनि सो च्याम्पियनसिप आयोजन गर्दै सफलतापूर्वक सम्पन्न गरेको महासङ्घ उत्साहित थियो ।
अवार्ड प्राप्त गरेपछि उनले आफ्नो मिहिनेतको फल प्राप्त गरेको बताउँदै माउन्टेनबाइकको क्षेत्रमा अझै सक्रियतापूर्वक सहभागिता हुन उत्प्रेरणा मिलेको छिमीले बताए । छिमिले एसियन साइक्लिङ कन्फेडेरेसनको झन्डा सगरमाथामा फहफराउने कामसमेत गरेका थिए । त्यसैगरी उनले २०१८ को एसियन माउन्टेन बाइक च्याम्पियनसिपका लागि समेत बिडिङ राखेको बताए ।
दीपलाई टेबलटेनिसको उपाधि
सुदूरपश्चिमाञ्चलको महेन्द्रनगरमा ०६८ फागुनमा भएको छैटौँ राष्ट्रिय खेलकुदमा टेबलनिसको पुरुष सिंगल्स उपाधि जितेयता नेपाल प्रहरीका दीप साउदले पहिलो उपाधिका रूपमा साहना प्रधान स्मृति प्रथम राष्ट्रव्यापी खुला पुरुष टेबलटेनिसको उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको एलिमिनेसन राउन्डको फाइनलमा पाँचौँ बरियताका दीपले तेस्रो बरियताका एपीएफ क्लबका पुरुषोत्तम बज्राचार्यलाई १५–१३, १३–११, ११–७ र ११–४ को सोझो सेटमा पराजित गरका थिए । उपाधिसँगै दीपले ५० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । पुरुषोत्तमले २५ हजार नगद पुरस्कारमा चित्त बुझाए । प्रतियोगिताको राउन्डरोबिन लिगमा शीर्ष चार स्थानमा रहने खेलाडीले एलिमिनेसन राउन्डमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । लिगमा दीप पहिलो, पुरुषोत्तम दोस्रो, छैटौँ बरियताका प्रहरीका अमरलाल मल्ल तेस्रो तथा पहिलो बरियताका एपीएफका शिवसुन्दर गोथे चौथो भएका थिए ।
शीर्ष दुई स्थान हात पार्ने दीप र पुरुषोत्तमबीचको खेलमा दीपले ४–११, १०–१२, ११–७, ११–४, ११–८ र ११–९ ले विजयी हुँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । शीर्ष दुईमा रहेका कारण पुरुषोत्तमले पुनः एकपटक अमर र शिवबीचको विजेता अमरसँग खेल्ने मौका पाएका थिए । फाइनल पुग्न निर्णायक मानिएको उक्त खेलमा पुरुषोत्तमले अमरलाई ११–६, १२–१४, ११–९, ११–७ र ११–२ ले पाखा लगाउँदै दीपसँग उपाधि भिडन्त पक्का गरेका थिए । त्यसअघि अमरले शिवलाई ३–११, ११–६, ११–९, ११–९ र १३–११ ले हराएका थिए । अमर तेस्रो र शिव चौथो स्थानमा रहे । अमरले १५ हजार र शिवले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताभर दीपले पुरुषोत्तमलाई तीनपटक पराजित गरेका थिए । राउन्डरोबिन लिगमा पनि पुरुषोत्तम दीपसँग पराजित भएका थिए । चारदिने प्रतियोगिताका विजेतालाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय टेबलटेनिस सङ्घद्वारा आयोजित प्रतियोगितामा शीर्ष आठ बरियताप्राप्त खेलाडीसहित १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । शीर्ष आठ बरियता प्राप्त खेलाडीबाहेकको छुट्टै छनोट प्रतियोगता भएको थियो । छनोटमा पनि शीर्ष आठ स्थानमा रहने खेलाडीलाई मुख्य प्रतियोगितामा समावेश गराइएको थियो ।
कृष्णमोहनको सम्झनामा ब्याडमिन्टन प्रतियोगिता
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही फागुन १२ गतेदेखि १७ गतेसम्म ‘११औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७१’ सञ्चालन हुने भएको छ । सशस्त्र प्रहरी बलले हरेक वर्ष सञ्चालन गर्दै आएको कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यसपटक कुल पुरस्कार राशि ६ लाख २० हजार रुपैयाँ रहेको छ । प्रतियोगितालाई स्तरीय र आकर्षक बनाउँदै खेलाडीको हौसला बढाउने उद्देश्यले कुल ११ इभेन्ट्स समावेश उक्त ब्याडमिन्टन प्रतियोगिताको मुख्य इभेन्ट्सको पुरस्कार राशिमा वृद्धि गरिएको जानकारी दिँदै सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले प्रतियोगिताका सम्पूर्ण खेल सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको कभर्डहलमा बीडब्लूएफ र बीएसीको नियमअनुसार सञ्चालन हुने बताए ।
हिरो–कान्तिपुर हाफ म्याराथन फागुन ७ मा
कान्तिपुर पब्लिकेसन्सले आफ्नो वार्षिकोत्सवका अवसरमा हिरो–कान्तिपुर हाफ म्याराथन फागुन ७ गते आयोजना गर्ने भएको छ । हाफ म्याराथन (२१.१ किलोमिटर) सहित कर्पोरेट–मिडिया (पाँच किलोमिटर) र ह्विलचेयर (तीन किलोमिटर) स्पर्धामा दुई हजारभन्दा बढीको सहभागिता अपेक्षा गरिएको आयोजकले जानकारी गराएको छ । लैङ्गिक समानतालाई मध्यनजर गर्दै आयोजकले पुरुष–महिलामा समान नगद पुरस्कार राखेको छ । हाफ म्याराथनमा पहिलो हुनेले ५०–५० हजार, दोस्रोले ३०–३० हजार र तेस्रोले २०–२० हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै चौथोले १०–१० हजार, पाँचौँले पाँच–पाँच र छैटौँले तनि–तीन हजार नगद पुरस्कार हात पार्नेछन् । यो स्पर्धामा नयाँ कोर्स रेकर्ड बनाउने पुरुष–महिलालाई बोनसका रूपमा थप २५–२५ हजार नगद पुरस्कार पनि प्रदान गरिनेछ । पुरुषतर्फ अनिश थापामगरको नाममा एक घन्टा सात मिनेट ४७ सेकेन्ड तथा महिलामा कान्छीमाया कोजूको नाममा एक घन्टा २४ मिनेट ४७ सेकेन्डको कोर्स रेकर्ड छ ।
ह्विलचेयरमा शीर्ष तीन स्थान हात पार्ने पुरुष–महिलाले क्रमशः १०–१० हजार, दोस्रोले पाँच–पाँच हजार र तेस्रोले तीन–तीन हजार नगद पुरस्कार हासिल गर्नेछन् । कर्पोरेट र मिडिया क्षेत्रमा कार्यरतले मात्र सहभागी हुन पाउने कर्पोरेट–मिडिया दौडको विजेताले १० हजार, उपविजेताले पाँच हजार र तेस्रोले तीन हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । तीनवटै स्पर्धा तिनकुनेस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालयबाट सुरु भई पुनः पब्लिकेसन्सकै कार्यालय हातामा आएर टुङ्गिनेछ ।
प्रतिक्रिया