हिमालयन हाइड्रो एक्स्पोमा नेपाली इन्जिनियरको चमत्कार

हिमालयन हाइड्रो एक्स्पोमा नेपाली इन्जिनियरको चमत्कार


–छविलाल बगाले
नेपाली इन्जिनियरहरुले तयार पारेको नयाँ प्रविधि भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पोको आकर्षण बन्यो ।

इन्जिनियरहरुले केन्द्रमै बसेर ‘रिमोट कन्ट्रोल’ मार्फत जलविद्युत आयोजना बन्द गर्न, खोल्न र आवश्यक जानकारी लिन सकिने प्रविधिको विकास गरेका छन् । जुन प्रविधिले सबैको ध्यान खिचेको इपानका अध्यक्ष शैलेन्द्र गुरागाँईले जानकारी दिए । ‘इन्जिनियरले काठमाडौंमै बसेर कुनैपनि आयोजना बन्द गर्न खोल्न मिल्ने प्रविधिको विकास गरेका छन् ।’ उनले भने, ‘तर यस्ता प्रविधि अहिलेसम्म सञ्चालनमा आएका कुनै पनि जलविद्युत आयोजनामा प्रयोग गरिएको छैन ।’
‘रिमोर्ट कन्ट्रोल’ मार्फत दुर्गममा निर्माण भएका दुई वा दुईभन्दा बढि आयोजनाको अवस्था, उत्पादन र बेला बेलामा आउने समस्याका बारे केन्द्रमै बसेर बुझ्न सकिने इन्जिनियरहरु बताउँछन् ।

यही प्रविधि लमजुङस्थित ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए मा जडान गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो प्रविधिमार्फत काठमाडौंमै बसेर मिटर रिडिङदेखि आयोजना बन्द गर्न खोल्न सकिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनका अनुसार प्राधिकरणले निजी क्षेत्रका संचालित ७६ वटा आयोजनामा यो प्रविधि जडान गर्न अनुरोध गरेको छ ।

उता, कान्तिपुर इन्जिनियरिङ कलेजका विद्यार्थीले ४ सय ५६ मेगावाट क्षमताको अपर तामाकोशीलाई नक्सामा उतार्दै आयोजनाको सबै संरचना समेत तयार पारेका छन् । उनिहरुको यो मेहेनतलाई पनि एक्स्पोमा राखिएको छ । त्यसो त विद्युत उत्पादन, यसका संरचना र कसरी विद्युत प्रसारण लाइनमा पठाउन सकिन्छ भन्ने ज्ञान धेरै नागरिकमा छैन् । यही ज्ञान बाँड्नका लागि विद्यार्थीले आफ्नो क्षमता सार्वजनिक गरेका हुन् ।

इन्जिनियरिङ कलेजका विद्यार्थीले तयार पारेका अपर तामाकोशी, कुलेखानी, बुढीगण्डकी, भेरी बबई डाइभर्सन, लघु जलविद्युत, सोलार प्लान्ट लगायतका संरचनामा सर्बसाधारणको आकर्षण पनि उत्तिकै छ । प्रविधिसहितको एक्स्पोले सर्वसाधारणमा नयाँ विषयको जानकारी प्रदान गरेको छ भने अर्कोतिर विद्यार्थीलाई सिक्ने अवसर पनि मिलेको छ ।