राजतन्त्र कि गणतन्त्र खराब ?– विनोद त्रिपाठी

राजतन्त्र कि गणतन्त्र खराब ?– विनोद त्रिपाठी


Binod Tripathiतत्कालीन वार्ताकालमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘नोकरसँग होइन, मालिकसँग वार्ता गर्ने’ भनेका कुराले धेरैलाई विभिन्न कोणबाट अथ्र्याउन बाध्य बनाएको थियो । राजाको कट्टर विरोधी विद्रोही समूहबाट यस्तो प्रस्ताव सुन्दा राजतन्त्र पक्षधरले आफ्नो महत्वको जोडघटाउ सुरु गरेका थिए । ‘त्यतिबेलाका दलहरूले माओवादीलाई आरोप लगाए, ‘माओवादी र राजतन्त्रको भित्री साँठगाँठ छ, कतै राजतन्त्रले नै दलहरूलाई असफल बनाउन माओबवादीलाई उपयोग गरिरहेको त छैन ?’
मुलुक सञ्चालनमा विभिन्न शक्तिले राज्यका निकायमा हस्तक्षेप गर्छन् । सरकार सञ्चालनका प्रक्रिया एकातिर चलिरहेका हुन्छन् भने अर्कोतिर मुलुकको सर्वोच्च संस्थाको गरिमा पनि निरन्तर अघि बढिरहेको हुन्छ । राजतन्त्र होस् वा गणतन्त्र यसको नेतृत्व राजाले वा राष्ट्रपतिले गर्छ । अधिकार कति दिने वा कसरी सर्वोच्च संस्थालाई नागरिक अधिकारसँग जोड्ने निहित कार्यकारी तहबाट हुन्छ, त्यो काम भनेको सरकार सञ्चालनको माध्यमबाट तय गरिएको हुन्छ । विश्वका हरेक मुलुक यसरी नै आफ्नो समृद्धिमा लम्किरहेका छन् । राजतन्त्र भएका मुलुक हुन् वा गणतन्त्र, सबै खालका देशहरू आफ्ना मौलिक मान्यतामा चलिरहेका छन् ।
बेलायत राजतन्त्र भएको सबैभन्दा शक्तिशाली मुलुक हो । जेठो छोरी भएपछि महारानीमार्फत राजतन्त्रको गरिमा त्यहाँ उच्च छ । डेनमार्क राजतन्त्रात्मक समृद्ध मुलुक हो । अमेरिका गणतन्त्र भएको शक्तिशाली देश हो । अस्ट्रेलिया गणतन्त्र भएको धनी देश हो । यहाँ वाद वा शासनलाई महत्व दिइएको छैन । प्रणाली र विकासलाई महत्व दिइएको छ । फलस्वरूप राजतन्त्र हुँदैमा खराब हुने मानसिकता नेपाली जनजनमा थोपरियो, यसले नेपालमा नयाँनयाँ शक्ति थप्ने नाममा सदियौँदेखि आन्दोलनको माग गरिरहेको छ । हरेक नयाँ शक्ति उत्पादन हुँदै जाने र पुरानो शक्तिलाई ‘काम नलाग्ने’ ट्याग लगाइदिने हो भने कुनै पनि मुलुकले प्रगति गर्न सक्दैन । सधैँभरको आन्दोलन विकासको सबैभन्दा बाधक हुनेछ ।
हाल चलिरहेको संविधानसभारूपी संसदीय व्यवस्थाबाट देशको भविष्य झन् अनिश्चय बनाइदिएको छ । प्रतिपक्ष भन्दै छ, ‘समानान्तर सरकार बनाउँछौँ ।’ सत्तापक्ष जनतालाई ग्यास दिन नसकेर लाचार बनेको परिस्थिति छ । हाल प्रतिपक्षमा रहेका पनि कुनै बेला सरकार चलाएका शक्ति नै हुन् । हाल सत्ता सञ्चालनमा रहेका पनि कुनै बेला गणतन्त्र ल्याउन सडकमा ओर्लिएकै हुन् । यिनै दुवै शक्तिको भरोसामा जनता नतमस्तक तवरले सडकमा आएर राजतन्त्रविरुद्ध आवाज पनि उठाए । जनता किन आन्दोलनमा होमिए ? चाहना एउटै थियो– दलहरूले देशलाई समृद्धितर्फ लानेछन् भन्ने आशामा । तर, दुई–दुईवटा ६०१ सदस्यरूपी संविधानसभा, गणतन्त्रपछिका आठ वर्ष, राजतन्त्रविरुद्धका माओवादी सशस्त्र युद्धका १० वर्ष अवधि जनताकै नाममा दुरुपयोग भएको स्पष्ट छ । यसलाई कुनै पनि कोणबाट व्याख्या गरे पनि गणतन्त्र राजतन्त्रभन्दा एक कदम ठीक थियो भन्ने स्पष्ट आधार र प्रमाण छैन । त्यसैले, अबको राजनीतिक निकास र आन्तरिक चरम मतभेदलाई चिर्न अबका विकल्प सोच्नुपर्ने अवस्था आइसकेको छ ।
विकल्प नं. १– संविधानसभाको विघटन र सर्वपक्षीय महाभेला । हाल संविधानसभामा सहभागी भएका दलभन्दा बाहिरका शक्तिले पु-याएको अवरोध संविधान निर्माणमा जटिलता थपिएको कुरालाई नजरअन्दाज गर्दा गतिरोध बढेकोमा आँखा खुल्न जरुरी छ । बाहिरका शक्तिकै आडमा संविधानसभाका दलहरू जस्तै एमाओवादीलगायतले आन्दोलन गर्ने र राजनीतिलाई अर्को मोडमा हुत्याउने खेल डर लाग्दो गरी आएको छ । यसमा सत्तापक्ष निरीहजस्तै देखिएको छ । जतिसुकै संविधानसभाबाट संविधान ल्याउने प्रयत्न गरिए पनि अधिकार र पहिचानका नाममा बाहिरका शक्तिलाई उपयोग संविधानसभाभित्रकै शक्तिले गरिरहनेछन् । अधिकार, पहिचान दिने नाममा सङ्घीयता प्रणालीजस्तो जटिल राज्य पुनर्संरचनामा प्रवेश गर्नुपूर्व कुनै पनि खाका हचुवामा ल्याउँदा संविधान बन्न नपाउँदै यसको मान्यता समाप्त हुन्छ । यसलाई मध्यनजर राखेर सर्वपक्षीय भेला नै एउटा गतिलो विकल्प हुन सक्छ । अन्यथा दोस्रो संविधानसभा पूर्ण रूपमा असफल सावित हुनेछ ।
विकल्प नं. २– राजतन्त्रको पुनरोदय । मियोबिना दाइँ हुँदैन । नेतृत्वबिना समूह चल्दैन । प्रमुखबिनाको कार्यालय हुँदैन । क्याप्टेनबिनाको खेल सम्भव छैन । राजनीतिमा कुनै एउटा नेताकै सेरोफेरोमा पार्टी घुम्न सकेन भने गुट–उपगुट सिर्जना हुन्छ । प्रणालीलाई विविधिकरण गर्न सकिन्छ, तर जवाफदेहिता कुनै एकद्वार प्रणालीमा निहित हुनुपर्छ । माथि उल्लेख गरिएका देश प्रणालीगत हिसाबले यसका केही नमुना हुन् । विकासदेखि नागरिक सुरक्षा, रोजगारदेखि विद्युतीकरण, शिक्षादेखि न्यायाधिकरण, लैङ्गिक अधिकारदेखि राजनीति चेतनालाई सरसर्ती केलाएर हेर्दा हुन्छ, नेपाल गणतन्त्रपछि ठीक कि, गणतन्त्र अघि ? ०५२ साल जति बेला माओवादीले राजतन्त्र र संसदीय व्यवस्थाविरुद्ध एकैचोटि सशस्त्र युद्ध सुरु भयो, त्योभन्दा अघिको संवैधानिक राजतन्त्रको कार्यकाल मूल्याङ्कनको अवधि मानेर हेर्नुपर्छ । ०५२ पछि भएका कुनै पनि आन्दोलन वा सशस्त्र युद्धले पारेको क्षति होस् वा राजतन्त्र फाल्ने नाममा भएको क्षति अहिलेसम्म पूर्ति हुन सकेको छैन । यो सिलसिला तबसम्म जारी रहन्छ, जबसम्म मुलुक कुनै एक संस्थाको जवाफदेहितामा स्थिर हुँदैन । अहिले राष्ट्रपतिप्रतिको जवाफदेहितामा दलहरू कत्ति पनि जिम्मेवार छैनन् । सभामुखप्रतिको जवाफदेहितामा सांसदहरू निष्फिक्री छन् । यो पद्धतिबिनाको मुलुकले न विकास दिन्छ, न समृद्धि दिन्छ, न त शान्तितर्फ मुलुक प्रवेश गर्छ ।
विकल्प नं. ३ हृदयेन्द्र वा श्रुतीका छोरी । राजतन्त्रको प्रणालीभित्र बसेर संवैधानिक तवरले सरकार सञ्चालनको ढोका खोल्न कुनै घनको आवश्यकता यहाँ पर्दैन । दलहरूले ०६३ मा लगाएको तालालाई दलहरूसँग भएको चाबी प्रयोग गर्दा सजिलै खुल्छ । यसमा गर्न सकिने सजिला उपाय पहिल्याउन जरुरी छ । भन्नेहरू बहुसङ्ख्यक होलान्, ‘बगेको खोला फर्केर आउँदैन, नेपालमा अब राजतन्त्र फर्केर आउनु भनेको त्यही खोलाको पानीजस्तै हो ।’ हो यहीँनेर प्रश्न उठ्छ, ‘इतिहास साक्षी छ, सङ्घीयता बनेर २२ र २४ वटा राज्यमा विभाजन भएको नेपाल पनि एकीकरण भएको तीन सय वर्ष पुगेको छैन । टुक्रा–टुक्रामा विभाजन भएको देश एकीकरणपश्चात् केन्द्रीकृत प्रणालीअनुसार चलेर २४० वर्ष पार गरिसकेको छ । त्यो कालखण्डलाई मापन गरौँ त, नेपाल हरेक विषयमा २०औँ देखि ३० नम्बरमा विश्वमा परिचित थियो । मानव विकासक्रम मात्रको उदाहरण हेर्ने हो भने पनि हामी त्यतिबेला १६औँ नम्बरमा रहेछौँ । आर्थिक प्रगतिमा उन्मुख देशका रूपमा हामी त्यतिबेला ३९औँ नम्बरमा थियौँ । तर, अहिले हेर्नोस्, हरेक सकारात्मक विषयमा हामी विश्वको पुछारमा छौँ । त्यो कालखण्ड सङ्घीयतापछि एकीकरण भएको नेपालको अवस्थाको चित्र थियो । त्यसैले, २०५८ साल जेठ १९ गतेको राजदरबार हत्याकाण्डपछि विकल्परहित गणतन्त्र नेपाल भन्नेले देशको समृद्धिको कुनै खाका दिन सकेका छैनन् । गणतन्त्र आउँदैमा देश विकास हुने रहेनछ भन्ने करिबकरिब सबै जनताले बुझिसकेका छन् । यसको वर्तमान समाधान ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र वा वीरेन्द्र शाहकी छोरी श्रुतीबाट जन्मिएका दुई छोरी नेपालको नायकत्वको विकल्प हुन सक्छन् । यसलाई लहडबाजी वा तरङ्गित मनोभावनाको रूपमा हेरियो भने संविधानसभाकै विरुद्धमा सडकमा ओर्लने अति वामपन्थी र अति दक्षिणपन्थीको आन्दोलनबाट राजतन्त्रको पुनरोदयमा मुलुक प्रवेश गर्नेछ । यो अवश्यंभावीलाई कसैले पनि रोक्न सक्दैन । जसरी हिजो एकथरी अतिवादीले गणतन्त्रको कल्पना यो देशमा गरेका थिएनन्, अहिले पनि अर्कोथरी अतिवादीले पुनरोदय राजतन्त्रको सङ्केत देखेका छैनन् । इतिहासमा धेरै नसोचेका कुरा भएका छन्, र सोचेका कुरा पनि अहिलेसम्म पूरा नभएका दृष्टान्त हामीमाझ छन् ।