कैलालीको धनगढीबाट नेपालगञ्जतिर जाँदै गर्दा यही २०७१ सालको मङ्सिर १७ गते चिसापानीमा खाजा खान रोकियौँ । माछाका परिकारका कारण चिसापानी खाजा र खानाका लागि प्रसिद्ध छ । हामीले खाजा खाँदै गर्दा समूहकै एक साथीले एउटी महिलाका अगाडि–पछाडि टाँसिएका ससाना बालबालिकाको फोटो खिच्न थालिछन्, खानका लागि बोलाउने क्रममा त्यहीँ काम गर्ने भाइले भने, ‘ती दिदी माओवादीकी फौजी हुन्, त्यही भएर फोटो खिच्नुभएको होला ।’ त्यतिबेलासम्म हामीलाई उनी माओवादी लडाकु भन्ने थाहा थिएन, फोटो खिच्दै गरेकी साथीलाई पनि थाहा थिएन । उनले त बच्चाहरूको फोटो खिचिरहेकी थिइन् । ‘उनी के गर्छिन् अहिले ?’ ती भाइलाई सोधेँ । ‘यही होटेलमा भाँडा माझ्नुहुन्छ,’ उनले भने । कुरा गर्दै जाँदा थाहा भो उनी १६ वर्षकी हुँदा माओवादी पार्टीमा लागेकी रहिछिन् । नाम दौली सुनार, पार्टीले राखिदिएको नाम ‘महिमा’ । स्कुल पढ्दै गरेकी युवा छोरी माओवादीमा जाँदा गाउँघरमा ठूलो सन्नाटा छाएको थियो । कारण, उनी आफूखुसी माओवादीमा लागेकी थिइनन् । ‘घरबाट एकजना जानैपर्ने उर्दी माओवादीले गरे, भाइहरू सानै थिए, म नै अघि लागेँ, उपाय थिएन,’ उनले भनिन् । माओवादीमा गएपछि उनले बन्दुक चलाउन सिकिन्, कहिल्यै पाइन्ट –सर्ट नलाएको उनको शरीरमा कम्ब्याट ड्रेस सजियो । सुरुमा डर लागे पनि बिस्तारै उनले आफूमा आत्मविश्वास पलाएको महसुस गरिन् । लडाकु भएपछि गण्डकीमा खटिइन् । रहँदै बस्दा–जाँदा समूहकै लडाकु सुनील सुनारसँग उनको प्रेम भयो र विवाह पनि भयो । शान्तिसम्झौतापछि चार वर्ष शिविरमा बसेर अयोग्य लडाकुको ट्याग लगाई गाउँ फर्किन् । उनका पति सुनीलको अवस्था पनि उस्तै भयो, उनी पनि अयोग्य ठहरिए । दुवैजनाको जिन्दगीको उर्वर समय त गयो नै खान–लाउनकै समस्या भयो । सुनील दुई–चार पैसा कमाउन भारततिर लागे, उनी स–साना दुई छोरी च्यापेर राजमार्गको एउटा होटेलमा भाँडा माझेर बसेकी छिन् । होटेल मालिकतिर इशारा गर्दै भन्छिन्, ‘धन्न उहाँले मलाई काम दिनुभएको छ, नत्र म यी बच्चाहरू कसरी हुर्काउँथेँ र ?’
कम्ब्याट ड्रेसमा बन्दुक बोकेर राज्यसत्ता परिवर्तनको सपना देखाइएकी र सोहीअनुसार आफ्नो लक्ष्य बोकेर हिँडेकी युवती समयक्रममा कहाँ पुगी ? विगत सम्भिँmदा अहिले उनलाई सपनाजस्तै लाग्छ । भनिन्, ‘ड्रेसले आत्मविश्वास दिँदोरहेछ । त्यतिबेला त म यो देशको ठूलो मान्छे हुँजस्तो लाग्थ्यो । हेर्नु न अहिले के अवस्था भयो ।’ नेपालको दशवर्षे युद्धले कति महिलालाई सडकमा पु-यायो र कतिलाई अकाशमा उडायो, यसको सही लेखाजोखा भएको हुन सकेको छैन । द्वन्द्वका नाममा यो मुलुकमा धेरै कुरा भए । कति मानिसले उनीहरू आफँैले नसोचेको पद र प्रतिष्ठा पाए, कतिले यसलाई पेसा र व्यवसाय बनाए । मानिसको के कुरा, मुलुकको व्यवस्था नै परिवर्तन भयो, तर द्वन्द्वपीडितहरूको अवस्थातिर भने खासै सोचिएन । फलतः धेरै महिलाले कहिल्यै नसोचेको भुक्तमानपूर्ण वर्तमान भोगिरहेका छन् । संयुक्त राष्ट्रसङ्घले महिला, शान्ति र सुरक्षाको क्षेत्रमा भएका कामहरूबारे अध्ययन गर्न बनाएको ग्लोबल स्टडी टिमकी संयोजक राधिका कुमारास्वामी केही दिनअघि नेपाल आएकी थिइन् । उनी काठमाडौंमा रहँदा धेरै मानिस, सरोकार पक्षहरूलाई भेटिन् । त्यसमध्ये पीडितहरू पनि थिए । पीडितहरूसँग राधिकाको मिटिङ सकिएपछि अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहेकी एक मित्रले भनिन्, ‘हेर्नुस् न मलाई जिन्दगीमा पहिलोपल्ट असाध्यै ग्लानि महसुस भयो । यी पीडितलाई भेटेर उनीहरूको अवस्था सुनेपछि बिचरा उनीहरूको हालत यस्तो छ, हामीचाहिँ यिनको नाममा जागिर खाइरहेका छौँ जस्तो लाग्यो ।’ उनी आफूसम्बद्ध संस्थामा द्वन्द्व र शान्तिसम्बन्धी कार्यक्रम हेर्छिन् । मैले उनलाई यति मात्रै भने, ‘पहिलोपल्ट कसैले यस्तो कुरा गरेको सुनेँ मैले, नत्र धेरैलाई त कसरी यहाँको परिस्थितिलाई भजाऊँ भन्ने नै छ । यसमा तपाईंले ग्लानि महसुस गर्नुपर्ने केही छैन, तपाईं नभए अर्कोले तपाईंको ठाउँमा जागिर खान्थ्यो ।’ व्यापक प्रतिस्पर्धामा उत्रिएर आफ्नो योग्यता भिडाएर जागिर खाएकी उनलाई त्यसप्रकारको महसुस हुनु भनेको विषयप्रतिको उनको संवेदनशीलता नै हो । तर, यहाँ त सोही नाममा आफ्नो सम्पूर्ण हैसियत परिवर्तन गर्नेहरूले पनि ग्लानि महसुस गरेको पाइएको छैन ।
द्वन्द्वका नाममा यो मुलुकमा हुनुपर्ने, नहुनुपर्ने धेरै कुरा भए । कसलाई के गर्दा सहज हुन्छ त्यही गर्न मानिस लागिपरे । राजनीतिका नाममा, सरकारका नाममा, विज्ञका नाममा, नागरिक समाजका नाममा, यी विभिन्न अनेक नाममा जे–जे गरिएको भए पनि अन्ततः कुरा भने पीडितकै गरिएको छ । कसैले मैना सुनारको कुरा गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा र परियोजना पाए, तर मैनाकी आमा अहिले पनि न्यायको खोजीमा भौंतारिरहेकै छिन् । कसैले कसलाई कसैले कसलाई खुबै भँजाए, जस–जसले जे गरे पनि पीडित र तिनका परिवारले न त न्याय पाए न त उपयुक्त क्षतिपूर्ति नै । यसो हुनुका कारणहरूमध्ये एक हाम्रो नागरिक समाजमा देखिएको राजनीतिक पूर्वाग्रह पनि एक हो । यहाँ एमाले, काङ्ग्रेस, माओवादी, मधेसवादी सबैका आ–आफ्नै नागरिक समाज छन्, जसले स्वतन्त्र सोच र आँखाले होइन राजनीतिक दलको आँखाले पीडितलाई हेर्छन् । अरू त अरू केही समय अगाडि राष्ट्रिय मानवअधिकार आयोगमा समेत एकतर्फी घटनाहरू मात्र सुन्ने वातावरण सिर्जना गरियो र त्यसमा कसैले पनि प्रश्न गरेन कि अर्कोतर्फका पीडितहरू खै त ? स्वयम् मानवअधिकार आयोगका पदाधिकारीले समेत सोधेनन् । केही सङ्घसंस्थाहरूको संयोजनमा गत मङ्सिर २२ गते द्वन्द्वका बेला भएका यौनहिंसाको सुनुवाइ राष्ट्रिय मानवअधिकार आयोगको कक्षमा भएको थियो । द्वन्द्वपीडितका कुरा सुन्दा मन छुने मात्र होइन यो देशको न्यायप्रणालीप्रति आक्रोश नै पैदा हुने प्रकारको थियो । तिनका कुरा सुनेपछि तिनले न्याय पाउने दिन कहिले आउला भनेर धेरै दिनसम्म मनमा एकप्रकारको तनाव छाइरह्यो । तर, त्यहाँ सबै पीडित राज्य पक्षबाट गरिएका अत्याचारसँग सम्बन्धित थिए । स्वतन्त्र सोचले विषयलाई हेर्नेहरूलाई लाग्यो, यस्ता घटना त अर्को पक्षबाट पनि भएका थिए होइन र ? खै त यहाँ उनीहरू ? उनीहरूलाई चाहिँ किन ल्याइएन ? त्यहाँ अन्तर्राष्ट्रिय समुदायका व्यक्तित्वहरूको पनि सहभागिता थियो, तर तिनलाई अर्को पक्षबाट पनि यस्ता घटना भएका छन् भनेर एकपटक पनि भनेको सुनिएन । हो, अवश्य पनि राज्य पक्षबाट भएका घटना धेरै छन् । यौनजन्य हिंसा, बलात्कारजस्ता घटनामा सहभागी हुनेहरूलाई कारबाहीको दायरामा ल्याउनैपर्छ । तर, कम्तीमा नागरिक समाजका प्रतिनिधिहरूले ‘नागरिक समाज’ भन्ने शब्दको इज्जत राख्नकै लागि भए पनि पीडितका नाममा ‘बायस एटिच्युड’ भने देखाउन नहुने हो ।
प्रतिक्रिया