लोकमान, लोकतन्त्र र भ्रष्टाचार

लोकमान, लोकतन्त्र र भ्रष्टाचार


special-articleभ्रष्टाचार मानव समाजको अभिन्न अङ्ग होइन, तर हामीले भोगिरहेको दैनिकी र यसको इतिहासले भ्रष्टाचारलाई हाम्रो समाजबाट भिन्न रहेको पुष्टि पनि गर्दैन । पृथ्वी जगत्का अन्य प्राणीहरू निश्चित जन्मजात गुणका आधारमा बाँच्छन् र मर्छन्, तर मानिसको जन्मजात गुण नै अराजक छ– मानिस भनेका ठ्याक्कै यस्तो गुण–स्वभावका प्राणी हुन् भनेर परिभाषित गर्न सकिँदैन । त्यसैले उपन्यास ‘प्रलय प्रारम्भ’मा ‘कुनै एउटै परिभाषाले समेट्न नसक्ने प्राणी’को रूपमा मान्छेको परिभाषा गरिएको छ । उत्कृष्ट प्राणीको स्वघोषित दर्जामा रहेका मानिसबाट जोगिन मानिसलाई कति मुस्किल पर्दै आएको छ भन्ने तथ्य विश्वका सबै मुलुकले सुरक्षा र रक्षाका निम्ति विनियोजन गरेको बजेटबाट पनि बुझ्न सकिन्छ । साँच्चै मानिस उत्कृष्ट प्राणी प्रमाणित भएका दिन शायद संसारका कुनै पनि मुलुकले रक्षा र सुरक्षाका निम्ति बेग्लै बजेटको व्यवस्था गर्नुपर्ने छैन । अस्तित्वमा रहेका करिब दुई सय मुलुकमध्ये सबैले ‘रक्षा मन्त्रालय’को संयन्त्र खडा गरेका छन्, आक्रमण मन्त्रालयको व्यवस्था कुनै पनि देशले गरेका छैनन्, तथापि आक्रमण हुन्छ, गरिन्छ र अनगिन्ती मानिस मारिन्छन्, खर्बौं खर्बको भौतिक क्षति हुने गर्दछ । त्यसैगरी भ्रष्टाचार पनि पृथ्वीका सबै मानिसले निन्दा–घृणा गर्ने विषय हो, तर मानिसबाहेक अरू कसैमाथि भ्रष्टाचारको आरोप या मुद्दा लगाउनुपरेको या पर्ने स्थिति रहँदैन ।
धेरै अर्थमा भ्रष्टाचार र सेक्सबीच समानता भेटिन्छ । निर्वाण या मोक्ष प्राप्तिको तहमा पुगेकाबाहेक सबै मानिसमा सेक्सको चाहना अटुट रहन्छ । तर, सार्वजनिक रूपमा प्रकट हुँदा हरेक मानिस यौनकर्मबारे मौन रहन्छन् या नकारात्मक धारणा प्रकट गर्छन् । आफ्ना यौन गतिविधिको गोपनीयताप्रति मान्छे सदा सचेत हुन्छन् । हो, भ्रष्टाचार पनि त्यसैगरी गुप्त रूपमा ‘सम्पन्न गर्ने–गरिने’ कर्मभित्र पर्दछ । यौन क्रियाकलापमा संलग्न मानिसले निजी तहको देहसुख प्राप्त गरेजस्तै भ्रष्टाचारमा लिप्त मानिसले पनि निजी खुसी हासिल गर्ने गर्दछन् । हरेक मानिस यौनसुखका निम्ति आफ्नो संलग्नतालाई जायज ठान्छन्, तर अन्य कसैले त्यस्तै किसिमको गतिविधि गर्नुलाई चाहिँ उनीहरू नाजायज ठान्छन् । भ्रष्टाचारमा आफैँ संलग्न व्यक्तिले समेत भ्रष्टाचारको विरोध गर्नु या अन्य कुनै मानिसले गरेको भ्रष्टाचारका विरुद्ध जाइलाग्नुको कारण पनि यस्तै प्रवृत्ति हो भन्न सकिन्छ । यौनकर्म पनि भ्रष्टाचारजस्तै गुप्त रहिन्जेल ‘जायज’ र खुला भएपछि सामाजिक एवम् कानुनी कारबाहीको निम्ति योग्य मानिन्छ । गुप्त ढङ्गले सम्पन्ने गरिने भएकोले यौन क्रियाकलापझैँ भ्रष्टाचार र भ्रष्टाचारीको गतिविधि कुन हदसम्म व्यापक होला त्यसको अनुमान मात्र गर्न सकिन्छ । कानुन र समाजको डरका कारण बलात्कारको घटनामा न्यूनता आएको हो । यदि समाज र कानुनको डर हुने थिएन भने बलात्कारले महामारीको कुन रूप लिनसक्थ्यो त्यसको अनुमान गर्न गाह्रो हुँदैन ।
नेपालमा जसरी भए पनि कमाउनुलाई परम्परादेखि नै अनुपयुक्त मानिएन । खासगरी राज्य संयन्त्रमा विधिवत् संलग्न मानिसले. शक्ति या अधिकारको दुरुपयोग गरी कमाउने कार्यलाई हाम्रो कानुनले व्यवहारतः निरुत्साहित गरेन, समाजले मान्यता दिइरह्यो । कैयन खरिदार–सुब्बा साहेवहरू, माथिल्लो ओहोदामा पुगेका अन्य कर्मचारीहरू र ऋणको भारी बोक्दै राजनीतिक जिम्मेवारी ग्रहण गर्नेहरू रातारात करोड या अर्बपति बन्दा हाम्रो समाजले तिनलाई निन्दा–घृणा गर्ने अभ्यासको आरम्भ गर्दै गरेन । बरु त्यस्तालाई अनेक ढङ्गले प्रोत्साहित र सम्मानित गरिरह्यो– अझ गरिँदै छ । भ्रष्टाचार गरेर कमाएको छ भन्ने छर्लङ्ग हुँदाहुँदै पनि चन्दा दिएकै आधारमा त्यस्ता व्यक्तिलाई नेता बनाइदिने काम राजनीतिक दलहरूले गरेका छन् । मन्दिर, स्कुल, कलेज र अन्य सामाजिक कार्यमा केही आर्थिक सहयोग पु-याएको नाममा हाम्रो समाजले भ्रष्टाचारीहरूलाई समाजसेवीको दर्जा दिँदै आएको छ । राजनीति र समाजले यसरी भ्रष्टाचारी या त्यस पृष्ठभूमिका व्यक्तिलाई सम्मान दिने गरेकै कारणले नेपाली समाजबाट भ्रष्टाचार निरुत्साहित हुन नसकेको हो । लोकमानसिंह कार्की प्रमुख आयुक्त बन्नुअघिको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारीहरूमा त्रास पैदा गर्न नसकेको यथार्थ सूर्यनाथहरूले अस्वीकार गरे पनि सत्य यही हो । तात्कालिक दरबार र आफ्नो वैचारिक आस्था केन्द्रको निर्देशन पालना गर्दागर्दै सूर्यनाथहरूले आफ्नो कार्यकाल गुजारेका हुन् । तर, अख्तियारको कमाण्ड लोकमानसिंह कार्कीले सम्हालेपछि भ्रष्टाचारीहरूमा केही न केही त्रास र जनतामा आशा पैदा भएको महसुस गर्न थालिएको छ ।
नेपालमा लोकतन्त्र अर्थात् प्रजातन्त्रलाई त्रासरहित अवस्था–व्यवस्थाको रूपमा बुझ्ने गरिएको छ । कसैलाई कसैको भय नहुनु नै लोकतन्त्र भन्ने बुझेका हामी नेपाली यति निडर हुँदै गयौँ कि हामीलाई कानुनको पनि डर हुन छाड्यो । कानुनको पालना नगर्नु, कानुन मिच्नु, कानुनको अवहेलना गर्नु र कानुनसँग नडराउनुलाई हामीले लोकतान्त्रिक अभ्यास बनायौँ । फलस्वरूप नेपाली लोकतन्त्र कुनै न कुनै शक्तिको आडमा जेसुकै गर्न मिल्ने–पाइने व्यवस्थाजस्तो बन्न पुग्यो । त्रासबिनाको समाज र लोकतन्त्र कुन हदसम्म अराजक र खतरनाक बन्न सक्दोरहेछ भन्ने यथार्थको सामना यतिबेला हामीले गरिरहनुपरेको छ ।
दोस्रो चरणको लोकतन्त्र (२०४७–२०५९) कालमा झापा विद्रोहका एक नायक राधाकृष्ण मैनाली पहिलोपटक मन्त्री बन्नुहुँदा उहाँसँग जिज्ञाशा राखिएको थियो, ‘तपाईंलाई मन्त्री बन्दा कस्तो महसुस भइरहेको छ ?’ मैनालीले बिनासङ्कोच भन्नुभएको थियो¬, ‘मन्त्री पदको जिम्मेवारी पाउँदा एउटा राजनीतिकर्मीलाई प्राप्त हुने खुसी त मलाई मिलेकै छ, तर कुनै पनि फाइल सदर गर्ने (निर्णय गर्ने) बेलामा मलाई मिडियाबाहेक कसैको पनि डर रहने गर्दैन । राजा संवैधानिक छन् केही गर्न सक्ने भएनन्, पार्टी मेरो आफ्नै भइहाल्यो डराउने कुरै आएन, सत्ता साझेदार दलसँग डराउनुपर्ने पनि म ठान्दिनँ, प्रहरी–प्रशासनसँग डराउने भन्ने हुँदैन, मैले गरेको निर्णयलाई लिएर मिडियाले केही भन्छ कि भन्ने अलिकति त्रास हुँदोरहेछ ।’ राधाकृष्ण मैनालीजी नेपाली राजनीतिका एक प्रतिनिधि पात्र हुनुहुन्छ । उहाँकै जस्तो मानसिकता–सोच अधिकांश राजनीतिकर्मीमा रहेको देखिन्छ । कानुनका निर्माताहरूमै कानुनको डर नहुने र राज्यको कुनै निकायले कानुनप्रति त्रास पैदा गर्न पनि नसक्ने अवस्थामा भ्रष्टाचार मौलाउने सम्भावना ज्यादा हुँदोरहेछ । राजाको शासनकालमा मानिसहरू राजासँग डराउँथे, दरबारकै नजिकका केही मानिसले विशेष मौका पाएका भए पनि त्यसताका भ्रष्टाचार व्यापक भइसकेकोचाहिँ थिएन । प्रजातन्त्र काल (२०४७–०५९) मा भ्रष्टाचारको दायरा फराकिलो भएर लाभको पद प्राप्त गरेका या नगरेका उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीतन्त्रसम्म विस्तारित भयो । हाल प्राप्त (२०६३) लोकतन्त्रमा भ्रष्टाचार विस्तारित भएर गाउँगाउँसम्म पुगेको छ । सर्वदलीय संयन्त्र र गाविससचिवको तहदेखि प्रधानमन्त्री र सचिव–मुख्यसचिवसम्म व्याप्त बनेको छ । यहाँ कसैलाई कसैको डर छैन र कानुनको पनि छैन । हामी नेपालीले यसरी भयरहित लोकतन्त्रको अभ्यास गरिरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको चयनपछि त्रास र आशाको बेग्लै तरङ्ग पैदा भएको छ । ठीक ठाउँमा ठीक व्यक्तिको चयन भएमा सकारात्मक परिणाम हासिल हुनसक्छ भन्ने उदाहरण यतिबेला अख्तियार बनिरहेको छ । प्रधानमन्त्री पदको हैसियत, कार्यक्षेत्र र अधिकार उस्तै हो, तर त्यस पदमा रहँदा बीपी कोइराला कस्ता थिए र सुशील कोइरालालाई कस्तो देखिँदै छ ? श्री ३ महाराजको पदीय हैसियत त एउटै हो, तर जंगबहादुर या चन्द्रशमशेरसँग रणोद्वीप र बमबहादुरहरूलाई तुलनासम्म गरिँदैन । खेलकुद परिषद्को इतिहास धेरै लामो छ र इतिहासमा अनेकौँ काँटी र कोटीका मानिसले सदस्यसचिव (प्रमुख कार्यकारी) को जिम्मेवारी प्राप्त गरेका पनि हुन्, तर शरदचन्द्र शाहले उक्त जिम्मेवारी लिँदा खेलकुदको रौनक नै बेग्लै थियो । देशवासी सबैको ध्यान त्यसताक खेलकुद क्षेत्रले आकर्षित गरेको थियो । अहिले कतिपय कमी–कमजोरीका बाबजुद कार्कीले जनतामा आशा र भ्रष्टाचारीहरूमा त्रास सृष्टि गर्ने जुन सफलता प्राप्त गर्नुभएको छ, यसलाई लोकतन्त्रकालको एक सकारात्मक उपलब्धि मान्न हिचकिचाउनुहुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्तिका लागि लोकमानसिंह कार्कीको सिफारिस भएलगत्तै एकथरी मानिस विरुद्धमा उत्रिएका थिए । कार्कीको विरोध गर्नु गलत थियो भन्ने कुराको पुष्टि उहाँको आफ्नै कामले गरिरहेको छ । पौने दुई वर्षअघि कार्कीको नियुक्ति हुँदा अख्तियारमा करिब सात हजार मात्र (वर्षमा) उजुरी परेका थिए भने अहिले पैंतीस हजारभन्दा बढी उजुरी पर्नुले अख्तियारप्रति जनविश्वास बढ्दै छ भन्ने सङ्केत गर्दछ । लोकतन्त्रकालका लोकमान र लोकमानकालको अख्तियारको काम जुनस्तरको प्रभावकारी देखिएका छन् राज्यको अन्य क्षेत्रमा पनि यस्तै किसिमको प्रभावकारिता उत्पन्न गर्न सकिएको भए ‘लोकतन्त्र’ पनि देश र जनताका निम्ति उपयोगी हुन्छ भन्ने सन्देश प्रवाहित हुनसक्थ्यो । राजनीतिक दलका नेताहरूले गफ दिएजस्तो लोकतन्त्र उपलब्धिमूलक हुन सकेको छैन, लोकतन्त्रको नाममा खाइजीविका गर्नेहरूले जे भनेका भए पनि राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, जातीय एवम् क्षेत्रीय एकता, शान्तिसुरक्षा, सुशासन, विकास र समृद्धिमाथि सबैभन्दा कठोर चुनौती आइलागेको अवस्था हो यो । धर्मनिरपेक्षता, सङ्घीयता र गणतन्त्रलाई महान् उपलब्धि मान्न खोज्दा पनि लोकतन्त्रकालमा देश र जनताका सामु देखापरेका कठिन चुनौतीहरूले छेकबार लगाइरहेको महसुस धेरै नेपालीले गरेका छन् । नकारात्मक परिणाम र प्रभावको बाढी आएका बेला अख्तियारले दर्शाएको सक्रियताले मृत बन्दै गरेको परिस्थितिमा अक्सिजन निसृत अवश्य गरेको छ ।
कसैले राम्रो गर्ने प्रयास गरेको छ भने उसलाई प्रोत्साहित गर्न नेपाली समाज किन कञ्जुस्याइँ गर्दछ यो अध्ययन या छलफलको विषय हुनसक्छ । लोकमानसिंह कार्कीका सत्प्रयासहरूको अपव्याख्या या बद्ख्वाइँ गर्ने कार्यारम्भ हुनुलाई पनि हामीले नेपाली परम्परागत चरित्रका रूपमा बुझ्नु उपयुक्त हुनेछ । कार्कीलाई उत्साहित गर्नुको सट्टा निरुत्साहित गर्ने नियोजित अभियानमा अख्तियारबाट कारबाहीको भागीदार बनाइएकाहरू मात्र छैनन्, उहाँप्रति इष्र्याभाव राख्नेहरू पनि छन् ।
लोकमानको सक्रियतालाई अरुचिकर ठान्नेहरूको जमात अनदेखी गर्न मिल्ने या सकिने प्रकारको छैन । लोकमानको उर्लंदो छविले अधिकांश राजनीतिकर्मीमा इष्र्या पैदा गराएको आभाष हुँदै छ । लोकमानप्रति इष्र्यालु राजनीतिकर्मी र त्रसित कर्मचारीबीचको सहकार्य, सुशासन र लोकमान स्वयम्का लागि एउटा अवरोध बन्नसक्छ । ‘राजाको सट्टा आफूहरू आएको’ ठान्नेहरूका अँँखामा लोकमान कसिंगर बन्दै गरेको वर्तमानमा सुशासन अभियानले निर्वाध मार्ग प्राप्त गर्नेमा आशङ्का छ, यस स्थितिमा सुशासनका निम्ति अख्तियारलाई र अख्तियारका निम्ति लोकमानलाई साथसहयोग दिनु आमनेपाली जनताको न्यूनतम कर्तव्य हुनसक्छ ।