पूरै दिल्ली कवितामा– जीबी आचार्य

पूरै दिल्ली कवितामा– जीबी आचार्य


bicharकविता मानव मनका सबै अनुभूतिहरूलाई अभिव्यक्त गर्ने सबैभन्दा सशक्त माध्यम हो । कविता सचेत मनको सङ्गठित विचारको प्रतिरूप हो । कविता शब्दको मात्र नभई मौनताको आवाज हो । कवि अभयकुमार ‘कवितामा दिल्ली’ नामक कवितासङ्ग्रह लिएर पुनः सार्वजनिक भएका छन् । भारतीय उपमहाद्वीपका प्रभावकारी केन्द्रमध्ये दिल्ली पनि एउटा हो । दिल्ली दक्षिण एसियाको शक्तिकेन्द्र मात्र नभई एसियाली राजनीतिक अभ्यास, सभ्यता र इतिहासको आलेखको रूपमा रहेको छ । दिल्ली सांस्कृतिक पर्यटनका लागि पनि प्रसिद्ध केन्द्र हो । यहाँ रहेका गुम्बा, दरबार र किल्लाहरूले भारतीय राजनीतिक इतिहासलाई जीवन्त बनाएका छन् ।
कवि अभयकुमार दिल्लीका प्रत्येक त्यस्ता ऐतिहासिक स्थलहरूमा पुगेका मात्र छैनन् उनले ती प्रत्येक स्थलहरूलाई विम्बात्मक रूपमा प्रस्तुत गरेका छन् । इतिहासको अध्ययनले सार्थक भविष्यका लागि मार्ग प्रशस्त गर्दछ भने इतिहासलाई काव्यात्मक रूपमा अध्ययन गर्न पाउनुको स्वाद नै फरक छ । फरक भाषिक, सांस्कृतिक र धार्मिक आस्था भएका राजाहरूले विगतमा शासन गर्दै आएको प्राचीन सहर दिल्ली सभ्यताको विकासको हिसाबले पूर्ण छ, परिपक्व छ र प्रसिद्ध छ । दिल्लीका विभिन्न ठाउँहरू र त्यहाँ निर्मित संरचनाहरू पुरानो किल्ला, कुन्हाको किल्ला, शेरमण्डल, कुतुबमिनार, फलामे खम्बा, लालकिल्ला, उग्रसेनको बाउली, लोधीको बगैँचा, शिश गुम्बज, सफ्दरजंगको चिहान, तुगलकवाद, जन्तरमन्तर, दक्षिणी ब्लक, हुमायुको चिहान, कनाट प्यालेस, दिल्ली विश्वविद्यालय, सिरी, फिरोज साह कोटला क्रिकेट मैदान, शाहजहाँवाद, भारतीय कफी गृह, शान्ति पथ, शास्त्री भवन, खान बजार, रवीन्द्र भवन परिक्रमा, जवाहरलाल नेहरू युनिभर्सिटी, नेहरू पार्क आदि शीर्षकमा कविताहरू रचना गरिएका छन् । काव्यात्मक सिर्जना भावुक स्वैरकल्पनाभन्दा पनि यी संरचनाहरूसँग जोडिएका ऐतिहासिक तथ्यलाई बिम्बात्मक रूपमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
विचार कलात्मक र प्रस्तुतिको हिसाबले सबै कविता उत्कृष्ट छन् । तर, दिल्ली शीर्षकको पहिलो कविताले मानवतामाथिको चुनौतीलाई दिल्लीले उजागर गरेको छ । कविताहरू आत्मसंवादको शैलीमा रचिएका छन् । दिल्लीको जमिन व्यापारीहरू बादशाह र लुटाहा चोरहरू सबैका लागि आकर्षणको केन्द्र बनेको छ । त्यसैले उनीहरू टाढाटाढाबाट दिल्लीतर्फ आकर्षित भइरहेका छन् । दिल्ली त पहाडमाथि चिलहरूको भोजभतेरले ओगटेको र मातेको नग्नता र तस्बिर मात्र हो । सहर र सहरिया जीवन आजकल मानिसहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । दिल्ली त्यसैले मानवमांशको थुप्रोमा परिणत भएको छ । सहरिया जीवनका जटिलता, अभाव, अस्वस्थ प्रतिस्पर्धा, सघन यातायातका साधनले गर्दा सडकमा पैदा हुने अपार भीडले दिल्ली पनि निस्सासिएको छ । तर पनि दिल्ली उसको रुमानी सुगन्ध र मादकतापूर्ण नग्नताले मानिसहरूलाई आफूतर्फ आउन प्रेरित गरिरहेको छ ।
इतिहासले मानिसको आजको आवश्यकतालाई परिपूर्ति गर्न सकेन भने इतिहास परित्यक्त बन्दछ र परित्यक्त इतिहासको धरोहर अर्थहीन गन्तव्यको कुडोर यात्री मात्र बनेको हुन्छ । त्यस्तै निर्जन बनेको छ सफ्दरजंगको चिहान । कुनै बेलाका शक्तिशाली प्रधानमन्त्री सफ्दरजंगको चिहान आज परित्यक्त आवासमा परिणत भएको छ, दिल्लीको मानवभक्षी इतिहासको ज्युँदो सङ्केत बनेको यो गोलाकार गुम्बज मौन छ र यसको आँखाले यसको आफ्नै छायालाई अनवरत टिमटिम हेरिरहनुबाहेक यसको कुनै अर्को प्रयोजन छैन, किनभने दिल्लीले आज पनि सफ्दरजंगको चिहानबाट पाठ सिकेको छैन न त मानव सभ्यताले नै त्यस्तो कुनै पाठ सिक्न सकेको छ । त्यस्तै भावना हुमायुँको चिहान शीर्षकमा व्यक्त गरिएको छ । किनभने हुमायुको चिहान पनि एउटा एकलासमा उभिएको रूखजस्तै जहाँ एक हुल चराहरू र गुम्बजले खण्डित गरेको आकाशजस्तै, एउटा निरर्थक चीत्कार गर्दै मस्तसँग निदाइरहेछ । इतिहासलाई मानिसले भविष्यको सार्थक मार्ग प्रशस्त गर्न अध्ययन, चिन्तन र मनन गर्नुपर्ने । आजको सभ्य मानिसलाई जीवनको अध्ययन गर्ने फुर्सद नै कहाँ छ र ।
पुरानो किल्ला शीर्षकको कविता पनि आफैँमा बेजोड छ । यसले मानिसलाई दिल्लीसम्म पुग्न योसँगै उफ्रनुपर्ने सल्लाह दिएको छ । मानिस शक्तिको पुजारी हो । आफ्नो अस्तित्वका लागि भनेर उसले आफ्नो कमजोरीलाई बाध्यताको पगरीमा लुकाउन जति नै प्रयत्न गरे पनि त्यो नलुकी उदाङ्ग भइहाल्छ र मानिसको कमजोरी र पतनको कारक बन्दछ । इसाको तेस्रो शताब्दीदेखि आजसम्म तीन शताब्दीलाई तीस मिनेटमा फड्कन चाहनुहुन्छ भने पुरानो किल्लासँगै फड्को मार्नुहोस् । र, एकैपटकमा इन्द्रप्रस्थदेखि दिल्ली पुग्न सक्नुहुनेछ । त्यसैगरी कुन्हाको किल्ला शीर्षक कविताले यस किल्लाको धार्मिक महत्व र पुरातनतामाथि प्रकाश पारेको छ । विगतका प्रार्थनाहरूले सुरक्षित भव्य ढुङ्गे संरचना जसका प्रत्येक कणकणमा मुसलमान धर्मगुरुको आह्वानले भक्तहरूलाई प्रार्थनाका लागि बोलावट हुँदाको आवाज कुँदिएका छन् ।
मानिस स्वार्थी हुनुहुँदैन । मानिस त परमार्थी पो हुनुपर्छ । तर, नैतिक मूल्यबिनाको आजको मानिस मानिस नभएर संवेदनाहीन जीवित यन्त्र पो बनेको छ । कविले मानिसको यही अमानविकीकरणमाथि प्रश्न उठाएका छन् । ‘मानिसको अतृप्त आकाङ्क्षा आज मृगतृष्णाको रूपमा विकास भएको छ । ‘लालकिल्ला’ शीर्षक कवितामा कविले दिल्लीको यही तस्बिर प्रस्तुत गरेका छन् । दिल्ली देशको भविष्यको मृगतृष्णाको रूपमा कठिन प्रश्न बनेर उपस्थित छ । शक्तिको द्योतकको रूपमा रहेको दिल्ली शक्तिको धुमिल तस्बिर हो, त्यसैले दिल्ली एउटा जेल हो, एउटा गमन मार्ग हो र तीर्थाटन हो ।
दिल्लीले विगत इतिहासकालदेखि शक्तिलाई अनवरत भोगिरहेको छ, त्यसैले भारतीय भूमिका तमाम ऐतिहासिक घटनालाई दिल्लीले आज इतिहासको गर्भमा गर्भस्थ गरिरहेछ । अग्ला गुम्बजहरू, भव्य महल संरचनाहरू, आलिशान समाधिस्थलहरू, आकर्षक बगैँचाहरू, ऐतिहासिक स्तम्भहरू, प्राचीन प्रतीकहरू दिल्ली यी र यस्ता तमाम संरचनाको सङ्ग्रहालयको रूपमा स्थापित छ । कविको भावुक मनले दिल्लीको यही भव्यताभित्र मानवीय संवेदना स्पर्श गर्न खोजिरहेका छन् । कविको आवाज मानवतावादी छ । दिल्ली जीवन्त बन्नैपर्छ । कविको शालीन आग्रह छ ।
सङ्ग्रहभित्रका कविता छोटा छन्, तर सचेत र मर्मस्पर्शी छन् । शैलीगत हिसाबले कविता कुनै शास्त्रीय परम्परावादी घेरामा सीमित छैनन् । दिल्लीले विहंगम परिवर्तन देखेको छ र दिल्लीवासीले त्यो परिवर्तनलाई इतिहासका यी र यस्तै संरचनागत हिसाबले देखिरहेका छन् । त्यसो त दिल्लीले इतिहासमा थुप्रै युद्धहरू देखेको छ । तर, अब दिल्ली शान्तिको प्रतीक बन्नुपर्छ, जसरी यसको कञ्चन खुल्ला आकाशमा मैना, सुगा र परेवाहरू बेरोकटोक विचरण गरिरहेका छन् । दिल्ली शालीनता र सौम्यताको प्रतीक पनि बन्न सक्नुपर्छ । कवि अभय कुमारका यिनै भावना अङ्ग्रेजी भाषाको यस कवितासङ्ग्रहमा छचल्किएका छन् ।