पर्यटनमा प्रहरी ‘गुण्डाराज’

पर्यटनमा प्रहरी ‘गुण्डाराज’


– विनोद त्रिपाठी

‘माओवादी युद्धमा चुपचाप थिए, पुलिस । खासै घुस माग्दैनथे । एकाध केही प्रहरीको बदमासीबाहेक संस्थागत प्रहरी संयन्त्रको आततायी व्यहोर्नुपरेन । तर, अहिले घर–घर होटल–होटलभित्र पसेर प्रहरीले सबैको सातो लियो । लौन के भएको हो हजुर । प्रहरीको गुण्डाराज नै भो । न पसल गर्न पाइन्छ, न होटल चलाउन ।’ यो रोदन नारायणगढका एक होटल व्यवसायीले मलाई सोमबार बिहान फोन गरेर सुनाउँदा लाग्यो, ‘जनता प्रहरीसँग सुरक्षित महसुसको कुरै छोडौँ यतिबिघ्न भयभीत छन्, जसलाई पाल्न त्यही भयभीत जनता छाक काटेर कर तिर्छ ।’

उनको यो रोदन म पर्यटक पत्रकार मञ्चको अध्यक्षको नाताले मात्र भनेका थिएनन्, पर्यटन व्यवसायीहरूको प्रतिनिधित्व चीत्कार थियो त्यो । हामीले चितवनमा सकेसम्म पर्यटन प्रवद्र्धनमा कुनै न कुनै भूमिका खेलेका छौँ । हिजो माओवादीले चन्दा मागेर सताउँदा करिब–करिब म आफैँ एक्लैले समाचार लेखेर पनि अधिकारका विषय बोलेको थिएँ । त्यतिबेला मैले माओवादीको ठूलो धम्की नै व्यहोर्नुपरेको चितवनका जनताले बिर्सेका छैनन् । भलै, पर्यटन पुरस्कार अन्तै जान्थ्यो । हामीले यसको कुनै प्रवाह नगरी चितवनको पर्यटन प्रवद्र्धनमा के–कसरी मद्दत गर्न सकिन्छ भनेर लागेका थियौँ र छौँ । सिङ्गो पर्यटन पत्रकार मञ्चका सदस्यहरू निस्वार्थ भएर पर्यटन विकासमा लागेका थिए । चितवनका व्यवसायीले घरघडेरी बेचेर, ऋण गरेर पर्यटन विकासका लागि ठूलो लगानी गरेका छन् । तर, सरकार र यसको कठपुतली प्रहरी नाङ्गो नाच गर्छ, अनि यसो घुमफिरमा निस्केका पर्यटक भागाभाग गर्न बाध्य पार्छ ।

प्रहरीले नारायणगढका घर–घर, होटल–होटलमा पसेर आतङ्क मच्चाएकै भोलिपल्ट आइतबार यता राजधानीमा दुई किशोरीमाथि एसिड हानेर उनीहरूको जीवन बेकामे बनाए । दुई दिन भयो नेपालको प्रहरी अपराधी पक्राउ गर्न नसकेर ठमेलका रेस्टुरेन्ट धाउँछ । मुस्लिम मुलुकको कानुनको आडमा फुली तेस्र्याएजस्तो बल्लतल्ल रोजगार पाएका महिलालाई तर्साउँछ ।

राजमार्गमा हुने चेकजाँच चल्यो भने बसभित्रका यात्रुहरू नै भन्ने गर्छन्, ‘प्रहरीको खल्ती रित्तिएछ, घुस खानलाई लाइसेन्स मागे ।’ जनस्तरबाट यति बदनाम छ नेपाल प्रहरी । प्रहरीले राजमार्गमा हुने ठगी नियन्त्रण गर्दैन । राजमार्गका नरनारीमाथि धावा बोलेर पैसा असुल्छ । काठमाडौंको बसपार्कलगायतका सार्वजनिक ठाउँमा साँझ–बिहान, रातबिरात महिला ढुक्कले हिँड्ने सुरक्षित वातावरण निर्माण गर्दैन, उल्टै कुनै साहसी महिला देखे त्यसैको पिछा गरेर चरित्रमाथि दाग लगाइदिन्छ । राजधानीका दर्जनौँ झुत्रे क्याबिन रेस्टुरेन्टमा एउटै कोकाकोलाको पाँच सय लिने सञ्चालकलाई कारबाही गर्दैन, उल्टै ठगीविरुद्ध उजुरी गर्न जाने सर्वसाधारणलाई प्रहरी रकम भराउँछ । किनकि त्यही क्याबिन सञ्चालकसँग प्रहरीको मिलोमतोमा रकमको लेनदेन चलेको हुन्छ ।

नारायणगढको फुटपाथलाई व्यवस्थापन गर्न नसकेर लाचार बनेको नेपाल प्रहरी सशस्त्र र सेनाको आड लिनुपरेको धेरै वर्ष भएको छैन । हिजो माओवादी द्वन्द्वमा लडाकुसँग हारेर लुरुलुरु सदरमुकाम फर्केको नेपाल प्रहरीको लाछीपन करोडौँ जनताले बिर्सेका छैनन् । यो खुला राजनीति र शान्तिको दौरानमा नेपाल प्रहरी अहिले ‘लाटो देशमा गाँडो तन्नेरी’ सावित भएको छ । गाँडो होइन, लङ्गडो सावित भएर हिँड्न सक्दैन, तर जनतालाई तर्साउन अनेक बहानाबाजी गर्छ ।

चुपचाप बसेका, साथीभाइ भलाकुसारी गरेका, परिवारका सदस्य घुम्न आएकालाई पक्राउ गरेर प्रहरीले कथित दादागिरी देखाएको छ । के केटा र केटी, महिला र पुरुष साथी–साथी हुन सक्दैनन् ? आमप्रहरी परिवारका सदस्यले केटाले केटीलाई, महिलाले पुरुषलाई साथी बनाउँदैनन् ? सँगैसँगै घुम्न जाँदैनन् ?

प्रहरी प्रधान कार्यालयले जिल्ला–जिल्लामा हुने प्रहरीको यो आतङ्कलाई सलामी दिएर कमाण्ड गर्छ । माओवादी युद्ध सकिएपछि पछिल्ला वर्षहरूमा नेपालका पूर्वदेखि पश्चिमका धेरै सहरका होटल–होटलमा प्रहरीले छापा मारेर यो आतङ्कको पुष्टि गरेको छ । माओवादी युद्ध समाप्त भएपछि लङ्गडो नेपाल प्रहरीलाई मनपरी गर्न छुट मिलेको छ ।

काठमाडौं, वीरगञ्जलगायतका स्थानमा रहेर जनताको स्यावासी पाएका रमेश खरेललाई जनताबाट टाढा राख्न भरतपुरको पिटी सेन्टरमा कैद गरिएको छ । राम्रो काम गरौँ, देशमा सुखशान्ति कायम गरौँ भन्ने उद्देश्य बोकेका रमेश खरेल र उनकै बाटो पछ्याउनेहरूलाई प्रहरी प्रधान कार्यालयले पाखामा हुत्याइदिन्छ । रमेश खरेल त अहिलेसम्मको कामले हिरो भए–भए, अझै जनताको काम गर्न दिने हो भने महानायक नै हुनेछन् भन्ने नेपाल प्रहरीका उपल्लोस्तरका अधिकृतहरूको पिरलो छ ।

जनतालाई केही न केही आफ्नो देशको कानुन थाहा छ भन्ने प्रहरीले जान्न जरुरी छ । वेश्यावृत्ति गर्न कानुनले बर्जित गरेको छ, तर वेश्यावृत्तिमा लागेको प्रमाण दिन नेपाल प्रहरी सक्छ ? वेश्यावृत्तिको परिभाषा त त्यो मुलुकमा मात्र हुन्छ, जहाँ यो कानुनी रूपमा वैध मानिएको छ । तर, हाम्रोजस्तो मुलुकमा कसैलाई अनैतिकको ट्याग लगाउने अधिकार प्रहरीलाई छैन । १८ वर्षमाथि उमेरका आपसी सहमतिमा हुने यौनसम्पर्क नेपालको कानुनमा निषेध छ ? नेपाल प्रहरीलाई यो कानुनको ज्ञान हुनुपर्दैन ?

सामाजिक मर्यादा खलल पु-याएमा, स्थानीयवासीलाई नकारात्मक असर पार्ने काम गरेमा, हाम्रो संस्कृतिविपरीत खुल्लमखुला अवाञ्छित र उशृङ्खल काम गरेमा, कानुन हातमा लिएर कसैलाई धम्की दिएमा, अपराध कर्म गरेर लुकेमा वा होटलमा होहल्ला गरेर अरूलाई असर पु-याएमा प्रहरीले पक्राउ गर्ने अधिकार सुरक्षित छ । तर, यी गतिविधिमा लागेकाहरूलाई पक्राउपुर्जीबिना प्रहरीलाई पक्राउ गर्ने अधिकार कुन कानुनले दियो ? पक्राउ गर्नुको स्पष्ट कारण खुलेको पुर्जी हातमा दिएपछि मात्र अनुसन्धानका लागि सम्बन्धित व्यक्तिलाई लान पाइन्छ ।

तर, चुपचाप बसेका, साथीभाइ भलाकुसारी गरेका, परिवारका सदस्य घुम्न आएकालाई पक्राउ गरेर प्रहरीले कथित दादागिरी देखाएको छ । के केटा र केटी, महिला र पुरुष साथी–साथी हुन सक्दैनन् ? आमप्रहरी परिवारका सदस्यले केटाले केटीलाई, महिलाले पुरुषलाई साथी बनाउँदैनन् ? सँगैसँगै घुम्न जाँदैनन् ?

शनिबार नारायणगढका होटल आएका ग्राहकले छतमा बसेर चिच्याएर कोकोहोलो मच्चाएर अरूलाई दिक्क बनाएका थिए ? कोही ग्राहक सडकमा रमिता देखाएर वातावरण धमिल्याएका थिए ? अनैतिक आचरणका कथित आरोपमा यस्ता बेबकुफ काम गरेर नेपाल प्रहरीको केही बचेको साख पनि समाप्त भएको छ । प्रहरीले नागरिकको मानवअधिकार, नैसर्गिक अधिकार र व्यक्तिगत मूल्य–मान्यतामाथि धावा बोलेको छ । प्रहरीको यो दुष्कार्यले महिला स्वतन्त्रतालाई चुनौती दिएको छ । अहिले पनि हाम्रो समाजमा पुरुषको बोलवाला छ । महिलामाथि कुनै चरित्रको दाग लगाउने अभियानजस्तो बनेको छ प्रहरी धरपकड । जबसम्म कुनै मुलुकमा महिला घुमफिर गर्न, साथी बनाउन, निर्धक्कले साँझबिहान, रातबिरात हिँड्ने वातावरण बन्दैन, जतिसुकै भौतिक विकास भए पनि त्यो समाजले स्वर्णिम रूप धारण गर्न सक्दैन । स्वतन्त्रता नै सबैभन्दा ठूलो विकास हो ।

विश्व राजनीतिको पछिपछि लागेको हाम्रो सामाजिक परिवेशलाई हिजोको कुण्ठित समाजमै फर्काउन नेपाल प्रहरी जसरी उद्यत् देखिएको छ, यसले नेपालमा मानव विकासक्रमका यावत् पक्षलाई पछाडि धकेलिदिनेछ । प्रहरीको यही रवैया कायम रहेमा बल्लतल्ल माथि उठ्न लागेको पर्यटन क्षेत्र धराशायी हुनेछ । पर्यटन क्षेत्रको विकासका लागि चाहिने सुरक्षा, मनोरञ्जन र सहज वातावरण निर्माण गर्ने दायित्वबाट प्रहरी उम्केको छ । प्रहरी, जनता र व्यवसायीप्रतिको सुमधुर सम्बन्ध स्थापित गर्न प्रहरी आफैँ चुकेको छ । अब, धेरै वर्षसम्म चितवन वरपरका जनताले प्रहरीको कहिल्यै विश्वास गर्ने छैनन् । ‘प्रहरी आयो–प्रहरी आयो’ भनेर जनता नै डरले प्रहरी देख्नेबित्तिकै भाग्नेछन् । यस्तो आततायी वातावरण सिर्जना गरेर प्रहरीले पायो के ? आखिर, सोमबार र मंगलबार नारायणगढ, मुग्लिन वरपरका सारा होटल बन्द गरेर प्रहरीविरुद्ध व्यवसाय एकजुट भए । जनता एकजुट भएर प्रहरीको ‘गुण्डाराज’ विरुद्ध यसरी सारा होटल बन्द भएको सायद यो नै पहिलो हो ।