यही हो मेरो देश
मेरो देश !
हामी सबै हारेको देश ।
दिशाहीन गन्तव्यका लागि
रुमलिएको जमात छ जहाँ
जहाँ घरको धुरीमा आगो झोसिएको छ
देशको अस्मिता लुटिँदा
बलात्कारीहरूको अट्टहास सुनिन्छ जहाँ
जहाँ परचक्रीहरूको ग्रहण लागेको छ
पाखण्डले ताण्डव नृत्य गर्दै छ जहाँ
यही हो मेरा देश
मेरो देश !
हामी सबै हारेको देश ।
देश हाँक्ने अभिभारा लिएका
लालबुझक्कडहरू जहाँ
उर्लंदो खहरेको भेलरूपी असन्तुष्टि पार गर्न
ढोडका लौराको सहारा लिन्छन्
जहाँ भ्रम फैल्याउँछन् यिनले र दुस्वप्न बाँड्छन्
स्वाभिमान बेचेर विदेशीको चरणमा लम्पसार पर्छन् जहाँ
जहाँ नैतिकताहीन कुलंगारहरूको जताततै सल्बलाहट देखिन्छ
यही हो मेरो देश
मेरो देश !
हामी सब हारेको देश ।
करोडौँ मन र मस्तिष्कहरूमा जहाँ
घृणा र द्वेषको विजारोपण गरिएको छ
जहाँ हर दृष्टिहरूमा शङ्का अनि
उपशङ्काको बादल मडारिएको छ
पाइलाहरूले गोरेटो पहिल्याउन छाडेका छन् जहाँ
जहाँ निर्मल छहरामा विषालु पानी बग्दै छ आजभोलि
हिमचुली लज्जाबोधमा कालो बादलभित्र शिर लुकाउँदै छ जहाँ
यही हो मेरो देश
मेरो देश !
हामी सबै हारेको देश ।
नीलो आकाशको रंग फेरिएर रातो भएको छ जहाँ
जहाँ सूर्य रुन्छ र चन्द्रमा बलिन्द्र धारा आँसु झार्छे
बाटो साँघुरिएको छ जहाँ
जहाँ उर्वरा माटो दलदल बनेको छ
एक अनेक भएको छ जहाँ अनि
अनेकभित्र लुकेका रक्तविजहरू
ठाडो घाँटी लगाई आफ्नैको रगत पिउन उद्यत् छन् जहाँ
यही हो मेरो देश
मेरो देश !
हामी सबै हारेको देश ।
स्वर्णीम इतिहासमा डढेलो लागेको छ जहाँ
जहाँ संस्कृतिमा विचलन आएको छ
विसङ्गति जन्माउने युद्धमा मारिएका
हजारौँ आत्माको चीत्कार सुनिन्छ जहाँ
जहाँ विखण्डनकारी सैन खटिराको असैह्य पीडा छ
जहाँ प्रजातन्त्र ‘पर– जा–तन्त्र’ भइसकेको छ
गणतन्त्र ‘गर–तन्त्र’मा रूपान्तरित भएको छ जहाँ
यही हो मेरो देश
मेरो देश !
हामी सबै हारेको देश ।
फेरिँदै छ मेरो देशको परिभाषा आजभोलि
फेरिएको छ मेरो देशको परिभाषा आजभोलि
यही हो मेरो देश
मेरो देश !
हामी सबै हारेको देश ।
प्रतिक्रिया